एक हप्ता होम क्वरेण्टीनको बसाइ र रिपोर्टको पर्खाइ

 साउन १०, २०७७ शनिबार १४:५८:३१ | भावुक योगी
unn.prixa.net

साउन ९ गते मेरो जन्मदिन । जन्मदिनको अग्रिम शुभकामना दिने साथीहरुको ओइरो थियो । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र मोबाइल फोनको म्यासेज अनि फोनमा । आफन्त र साथीहरु शुभकामना दिंदै हुनुहुथ्यो, तर मेरो मनमा भने अर्कै तनाव थियो ।

लकडाउन अवधिभर नभएको कोरोना परीक्षण पहिलो पटक बर्दियाका १६ जना पत्रकारहरुको एकैसाथ बुधबार सदरमुकाम गुलरियामा भएको थियो । कोरोना परीक्षण रिपोर्ट के आउला भन्ने धेरैको चासो थियो । पत्रकारहरुको कोरोना परीक्षण रिपोर्ट आयो ? कस्तो आयो ?

मलाई एकपछि अर्को फोन साथीहरुबाट आईरहेको थियो । अलि छिटो रिपोर्ट निकाल्न सहजीकरण गर्नुपर्ने आग्रह थियो । नेपाल पत्रकार महासंघ बर्दिया शाखाको सचिव भएका कारण अध्यक्षको निर्देशनमा मैले नै सहजीकरणको भूमिका निभाएको थिएँ र जिम्मेवारी पनि सुम्पिएको थियो ।

साउन ८ गते बिहीबार बेलुकीपख साढे ६ बजेतिर कोरोना पीसीआर रिपोर्ट आज नआउने खबर आयो । पत्रकारहरुको रिपोर्ट जाँच गर्दा कसैको पोजेटिभ देखिएकाले फेरि परीक्षण हुने र भोलिपल्ट बिहान रिपोर्ट आउने भन्ने खबर आयो ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेको म सहितका १६ जना बर्दियाका पत्रकारहरुको कोरोना परीक्षण रिपोर्टको पर्खाइ थियो । तर जन्मदिनको अघिल्लो दिन कोरोना परीक्षणको रिपोर्ट न त नेगेटिभ आयो, न त पोजेटिभ नै, खबर आयो दोधारे । दरिलो मन बनाउँदै प्रतीक्षा गर्दै बसेँ ।  

यो सबै कारण थियो साउन ३ गतेको हेलमेल । साउन ३ गते शनिबार विहान म बाँकेको नेपालगञ्जमा थिए । बर्दियाको ठाकुरबाबा नगरपालिकामा आर्थिक वर्ष ०७७÷०७८ को नीति कार्यक्रम तथा बजेटबारे जिल्लाभरका पत्रकार सहितको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । 

नेपाल पत्रकार महासंघको सचिव भएको हुँदा कार्यक्रमको सहजीकरण नगरपालिकाका सूचना अधिकृतसँगको सहकार्यमा मैले नै गरेको थिएँ । साउन ३ गते शनिबारका दिन सदरमुकाम गुलरियाबाट २ गाडीमा १२ जना पत्रकारहरु बिहान ७ बजे ठाकुरबाबा नगरपालिका क्षेत्रमा पुगियो । 

नगरप्रमुख, सूचना अधिकृत र सञ्चारकर्मी साथीहरुबाट एकपछि अर्को मलाई फोन आउन थाल्यो खै कता हो कार्यक्रममा आउनुुस् । त्यसपछि म नेपालगञ्जबाट मोटरसाइकल चढेर बिहान साढे ७ बजेतिर हिँडे । झण्डै २ घण्टामा नगरपालिकाको ५ नम्बर वडा शाहिपुर पुगेँ । त्यहाँ पुग्दा ठुलो वर्षा सुरु भयो । पानीमा भिजिन्छ भनेर शाहीपुर बजारको मिठाई पसलमा बसेँ । 

हल्का वर्षा रोकियो, फेरि अघि बढे । तर बगनाहा बजार नजिक पुग्दा फेरि ठूलो वर्षा भयो । भिजेर नजाउँ भन्ने सोचेर त्यहीँ रोकिएँ । झण्डै २ घण्टा वर्षा चलिरह्यो । म त्यहीँ रोकिएँ । बिहानको ११ बजेको थियो । नगरपालिकाको कार्यक्रममा सहभागी अनुगमनबाट फर्किएका साथी सुदिप अधिकारीले फोन गर्नुभयो । आफू नजिकै आएको तर वर्षाका कारण भिज्दै कार्यक्रममा आउन नसक्ने जानकारी गराएँ । एकछिनपछि वर्षाका कारण म रोकिएको ठाउँसम्म नगरप्रमुखको गाडी मलाई लिन आयो । 

