रानीपोखरी र दरबार हाइस्कुलको फेरिएको स्वरुप, धरहरा र काष्ठमण्डप पनि आकर्षक बन्दै

 असोज ९, २०७७ शुक्रबार ९:४९:३६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - गएको सोमबार बलराम खत्री काम विशेषले भोटाहिटी पुग्नुभएको थियो । त्यहीबेला उहाँले रानीपोखरी र दरबार हाइस्कुलको फेरिएको स्वरुप देख्नुभयो । अनि तस्बिर लिनुभयो ।

रानीपोखरी र दरबार हाइस्कुलको तस्बिर फेसबुकमा राखेर लेख्नुभयो, ‘लामो समयपछि काम विशेषले भोटाहिटी गएको मौकामा २०७२ को विनाशकारी भूकम्पले ध्वस्त बनाएको रानीपोखरी र दरबार हाइस्कुलले पाएको पुनर्जीवन देखेर विपद्ले विनाश मात्र हैन विकास पनि ल्याउँछ भनेको सही रहेछ भन्ने ज्ञान प्राप्त भयो ।’

खत्रीलाई मात्र होइन, अहिले रानीपोखरी आसपास पुग्ने सबैलाई यसैगरी मनमोहक दृश्यले लोभ्याउँछ । भूकम्पले क्षति गरेका रानीपोखरी र दरबार हाइस्कुलसँगै धरहरा र काष्ठमण्डप पनि धमाधम बन्दैछन् । दरबार हाइस्कुल पुनर्निर्माण भैसकेको छ । रानीपोखरी पनि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । धरहरा र काष्ठमण्डप भने पुनर्निर्माण भैरहेका छन् ।

धरहरामा पन्ध्रौं तलाको काम चल्दै 

धरहराको पन्ध्रौं  तलाको काम भैरहेको छ । हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम हुँदै आएको छ । तर यो हप्ता लगातार जसो पानी परेपछि काममा केही ढिला भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । ‘शनिबारसम्म पानी पर्ने क्रम चल्ने भनिएको छ, पानी पर्न रोकिए ३/४ दिनमा पन्ध्रौं तलाको पनि ढलान हुन्छ’ प्राधिकरणका सम्पदा विज्ञ एवं धरहराको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरले भन्नुभयो, ‘त्यसपछि धरहराको ७ तला मात्रै बाँकी रहन्छ ।’

धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहरामा टावर निर्माणको काममध्ये झण्डै ६६ प्रतिशत सकिएको छ । समग्र धरहरा पुनर्निर्माणको काम भने ४२ प्रतिशत भइसकेको छ । धरहरामा अहिलेसम्म १ अर्ब १४ करोड रुपैयाँ खर्च भएको छ । धरहरा जीआइइटीसी रमन जेभीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्माण गर्ने ठेक्का पाएको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो । धरहरा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा निर्माण गर्न लगाएका हुन् । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । त्यसबेला नै धरहराको उचाई ११ तल्ला थियो । ९० सालको भूकम्पले धरहरा भत्कियो । दुई वर्षपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेरले नौ तल्ला कायम गरी पुनर्निर्माण गरेका थिए । २०७२ को भूकम्पले धरहरा ढल्यो । 

वैशाख १२ मा भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि २०७५ पुस १२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो । धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने गरी पुनर्निर्माण हुने उहाँले बताउनुभएको थियो । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङ स्थल लगायत रहनेछन् ।

गोश्वारा हुलाक भएको ठाउँमा उद्यान बनाइनेछ । अत्याधुनिक पार्किङको व्यवस्था अनुसार त्यहाँ ३४७ वटा गाडी र ६ सय मोटरसाइकल पार्किङ गर्न मिल्ने प्राधिकरणका सम्पदा विज्ञ एवं धरहराको पुनर्निर्माणको काम हेर्दै आएका मानन्धरले बताउनुभयो ।

