प्लाज्मा थेरापी : कोरोना सङ्क्रमितको उपचारका लागि आशालाग्दो उपलब्धि

 साउन २०, २०७७ मंगलबार ९:३:४० | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - नेपालमा कोरोना सङ्क्रमणबाट गम्भीर बिरामी परेकाहरुको उपचारको लागि कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिलाई आशालाग्दो रुपमा हेरिएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट एक जना सङ्क्रमितको सफल उपचार भएको जानकारी दिँदै यो विधि अहिलेका लागि नेपालमा विकल्प भएको बताउनुभयो । 

अहिलेसम्म औषधि पत्ता लागिनसकेको कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको वैकल्पिक उपचारको लागि विश्वका विभिन्न देशले कोरोनाबाट निको भएका व्यक्तिहरूबाट प्लाज्मा निकालेर अर्को सङ्क्रमित व्यक्तिमा राखेर उपचार गरिरहेका छन् । 

यही विधिलाई कन्भालेसेन्ट प्लाज्मा थेरापी भनिन्छ । कोरोना सङ्क्रमण भएर निको भएका अर्थात् कोरोना भाइरसको एन्टीबडी भएका बिरामीको प्लाज्मा कोरोना सङ्क्रमणबाट गम्भीर बनेका बिरामीको शरीरमा पठाएर यो विधिबाट उपचार गरिने डा. ज्ञवालीले बताउनुभयो ।

यो विधिलाई युरोपियन देशहरुले पनि तत्कालीन प्राथामिकतामा राखेका छन् । अमेरिका, भारत लगायतका देशमा पनि कोरोनाको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग भैरहेको छ । कोरोनाका बिरामीको उपचारका लागि यो विधि कम जोखिमपूर्ण हुनुका साथै प्रभावकारी र सुरक्षाको मापन गर्न सक्ने अवस्थाको रहेको पनि डाक्टर ज्ञवालीले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा परिषद्ले प्लाज्मा थेरापीको अनुसन्धान सुरु गरेर सफल नतिजा निकाल्न सकेको भन्दै डा. ज्ञवालीले खुसी व्यक्त गर्नुभयो । त्रिवि शिक्षण अस्पतालमा एक जना बिरामीको यस विधिबाट उपचार सफल भएको छ भने सरकारले तीन वटा निजीसहित विभिन्न १२ वटा अस्पतालमा यो विधिबाट कोरोना सङ्क्रमितको उपचार गराउन सक्ने व्यवस्था गरेको छ ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण भइ निको भएका २५ जनाले रगत दान गर्न प्रतिबद्धता जनाएका छन् । 

कसका लागि उपयोगी हुन्छ प्लाज्मा थेरापी ?

कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुको उपचारको लागि यो प्लाज्मा थेरापी विधि अपनाउन थालिएको छ ।

अङ्ग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीसँग प्रतिरोधी क्षमता कम हुने भएकाले त्यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिने डा. प्रदिप ज्ञवालीले बताउनुभयो ।

जटिल प्रकारका बिरामीको शरीरमा एन्टीबडी उत्पादन हुन गाह्रो हुने भएकाले प्लाज्माको प्रयोग उपयोगी हुन्छ । 

प्लाज्मा थेरापीको लागी रगत दिने दाताको मापदण्ड :

पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भइ निको भएको हुनुपर्ने

रगत दान गर्नुभन्दा कम्तीमा १४ दिन अगाडि कोरोनाको लक्षण नदेखिएको हुनुपर्ने

रगत दिँदा रेडक्रसले रक्तदानका लागि तोकेका मापदण्डहरु पूरा गरेर रक्तदान गर्नुपर्ने 

प्लाज्मा प्राप्त गर्ने व्यक्तिको मापदण्ड :

१८ वर्ष पूरा भएको हुनुपर्छ ।

पीसीआर विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको हुनुपर्छ

बिरामी अस्पतालमा भर्ना भएको हुनुपर्छ

बिरामीको अवस्था गम्भीर वा ज्यान जोखिममा परेको अथवा बिरामीको अवस्था गम्भीर हुन सक्ने कुरा डाक्टरले प्रमाणित गरेको हुनुपर्छ । 

प्लाज्मा थेरापी प्राप्त गर्ने व्यक्ति र रगत दान गर्ने व्यक्तिको रगत समूह मिल्नुपर्छ । 

सङ्क्रमितलाई प्लाज्मा थेरापीको आवश्यकताबारेमा अस्पतालले मापन गर्ने सूचकहरु :

सङ्क्रमित अस्पतालको सघन कक्षमा बसेको समय अवधि

अस्पतालमा देखिएको बेलामा देखिएका प्रतिकूल परिघटनाहरु तथा देखिएका सुधारहरु

बिरामी जीवित रहन सक्ने समय अवधि मापन । 

कोरोना विरुद्धको एन्टीबडी तयार भैसकेका व्यक्तिको प्लाज्मामा रोगविरुद्ध लड्ने शक्ति हुने भएकोले त्यो प्लाज्मा बिरामीका लागि उपयोगी हुने डा. ज्ञवालीले बताउनुभयो । त्यसैले कोरोना भाइरसका बिरामीलाई प्लाज्मा दिइन्छ । एन्टिबडी भएका व्यक्तिले दान गरेको रगतबाट आवश्यक प्लाज्मा निकालेर उपचार गराउनुपर्ने बिरामीलाई दिने गरिन्छ ।

कोरोना ठिक भएका व्यक्तिको प्लाज्मा सबैलाई मिल्दैन । रगत समूहसँगै अरु कुराहरु पनि मिल्नुपर्छ । अर्काको शरीरबाट हालिएको प्लाज्माले धेरै समय काम नगर्ने भएकोले बिरामी सङ्क्रमणमुक्त हुनु वा उसको शरीरमा पनि एन्टीबडी बन्नु आवश्यक हुन्छ । प्लाज्मा थेरापीबाट निको हुन्छ भन्ने ग्यारेण्टी भने नभएको विज्ञहरु बताउँछन् ।

कोरोना सङ्क्रमण भएकाहरुमा गम्भीर प्रकृतिको लक्षण देखिन थालेको अवस्थामा कन्भालेसेन्ट प्लाज्मा थेरापी पद्धतिबाट नेपालमै सफल उपचार हुनु खुसीको कुरा हो । अहिले नै १२ वटा अस्पताल यो सेवाका लागि तयार छन्।

नेपालमा झण्डै १५ हजार मानिस कोरोनालाई जित्न सफल भैसकेको र उनीहरुमध्ये धेरैमा एन्टीबडी बनेको हुन सक्ने भएकोले यो उपचार पद्दति नेपालका लागि आशलाग्दो रहेको बिज्ञहरु बताउँछन् । 

अन्तिम अपडेट: भदौ १९, २०७७

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया