साथी यमराजको जहाजमा उडि गएछौ

 साउन २०, २०७७ मंगलबार ११:४४:१२ | अमित राई

अमित चाम्लिङ/हाल कुवेत ।

चढ्दाचढ्दै जीवनको उकालो
थाकेछौ साँच्चै साथी 
हुरीमा सिमल फूलझैँ टाढा–टाढा 
उडि गयौं ।

रहरलाग्दा रहरहरु बिसाउनु पर्ने
कारण के थियो र यतिबेलै ?

सङ्घर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेर
दुःखका रेगिस्तान नाघ्दै नै थियौं । 

खुशीको जहाज चढ्ने बेला
घरको बलेसीमा उभिएर 
कति निर्मम भएका थियौ

​आमाको वृद्ध आँखाले छेक्न सकेन बाटो
एकटकले हेरिरहेकी 
प्यारी छोरीको अनुहार कुल्चेर हिँडेका थियौ
 

अर्धाङ्गिनीसँग​​

एक थुङ्गा फूल साटेर
उँधोउँधो गल्छीको बाटो ।

घर वरपर पहिरो जान्थ्यो
साहुको ऋणमा झनै कठ्याङ्ग्रिन्थ्यो हिउँद
पीरलो बर्खे भेल तीन चुल्हामा पस्थ्यो
गुहार भन्थ्यो छोरीको किञ्चित अनुहार 
आर्धाङ्गिनीको फाटेको कुर्तासलवार
बाढीलाई गाँठो पारूँ भन्थ्यो,

ममतापूर्ण वृद्ध आमाको चेहेरा 
बाढीजस्तै धमिलो देखिन्थ्यो ।

सपना जे देखे नि तिमीसँग बेग्लै र सुन्दर सपना थियो 
एक सुटकेस माया र सम्झना बोकेर
मरुभूमिमा अरफाज फूल जस्तो फुलेकै थियौ ।

तर, बलेसीमा छोडिएकी आमा
अरफाज फूल जस्तै छोरी
थुङ्गे फूलमै साटिएको माया 
उनेर माला गलामा नलाउँदै

छोरीको तस्बिर र साहुको तमसुक राखेर 
सिरानीमुनि

​धत् ! आत्महत्याको टिकट काटेर 
यमराजको जहाजमा उडि गएछौ ।

तिम्रो टिकटको अर्धकट्टी
कोभिड १९, २०२० च्यातेर 
तिमीलाई अरफाज फूल चढाइरहेछु म
सेल्फ क्वरेण्टीनबाट ।।
 

अन्तिम अपडेट: भदौ २, २०७७

अमित राई

भोजपुरका अमित राई हाल कुवेतमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया