विदेशको रोजगारीमा भर पर्नुभन्दा स्वदेशमै आत्मनिर्भर बन्नु बेस

 असोज ४, २०७७ आइतबार १६:३६:१३ | महेश्वर नेपाल

गर्दागर्दैैको काम गुम्यो, अब के गर्ने ? पहिलेदेखि यसो गर्छु भन्ने सोचेको भए त ठिकै हो । तर केही सोचेकै छैन । भएकै काममा आफ्नो भविष्यका सपना जोडिएको छ । यस्तो अवस्थामा काम गुम्दा के होला ? 

पर्वतका कृष्ण गुरुङ भन्नुहुन्छ, ‘बाटोहरु बन्द भएझैं लाग्दो रहेछ, अब के गर्ने भनेर सोच्न पनि कठिनै पो हुँदो रहेछ ।’ अहिलेको यो अवस्था देख्दा त उहाँलाई लाग्छ बरु स्वदेशमै आत्मनिर्भर बन्न पर्दो रहेछ । 
हो, कोरोना महामारी सुरु भएपछि अहिले स्वदेश तथा विदेशमा अप्रत्यासित रुपमा रोजगारी गुमाउनु पर्दा धेरैलाई यस्तै भएको छ । 

कृष्ण कतारमा काम गर्नुहुन्थ्यो । काम सजिलै थियो । घर आउजाउ गर्न समस्या थिएन । परदेशको भए पनि उहाँको यो सजिलो रोजगारी पनि कोरोनाको कारण प्रभावित भयो । कोरोनाको कारण कम्पनीले श्रमिक कटौती गर्‍यो । त्यसमा उहाँ पनि पर्नुभयो । 

कृष्ण भन्नुहुन्छ, ‘अझैं केही वर्ष उतै काम गर्ने सोचेको थिएँ, तर महामारीले गर्दा कम्पनीमा असर पर्‍यो, कम्पनीले श्रमिक कटौती गर्‍यो, मेरो जागिर गयो ।’

चार वर्षदेखि कतारमा कार्यरत उहाँको स्वदेशमा केही गर्ने योजना बनिसकेकै थिएन । तर खाइपाइ आएको जागिर गुम्यो । बिना योजना स्वदेश फर्कन पर्‍यो । अब के गर्ने ? उहाँ अन्योलमा पर्नुभएको छ  ।

पहिले अलिअलि कमाएको पैसो घर खर्चमै ठिक्क भयो । कोरोनाको त्रासले मनमा डेरा जमाइरहेका बेलामा के गर्ने उहाँले योजना पनि सक्नुभएको छैन । 

कृष्णजस्तै रोजगारी कटौतीमा परेर कतारबाटै नेपाल आएका भोजपुर षडानन्दका भुपाल साम्पाङको पनि अवस्था उस्तै छ । 

भन्नुहुन्छ, ‘जागिर गुमाएर आइयो, अब यहाँ के गर्ने थाहा छैन, जताजतै कोरोनाको डर मात्र छ ।’ केही काम थालौं न भन्दा पनि कोरोनाको कारण स्वतन्त्र रुपमा काम थाल्न सक्ने अवस्था छैन । 

घरमै बसौं, कहिलेसम्म बस्ने ?

‘अब कृषिमै केही गरौं भन्ने सोचिरहेको छु, तर किसानलेभन्दा ज्यादा त बिचौलियाले कमाउँदा रहेछन्, के गर्ने सोच्दा पनि तनाव नै छ,’ उहाँ भन्नुहुन्छ ।

कति किसानले बजार नपाएर कृषिबाट हात झिकेको अवस्था छ । बजारसम्म पुर्‍याउन पनि बिचौलियाको भर पर्न पर्ने अवस्था छ । किसानले पसिनाको उचित मूल्य पाएकै हुँदैनन् । 

परदेशको काम गुम्यो । अब माम खाने बाटो स्वदेशमै खोज्नुको विकल्प छैन । त्यसैले उहाँले अब आफ्नै ठाउँमा बाख्रापालन र होमस्टे सञ्चालन गर्ने योजना बनाउनुभएको छ ।

राज्यले किसानलाई उचित मूल्याङ्कन नगरेको देख्दा कृषि कर्ममा लागि हाल्न अघि सरेका खुट्टा पनि पछि हट्छन् । भन्नुहुन्छ, ‘किसान र कृषिलाई उचित सम्मान हुने हो भने र मेहनत अनुसारको फल पाउने हो भने म कृषिमै केही गर्ने थिएँ ।’

गएको असोज १ गते वैदेशिक रोजगारीबाट फर्किएका नुवाकोट बेलकोटगढिका  बिनोद सुवेदी यो वर्ष घर बनाएर अर्को वर्ष मात्र स्वदेश फिर्ने योजनामा हुनुहुन्थ्यो । तर कोरोनाको कारण उहाँले रोजगारी गुमाउनुभयो । बिना योजना अकस्मात घर फर्कन परेपछि उहाँ पनि स्वदेशमा के गर्ने भनेर अन्यौलमा पर्नुभएको छ । समय खराब छ । यही समयमा भएको रोजगारी पनि गुमेपछि नयाँ काम के गर्ने ? उहाँले मेसो पाउनुभएको छैन । 

उहाँले काम गर्ने कम्पनीले धेरै श्रमिक कटौती गर्‍यो । त्यही कटौतीमा पर्नुभयो काभ्रे पनौतीका अनुप पाठक पनि । पाठक छुट्टीमा स्वदेश आउनुभएको थियो । छुट्टीमा आएकै समयमा कोरोना नियन्त्रण गर्न कतारले नेपालसहित दक्षिण एसियाली देशका नागरिकको प्रवेशमा रोक लगायो । 

उहाँ तोकिएको समयमा काममा फर्कन त सक्नु भएन । तर कम्पनीले बिदाको समयको पनि तलब भने दियो । तर लामो समयसम्म पनि उहाँ फर्कन नपाउँदा केही दिनअघि मात्र उहाँलाई कम्पनीले रोजगारीबाट निकालेको खबर गर्‍यो । 

परदेशको काम गुम्यो । अब माम खाने बाटो स्वदेशमै खोज्नुको विकल्प छैन । त्यसैले उहाँले अब आफ्नै ठाउँमा बाख्रापालन र होमस्टे सञ्चालन गर्ने योजना बनाउनुभएको छ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका गोल्चेका निराजन सिलवाल ३ लाख ५० हजार रुपैयाँ तिरेर काम गर्न यूएई पुग्नुभयो । 

यूएई पुगेपछि काम र दाम मिलेन । उहाँ एजेण्टको जालमा फसेर ठगिनुभयो ।

लामो समय बेरोजगार भएर बस्नु पर्दाको पीडा एकातिर छँदैछ, अर्कोतर्फ जाँदा  लागेको ऋणको ब्याज । त्यही तनावले उहाँ डिप्रेशनमा पर्नुभयो ।

बिरामी पर्दा अस्पताल जान पाउनु भएन । किनकी साथमा पासपोर्ट थिएन । 

पासपोर्ट, भिसा नभएपछि गैरकानुनी रुपमा बस्नुपर्‍यो । यही कारण झन समस्या भयो । आफ्नो समस्या राख्ने कहाँ ? पैसा हात परेपछि एजेण्टले पनि कुरा सुन्ने कुरै भएन । 

खान बस्नै समस्या परेपछि यूएईमा रहेको श्रमिक सञ्जालले खानाको प्रबन्ध मिलाइदियो । खान मात्र हैन उहाँलाई सञ्जालले नै उपचारको पनि व्यवस्था गरिदियो । दुःखजिलो गरेर स्वदेश फर्कनुभएका उहाँ पनि घर आइपुगेपछि अब के गर्ने भन्ने अन्योलमा हुनुहुन्छ । 

विदेश जाँदा लागेको ऋण त काँधमा छ । गाउँमा मुन्टो लुकाउने घर पनि पहिरोको जोखिममा छ । 

‘गाउँ नजिकै हाइड्रोपावरले सुरुङ खन्न जमिन मुनि ब्लास्टिङ गर्दा बस्ती नै जोखिममा छ,’ उहाँ भन्नुहुन्छ, ‘अब के गर्ने के केहि सोच्नै सकिएको छैन ।’

नामको मात्र मन्त्रालय

२०३८ सालमा श्रम तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो । त्यसयता ५ पटक यसको नाम फेरियो र २०७४ सालमा यसको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राखियो । यसको उद्देश्य श्रमलाई मर्यादित र सुरक्षित व्यावस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सिपयुक्त जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यावसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवद्र्धन छ । 

वैदेशिक रोजगारीबाट आर्जित सीप प्रविधि र पूँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवद्र्धन गर्नु यो मन्त्रालयको जिम्मेवारी हो । तर यसले आफ्नो जिम्मावारी गहन तरिकाले गर्न सकिरहेको छैन । फ्री भिसा फ्री टिकट नारामा मात्र सीमित रहयो । कोरोनाले रोजगारी गुमाएर लाखांै श्रमिक स्वदेश फिर्ने पर्खाइमा छन । 

यतिबेला बजारमा  प्याजको राजनीति चलिरहेको छ । यो अवस्थामा हामीले छिमेकी राष्ट्र भारतको भर होइन बंगलादेशलाई हेरेर केही पाठ सिक्न जरुरी छ ।

नेपाल कृषि प्रधान देश हो भनेर किताबी ज्ञान मात्र लिएकाहरुलाई सुलभ रुपमा कृषि प्रविधि र त्यसबाट उब्जनी भएका हरेक बस्तुहरु सरकारले आफैं खरिद एवम बिक्री वितरण गर्न सके विदेशबाट आयात गर्नुपर्ने बस्तुको नेपालमै उत्पादन गर्न सकिन्थ्यो । 

यतिबेला बजारमा  प्याजको राजनीति चलिरहेको छ । यो अवस्थामा हामीले छिमेकी राष्ट्र भारतको भर होइन बंगलादेशलाई हेरेर केही पाठ सिक्न जरुरी छ । राज्यले कृषिमा ठूलो लगनी न त गरेको छ, तर त्यसको फाइदा आम किसानले होइन, पार्टीका कार्यकर्ता र टाठाबाठाले लिरहेका छ्न । 

देशभर रहेका ७५३ पालिकाले  वैदेशिक रोजगारीबाट फर्किएकाहरु र वैदेशिक रोजगारीमा जान चाहनेहरुको विवरण राखेर उनीहरुको अब को योजना के छ, उनीहरुको सीप र अनुभवको उचित मूल्याङ्कन गरेर स्वदेशमै आत्मनिर्भर हुने वातावरण बनाउन जरुरी छ । नत्र विदेशमा रोजगारी गुमाएर फर्किएकाहरु स्वदेशमा गरीखाने बाटो नभेट्दा फेरि भौंतारिंदै परदेशमा लाग्ने दिन आउनेछ ।

अन्तिम अपडेट: असोज २३, २०७७

तपाईको प्रतिक्रिया