कोरोनाले निम्त्याएको कहर : बेरोजगार युवालाई खेतीपाती र पशुपालन मुख्य अवसर

 साउन १६, २०७७ शुक्रबार १६:१३:७ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – कोरोनाको जोखिम बढ्दो छ । कोरोना सङ्क्रमणबाट जोगिन सहर, बजार र वैदेशिक रोजगारीबाट फर्किएकाहरु गाउँघरमा छन् । कोरोनाले देशभित्र र बाहिर रोजगारी गुमेपछि अबको रोजीरोटीका लागि विकल्प के हुन सक्ला त ? 

गाउँघरमै बसेर व्यावसायिक रुपमा कृषिका काम सुरु गर्ने धेरैको सोच पनि छ । कोरोना महामारी र जोखिमले युवाहरुलाई देशभित्रै अवसर खोज्ने, उत्पादन बढाउने र आम्दानी गर्नुपर्ने बाध्यता नै सिर्जना गरेको छ । यसरी कृषिमा लाग्ने योजना बनाएका युवालाई खेतीबाली र पशुपालनमा मुख्य अवसर के कस्ता छन् त ?

यी हुन् अवसर :

कोरोनाले विगतमा बाँझो रहेका खेतबारी खन्ने र खोस्रने अवसर दिएको छ । गाउँघर, सहर बजार जहाँ बसे पनि खाने कुरा नभइ हुँदैन । त्यसैले खेतीबाली र पशुपालन आम्दानीका स्रोत बन्न सक्छन् । सरकारले कृषि उत्पादनमा आत्मनिर्भर गराउन खाद्य सुरक्षा कायम गर्ने, दूध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी कार्यक्रम सञ्चालन गर्ने बजेट वक्तव्यमै घोषणा गरेको छ । साथै सहकारी सङ्घ संस्थामार्फत् कपास, रेसम, ऊन र अन्य धागो उत्पादन एवं प्रशोधनका लागि अनुदानको व्यवस्था छ । सरकारले दिने अनुदान लिएर समेत गर्न सकिने मुख्य कृषि व्यवसायलाई अबका दिनमा अगाडि बढाउन सकिन्छ ।

अनुदान लिएर गर्न सकिने कृषि व्यवसाय यस प्रकार छन् :

१. तरकारी उत्पादन, प्रशोधन तथा भण्डारण 
२. फलफुल उत्पादन, प्रशोधन तथा भण्डारण 
३. बिउ बिजन उत्पादन, प्रशोधन तथा भण्डारण 
४. पुष्प व्यवसाय 
५. पशुपंक्षी पालन 
६. दूध तथा दुग्धजन्य वस्तु उत्पादन, प्रशोधन र बिक्री वितरण 
७. मत्स्य पालन 
८. च्याउ उत्पादन, प्रशोधन तथा भण्डारण 
९. मासुजन्य उत्पादन, पशु वधशाला, दाना उत्पादन 
१०. जडीबुटी उत्पादन, प्रशोधन र भण्डारण 
११. मौरी पालन
१२. बेत, बाँस खेती
१३. उखु खेती, चिया, कफी, अलैँची खेती, अदुवा/बेसार खेती, रेसम खेती, उत्पादन तथा प्रशोधन 

आर्थिक वर्ष २०७७/०७८ को बजेटले वैदेशिक रोजगारीबाट फर्कने वा आन्तरिक रुपमा रोजगारविहीन अवस्थामा पुगेका नागरिकलाई भर–थेग गर्न सक्ने माध्यमका रूपमा कृषिलाई लिएको छ । मासु, अण्डा, दूध, मह, चिया, कफी, केरा, तरकारीको उत्पादन र उत्पादनलाई सङ्कलन गरेर वितरण गर्न पनि सकिन्छ । अन्नबाली, नगदेबाली, तरकारी, फलफुल खेती तथा पशुपालन गर्न प्रक्रिया पुर्याएर ऋण लिन सकिन्छ ।

मौरी पालन, मत्स्यपालन, बङ्गुरपालन, रेसम किरा पालनका काम गर्ने चाहना भए लगानी नपुगे ऋण लिएर पनि लगानी गर्न सकिन्छ ।  

हेर्नुहोस् सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५

कार्यविधिमा व्यावसायिक कृषि तथा पशुपंछी कर्जा लिन पूरा गर्नुपर्ने मापदण्ड :

१. व्यक्तिको हकमा १८ वर्ष उमेर पूरा भएको 
२. दश लाखभन्दा कम कर्जाको हकमा एकाघर परिवारका सदस्यको जमानीसम्बन्धी कागजात 
३. दश लाखभन्दा बढीको कर्जाका लागि अनिवार्य रुपमा संस्था र एक करोड रुपैयाँभन्दा बढीको कर्जाका लागि कम्पनी हुनुपर्ने 
४. संस्था वा कम्पनीमा नेपाली नागरिकको शत प्रतिशत शेयर स्वामित्व रहेको 
५. उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी प्रस्ताव 

कृषि क्षेत्रको विकासका लागि वाणिज्य बैङ्कले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा समेत उल्लेख छ । विगतमा सहुलियतपूर्ण कृषि कर्जामा पाँच प्रतिशत ब्याज अनुदान प्राप्त हुने गरेकोमा अब पाँच प्रतिशत ब्याजदरमा नै कृषि कर्जा पाउन सकिन्छ । 

आयआर्जनको लागि व्यावसायिक कृषि क्षेत्रलाई जोड दिन आवश्यक छ । समूह बनाएर वा सहकारीमा आबद्ध भएर समेत यी काम गर्न सकिन्छ । ‘कृषिमा अवसर र भविष्य देख्नुपर्छ’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक मनोज ठाकुर भन्नुहुन्छ, ‘बेरोजगार भएर बस्नुपर्ने बाध्यता हटाउन कृषिलाई विकल्पका रुपमा लिनुपर्छ ।’  

नार्कले हरेक सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्दै आएको किसान कल सेन्टर ११३५ मा सम्पर्क गरी सोधी खोजी गर्न पनि उहाँको आग्रह छ । 

विदेशबाट फर्केका युवालाई बेरोजगार नबस्न बरु पशुपालनका काम थाल्न नार्क अन्तर्गतको राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक दोजराज खनालको सल्लाह छ । दुग्धजन्य तथा पशुजन्य पदार्थको माग र बजार पनि विस्तार हुँदै गएकाले प्रशस्त सम्भावना रहेको उहाँको भनाइ छ । ‘कृषिलाई हेलाँ गर्ने दिन गइसकेको छ’ उहाँले भन्नुभयो, ‘कोरोना महामारीबाट पाठ सिकेर स्वरोजगार बन्न, मनग्य कमाउन र स्वाभिमान बन्न अवसर आएको छ ।’ 

उत्पादनलाई बढाउन र बजारसम्म पुर्‍याउन आधुनिक प्रविधिको प्रयोग गर्न विज्ञको सुझाव छ । उत्पादन भएका सामग्री घरघरमा पुर्‍याउन अनलाइन प्रविधि सहयोगी बन्न सक्छ । अहिले अनलाइनमार्फत् उत्पादनलाई बेचबिखन गर्न अनलाइनमा जोडिन सक्ने अवसर छ । कोरोनाको सङ्क्रमण हटेपछि पनि यी व्यवसायलाई निरन्तरता दिन सकिन्छ । 

अन्तिम अपडेट: साउन २१, २०७७

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • कमल अर्याल

    Aug. 1, 2020, 4:29 a.m.

    सरकारले कृषिमा अनुदान दिने कुरा त गर्छ तर कृषिमा आधुनिकीकरण खै? र जग्गा जमीन हुनेले त लालपुर्जा धितो राखेर कर्जा लेलान जसको जग्गा जमिन नै छैन तर प्रचुर सम्भावना भएका हरुको हकमा के छ त योजना? र विना धितो सहुलियत दरमा ऋण उपलब्ध गराउन सके धेरै युवाहरू विदेश जानबाट पछि हटनेछन, तर सरकारले यसको ग्यारेन्टी दिन सक्नुपर्छ र असली जग्गा जमीन नभएकाको पहिचानको लागि आवश्यक पहल गर्नु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया