यसकारण मिल्न थाल्यो मौसमको भविष्यवाणी

 साउन ११, २०७७ आइतबार ११:५२:१३ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - ‘साउन ४ देखि ७ गतेसम्म ठूलो पानी पर्छ, बाढी पहिरोको जोखिम छ, पूर्वतयारी र सावधानी अपनाउनुहोला’ जल तथा मौसम विज्ञान विभागले साउन १ गते सूचना निकालेर सचेत गरायो । 

नभन्दै अघिल्लो हप्ता चार दिन ठूलो पानी पर्यो । केही ठाउँमा पहिरो पनि खस्यो । धनजनको क्षति गर्यो । पानी पर्छ भन्ने कुरा पहिल्यै थाहा पाएर सतर्क हुँदा धेरैले ज्यान जोगाए । 

त्यसअघि असार २६ गते पनि विभागले सूचना निकालेर तीन दिन ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन अपिल गर्यो ।

नभन्दै तीन दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्यो । यी सूचनाले मानिसलाई सतर्क बनायो । ज्यान जोगाउन मद्दत गर्यो । 

मौसमविद्ले भोलि सोमबार बेलुकीदेखि पनि ठूलो पानी पर्ने बताएका छन् । मौसमविद्ले भनेलगत्तै सम्भावित बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दा सतर्क भइसकेका छन् ।

पाँच/सात वर्ष अघिसम्म पनि मौसमविद्ले गरेको भविष्यवाणी यसरी मेल खाँदैन थियो । पानी पर्छ भनेको दिन घाम लाग्थ्यो, घाम लाग्छ भनेको दिन पानी पर्दथ्यो । तर पाँच/सात वर्षयता मौसम विभागका धेरै भविष्यवाणी मिल्न थालेको छ । कसरी त ?

आधुनिक प्रविधिबाट सजिलो

‘केही वर्षदेखि हामीले आधुनिक प्रविधिमार्फत मौसमको भविष्यवाणी गर्ने गरेका छौँ, त्यसैले तीन दिनसम्मको मौसम कस्तो हुन्छ भनेर पहिल्यै जानकारी दिन्छौँ, जुन भविष्यवाणी मिलिरहेको छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले उज्यालो अनलाइनसँग भन्नुभयो । पछिल्लो समय विकसित भूउपग्रह, रेडियोसोन्ड, राडार, लिइनेट, गणितीय विश्लेषण, चार्ट एनालाइसिस लगायतका प्रविधिको प्रयोगले भविष्यवाणी मिल्न थालेको उहाँको भनाइ छ । 

रेडियोसोन्ड भने सानो उपकरण हो । यो उपकरण बेलुनमा झुन्ड्याएर उडाउने गरिन्छ । यसले वायुमण्डलको चाप, ताप र सापेक्षित आर्द्रता मापन गर्छ । यसलाई मौसमविद्ले कम्प्युटरको माध्यमबाट अध्ययन गर्छन्, अनि मौसमी अवस्थाको विश्लेषण गर्छन् । 

राडारले मौसमी अवस्था बुझ्नका लागि ‘सिग्नल’ पठाउँछ । त्यो ‘सिग्नल’ बादलमा ठोकिन्छ । पानीको थोपा, असिनालगायत बादलमा भएको चिजसँग ठोक्किएर फर्कन्छ । यसबाट लिइने जानकारीबाट मौसमविद्ले त्यो बादलमा के छ भन्ने पत्ता लगाउँछन् । यसले गर्दा भारी वा हल्का वर्षा हुने, असिना पर्छ कि पर्दैन भन्ने थाहा हुन्छ र मौसमविद्ले त्यहीअनुसार विश्लेषण गर्छन् ।

लाइनेट चट्याङ मापन गर्ने उपकरण हो । यसले तत्काल कता चट्याङ पर्छ र यो कुन बाटोबाट जान्छ भन्नेसम्मको जानकारी मौसमविद्लाई दिन्छ । गणितीय मौसमी प्रविधि अहिलेको सबैभन्दा विकसित प्रविधि हो । कम्प्युटरमा अहिलेको तापक्रम, वर्षा लगायत सबै तथ्याङ्क राखेपछि कम्प्यूटर आफैले मौसम पूर्वानुमान गर्छ । यसको पुष्टि गर्दै मौसमविद्ले जानकारी दिने गर्छन् । 

चार्ट एनालाइसिस पुरानो माध्यम हो । अहिले पनि प्रयोग हुन्छ । यसमा मौसमविद् आफैले निम्न चापीय रेखा, हावाको अवस्थालगायत अरु प्रणाली कता छ भनेर हेर्ने गर्छन् । अनि विश्लेषण गरेर मौसमको पूर्वानुमान गर्छन् । ५, ७ वर्ष अघिसम्म मौसमविद्हरुले परम्परागत प्रविधिमार्फत मौसमको भविष्यवाणी गर्थे ।

वेदर चार्ट एनालाइसिस अर्थात नक्सामा पहिलेका तथ्याङ्कहरु तथा उच्च चापीय र न्यूनचापीय क्षेत्र हेरेर मौसमको हिसाब गर्नुपर्ने बाध्यता थियो ।

तर अहिले मौसमविदले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गर्छन् । रेडियोसोन्ड, राडार, लिइनेट, गणितीय विश्लेषण, चार्ट एनालाइसिस लगायतका उपकरणको प्रयोगसँगै कम्प्युटरबाट भूउपग्रहको तस्बिर वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ । साथै वेदर चार्ट पनि हेरिन्छ । 

'स्याटलाइट इमेज'को प्रयोग भएको झण्डै १२ वर्ष भयो, अनि चार, पाँच वर्षदेखि एनडब्ल्यूपी अर्थात सिष्टम न्यूमेरिकल वेदर प्रेडिक्सनको पनि प्रयोग हुन थालेको छ’, अर्का मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिक चापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गरिन्छ ।

आधुनिक स्याटेलाइट डिस्ट्रीब्युट सिस्टममार्फत प्राप्त हुने विश्वका विभिन्न ठाउँको मौसम जानकारीलाई थप स्रोतको रूपमा उपयोग गरिन्छ । भारतलगायत विभिन्न देशहरूबाट गणितीय प्रविधिबाट प्राप्त हुने मौसम विवरण पनि उपयोगी हुन्छन् ।

यसरी भविष्यवाणी गर्दा देशका विभिन्न ठाउँका साथै छिमेक र विश्वकै मौसम गतिविधिको जानकारी लिनुपर्ने हुन्छ । मौसमविद् शान्ति कँडेलकाअनुसार देशका विभिन्न ठाउँमा रहेका मौसमी केन्द्रबाट हरेक तीन-तीन घण्टामा मौसमी अवस्थाको जानकारी लिएर अपडेट गर्ने काम हुन्छ । यस्तै १०/१० मिनेटमा भू-उपग्रहबाट तस्बिर लिइन्छ । यसले अबको मौसम कस्तो हुन्छ भनेर जानकारी लिन थप सहज भएको उहाँ बताउनुहुन्छ । 

‘पहिले पहिले अमेरिकी भू-उपग्रहले दिएको तस्बिर प्रिन्ट गरेर बादलको अवस्था चित्रमा हेरेर अब यो बादल कता जान्छ भनेर अनुमान गर्नुपर्ने अवस्था थियो, अहिले सजिलो भएको छ’ मौसमविद् मिनकुमार अर्यालले भन्नुभयो । 

मौसमविद्काअनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका विभिन्न मापदण्डका तथ्याङ्क लिएर मौसमी हरहिसाब गरिन्छ । युरोपेली र चिनियाँ भू-उपग्रहबाट प्राप्त तस्बिर पनि हेर्ने गरिएको छ । अहिले मौसम पूर्वानुमान महाशाखाले जापानिज भू-उपग्रह किनेर त्यसको प्रयोग थालेको छ । 

यस्तै पछिल्लो समय काठमाण्डौ कीर्तिपुरबाट रेडिएसनले जडान गरिएको बेलुन दैनिक रुपमा उडाउने गरिएको छ । यो बेलुन जमिनबाट ३२ किलोमिटर माथिसम्म जान सक्छ  । बेलुनमा भएको रेडिएसनले वायुमण्डलको सापेक्षिक आर्द्रता, चाप, हावाको दिशालगायतका मौसमी अवस्था मापन गर्छ । यसको जानकारी कम्प्युटर जडान भएको प्रविधिबाट लिएर मौसमविद्ले मौसम बारे थप पूर्वानुमान गर्न सक्छन् । यसले पनि मौसम पूर्वानुमान मिलाउन केही सहयोग गरेको मौसमविद् बताउँछन् । 

यस्तै सुर्खेतमा जडान गरिएको मौसमी राडारले पनि मौसमी अवस्था थाहा पाउन सहयोग गर्छ । यसले मौसमी भविष्यवाणी मिल्न मद्दत गरेको छ । यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि मात्र त्यस दिनको मौसम भविष्यवाणी गरिन्छ ।

यस्तो भविष्यवाणी गर्दा देशलाई साधारणतया: तीन भागमा अर्थात पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ । साथै ती भेगमा देखा पर्न सक्ने मौसमी गतिविधिलाई समेत ख्याल गरी मौसम भविष्यवाणी गरिन्छ । 
यी आधुनिक प्रविधिको प्रयोगका कारण हिजो आज मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको मौसमविद्ले बताएका छन् । अहिले मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी भविष्यवाणी सार्वजनिक गर्ने गरेको छ । 

अन्तिम अपडेट: साउन २०, २०७७

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया