लाहुरे मगर

 भदौ २७, २०७७ शनिबार १२:३९:१३ | सागर गैरे
unn.prixa.net

‘एक के.जी. मह मगाउनु न है ।’ भान्छा कोठाबाटै यशोदा कराइन् । 

छोराछोरीहरू नौनी होइन मह मन पराउँछन् । म पनि महको पारखी नै हुँ । अस्ति भर्खरै मगाएको मह कति छिटो सकिएछ हँ ? बरण्डामा बसेर मोबाइलमा समाचार हेर्दै थिएँ ।

कुनै पनि काम सम्झिएकै बेला गर्नुपर्दछ, नत्र पछि बिर्सन पनि सकिन्छ भनेर मौरी पालन महासङ्घ बाँकेको अध्यक्ष पुर्मल बस्नेतलाई फोन लगाएँ ।  

देश बन्दाबन्दीमा छ र हामी घरभित्रै बन्दी छाैँ । कोराना जीवाणुहरू विश्वयात्रामा निक्लिएका छन् । आँखाले नदेखिने ती विषाणुले कसलाई कतिबेला निशाना बनाउने हुन् थाहा छैन । कोरोनासँग सुरक्षित रहन हामी घरभित्र बसेका छौँ ।

उनको नागरिकताको नाम हो रामबहादुर थापा । उनको नाम लाहुरे हुनुका पछाडि छुट्टै कथा होलान् । पहाडी र थारू समुदायको बस्तीमा आएका उनी एक्ला मगर थिए ।

रोग तथा महामारीबाट बच्नको लागि पनि पोषिला र रोग प्रतिरोधात्मक खाद्यान्न तथा फलफूल खान बारम्बार स्वास्थ्यकर्मीहरूले सम्झाइरहेका छन् । खाद्यान्नमा सबैभन्दा पोषिलो खाद्यपदार्थ मानिन्छ मह । महसँगै एउटा पात्र सम्झनामा उदाए । उनकै कारण ककौरामा धेरैले मह खान पाए । उनी अर्थात् लाहुरे मगर ।

ककौरा गाउँमा मात्रै होइन वरपरका छिमेकी गाउँ पनि उनलाई लाहुरे मगर नै भनेर चिन्दछन् । उनको नागरिकताको नाम हो रामबहादुर थापा । उनको नाम लाहुरे हुनुका पछाडि छुट्टै कथा होलान् । पहाडी र थारू समुदायको बस्तीमा आएका उनी एक्ला मगर थिए । मैले बाल्यकालदेखि नै उनलाई पृथक व्यक्तित्वका रूपमा देखेँ । उनी अद्भुत गुण भएका व्यक्ति थिए । उनी सामाजिक, व्यवहारिक र सहयोगी थिए । कसैले कुनै पनि कामको लागि बोलाए उनी अत्यन्त सहजतापूर्वक सहयोग गर्दथे ।

आफूमा कहिल्यै पनि बडप्पन र अहमता आउन दिँदैनथे । जतिजति लाहुरे मगरलाई सम्झिँदै जान्छु उतिउति म आफ्नो बाल्यकालतिर फर्किंदै जान्छु । यादमा उनका जीवनका उकाली ओरालीहरू बल्झिन्छन् । सम्झिन्छु, भरतलाई पनि । उसैले पुनः मिलन बनाइदिएको थियो लाहुरेसँग ।

म महको प्रसङ्ग उप्काउँदै भन्छु, ‘दाइ त बाँदरभन्दा पनि छरितो गरी रुख चढ्नुहुन्थ्यो र सजिलैसँग मह काढ्नु हुन्थ्यो ।’ 

आफैँले बिर्सिन थालेका सुदूर अतीत उप्काउँदा उनी एकछिन त मज्जाले हाँसे फोनमै । 

उनी पटक पटक अनेक रूपमा देखिन्थे । कहिले पाउरोटी बोकेर कोहलपुरबाट गाउँगाउँ डुल्थे । कहिले बरफ बेच्दै हिँड्थे । कहिले घरमा ससानो किराना पसल गर्थे ।

छिन्चु पुग्नु अगावै सडकभन्दा तल बेँसीमा रहेको सुन्दर बस्ती हात्तीदमार हो उनको जन्मथलो । उनको पुर्खा पहाडबाट झरेको बताउँथे उनी । २०३२ सालमा २३ वर्षे लक्का जवान लाहुरे श्रीमती र काखकी छोरी च्यापेर घुम्दै फिर्दै बर्दिया ककौरा झरेका थिए । 

उनी पटक पटक अनेक रूपमा देखिन्थे । कहिले पाउरोटी बोकेर कोहलपुरबाट गाउँगाउँ डुल्थे । कहिले बरफ बेच्दै हिँड्थे । कहिले घरमा ससानो किराना पसल गर्थे । कहिले तरकारी बेच्दै हिँड्थे । ककौरा चोकमा कहिले चिया बेच्थे त कहिले भात । कहिले सामुदायिक वन अध्यक्ष हुन्थे । उनको सबैभन्दा चर्चित रूप थियो मह सिकारीको । 

रुख चढ्नका सिपालु थिए उनी । उनी चढ्न नसक्ने रुख नै हुँदैनथे जङ्गलमा । म धेरै पटक कुसुम, जामुन, बेल र टाटा खान उनीसँगै जङ्गल गएको थिएँ । उनी फलहरूको रास लगाइदिन्थे । म अघाउन्जेल खान्थेँ मज्जाले ।

गाउँ घरमा कतै बिषालु सर्प देखे लाहुरे, खसी मार हान्नु परे लाहुरे, रोटे पिङ बनाउनु परे लाहुरे । लिङ्गे पिङ हाल्नु परे लाहुरे । कुवाभित्र छिरेर सफा गर्न परे लाहुरे । मुर्दा पोल्दा लाहुरे । काठ काट्न, गिंडा ओसार्न लाहुरे । मौरीका घारबाट मह काढ्न लाहुरे, हाँस्नु परे लाहुरे, बिरामी पर्दा लाहुरे, कोहीलाई च्याउ, तामा खाना मन लागे लाहुरे, भतेर पकाउन परे लाहुरे, मादल बजाउन परे लाहुरे । लाहुरे र ककौरा एक अर्काका पर्याय नै थिए । 

धान कुटाउनु छ है । लाहुरे गइदिन्थे । मल बोक्नु छ है । लाहुरे हिँडिदिन्थे । हलो जोत्न, बारी खन्न, घर बनाउन, छानो छाउन, दाउरा चिर्न लाहुरेले नगर्ने काम के थियो र  ?

ऐलानी जग्गामा थियो लाहुरेको घर । तीन छोरा तीन छोरी उनका मूल सम्पत्ति हुन् । यी सम्पत्ति बढाउन उनले अनेक रूप धारण गरे । मह बेचेर परिवार पाले ।

उनी एकदम निडर र दह्रो मुटु भएका थिए । रुख चढ्दा दुई ओटा पगाहा बोक्थे एउटा मोटो अर्को अलि पातलो । मोटो डोरी समातेर रुख चढ्थे । तल बस्ने मान्छेले काठका झिंझाझिंजीलाई वरपरबाट हरिया स्याउलाले बेरेर आगो सल्काएर त्यो मुठो उनी समक्ष पुर्याइदिन्थे । उनले त्यही मुठोबाट निक्लिएको धुवाँ मौरीको गोलामा झोसिदिन्थे ।

कहिले जिन्दगी खुसी नै खुसीका पलहरूले भरिन्थ्यो कहिले जता हेर्दा पनि अँध्यारो नै अँध्यारो देखिन्थ्यो । जिन्दगीको सार बाँच्नुमा त रहेछ । 

धुवाँले लठ्ठिएका मौरीले गोलो छोड्नेबित्तिकै उनले अलिकति बचाएर सबै मह काढ्थे । सानो डोरीमा भाँडो बाँधेर तल झारिदिन्थे । फेदमा बसेर लाहुरे मगरका यी सब चर्तिकलाहरू हेर्नु वास्तवमै कुनै रोमाञ्चक फिल्म हेरे जत्तिकै आनन्ददायी क्षण हुन्थ्यो । लाहुरे मगर काँधमा पगाहा बोकेर जङ्गलतिर लाग्दा कुनै फिल्मी नायक भन्दा कम देखिँदैनथे ।

लाहुरे रुखबाट झर्थे र मौरीले गाडेका खिल निकालेर फाल्थे र मह भरिएको भाँडो हेर्दै फिस्स हाँस्थे । कहिले रित्तो भाँडो देखेर निराश हुन्थे । कहिले जिन्दगी खुसी नै खुसीका पलहरूले भरिन्थ्यो कहिले जता हेर्दा पनि अँध्यारो नै अँध्यारो देखिन्थ्यो । जिन्दगीको सार बाँच्नुमा त रहेछ । 

आफूले मह काढ्न चढेका विशाल वृक्षहरू उनकै आँखा अगाडि हराउँदै जान थालेपछि उनलाई नमज्जा लागेर आयो । प्रकृतिको संरक्षण र मौरीको परागसेचन बुझेका लाहुरे अचेल जङ्गल संरक्षणका अभियन्ता बनेका छन् ।

क्याम्पस पढ्दा मैले पहिलो पटक पढेको अङ्ग्रेजी उपन्यास ‘बुढो माझी र समुद्र’को मनैदेखि छोएको त्यो बुढो माझी स्यान्टियागो जो आफ्नो तागत र बैँस गुमाएर पनि आफ्नो पेसालाई निरन्तरता दिइरहेको हुन्छ । जो म बाँच्छु र आफ्नो युवाकालमा जस्तै फेरि चमत्कार गर्छु भन्ने दृढ आत्मविश्वास बोकेको छ ।

त्यही स्यान्टियागो भन्दा ककौराका लाहुरे मगर कुनै अर्थमा कम छैनन् जस्तो लाग्छ । उनका सङ्घर्षहरू ‘बुढो माझी र समुद्र’को स्यान्टियागोले भोगेको जीवनको कथा जस्तै लाग्छ । लाहुरे मगरको जीवन कथा मैले हेरेका सबै फिल्म भन्दा माथि नै लाग्छ । मैले पढेका उपन्यासका नायक भन्दा उच्च लाग्छ । मैले देखेका मानिसभन्दा महान् लाग्छ । 

अन्तिम अपडेट: असोज ६, २०७७

1 Comments

  • Bikash Thapa Magar

    Sept. 12, 2020, 8:37 p.m.

    आहा! कस्तो मीठो संस्मरण। धैरै धन्यवाद लेखकलाई। धेरैपछि मीठो लेख पढ्न पाइयो। विदेशीका कथा र युुट्युबे भाइरल भिडियोले वाक्क भको बेला आँत शीतल भो यो पढेर।

  •  0 Reply

तपाईको प्रतिक्रिया