स्मृतिपत्र – घोप्ट्याएर पसिना, गर्दैछु पैसाको खेती अल्लाहको देशमा

 साउन २६, २०७७ सोमबार १२:१९:३५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

छविलाल ओली ‘किरण’, झापा/हाल दोहा कतार ।

मैले घरको संघार नाघ्नुअघि

आमाका आँखा रसिला थिए

कन्तुरमा राखेका पुराना सिक्का निकालेर 

ला बाबु बाटामा खर्च हुन्छ भन्दै 

बादलझैं धुमिल बनाउनु भएको थियो 

रश्मीजस्तै चम्कने अनुहार 

जब निस्किएँ म

खल्तीमा तमसुक शिरमा ऋणको पोको बोकेर 

आँगनको हत्केलामा

कलिला घामको किरणसँगै खेल्ने 

शिशु जस्तै लाग्ने फूलका कोपिलाहरू

मेरो बिदाइमा मुस्कुराइरहेका बेला

मैले रोक्नै सकिनँ 

यी आँखाको डिल भत्किएर

पोखिएका थिए आफ्नै पाउमा 

जुनले पोख्ने शीतका थोपासँग रंग मिल्ने 

मेरा आँसुका थोपाहरू ।।

 

निम्सरो आङमा बजारिएपछि 

ऋणको लठ्ठी 

निभेपछि घरको चुल्हो 

धुरीबाट तारा देखिने भएपछि 

म निस्किएको हुँ

यी नाङ्गा चोकमा 

भोकाइ रहेका शरणार्थी  देवतालाई 

फूलपाती भेटीपैसा चढाउँदै

मुर्दा जलेको खरानीजस्तै 

उड्नु थियो पराइको आकाशतिर 

स्मृति पत्रमा सहिछाप गरेर 

अकम्पित यो अन्तस्करण 

जले पनि भत्भती 

मुस्कुराउनु छ हिमालको छातीमा

मुस्कुराहटसँगै फुलिरहेका गुराँसका थुंगाहरू झैं ।।

 

मैले तन्काउनु छ 

बक्ररेखा कोरिएर मुजा परेको मेरी आमाको अनुहार

अनि फेर्नु छ च्यात्तिएको चौबन्दी 

फर्काउनु छ धितोको जमिन

तिर्नु छ साहुको ऋण 

खाडीमा घोप्ट्याएर पसिना

गर्दैछु पैसाको खेती 

धर्ती आकाश मेरै हो भन्नेले 

रोक्न सकेन गरिबी जो बाढी 

दौडिरहयो जिन्दावाद र मुर्दावादको नारा बोकेर

जीर्ण सडकमा ।।

 

फूलजस्तै फुलेर 

जुनले सिंङ्गारिएको आकाशतिर हेरेर

म मेरो देशको मानचित्र सम्झिन्छु 

अनि हेर्छु

त्यही आकाशको धुरी तिर

देख्दिनँ अस्तु सेलाएर 

फर्किएका मलामिलाई

​मेरो मथिङ्गल भरी खेलिरहन्छ

ती पाखा पखेरा

नागबेली बाटाहरू

​ढुङ्गे देउरालीहरू

लहलह बहेली खेल्ने खेतका हली 

उनले खाने चामल किन्न 

अरब छिरेपछि

बाँझिएका हुन जमिन

हो मलाई आज त्यही जमिनले बोलाईरहेछ ।।

 

गुँड छोडेर उडेको पंक्षी झैं

म उडेपछि अल्लाहाको देशमा

अर्धमुर्छित होलान्

पत्थरका लासहरू

​मैले फूलपाती चढाउन बिर्सिएपछि

चिच्याहट्मा होलान्

न्याउली रुने बनपाखा 

काँसझैं फुलेका मेरा बा ले बिर्सिए होला

औषधि खान

रातभरी हुरी चल्दा

रजस्वला भएकी  पारिजात 

प्रभातमा खसेकी होला

म आँखाको कुवा रित्याएर 

पसिना घोप्ट्याउँदै 

पैसाको खेती गरिरहेछु अल्लाहाको देशमा ।।

 

भोका सपनाको पहिरो गएपछि 

आफ्नै आकृति 

ओरालो झरेको बूढो घामझैं लाग्छ

जसरी आउँछ जून फुलेको रात 

सन्नाटा चिर्दै

त्यसैगरी आउनेछु म 

पहाडगञ्जबाट निस्किएका पंक्षी झैं

कादम्बिनीको फेर समाउँदै 

आफ्नै देशको आँगनमा स्मृति पत्र च्यात्न ।।

अन्तिम अपडेट: भदौ १२, २०७७

तपाईको प्रतिक्रिया