मोटरसाइकल त्यहीँ छाडेर गाडीमा बसेर भुरीगाउँको होटल पुगें । नगरपालिकाको ९ वटै वडाका योजना हेर्दै अनुगमनबाट फर्केको पत्रकार सहितको टोली होटलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरुको सहभागिता बढ्दै गयो ।

लगातार वर्षा भईरहेकै थियो । होटलको सभाहलमा कार्यक्रम सुरु भयो । नगरपालिकाका सूचना अधिकारी कृष्ण सहित अन्य कर्मचारीहरु कार्यक्रममा सहभागीहरुलाई कापी र कलम, नीति तथा कार्यक्रमको फर्म्याट बाँड्दै उपस्थिति पनि भराउँदै हुनुहुन्थ्यो ।

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत, नगरप्रमुख, उपप्रमुखले बजेटका बारेमा जानकारी गराएपछि फ्लोर ओपन गरियो । थोरैको भनाईपछि नगरप्रमुखले कार्यक्रम समापन गर्नुभयो । सबैलाई दिउँसोको खाजा व्यवस्थापनपछि सहभागीहरु घरतर्फ लागे । 

कार्यक्रममा सहभागी पत्रकारहरुका २ वटा गाडी पनि फर्किने तयारीमा थिए । ८ जना पत्रकार सहित एउटा गाडी अघि बढ्यो । कोही मोटरसाइकलमा हिँडे । अर्को कार हिँड्नै लाग्दा कार भित्र पानी राख्ने क्रममा झुक्किएर कारको साँचो भित्रै रहन पुग्यो ।

कार लक भयो खुलाउन सक्ने उपाए भएन । अर्को साँचो मगाईयो । एक जना मेकानिक चालक करन भेटिनुभयो । उहाँले उपाय अपनाएर सिसा खोेलेर साँचो निकाल्नुभयो । साँचो ल्याउन लागेकालाई नआउन भनियो र म सहित ६ जना पत्रकार चढेको कार अघि बढ्यो । तर बजार पुग्दानपुग्दै नगरपालिकाका कर्मचारी सहित १० जनामा कोरोना पोजेटिभ भन्ने फोन आयो । 

फोनबाट कर्मचारीमा कोरोना पोजेटिभ सुनेपछि म झसङ्ग भए । कारमा रहेका हामी सबै अलमलमा पर्यौँ । एकैछिनमा पोजेटिभ भएकाको नाम पनि आयो । हामी एउटै गाडीमा सँगसँगै भएका व्यक्तिलाई नै पाजेटिभ भन्ने आएपछि घर जाने की के गर्ने छलफल सुरु हुन थाल्यो । 

हामी सबै होम क्वरेण्टीनमा बस्ने सल्लाह गर्यौँ । सबै साथीहरुलाई गुलरिया पठाएर ठाकुरबाबा नगरपालिका क्षेत्रका हामी ३ जना म, यज्ञ र सुदीप नगरपालिका कार्यालयमा गयौँ ।

नगरप्रमुखको कक्षमा आकस्मिक बैठक बसिरहेको थियो । तीन दिनसम्म नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय भयो । संक्रमितसँग हेलमेल भएका हामी सबै झण्डै एक सय जनाको पीसीआर गर्ने नगरप्रमुखले बताउनुभयो । अनि हामी तीन जना पनि कार्यालयबाट फर्कियौँ ।

साथी सुदीपसँग घर पुग्ने साधन नभएकाले म पुर्याउन पुगें । घर पुग्दा आमा, श्रीमती, छोरा र छोरी सबै जना त्रासमा थिए । नुहाएर आफुले लगाएका सबै कपडा धोएर छुट्टै कोठामा छिरे । घरपरिवारमा दूरी कायम गरेर कुराकानी भयो ।

खाना पनि अलग बसेर नै खाएँ । कार्यक्रममा सहभागी साथीहरुको निरन्तर फोन आउन थाल्यो । प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख सहित स्वास्थ्यकर्मीहरुसँग फोनमा कुराकानी भयो । पाँच दिनसम्म होम क्वरेण्टीनमा बस्नुपर्ने र पाँच दिनपछि पीसीआर परीक्षण गर्दा उपयुक्त हुने सल्लाह अनुसार सबै पत्रकार साथीहरुलाई खबर गरें ।  

भोलिपल्ट संक्रमित पुष्टि भएकाहरुसँगको कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सहित ८६ जनाको आइतबार बिहान स्वाब संकलन भयो । तर हामीहरुलाई पीसीआर परीक्षणका लागि स्वास्थ्य शाखाबाट फोन आएन । ५ दिनपछि मात्रै परीक्षण गर्ने हामी एकमत भएका थियौं ।

मंगलबार बेलुका साढे ६ बजेतिर ८६ जनाको रिपोर्ट नेगेटिभ भन्ने खबर आयो । नेगेटिभ भन्ने खबरले मन खुसी भयो । बुधबार बिहान हाम्रो पनि पीसीआर गर्ने भनेर कार्यक्रममा सहभागीहरुको नाम, नम्बर र पालिकासहित मेल पठाउन स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले फोन गर्नुभयो ।

बुधबार बिहान ८ देखि ११ बजेसम्म आ–आफ्नो पालिकामा जानु भन्ने जानकारी अनुसार ८ बजे पीसीआर परीक्षणका लागि नगरपालिकाको नेउलापुर स्वास्थ्य चौकीमा पुग्दा कोही थिएनन् । परीक्षण हुने छाँटकाँट पनि देखिएन । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले सबै पत्रकारहरु गुलरिया आउनुस् साढे १२ बजेदेखि स्वाब संकलन हुन्छ भन्नुभयो । सबै साथीहरुलाई जानकारी गराएर हामी पनि सदरमुकाम गुलरिया पुग्यौँ । कार्यक्रममा सहभागी भएका १६ जनामध्ये ३ जना आउन चाहेनन् । १३ जना र अन्य ३ जना पत्रकार साथीहरुको स्वाब संकलन गर्ने काम साढे एक बजेदेखि सुरु भयो ।

स्वाब परीक्षणमा सहभागी भएर हामी घर फर्कियौँ । यस्तै ठाकुरबाबाका मेयर घननारायण श्रेष्ठ, बर्दियाका सीडीओ लिलाधर अधिकारी, बाँकेका सीडीओ रामबहादुर कुरुम्बाङ, प्रशासकीय अधिकृत अर्जुन सुबेदी, रामहरि रिजाल, पत्रकार झलक गैरे सहित जो जस्ले होम क्वरेण्टीनमा बसेको भन्ने थाहा पाएर फोन गर्नुभयो उहाँहरुले आत्मबल बढाउनुभयो । 

कोरोना संक्रमणको सुरुवाती दिनमा मास्क लगाउने, सेनिटाइजरको प्रयोग र साबुन पानीले मिचीमिची हातधुने काम जति बढेको थियो बीचमा फेरि घटेको थियो । तर जब संक्रमितसँगको हेलमेलले घरमै बस्नु पर्यो साबुनपानीले मिचीमिची हात धुने, मास्क लगाइरहने, सेनिटाइजर लगाउने काम बढ्यो । घरपरिवारका सदस्यहरुसँगै गाउँटोलका छिमेकीहरु नजिक आउन डराउन थाले ।

बुधबार स्वाब संकलन गरिएपछि पत्रकार साथीहरुको अनुरोधमा बिहीबार बेलुकासम्म परीक्षण रिपोर्ट निकाल्न आग्रह सहित प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुखमार्फत भेरी अस्पतालमा अलि छिटो नतिजाका लागि आ–आफ्नो ठाउँबाट सबैले पहल पनि गर्नुभयो । बिहीबार बेलुका रिपोर्ट आउने ढुक्क जस्तै थियो । तर भेरी अस्पतालका एक जनालाई घुस सहित अख्तियारले पक्राउ गरेपछि रिपोर्ट आउन ढिला भयो ।

नतिजा नेगेटिभ आउला र भोलिदेखि निरन्तर काममा जाउँला भन्ने धोको पूरा भएन । भोलिपल्ट शुक्रबार बिहान होम क्वरेण्टीन बसेको सातौँ दिन पुगेको थियो । शुक्रबार साउन ९ गते जन्मदिनको शुभकामना दिने आमासहित अरु आफन्त र शुभचिन्तकले केही हुन्न नजिता नेगेटिभ आउँछ भन्ने शुभकामनाले मन अलि शान्त भयो र आँट पनि आयो । 

कोरोना नै लागे पनि जित्छु भन्ने आत्मबल बढाएर बसेको थिएँ । बेलुका ६ बजेतिर पत्रकारहरुको रिपोर्ट आयो भनेर जानकारी आयो । कन्ट्रयाक्ट ट्रेसिङमा परेका बर्दियाका १६ जना पत्रकारसहित २४ जनाको रिपोर्टमध्ये २ जनाबाहेक २२ जनाको रिपोर्ट नेगेटिभ आयो । मसहितका अरुको रिपोर्ट नेगेटिभ आयो । एक जना पत्रकार साथी र अर्का एक जनाको रिपोर्ट पोजेटिभ आएको रहेछ ।

पत्रकारिता क्षेत्रमा खटिने म पहिलो पटक ७ दिन क्वरेण्टीनमा बस्नुपर्यो । भारतबाट नेपाल फर्किएर नगरपालिकाको क्वरेण्टीनमा बस्नेहरुको कथाव्यथा सुनिन्थ्यो । त्यति नै पीडा भोग्नु नपरे पनि तनाव चाहिँ खेप्नुपर्यो । 
 

अन्तिम अपडेट: साउन १७, २०७७

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया