तीन महिनापछि नेपाल–भारतबीच पहिलो पटक छलफल हुँदै

 साउन २८, २०७७ बुधबार १५:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिखमा भिडियो संवाद हुन लागेको भारतीय सञ्चारमाध्यम 'द इण्डियन एक्सप्रेस' ले जनाएको छ । 

भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गर्ने द इण्डियन एक्सप्रेसले जनाएको छ । भिडिओ वार्तामा कोरोना भाइरसको महामारीका विषयमा पनि छलफल हुनेछ । 

भारतले भूकम्पपछिको पुनर्निर्माण, हुलाकी राजमार्ग, रेल, पुलिस तालिम केन्द्र, पेट्रोलियम पाइपलाइन लगायतका परियोजनामा सहयोग गरिरहेको छ । भारतले यो वर्षको बजेटमा आठ सय करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । यी परियोजनाको विषयमा संवाद हुनेछ । 

सन् २०१९ को नोभेम्बरमा भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । 

त्यसपछि गएको मे महिनामा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जाने बाटो उद्घाटन गरेपछि विवाद झनै बढ्यो र संवादविहीनताको अवस्था सिर्जना भएको छ ।  भारतको त्याे व्यवहारपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । यो विषयलाई लिएर नेपाल र भारतबीच तनाव उत्पन्न भएको छ भने द्विपक्षीय संवाद पनि ठप्प भएको छ । 

नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले वार्ताको लागि भारतलाई पटक–पटक अनुरोध गरेपछि मार्च महिनामा वार्ता गर्ने सहमति भएको थियो । तर कोरोना भाइरसको महामारीलाई कारण देखाएर भारतले एकतर्फी रुपमा वार्ता स्थगित भएको जानकारी दिएको थियो । 

गएको मे ११ तारिखमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राबीच संवाद भएयता दुई पक्षबीच संवाद भएको छैन । 

अन्तिम अपडेट: भदौ १५, २०७७

2 Comments

  • सुदर्शन बर्तौला

    Aug. 12, 2020, 11:06 p.m.

    राजदुत र सचिवको प्रोटोकल बराबरी हो ? यताबाट सचिब भएपछि उताबाट पनि सचिब नै हुनुपर्यो, कि यताबाट पनि राजदुत नै हुनु पर्यो अनि बल्ल कुरा मिल्छ । अनि भन्न सकिन्छ सचिबस्तरीय बार्ता वा राजदुतस्तरिय वार्ता ।

  •  0 Reply
  • Kastup Nepali

    Aug. 12, 2020, 10:42 p.m.

    ८०० करोड त भारतमा एउटा फिल्म बनाउन लाग्छ , त्यही फिल्म बनाउन पुग्ने बजेटको लागि रोइकराइ गर्ने हामी नेपाली कठैवरा !

  •  0 Reply

तपाईको प्रतिक्रिया