देशमा के छैन ? सबैथोक छ, तर युवालाई भने विदेशिनुपर्ने बाध्यता छ

 असोज ७, २०७७ बुधबार १५:२८:२५ | मेरो कथा मेरो भोगाई

रमेश बुढाथोकी, झापा ।

देश विकास हुँदैछ । नागरिक भोकै छैनन् र राख्दैनौं भनेर नारा लगाउनेले भन्दा पनि वैदेशिक रोजगारीले धेरै नेपालीको जीवनस्तर उकासेको छ भनेर भन्न पर्दैन ।

छ महिना खाना, अनि छ महिना कन्दमुल तरुल भ्यागुर खानुपर्ने बाध्यता होस् या एक छाक खाना अनि एक छाक फलाहार खाएर आफ्नो गुजारा चलाउने आधाभन्दा बढी नेपालीको जीवनमा दुई छाक खाना खाने र हातमा मोबाइल बोक्ने अवस्था बनाएको हो भन्दा म गलत हुन्न होला ।

किनभने मैले त्यो देखेको छु अनि भोगेको पनि छु । आफ्नो घर परिवारको पेट मात्र पालेको छैन् वैदेशिक रोजगारीले देशको अर्थतन्त्र पनि धानेको छ । विकट गाउँबाट सामान्य शिक्षा लिएर विदेश पुगिन्छ । कडा परिश्रम गरेर थोरै भए पनि पैसा कमाइन्छ ।

तर परदेशमा परिवारभन्दा टाढा रहन थालेपछि आफ्नो परिवार र बालबच्चाको चिन्ताले सताउन थाल्छ । गाउँमा न राम्रो स्कुल छ । न त बिरामी हुँदा उपचार गर्ने राम्रो अस्पताल नै छ । अनि आफ्नी श्रीमतीले गाउँमा गरेको दुःख सम्झेर पनि उनीहरुलाई पहाडबाट सहर सार्न मन लाग्छ । बलबच्चा बढ्छन् । आधा कमाइ त यसमै सकिन्छ । तर पनि सानोतिनो घडेरी पनि किनिन्छ ।

पाँच सात वर्षको विदेश बसाइमा त्यो बालुवाको थुप्रोमा घर पनि बन्छ । त्यसपछि त्यो पहाड बिरानो हुन थाल्छ । गाउँको सयौं रोपनी जग्गा बाँझो र एक्लो हुन्छ । फेरि त्यहाँ उसलाई मलिलो बनाउन कोही फर्किएलान् भन्ने प्रतिक्षामा हुन्छ बाँझो बारी । लामो विदेश बसाइ अनि सहरमा घर भएपछि गाउँ सम्झनै मन लाग्दैन ।

त्यो उकालो ओरालो अनि त्यो अभाव र दुःख कस्ले सम्झने ? सहरमै रमाउँछन् । त्यसपछि विदेशमा कमाउनेहरु पनि नेपालमै केही गर्ने योजना बनाएर आउँछन् । जागिर खोज्छन् । विदेशको जत्तिकै कमाइ भएको जागिर रोज्छन् ।

तर त्यतिको श्रम यहाँ पाइँदैन । गाउँबाट पहाड झरेपछि खर्च बढेको हुन्छ । चालचलन र रहनसहन फेरिएको हुन्छ । सबैले सहरी हावाले छुन्छ । तर खर्च कहाँबाट धान्ने ? त्यसैले फेरि एक युवा देशलाई सराप्दै खाडी नै लाग्छ । यसैगरीे अहिले पहाड अनि गाउँ शून्य हुँदै जाँदैछन् ।

सहर बालुवाको थुप्रो सरह बन्दै गएको छ । त्यो बेला जस्तो अब यो बेला छैन । ढिलो अनि थोरै नै भए पनि नेपालका अधिकांश ठाउँमा बाटो पुगेको छ । अनि पालिकास्तरमा नै भए पनि सानोतिनो जलविद्युत निकालेर बत्ति पुगेको छ । त्यो बेला जस्तो विकट अहिले छैन गाउँ पनि ।

जुनबेला गाउँ छोडेर हामी विदेश गएका थियौं । अहिले गाउँमा धेरै कुरा छ तर गाउँको दुर्भाग्य भनौं या आफ्नै हामी छैनौं । त्यो गाउँको बाँझो बारीमा गरे के हुन्न र ! अर्बौंको तरकारी भारतबाट आयात हुन्छ । खर्बौंको खसीबाख्रा, कुखुरा भारतबाट आयात गर्छौं ।

हामी त्यही समाचार पढ्छौं । तर मनन् गर्दैनौं । हामीसँग के छैन ? हिमाल, पहाड र तराइजस्तो मौसम चाहियो त्यस्तै मौसम छ । अनि स्वर्गको टुक्राजस्तो देश छ । तर पनि यो देशको मूल्यलाई सरकारले नबुझिदिँदा आज हजारौं रोपनी जमिन बाँझो राखेर युवाहरु मरुभूमिमा पसिना बेच्न बाध्य छन् ।

अन्तिम अपडेट: असोज २१, २०७७

तपाईको प्रतिक्रिया