इन्जिनियरिङ छोडेर मिडिया रोजेकी म

 साउन २१, २०७७ बुधबार १८:४२:५४ | राधिका कँडेल
unn.prixa.net

पारिवारिक माहोल साङ्गीतिक थियो । घरमा बुवाबाहेक सबै जना राम्रो गाउनुहुन्थ्यो । मेरो एक जना दिदीले त म सानै छँदा नै रेडियो नेपालमा गीत गाइसक्नु भएको थियो । त्यो जमानामा रेडियो नेपालमा गीत गाउने कुरा निकै ठूलो थियो । तर गायिका बन्नु करिअरका हिसाबले त्यसमाथि पनि केटी मान्छेको लागि त्यति राम्रो हुँदैन भनेर दिदीले गायनलाई निरन्तरता दिनु भएन । त्यसपछि अर्को दिदीले गायिका बन्नको लागि एउटा युद्ध नै जित्नु परेको मैले देखेको थिएँ । 

म सानैदेखि पढाइमा अब्बल थिएँ । अनि परिवारमा म पनि सङ्गीतमा होमिने पो हो कि भन्ने पीर थियो । सकेसम्म मिडियाबाट टाढै रहेर सरकारी जागिर खाइदियोस्, कुनै आकर्षक पेसामा लागोस् भन्ने चाहना थियो परिवारमा । 

म पनि परिवारको यही चाहनाअनुसार नै अघि बढेको थिएँ । एसएलसी पढ्दासम्म म कि मेडिकल सेक्टरमा कि इन्जियरिङमै अघि बढ्छु भन्ने सोच्थेँ । तर मनमा सङ्गीतको माया पनि थियो । मैले गाउँछु भनेर जतिलाई थाहा थियो, उहाँहरु सबैले गायनलाई पनि निरन्तरता दिनुपर्छ है भन्नुहुन्थ्यो । तर मैले पहिलो प्राथमिकता पढाइलाई नै दिएँ । म सरकारी स्कुलको विद्यार्थी हुँ । मेरो एसएलसीको ब्याचमा सरकारी स्कुलबाट छात्रातर्फ जिल्लामै प्रथम भएको थिएँ । यो कुराले मेरो बुवा निकै खुसी हुनुभएको थियो । मैले बुवाको त्यही खुसीलाई हेरेर नै एसएलसीपछि इन्जिनियरिङ ज्वाइन गरेको थिएँ । म थापाथली इन्जिनियरिङ क्याम्पसबाट सर्टिफाइड इलेक्ट्रोनिक्स सब–इन्जिनियर बनेँ । 

ओभरसियर अर्थात् सब–इन्जिनियरिङ पढ्दा पढ्दै म बीचमै रेडियोमा प्रवेश गरेँ । म राम्रो बोल्छु भन्ने थाहा पाएर नै मलाई हाँडीगाउँमा रहेकाे रेडियो सिटीको एक जना दाइले रेडियोमा प्रवेश गराउनु भएको थियो । मिडियामा काम गर्न थालेपछि मेरो बढी जसो ध्यान यही क्षेत्रमै गयो । किन भने पढाइ आफ्नो ठाउँमा थियो तर बच्चैदेखि मन भने मिडियासँगै जोडिएको थियो । मैले मिडियामा प्रवेश गर्दा घरमा खुबै रिसाउनुु भएको थियो, पढाइ बिगारेर मिडियामा लागी भनेर । अनि मलाई मेरा आफन्तले हेर्ने नजर पनि परिवर्तन भएको पाएको थिएँ । तर मैले ती कुरालाई खासै वास्ता गरिनँ ।  

मैले ६ वर्षअघि रेडियो अडियो ज्वाइन गरेको हुँ । त्यसअघि मैले काठमाण्डौकै दुई वटा रेडियोमा काम गरेको छु । रेडियो अडियोमा आउँदासम्म पनि मलाई इन्जिनियरिङलाई नै अगाडि बढाउनुपर्छ भन्ने थियो । तर दिनदिनै म यही पेसामा रमाउन थालें । यहाँ काम गर्ने क्रममा नै मैले आफू यही काम र क्षेत्रका लागि हो भन्ने महसुस गरेँ । अनि मैले मिडियामै अघि बढ्ने निधो गरेँ र पत्रकारिता पढ्न सुरु गरेँ । अहिले म पत्रकारितामा मास्टरको विद्यार्थी हुँ ।  

मलाई रेडियो अडियो फापेको महसुस हुन्छ । मैले गरेका हरेक काममा मलाई मोटिभेट गर्ने टिम पाएको छु । हरेक दिन सिकाइको रुपमा जान्छ । रेडियो अडियोका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र खनियाँ सरलाई सम्झिन चाहेँ, किन भने हरेक दिन हरेक कामको लागि मलाई मोटिभेट गर्दै आउनु भएको छ । म यही लेखमार्फत उहाँलाई र रेडियो अडियोको टिमलाई धन्यवाद दिन चाहन्छु ।

मैले रेडियो अडियोमा काम गर्दै गर्दा यसकै डिजिटल प्ल्याटफर्म फर्सी नेटवर्कमा पनि काम गर्न थालेँ, जुन मेरो लागि बिलकुल नयाँ काम थियो । किन भने रेडियोमा बोल्नु र भिडियोमा प्रस्तुत हुने फरक कुरा हो । तर त्यो समयमा एक किसिमको जोश थियो केही गर्नुपर्छ भन्ने । अर्काेतर्फ डर पनि थियो रेडियोमा बोलिरहेको व्यक्ति अचानक भिडियोमा फड्को मार्दा दर्शकले आफ्नो प्रस्तुतीकरणलाई लिएर, लुक्सलाई लिएर के कसो प्रतिक्रिाय दिनुहुन्छ भन्ने । तर मलाई सुरुवाती चरणदेखि नै भिडियोमा पनि दर्शकको साथ मिल्यो । मैले मेरो रुपभन्दा पनि आवाजलाई लिएर धेरै जसो राम्रो प्रतिक्रिया पाइरहेको हुन्छु । सुरुवाती चरणमा हामीले समसामयिक विषयलाई लिएर केही प्यारोडीहरु पनि बनाउँथ्यौँ । मैले सुरुमा गरेको नक्कली तरकारीवालीको अभिनय दर्शकले निकै रुचाउनु भएको थियो । 

रेडियोसँगै म भिडियोको दुनियाँमा रमाउन थालेँ । त्यो क्रममा मलाई भित्रभित्रै मैले सङ्गीतमा पनि केही गर्नुपर्छ भन्ने महसुस हुन्थ्यो । तर मैले यो कुरा कसैसँग पनि साझा गर्दिन थिएँ । एकदिन राम्रै तरिकाले प्रवेश गर्नुछ भन्ने चाहिँ मनमा कता कता थियो । पछिल्लो समय मैले गीत गुनगुनाउन छोडेको पनि धेरै वर्ष भएको थियो । यही कारण पनि आफैलाई मेरो आवाजमा विश्वास थिएन । 

‘तिम्रो मुटु’ गीत रेकर्ड गरेको आठ महिना भयो । मलाई मेरो आवाज एक्सपोज गर्नै समय लाग्यो । राम्रो छैन, यस्तो आवाजमा गीत निकालेर मान्छेहरुले मजाक उडाउने हुन् कि, अहिलेसम्म बनाएको इमेज पनि डामाडोल पो हुने हो कि भन्ने डर लाग्थ्यो । मैले गीत रेकर्ड गरिसकेपछि मात्रै अफिसको टिममा पनि थाहा दिएको थिएँ । गीत सुनेपछि सबैले भन्नुभयो, पहिलो प्रयास राम्रो छ । अनि अलिकति आश पलायो । 

मैले रेडियो अडियोमै ६ वर्ष बिताइसकेको छु, जुन क्रममा मैले देशका ख्यातिप्राप्त व्यक्तित्वहरुसँग काम गर्ने मौका पाएँ । तर मेरै टिममा पनि धेरैलाई मैले गीत गाउँछु त गुनगुनाउँछु भन्नेसम्म पनि थाहा थिएन । यही कारण पनि मैले अफिसियल गीत सार्वजनिक गर्दा धेरै जना सरप्राइज हुनु भएको छ । धेरै अग्रजले मलाई म्यासेज गरेर बधाई दिनु भएको छ । अब यसैलाई निरन्तरता दिनुपर्छ भनिरहनु भएको छ, जुन कुराले मन फुरुङ्ग भएको छु ।

रेडियो अडियोको टिमले दिएको हौसला र गरेको सपोर्टको लागि मैले जति धन्यवाद दिए पनि पुग्दैन । यो गीत सार्वजनिक हुनुमा रेडियो अडियो टिमको निकै ठूलो हात छ । अनि मेरो पहिलो प्रयासमै मलाई विश्वास गरेर भिडियोको लागि छायाकार हरि हुमागाईँ दाइले पनि निकै ठूलो सहयोग गर्नुभएको छ । उहाँले छायांकन गर्नुभएको मेरो भिडियोलाई दर्शकले रुचाइदिनु भएको छ । जतिले हेर्नु भएको छ, सकारात्मक प्रतिक्रिया दिनु भएको छ । 

यी सबै कुराहरुले मलाई के सिकायो भन्दा हामी कहिलेकाहीँ आफ्नो क्षमतालाई वास्ता गर्नै बिर्सन्छौँ । आफ्नो चाहनालाई दबाएर राख्छौँ । कहिलेकाहीँ हामीले आफूलाई चिनेका हुँदैनौँ र कहिलेकाहीँ चिनेका हुन्छौँ, तर अवसर पाइरहेका हुँदैनौँ । म त भन्छु हामी आफैले आफ्नो लागि अवसर बनाउनु पर्ने रहेछ ।  हामी आफैंले आफूलाई चिन्न सक्नुपर्छ । ढिलै भए पनि मैले आफूलाई चिने जस्तो लागिरहेको छ । सङ्गीतको पहिलो कदममै मैले धेरै अग्रजहरुको साथ र आशीर्वाद पाइरहेको छु, जुन कुराले मलाई आगामी दिनको लागि थप हौसला मिलिरहेको छ ।   

अन्तिम अपडेट: भदौ ४, २०७७

राधिका कँडेल

राधिका कँडेल  रेडियो अडियोमा कार्यरत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया