आकाशे पानी सङ्कलन : पानीको खाँचो टार्ने उत्तम उपाय

 असार ३१, २०७७ बुधबार ९:४७:२ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – पानीको खाँचो टार्ने सबैभन्दा उत्तम विकल्प मानिएको आकाशे पानी सङ्कलन र रिचार्ज प्रक्रिया ब्युँताउनु पर्ने विज्ञहरुले बताउँदै आएका छन् । उपत्यकामा पानी रिचार्ज हुन नपाउँदा ढुङ्गेधारा, इनार र ट्युबवेलबाट पानी आउन छाेडिसकेको छ । 

वर्षाको पानी सङ्कलन र परेको पानीमध्ये तीन भागको एक भागमात्र प्रयोग गर्ने हो भने पनि उपत्यकाका ढुङ्गेधारा र हातेपम्प सुक्न पाउँदैनन् । व्यक्तिगत रुपमा मात्र पहल गरेर जमिन रिचार्ज गर्ने, आफू र आफ्नो परिवारकाे लागि पिउन पुग्ने पानीमात्र जम्मा गर्न सके पनि मेलम्चीको पानी कुरेर बस्नु नपर्ने विज्ञहरुको भनाइ छ । 

त्रिभुवन विश्वविद्यालय र जापानको यामानाशी विश्वविद्यालयले सन् २०१६ मा प्रकाशित गरेको संयुक्त अध्ययन प्रतिवेदनअनुसार सन् २०११ मा उपत्यकाको जनसङ्ख्या २४ लाख २० हजार हुँदा पानीको माग प्रतिदिन ३२ करोड लिटर थियो । 

सन् २०१६ मा जनसङ्ख्या ३० लाख पुगेसँगै पानीको माग प्रतिदिन ४१ करोड ६ लाख लिटर पुग्यो । त्यस्तै सन् २०२१ मा काठमाण्डौ उपत्यकाको जनसङ्ख्या ४० लाख पुग्नेछ भने पानीको माग प्रतिदिन ५४ करोड लिटर पुग्ने अनुमान गरिएको छ । 

यो आँकडालाई हेर्दा मेलम्ची आयोजना सम्पन्न भएपछि पनि त्यसबाट काठमाण्डौमा दैनिक १७ करोड लिटर पानी आपूर्ति हुनेछ । यस्तै  भूमिगत स्रोतबाट आपूर्ति हुने १० करोड लिटर पनि यसमा जोड्ने हो भने उपत्यकामा दैनिक २७ करोड लिटर पानी उपलब्ध हुनेछ ।

यो भनेको कुल मागको आधामात्रै हो । त्यसैले अहिलेको अवस्थामा पानीको समस्या समाधान गर्ने महत्त्वपूर्ण विकल्प भनेको आकाशे पानी सङ्कलन र पुनर्भरण गर्नु नै भएको खानेपानी विज्ञ प्रकाश अमात्य बताउनुहुन्छ । 

आकाशे पानी सङ्कलनका लागि नयाँ बनाइएका घरमा अत्याधुनिक ट्याङ्की निर्माण गरेरमात्र नभइ पुराना घर तथा सामुदायिकस्तरमा पनि जम्मा गर्न सकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, 'पछिल्लो समय आकाशे पानीको सङ्कलन र पुनर्भरण कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि चासो बढ्दै गएको छ । धेरै ठाउँमा प्रयोगमा पनि आइसकेका छन् ।'

सार्वजनिक ठाउँ र स्कुलमा पनि आकाशे पानी सङ्कलन

पछिल्लो समय कतिपय स्कुलहरुमा समेत आकाशे पानीको प्रयोग गरिन थालिएको छ । यसको उदाहरणको रुपमा काठमाण्डौको डल्लु आवासीय क्षेत्रमा रहेको पूर्ण कलश मन्टेश्वरी स्कुललाई लिन सकिन्छ ।

यो स्कुलमा मन्टेश्वरीका विद्यार्थीहरुलाई खुवाउनकाे लागि आकाशे पानीको सङ्कलन हुँदै आएको छ । विद्यालयले भवनको छतबाट आकाशे पानी सङ्कलन गरी त्यो पानीलाई सेरामिक फिल्टरको प्रयोगबाट प्रशोधन गरी सबै विद्यार्थीलाई पिउनकाे लागि प्रयोग गरिरहेको मन्टेश्वरीकी प्रधानाध्यापक सुनिता महर्जन बताउनुुहुन्छ । 

अहिलेसम्म पानीकै कारण बालबालिकामा कुनै पनि समस्या नदेखिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, 'किनेको पानीभन्दा त यही सङ्कलन गरेको पानी गुणस्तरीय हुने रहेछ।'

यतिमात्रै नभइ स्कुलबाट निस्केको फोहर पानी प्रशोधन गरेर बगैँचामा समेत प्रयोग गर्ने गरिएको छ । यसरी आकाशे पानी सङ्कलन गर्न थालेपछि दैनिक डेढ सय रुपैयाँका दरले महिनामा झण्डै ४५ सय रुपैयाँ बचत हुँदै आएको र त्यो पैसा स्कुलका अरु आवश्यक सामग्री खरिदमा खर्च गर्न पाइएको उहाँ बताउनुहुन्छ ।  

यस्तै अर्को उदाहरणको रुपमा भक्तपुरको लिबालीमा सामुदायिकस्तरमा भएको खानेपानी सङ्कलनलाई लिन सकिन्छ । भक्तपुरको वडा नम्बर ८ लिबालीमा भने सामुदायिकस्तरबाट नै आकाशे पानी सङ्कलनको काम भएको छ । २०७३ सालदेखि पानी सङ्कलनको काम सुरु भएको हो । सङ्कलित पानी ६७ परिवारलाई वितरण हुने गरेको लिबाली गणेश ट्याङ्की निर्माण समितिका अध्यक्ष नारायण खाइटुले जानकारी दिनुभयो ।

गुठी संस्था, भक्तपुर नगरपालिका र खानेपानी बोर्डको समेत गरी ४३ लाख रुपैयाँमा आकाशे पानी सङ्कलनको व्यवस्था गरिएको हो । पहिला लिबालीमा  खानेपानीकाे  लागि पाइप नभएकाले स्थानीयहरु टाढाटाढा गएर पानी ल्याउन बाध्य थिए । अहिले भने उनीहरुका लागि निकै सजिलो भएको खाइटुले बताउनुभयो । 

पुराना घरमा पनि पानी सङ्कलन गर्न सकिन्छ 

आकाशे पानी सङ्कलन र पुनर्भरण गर्न पुरानो घरमा पनि सकिने विज्ञहरुको भनाइ छ । आकाशे पानी सङ्कलन, नयाँ घरमा अत्याधुनिक ट्याङ्की बनाएरमात्र सकिन्छ भन्ने धेरैको बुझाइ छ । तर त्यसो नभइ पुराना घरमा पनि सामान्य पाइपको माध्यमबाट छत तथा बरण्डाबाट खसेको पानी सङ्कलन गर्न सकिन्छ । 

खानेपानी विज्ञ अमात्य भन्नुहुन्छ, '१०/१२ हजार रुपैयाँको लगानीमा समेत पानी सङ्कलन गरेर केही समयको गर्जो टार्न सकिन्छ । घर बनाएर केही जमिन खाली छ भने त्यहाँ इनार बनाएर वा खाल्डो खनेर पनी पानी सङ्कलन गर्न सकिन्छ ।'

तर घर वरपर खाली ठाउँ  छैन भने सामुदायिकस्तरमा धेरै परिवारकाे लागि उपयोग गर्न पुग्ने गरी पनि पानी सङ्कलन गर्न सकिने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, 'पुराना घरमा रिचार्ज पिट बनाएर वा इनारबाट पानी पुनर्भ​​रण गर्न सकिन्छ भने सार्वजनिक स्थलमा पनि ट्याङ्की बनाएर वा खाल्डो खनेर पानी पुनर्भरण तथा जमिन रिचार्ज गर्न सकिन्छ । '

धेरै महँगाे छैन

निभा रेनका निर्देशक तथा प्राविधिक नरेन्द्रमान डङ्गोल आकाशे पानी सङ्कलन प्रविधिको जडान सुलभ र सस्तो भएको बताउनुहुन्छ । हामीले घर बनाउँदा किचेन, बाथरुम, रङ्रोगगनलगायतका कुराहरुमा खर्च गरिरहेका हुन्छौँ । मध्यम खालको घर बनाउँदा काठमाण्डौमा एक करोड रुपैयाँ लाग्छ । त्यही एक करोड रुपैयाँको एक प्रतिशत लगानी गर्ने हो भने आकाशे पानी सङ्कलन गर्न सकिन्छ, दुई प्रतिशत खर्च गर्ने हो भने पानी फिल्टर गर्न र तीन प्रतिशत खर्च गर्ने हो भने सबै पानी व्यवस्थापन गरेर प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

डङ्गोल आफ्नै उदाहरण दिँदै भन्नुहुन्छ, 'मैले १० वर्ष अगाडि एक लाख ५० हजार रुपैयाँ खर्च गरेर पानी सङ्कलनकोे प्रविधि जडान गरेँ । त्यतिबेलाको लगानीले दुई तलाको स्कुल सञ्चालन गरेको छु । दशकौँ भयो घरमा पानी नआएको तर अहिलेसम्म पानी किन्न परेको छैन ।' 

उहाँलाई त्यतिबेला स्कुलमा प्रयोग गर्ने पानी र घरायसी प्रयोगका लागि पानी किन्ने हो भने वर्षमा ६० हजार रुपैयाँ लाग्थ्यो । अहिले दोब्बर लाग्ने उहाँ बताउनुहुन्छ । पानीमा खर्च हुने सबै रकम आफूलाई फाइदा भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, 'धेरै पानी सङ्कलन गर्नमात्र त्यति खर्च लाग्छ । नत्र भने सामान्य तरिकाले सामान्य डिभाइसको प्रयोग गर्ने हो ।'

थोरै लगानीमा पनि पानी सङ्कलन र प्रयोग गर्न सकिने उहाँ बताउनुहुन्छ । तीनदेखि साढे तीन तलाको घरमा सामान्यरुपमा जमिन रिचार्ज गरेर वा ट्याङ्कीमा पानी सङ्कलन र प्रयोग गर्नकाे लागि १५ हजार रुपैयाँको लगानीमा पनि सकिने उहाँको भनाइ छ । 

सुविधा सम्पन्न बनाउने हो भने प्रशोधन गर्ने बायो स्याण्ड फिल्टर र फोहर पानी प्रशोधन गर्ने प्रविधि जडान गर्न दुई लाख रुपैयाँ जति लाग्छ । तर त्यो लगानी एक/दुई वर्षमै उठ्ने उहाँको दाबी छ । बायो स्याण्ड फिल्टरबाट प्रशोधन गरेको आकाशे पानी टयाङ्करको पानीभन्दा धेरै सफा र गुणस्तरीय पनि हुने उहाँ दाबी गर्नुहुन्छ । 

तपाईँ सोच बनाउनुहोस्, हामी सहयोग गर्छाैँ : महानगरपालिका 

काठमाण्डौ महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत आकाशे पानी पुनर्भरण र रिचार्ज काठमाण्डौ कार्यक्रम नीतिमा आइसकेकाले अहिले विभिन्न चरणमा छलफल भइरहेको बताउनुहुन्छ। 

घरमा मात्र नभइ आकाशे पानी सङ्कलन र पुनर्भरणका लागि सम्भावित क्षेत्रको पहिचान, खुला क्षेत्र र परम्परागत इनार, ढुङ्गेधारा र पोखरीहरुको अभिलेखीकरण र नक्सामा समावेश गर्न प्रयासरत भएको उहाँको भनाइ छ । 

नमुना कार्यक्रमका लागि काठमाण्डौको गोङ्गबु क्षेत्रमा तीन वटा इनार बनाएर कति रिचार्ज गर्न सकिन्छ भन्ने अध्ययन गर्दा सोचेको भन्दा बढी पानी पुनर्भरण भएको र पछिल्लो वर्षमा जस्तो शहरी बाढी र ढलको समस्या नआएको स्थानीयबाट प्रतिक्रिया पाएको उहाँले बताउनुभयो । 

महानगरपालिकाले हरेक पार्कमा आकाशे पानी रिचार्ज पिट बनाउने निर्णय गरेको उहाँले बताउनुभयो । साथै सर्वसाधारणले घर बनाउँदा रिचार्ज पिट बनाएमा केही सहुलियत दिनेबारे जानकारी दिनु हुँदै यसका लागि तीन वर्षीय कार्ययोजना तयार भइसकेको उहाँको भनाइ छ । 

पालिकाहरुको भूमिका महत्त्वपूर्ण : पूर्व वातावरण मन्त्री गणेश शाह 

पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाह अहिलेको अवस्थामा पानीको सुविधा उपलब्ध गराउन पालिकाहरुको महत्त्वपूर्ण भूमिका हुने बताउनुहुन्छ । काठमाण्डौजस्तो शहरी क्षेत्रमा जमिनमा पानीको मात्रा घट्दै गइरहेको र पानीका स्रोतहरु सुक्दै गइरहेको अवस्थामा दीर्घकालीन उपाय भनेको आकाशे पानी सङ्कलन र जमिन रिचार्ज नै भएको बताउनुहुन्छ ।

भारी वर्षा भएको बेला उपत्यकासहित विभिन्न ठाउँमा हरेक वर्षजस्तै बाढीको जोखिम हुने गरेको छ । यो विषयमा सबैमा चेतना फैलाउन आवश्यक भएको उहाँको भनाइ छ । अबका दिनमा प्रत्येक वडाले आफ्ना वडावासीहरुलाई आकाशे पानी सङ्कलन र पुनर्भरण नीतिका  बारेमा जनचेतना जगाउने र सार्वजनिक विद्यालयहरुमा आकाशे पानी सङ्कलन र रिचार्ज प्रविधि जडान गरी अभिभावकहरुमा यस प्रविधिबारे जानकारी गराउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

यस्तै महानगरपालिका र नगरपालिकाले भवनको नक्सा पास गर्दा आकाशे पानी सङ्कलन प्रविधिलाई अनिवार्य गराउनुका साथै प्रत्येक वर्ष अनुगमन गर्नु पनि जरुरी रहेकाे मन्त्री शाह बताउनुहुन्छ ।   

 

अन्तिम अपडेट: साउन १९, २०७७

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया