बेरुत विस्फोट : ‘हामी दुई किलोमिटर पर खाजा खाँदै थियौं, बाँच्छु भन्ने लागेकै थिएन’

 साउन २२, २०७७ बिहिबार १७:३८:२५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

सरु गुरुङ/पोखरा, हाल बेरुत(लेबनान)

साँझको समय । सूर्य अस्ताउने सुरमा विस्तारै अग्ला घरहरुको पछाडि लुक्दै थियो । खाजा खान भनेर हामी केही साथी रेस्टुरेन्टमा गयौं । बत्ति पनि थिएन, त्यसैले भित्र गर्मी भनेर कुर्सी बाहिर ल्याएर त्यतै बस्यौं । खाजाको पर्खाइमा थियौं, एक्कासी केही पड्केको ठूलो आवाज सुनियो ।

आवाज यति ठूलो थियो कि एकछिन त मेरा दुईटै कान बन्द भए । बालुवा र सिसाका छर्राहरुले हामीलाई छोयो । दिमागमा त्यतिबेला शून्यताबाहेक अरु थिएन । दगुर्दै हामी रेस्टुरेन्टभित्र छिर्यौं । 

केही मिनेटपछि बाहिर निस्किंदा त पूरै सहर धुवाँको मुस्लोमा हराएको देखियो । केही समय पहिले डुब्दै गरेको सूर्यको प्रकाश पृथ्वीसम्म पुग्नै नपाएर कहाँ बिलायो पत्तै भएन । चारैतर्फ चकमन्न अँध्यारो छायो । सबैभन्दा अँध्यारो त मनमा छायो । 

यो लेबनानको राजधानी बेरुतमा मंगलबार भएको बिस्फोटको क्षण हो । त्यतिबेला हामीहरु विस्फोट भएको ठाउँबाट मात्र दुई किलोमिटर पर थियौं । 

खासै म त्यो ठाउँ जाँदैन थिएँ । तर त्यो दिन भने काम परेर म त्यहाँ गएकी थिएँ । मसँगै दुई जना नेपाली साथीहरु हुनुहुन्थ्यो । हामी नयाँ कामको लागि बुझ्न भनेर त्यहाँ गएका थियौं । एकजना स्पेनिसले नयाँ कामका लागि कुराकानी गर्न भनेर बोलाउनुभएको थियो । 

म साढे तीन बजे नै कोठाबाट हिँडेकी थिएँ । तर पछि ती स्पेनिसले फोन गरेर म बाहिर छु साँझ ६ ७ बज्छ होला भन्नुभयो । तर म त कोठाबाट हिँडिसकेको थिएँ ।

विस्फोट भएको ठाउँबाट म बस्ने ठाउँ गाडीमा जम्मा पाँच मिनेटको दूरीमा पर्छ । हिंडेर जाँदा १०/१५ मिनेटमा पुगिन्छ । त्यहाँ जाँदा गाडीबाट विस्फोट भएकै ठाउँ भएर जानुपर्छ । 

त्यतिबेला कोठाबाट नहिँडेको भए म ६ बजेतिर हिँड्थे होला र विष्फोटको समयमा त्यही बाटोमा हुन्थें होला । किनकी विष्फोट पनि ६ बजेतिर नै  भएको थियो । तर साढे तीन बजे नै हिँडिसकेकाले फर्केर फेरि कोठा जाने कुरा पनि भएन । अलिकति सपिङ पनि गर्नुछ भनेर म र एकजना साथी बस चढेर सरासर गयौं । बाटोमा जाम थियो, त्यसैले बसले पनि एक घण्टा लगायो । 

त्यसपछि त्यहाँ पुगेर अर्को साथीलाई फोन गरेर बोलायौं । त्यही ठाउँमा बस्ने हुनुहुन्थ्यो उहाँ । सबै चिनजान भएको होला भनेर उहाँलाई बोलायौं । त्यसपछि हामी सपिङ गरिरहेका थियौं, हिँडिरहेका थियौं ।

घडी हेरेको ठीक ६ बजेर पाँच मिनेट भएको थियो । जसकोमा काम बुझ्नको लागि जाँदै थिएँ, उहाँले मलाई फोन गर्नुभयो र ७ बज्छ होला ढिलो हुन्छ होला भन्नुभयो । 

त्यसपछि एकघण्टा कहाँ गएर बस्ने भन्ने भयो । साथीहरुले सनैयाँ गार्डेनमा बस्ने र भन्ने कुरा पनि भयो । तर फेरि त्यहाँ नगएर बरु खाजा खाने निर्णयमा हामी पुग्यौं ।

खाजा खादै समय कटाउने भनेर हामी सधैं जाने गरेको नजिकैको रेस्टुरेन्टमा गयौं । खाजा अर्डर गर्यौं । रेस्टुरेन्टमा एसी नै रहेनछ, गमी धेरै थियो । त्यसैले बाहिर कुर्सी तानेर बाहिर बस्यौं ।

अब यतै मर्छु होला भन्ने लाग्यो 

हामी बाहिर बसेका मात्रै के थियौं, एक्कासी भयानक आवाज आयो । फिल्ममा मात्र देखेको थिएँ यस्तो । तर यथार्थमा यत्रो आवाजको कल्पना पनि गरेको थिइनँ । पूरै शरीर हल्लियो । त्यही बेला बत्ति पनि गएको थियो । 

साथीहरुले बत्ति पनि गयो, जेनेटर पड्केको होला भन्नुभयो । तर जेनेटर पड्किदा त यति ठूलो आवाज नआउनुपर्ने भनेर मैले भनेँ । साथीहरुले नजिकै होला नि त त्यही भएर यत्रो आवाज आएको हो भन्नुभयो ।

एकैछिनमा १०, १५ सेकेण्डपछि त पड्केको ठाउँबाट एक्कासी धुलो धुवाँ आयो । रात परिसकेको थिएन । तर धुलो धुवाँले गर्दा पूरै रात परेजस्तै चारैतिर अँध्यारो छायो । त्यसपछि यताउताबाट गरेर हामी भएको ठाउँसम्म माटो बालुवा र सिसाका टुक्राहरु छरिएर आइपुग्यो ।

त्यसपछि हामी कुर्सी लिएर दौडेर रेस्टुरेन्ट भित्र गयौं । त्यहाँसम्म पनि सिसाका ठूलाठूला छर्राहरु पुगेका थिए । ती सिसा र बालुवाका छर्राले हामीलाई पनि लागेको थियो तर केही भएन । ग्यास भरेको सिसा भएकाले त्यसले त्यति असर गरेन । रेस्टुरेन्ट अलि जमिनमुनि (अण्डरग्राउण्ड) भएकाले त्यति असर गरेन । 

भित्र गएर तीन जना हामी टाँसिएर बस्यौं । रेस्टुरेन्ट सञ्चालक कता भाग्यो पत्तै भएन । किचेनको स्टाफ थियो । ती मान्छेलाई के भयो भनेर सोध्यौं, उनी पनि बोल्न नसक्ने स्थितिमा थिए । ट्वाँ परे मूर्तिजस्तै हेरेको हेर्यै उभिई मात्र रहे । कोही पनि नबोल्ने । खुट्टा लगलग काँप्न थालिसक्यो । डरले मुटु फुट्ला जस्तो भयो । त्यसपछि खाजाको ध्यान हुने कुरै भएन । 

एकछिनपछि हामी बाहिर गएर हेरेको त आगोको मुस्लो र धुवाँ आकासमा उडिरहेको देखेपछि त ठूलै बम पड्केछ, अब लेबनान ध्वस्त हुने भयो, अब हामी यतै मर्ने भयौं भन्ने सोच्यौं । 

लेबनानले आर्थिक संकट भोगिरहेको छ, त्यसले गर्दा लेबनानमा आन्दोलन भइरहन्छ । कतै युद्ध पो भयो कि भन्ने पनि लाग्यो । त्यो कुराले निकै पीर भयो । 

उता बस्ने घरमा पनि नेपाली साथीहरु हुनुहुन्थ्यो । उनीहरुलाई के भयो होला भन्ने चिन्ता भयो । तर फोन लागेन । केही समय त नेटवर्क नै गएको रहेछ । 

उता साथीहरु डराएछन् । यता हामी पनि साथीहरुलाई के भयो होला भन्ने डरले चिन्तित थियौं ।

बल्लबल्ल सबैसँग सम्पर्क भयो । सबैले आफूहरु ठीक भएको भनेपछि हामी ट्याक्सी लिएर डराउँदै डराउँदै कोठातिर फर्कियौं । ट्याक्सी पनि विष्फोट भएकै ठाउँको बाटो भएर गुड्यो । त्यहाँ त सबै ध्वस्त भइसकेको रहेछ । त्यहाँ छिर्न नदिएपछि फेरि अर्को बाटोबाट ट्याक्सी गुड्यो । १५्र मिनेट लाग्ने बाटोमा ट्याक्सीले घुमाउँदा घुमाउँदै दुई घण्टा लगायो ।

हामी बस्ने ठाउँमा बाक्लो बस्ती छ । चारैतिर अग्लाअग्ला भवनहरु छन्, त्यसैले पनि  हामी बस्ने घरमा केही असर परेको रहेनछ । 

मेरो मनमा डर भने उस्तै थियो । कोठा पुग्दा पनि मैले आफूलाई सुरक्षित महसुस गर्न सकिनँ । फेरि कतै बम ब्लास्ट हुन्छ होला, हामी त यतै मर्ने भयौं । नेपाल फर्किन नपाइने भयो भन्ने सोचेँ । मनमा डरको महासागर उर्लियो ।

त्यही डरले रातभरि सुत्न सकिनँ । त्यही दिन वाइफाइ पनि थिएन । तारहरु जलेर नेट नै चलेको थिएन । नेपालमा पनि यता ब्लास्ट भएको बारेमा थाहा भइसक्यो होला, घरका मान्छे आत्तिए होलान भन्ने कुरा मनमा खेलिरह्यो ।

खुट्टा काँपेर उभिनै सकिएन

भोलिपल्ट पनि त्यही कुरा दिमागमा घुमिरह्यो । मैले आफूले आफैंलाई पनि सम्हाल्न सकिनँ । म कहिल्यै त्यसरी नडराउने मान्छे पहिलोपटक त्यसरी डराएँ । खुट्टाहरु काँपेर उभिनै गाह्रो भयो । मान्छेहरुलाई चोट लागेको, जताततै रगतले लतपतिएको देखियो । त्यही कुरा दिमागमा घुम्न थाल्यो । मेरो पनि यस्तै हालत भएको भए मेरो बुवाआमालाई के आइपथ्र्यो होला जस्ता अनेक कुरा मनमा खेल्न थाले । 

म बाँचे भन्ने त लागेकै थिएन । अब यहाँ लडाइँ सुरु भइसक्यो, हामीहरु त यही लडाइँमा पर्ने भयौं। लकडाउनको समयमा अहिले नेपाल पनि जान नसक्ने अवस्था छ, के गर्ने कसो गर्ने जस्ता कुरा मनमा खेलिरह्योे । साथीहरु पनि म जस्तै चिन्ता मान्ने । म कोठामा फेरि एक्लै बस्छु । कोठाले पनि मलाई तर्साइरहेको छ जस्तो लाग्न थाल्यो । कोठाभित्र भूत आएर बसेको छ जस्तै हुन थाल्यो । डरले गर्दा खाने कुराको वास्तै भएन ।

रातिको १२ बजेको थियो होला इन्टरनेट चल्न थाल्यो । त्यसपछि नेट भएपछि समाचार पढियो । त्यसमा यो बम विष्फोट नभएर दुर्घटना हो भन्ने समाचार पढेपछि अलिकति ढुक्क भयौं ।

म ६ वर्ष पहिलेदेखि काम एकजना जापनिजको घरमा काम गर्दै आएकी छु । उहाँको काम गर्ने ठाउँ धेरै टाढा छ तर बस्ने ठाउँ बम विष्फोट भएको ठाउँबाट हिँडेर जाँदा चार पाँच मिनेट मात्रको दूरीमा छ । म त्यहाँ सधैँ काम गर्न जान्थें । दुई घण्टा जति काम गर्नुपथ्र्यो महिनामा पैसा दिनु हुन्थ्यो । तर मंगलबार बिहानको उहाँको फ्लाइट थियो । 

एक हप्ता पहिले मात्र उहाँले आफू एक महिनाको छुट्टीमा जापान जान लागेको भनेर मलाई बोलाएर पैसा दिनुभएको थियो ।

कोरोनाका कारण यहाँको अवस्था यस्तो छ, तिम्रो काम पनि छैन भने र मलाई थप पैसा पनि दिनुभएको थियो । महिनाको मेरो तलब भनेको १५० डलर हो तर त्यतिबेला उहाँले ४ सय डलर छाडेर जानुभयो ।  त्यसपछि मैले पनि चाबी छोडेर आएकी थिएँ । मंगलबार उहाँको फ्लाइट थियो । उहाँ बिहान जापान उडिहाल्नुभयो । 

त्यसपछि राति १२ बजे उहाँको फोन आयो । यस्तो घटना भएछ तिमी सञ्चै त छौ भनेर सोध्नुभयो मलाई । मैले अँ म सञ्चै छु यहाँ त यस्तो भयो भनेर भनें । उहाँले पनि फोनबाट त्यो घटना सुनाइसकेको र आफ्नो घर पनि पूरै ध्वस्त भएको बताउनुभयो । 

उहाँ जापान नउड्नुभएको भए  त्यो दुर्घटनामा पर्नु हुन्थ्यो होला । 

त्यसपछि खुसी हुँदै फोनमै उहाँले ‘थ्याङ्क्स गड, यू वेयर नट देयर’ भन्नुभयो । मलाई केही भएको भए आफ्नो घरमा काम गर्ने एकजनाको ज्यान गयो भनेर आफूलाई जिन्दगीभर पश्चाताप लाग्ने थियो पनि भन्नुभयो ।

त्यहाँ नभएको बेला विष्फोट भयो, हामीहरु भाग्यमानी रहेछौं भन्नुभयो । म त त्यहाँ काम गरिरहेको भए त मेरो अन्तिम दिन त्यही हुने रहेछ भन्ने लाग्यो । रातभर सुत्न सकिनँ । बिहान उठेपछि समाचारहरु हेरियो । यो दुर्घटनाबस घटेको रहेछ, अब त फेरि यस्तो हुन्न होला भन्ने लागेर अलिकति ढुक्क भएँ ।

त्यसपछि एकदुई घण्टा काम थियो । काममा जाँदा त बाटोभरी जताततै भत्केको मात्र देखियो । पड्केको ठाउँ त परको कुरा भयो, त्यो ठाउँ त पूरै ध्वस्त भएको छ । त्यहाँबाट २५, ३० किलोमिटरसम्म पनि असर गरेको थियो ।

मलाई त घरका मान्छेसम्म त खबर पुगेको थिएन होला भन्ने लागेको थियो । मेरो बिहानको ड्युटी थियो । बिहानै ड्राइभर लिन आउँथ्यो । म एकछिनको लागि भए पनि पल्टिन्छु भनेर सुतिरहेको थिएँ । त्यहीबेला दिदीको फोन आयो ।

दिदी पनि बुवाआमासँगै पोखरामा बस्नुहुन्छ । बिहानै यो खबर सुनेपछि उहाँले आत्तिंदै मलाई फोन गर्नुभयो । मैले फोन उठाएर ‘मरेको छैन हो मरेको छैन, म जिउँदै छु भनें ।’

अनि दिदीले उताबाट होइन बिहान बिहानै के भन्छ भनेर रिसाउनुभयो । त्यसपछि केही कुरा भयो । खुलेपछि जसरी पनि घर आउनु भनेर भन्दै फोन राख्नुभयो ।

युद्ध होइन, दुर्घटना भएको रहेछ भनेर अहिले त त्यति डर लागेको छैन । सामान्य महसुस नै भएको छ । तर कता कता त मनमा मान्छेलै नै विष्फोट गराएको पो हो कि भन्ने डर त छ । तर डराएर पनि के गर्नु ? हुने कुरा त जसरी भए पनि भएर छोड्छ ।

यहाँ अरु नेपाली त टाढा हुनुहुन्छ । यो क्षेत्र नजिक बस्नेहरु ५०, ६० जना मात्र हुनुहुन्छ । एकजना बहिनीलाई सामान्य चोट लागेको भन्ने कुरा सुन्नमा आएको थियो । थप केही भएको भए विस्तारै जानकारी आउला । अहिलेसम्म नेपालीहरुलाई नोक्सान भएको  त्यस्तो केही सुन्नमा आएको छैन ।

म २००९ मा लेबनान आएको हो । पहिलो पटक परदेशमा मरेर पनि बाँचियो भन्ने अनुभव भएको छ । घर जाउन जहाज चल्दैनन् । के गर्नु यहाँ बस्नुपर्ने बाध्यता छ । आशा छ अब यस्तो नहोला । घर फर्कन पाउँछु होला । किनकी मर्ने भए त म त्यति नजिकै हुँदा मंगलबार त्यही बिस्फोटमा मर्थें होला !

(सरु गुरुङसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)


 

अन्तिम अपडेट: साउन २६, २०७७

तपाईको प्रतिक्रिया