यसपाली सुनचाँदीका अक्षर प्रदर्शन गरिने छैनन्

 साउन १६, २०७७ शुक्रबार १२:९:२६ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डौ – नेपाल सम्वतको गुंला महिनालाई पवित्र महिनाको रूपमा लिइन्छ ।  गएको साउन ६ गतेबाट शुरू भएर गुंला भदौ ४ गते सकिनेछ ।  यस महिनामा  काठमाण्डौ उपत्यकाका विहारहरूमा बहीद्यः ब्वयेगु भनेर ऐतिहासिक महत्वका सामग्री प्रदर्शन गरिने चलन छ ।  

विशेष गरेर गुंला महिनाको शुक्ल द्वादशीदेखि गाईजात्रासम्म प्रज्ञापारमिताको पुस्तक, सिम्हलसार्थवाहा पनि भनिने सिंहसार्थबाहुको ऐतिहासिक तिब्बत व्यापारयात्राका लोककथासँग सम्बन्धित भित्तेचित्र लगायतका सामग्री प्रदर्शन गरिन्छ । 

जातक कथा अनुसार कान्तिपुरका व्यापारी सिंहसाहु महाजनका छोरा सिम्हलसार्थवाहा ५०० साथीभाइ बटुलेर ताम्रद्वीप (पहिलेको ल्हासा)मा व्यापार गर्न जान्छन् ।  ल्हासामा व्यापार गरी फर्कंदै गर्दा उनीहरूको डुंगा बिग्रिन्छ, ब्रम्हपुत्र नदी किनारा रोकिन्छन् ।

त्यहाँ सुन्दरी युवतीहरूसँग भेट हुन्छ, मायाजालमा फस्छन् । सिम्हलसार्थवाहा आर्यावलोकितेश्वरका परम भक्त भएका कारण देवताले सपनामा युवतीहरू राक्षसी भएका र उनीहरूलाई मायाजालमा फसाएर मारेर खानको लागि बसेका हुन् भनेर सर्तक गर्दछ  ।

बिहान आफू श्यामकर्ण घोडाको रूप धारण गरेर ब्रम्हपुत्र नदी किनारमा बस्ने र  सिम्हलसार्थवाहासहित अरू व्यापारीहरूलाई नदी पार गरिदिने बचन दिन्छन् । तर त्यसरी उद्धार गर्ने क्रममा जे जस्तो परिस्थिति आए पनि पछाडि फर्केर भने हेर्न नहुने भन्दै हेरेमा हेर्ने व्यक्तिलाई राक्षसीहरूले  आहारा बनाउनेछ भनेर सपनामा आर्यावलोकितेश्वर अन्तरध्यान हुन्छन् ।  

सपनामा भने जस्तै भोलिपल्ट ब्रम्हपुत्र नदीकिनारामा श्यामकर्ण घोडा उनीहरूलाई उद्धार गर्नका लागि कुरिरहेको हुन्छ । उनीहरूलाई बोकेर नदीमाथि उड्न थाल्छ, युवती भेषधारी राक्षसीहरूले बोलाउन थाल्छन् । सिम्हलसार्थवाहाबाहेक सबैले पछाडि फर्केर हेर्छन, फलस्वरूप  फर्केर हेरेका व्यापारीहरूलाई राक्षसीहरूले मारेर खान्छन् । सिम्हलसार्थवाहा  एक जना मात्र बाँचेर आफ्नो भूमिमा फर्कन सक्षम हुन्छ ।  

उनीसँगै पछि लागेर आएका राक्षस,राक्षसीहरूले त्यसबेलाका कान्तिपुरका राजासहित राजदरबारका अरू पदाधिकारीलाई मारेर खान्छन् ।  आर्यावलोकितेश्वरबाट प्राप्त चन्द्रहार खड्गको सहयोगले सिम्हलसार्थवाहाले उनीहरूलाई खतम गर्छन् । राजाको अभावलाई परिपूर्ति गर्दै राजा भएर राजकाज सम्हाल्छन् । पछि ताम्रद्वीपमा गएर त्यहाँ पनि उनले विजय हासिल गदर्छन् । फलस्वरूप उनले विजय हासिल गरेका कारण उनको नामबाट नै उक्त द्वीपको नाम सिंहल भनेर राखियो । कालान्तरमा उनी पनि चकंद्यःको नामबाट पनि प्रख्यात हुन पुगे । 

त्यस्तै सिहंसार्थबाहुका राक्षसी श्रीमती पनि उनीसँगै पछि लागेर आएकी हुन्छिन् । तर उनकी जेठी श्रीमतीले घरभित्र नहुलेपछि ठमेल, थँबहिलको विक्रमशील महाविहारको देब्रेपट्टीको मूर्तिविनाको मन्दिरमा उनलाई राखियो र अहिलेसम्म पनि जाःतिका अजिमा भनेर पुज्ने गरिन्छ भनेर भगवान बुद्वलाई चढाउने भात पकाउनु भन्दा अघि चामल पखालेर चौलानी उनलाई चढाउने गरिन्छ । (नेपालभाषामा जातिः भन्नाले चौलानीलाई  भनिन्छ ।) 

गुंला महिनामा बहीद्यः ब्वयेगु  भनेर यस महाविहारमा  भएका चकंद्यः लगायत अन्य मूर्ति सहित महाविहार स्थापना गरेका नीनि भनिने दुई जना महिलाको काठको मूर्ति पनि प्रदर्शन गरिन्छ । त्यस्तै सिम्हलसार्थवाहाको रोमाञ्चक ल्हासा व्यापार यात्रा विवरण सहितको जातक कथा समेटेको लामो भित्तेचित्र (जसलाई नेपालभाषामा विलंपौ भनिन्छ) पनि  सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ । 

त्यस्तै उपत्यकाका सबैभन्दा जेठो बहालको रूपमा स्थापित लिच्छवीकालिन यो महाविहारमा महामंजुश्रीले लेख्नु भएका सूवर्ण अक्षरको शतसहस्रिका पारमिता पुस्तक पनि पाठ गरिन्छ । त्यस्तै  ऐतिहासिक प्रजापारमिता पुस्तकको दुई पाना प्रदर्शन गरिन्छ ।

प्रताप मल्लद्वारा लिखित सुनचाँदीका ठूला अक्षरसहितको एक पाना र सुनचाँदीका साना अक्षरले लेखिएको प्रज्ञापारमिताको अन्तिम पाना गरेर दुई पाना प्रदर्शन गरिन्छ । विशेष गरेर लुँ आखँ, वहँ आखँ स्वः वनेगु भनेर सुनचाँदीका अक्षर हेर्नको लागि मानिसहरू गुंला महिनामा ठमेलको विक्रमशील महाविहारमा पुग्ने गर्दछन् ।  

पहिले यस विहारमा पाँच वटा ऐतिहासिक पुस्तक थियो । महामञ्जुश्रीले लेख्नु भएका शतसहस्रिका प्रज्ञापारमिताको चारवटा संस्करण र नागार्जुन बुद्धले शान्तिपुरबाट ओर्लिएर नागलोकमा बसेर लेख्नु भएको मूल माध्यामिक गरी पाँच वटा ऐतिहासिक महत्वका पुस्तक थिए । तर अहिले त्यहाँ मूल माध्यामिक सुत्रको पुस्तक छैन ।

सिम्हलसार्थवाहाका सन्तान, बौद्धमार्गी प्रधान खलकले थँबहिलमा उनको मूर्ति स्थापना गरी कुल देवताको रुपमा पूजाआजा गर्दै आइरहेका छन् । ३७१ वर्ष अगाडि कान्तिपुरका राजा भएका प्रताप मल्लकी कान्छी रानी राजमती प्रधान खलका चेली थिइन् । १५ भाषाका ज्ञाता ज्वाइँ, राजा प्रताप मल्लले ससुराली आउँदा पाँचै वटा ऐतिहासिक पुस्तकको अध्ययन गरेका थिए । अध्ययनपछि उहाँले ससुरासँग सबै नै पुस्तक माग्नु भएको थयो । यस कुरामा ससुरा र ज्वाइँबीच विवाद लम्बिए पनि ज्वाइँ भएका कारण प्रताप मल्लले मूल माध्यामिक सुत्र मात्र भए पनि हात पार्न सफल हुनु भएको थियो ।

उपत्यकाका विभिन्न बिहारमा गुंला महिनामा प्रज्ञापारमिताको पाठ गर्ने चलन छ । यसै अनुरूप यस महाविहारमा पनि  शतसहस्रिका प्रज्ञापारमिताको चारवटा संस्करणको पाठ काठमाण्डौका विभिन्न बहालका बज्राचार्य गुभाजुबाट गराउने परम्परा कायम छ ।  प्रताप मल्लले हनुमानढोकामा लागेको मूल माध्यामिक सूत्रको पाठ भने ३०, ४० वर्ष अघि नै रोकिसकेको छ । हनुमानढोकामा गरिने पाठमा प्रताप मल्लको ससुराली खलकलाई निम्तो नगएको नै ३०, ४० वर्ष भइसकेको छ ।  

यस विहारमा मात्र नभएर नेपाल सम्वतको गुंला महिनामा  उपत्यकाका अरू विहारहरूमा पनि बहीद्यः ब्वयेगु भनेर एतिहासिक महत्वका सामग्री प्रदर्शन गरिन्छ । थँबहिलमा रहेको विक्रमशील महाविहार गएको साउन १३ गते प्रज्ञापारमिताको पूजा गरेर १४ गतेदेखि पाठ र साउन १६ देखि सिहं सार्थ बाहुको ऐतिहासिक यात्राका लोककथासँग सम्वन्धित भित्ते चित्रको सावर्जनिक प्रदर्शनी गरिनु पर्नेमा यो सबै धार्मिक गतिविधि प्रज्ञापारमिता पुस्तकको पूजामा मात्र सिमित गरिएको छ ।

गाईजात्राको भोलिपल्ट काठमाण्डौका राजकीय कुमारीबाट अवलोकन भएपछि प्रदर्शनी सकाउने परम्परा छ । तर यसपाली कोरोना भाइरसको जोखिम कायम भएकाले प्रदर्शनी नगरिने भएको हो । सुनचाँदीका अक्षरसहितका प्रज्ञापारमिताका पाना पनि देखाइने छैनन् ।

त्यस्तै कोरोनाको असर चकंद्यःको जात्रामा पनि परेको छ । जातक कथामा भनिए झैं सिहंसार्थबाहुले राक्षसहरू संहार गरेको खुसीयालीमा आजसम्म पनि वसन्तपुरमा चीर ठड्याएर होली पर्व मानेको हो भनिन्छ । त्यस्तै होली पूर्णिमाको भोलिपल्ट  सिंहसार्थबाहु अर्थात चकंद्यःको जात्रा गर्ने चलन छ ।

सन् १०३९ मा भारतबाट तिब्बत जानको लागि आएका ११ औं शताब्दीका अतिषा बुद्ध डेढ वर्ष लिच्छवीकालिन यस विहारमा बसेर विहारमा भएका पाँचै वटा ऐतिहासिक पुस्तक अध्ययन गर्नु भएको थियो । अध्ययनपछि विहारको पुनःनिर्माण गरेर सन् १०४१ मा तिब्बत जानुअघि अतिसा बुद्धले ती पुस्तकहरू सारा जनतालाई देखाउनको लागि सुझाउनुभए अनुरूप चकद्यःको जात्रामा देवताको मूर्तिसँगै पुस्तकलाई पनि काठमाण्डौका विभिन्न ठाँउमा घुमाउने गरिन्थ्यो ।

तर माओवादी जनयुद्धताका सुरक्षाका कारण ती पुस्तकलाई विभिन्न ठाँउमा घुमाउने काम रोकिएकोमा २०७६ मा भने कोरोना भाइरसको संक्रमणका जोखिमका कारण जात्रा नै रोकिन पुग्यो । २०७६ फागुन २६ र २७ गते हुनुपर्ने चकंद्यःजात्रा कोरोनाका कारण प्रभावित भएका उपत्यकाका जात्राहरूमध्ये सबैभन्दा पहिला प्रभावित जात्रा हो ।

(थँबहिलको विक्रमशील महाविहारको सिहँसार्थबाहु गँधुली भगवान गुथिका सदस्य सचिव रहेन्द्र प्रधानसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: साउन २१, २०७७

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया