एक छाक खान नपाएर रोइरहेका नागरिकको आँसुले किन पोल्दैन ?

 असोज २, २०७७ शुक्रबार ११:२५:१ | मेरो कथा मेरो भोगाई

छत्र लकाई खड्का, मोरङ/हाल मलेसिया ।

हुन त म जस्तो एउटा परदेशीले जतिसुकै बोले पनि, लेखे पनि देशको हाल फेरिंदैन । हाम्रो दुःख पनि देखिंदैन ।  ठूला गाडीमा हिँड्ने, एसीभित्र बस्ने, मोटो डस्नामाथि निदाउनेलाई म जस्तो एउटा गरिब नेपाली त्यो पनि आफ्नो घरपरिवारलाई एकजोर लुगा फेरिदिन, घर चुलोबाट परदेश गएकाको दुःखले कहाँ छुन्छ र ?

तर नभुल सरकार मैले यहाँ पसिना बगाएर घर मात्र होइन, देशको अर्थतन्त्रमा पनि योगदान गरेको छु ।

 यो सात समुद्रपारी आएर दिनरात नभनिकन, रगत र पसिना बगाएर मेरो देशको अर्थतन्त्रलाई बलियो बनाउन लागिपरेको छु । 

आज साँच्चिकै यो परदेशबाट मेरो देशको वर्तमान परिस्थितिलाई हेर्दा म भक्कानिएर रोएको छु । किनकी मेरो देशका प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले त पहिल्यै भन्नुभएको थियो कि अब भोकै मर्न पर्दैन । तर खै त हिजोआज परदेशमा मात्र होइन सिंहदरबार नजिकैका सडक पेटीमा नागरिक भोकै भएको किन देख्दैन यो सरकार ?

खाडीमा दुःख पाएका नेपाली र स्वदेशका सडकमा एक छाक खान तड्पिएका नेपालीमा फरक देख्दिनँ । यहाँबाट नेपाल जान नपाएर रुनेहरु हजारौं छन् । नेपालमा कोरोना महामारीको कारण एक छाक खान नपाएर रुने पनि त हजारौं छन् । घरीघरी लाग्छ ती काला सिसाले यस्ता दृश्यहरु छेक्दा पो हुन् कि ? 

म परदेशीको मन रुन्छ । लाग्छ मेरो छाक काटेर दिउँ । तर त्यही बाटो झण्डा फहराउँदै हिँड्नेका मन के ले बनाएको छौ भगवान ? सोध्न मन लाग्छ । तर हामीले पुज्ने भगवान पनि त ढुङ्गा कै हुन । गुनासो के गर्नु र जस्तो पनि लाग्छ । 

प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न पार्टीका नेताहरूलाई के फुर्सद हँुदो हो र गरिबका दुःख सुन्न, उनीहरुको दुःखमा मलम लगाउने योजना बुन्न । 

नेपाली नागरिक कहिल्यै खुशी हुन पाएनन् । उबेलामा राणा शासनमा पनि दुःखै थियो । राजतन्त्रमा पनि यस्तै थियो । आज देशमा गणतन्त्र अर्थात हामीले नै हाम्रो लागि शासन गर भनेर चुनेर पठाएकाहरु पनि नागरिकप्रति उत्तरदायी छैनन् । 

सरकार कुनै पनि बिपत्तीमा नागरिकको सारथी हुन सकेन । भूकम्प आयो, गयो । सरकारलाई केही भएन । दुःख त घर भत्कने नागरिकलाई भयो । बाढी पहिरोले बर्सेनि हजारौंको ज्यान जान्छ । त्यसले पनि के फरक पर्छ र ? नेताका छोराछोरी सम्पन्न देशमा छन् । उनीहरुले भुईँमा टेक्नै पर्दैन ।

अहिले कोरोना आयो । यसले त धनी गरिब भनेन । तर पनि मारमा त गरिब नागरिक नै परे । परदेशिएका नेपालीहरु बिचल्लीमा परे । तर मन्त्री, नेताका छोराछोरी खाडीमा छैनन् । उनीहरुलाई के मतलब । 
गल्ती त हाम्रो पनि हो । भोट हामीले नै दिएका हौं ।

बाँच्नलाई निकै कठिनाइ भइसक्यो । नागरिकलाई जुनै तन्त्र आए पनि उस्तै रहेछ । बस गणतन्त्रका नाममा भएको यो अन्याय हेरेर बस्न मनले मान्दैन । तर पनि बाध्यताहरुले थिचेको एक परदेशी देश चलाउनेको यस्तै प्रवृत्ति हेरेर बाँचिरहेको छ । सुन्दर भविष्यको कल्पना गरिरहेको छ । 

अन्तिम अपडेट: असोज ७, २०७७

1 Comments

  • prem timsina

    Sept. 18, 2020, 12:28 p.m.

    राम्रो लेख मलाई पनि चित्त बुज्यो यस्तो कुरा त म जस्तो सामन्य ब्याति लाई होइन नेताको घैटोमा घाम लाग्नु पर्ने हो

  •  0 Reply

तपाईको प्रतिक्रिया