रानीपोखरी अन्तिम चरणमा

रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । झण्डै ४२ लाख लिटर पानी भर्न बाँकी छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पोखरीमा आइतबारसम्म पानी भरिसक्ने योजना थियो, तर पानीपोखरीमा रहेको ट्याङ्कीमा जम्मा गरेको पानी सकिएपछि अझै केही दिन लाग्ने भएको छ । प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माण हेर्दै आउनुभएका मानन्धरका अनुसार अहिले चार फिटभन्दा धेरै पानी भरिएपछि रानीपोखरीले पुनर्जीवन पाएको छ ।

रानीपोखरीमा पानी अड्याउन मिल्ने गरी झण्डै १० करोडमा उपभोक्ता समितिले काम गरेको हो । २०७२ सालमा भूकम्पले भत्किएको रानीपोखरी साढे पाँच वर्षपछि पुनर्निर्माण भएको हो । मल्ल राजा प्रताप मल्लले १७२७ सालमा अहिलेको काठमाण्डौ महानगरपालिका ३१ मा रानीपोखरी बनाएको मानिन्छ । 

रानीपोखरीको माझमा रहेको बालगोपालेश्वरको काम ९९ प्रतिशत

रानीपोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ । मन्दिर अहिले पनि पुनर्निर्माणकै चरणमा छ । मन्दिरको पनि झण्डै ९९ प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ । अहिले मन्दिर वरपर सफा गर्ने, गजुर र बत्ती राख्ने काम भइरहेको छ ।

रानीपोखरीमा बिजुली जोडेर झिलिमिली बनाइनेछ । वरपर हरियाली पनि बनाइएको छ । अब रानीपोखरी र मन्दिर पुग्न प्रवेश गेट बनाउन बाँकी रहेको मानन्धरले बताउनुभयो । त्यस्तै दरबार हाइस्कुलको एउटा कोठा मागेर बालगोपालेश्वर मन्दिरको गजुरमा जलप लगाउने काम भैरहेको छ ।

स्थानीय बासिन्दासँगै बसेर गजुरमा सुनको जलप लगाउने काम भैरहेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका मानन्धरले बताउनुभयो । ‘गजुर निकाल्दा र राख्दा गर्नुपर्ने पूजाको विधि छ’ उहाँले भन्नुभयो, ‘गजुर राख्न गर्नुपर्ने विधि र नयाँ मन्दिरमा गर्नुपर्ने प्राण प्रतिष्ठाको काम गर्नुपर्छ, अहिले मलमास छ, पूजाविधि गर्न के के गर्नुपर्ने हो छलफलकै क्रममा छ ।’

सीएम तुलसी कन्स्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते नै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी परिसरबाट भूकम्पपछिको पुनर्निर्माण अभियानको सुरुवात गर्नुभएको थियो । तर विवादका कारण पुनर्निर्माणमा ढिलाइ भएको हो । त्यसपछि २०७५ मा उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी पुनर्निर्माणको काम थालिएको थियो ।

यसअघि गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेन । प्राधिकरणले दोस्रो पटक शनिबार संविधान दिवसका अवसरमा रानीपोखरी उद्घाटन गर्ने तयारी गरे पनि हुन सकेन । अब रानीपोखरीको सबै काम सकेर राष्ट्रपतिले उद्घाटन गर्ने प्राधिकरणले जनाएको छ । त्यसबेला रानीपोखरीको नजिकै रहेको दरबार हाइस्कुलको पनि हस्तान्तरण हुनेछ ।

दरबार हाइस्कुल हस्तान्तरण हुन मात्रै बाँकी

रानीपोखरी नजिक रहेकाे ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माणको काम गएको माघमै सकिएको हो । तर कोरोनाकै कारण हस्तान्तरणको काम मात्रै बाँकी छ । चीन सरकारको सहयोगमा निर्माण गरिएको दरबार हाइस्कुलको रेखदेखमा अहिले चिनियाँ टोलीको सुरक्षा गार्ड छन् ।

दरबार हाइस्कुलको भवनको ठेक्का चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले लिएको थियो । २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको हाइस्कुलको पुनर्निर्माण शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो । १९ महिनामा सक्ने गरी दरबार हाइस्कुलमा चीन र नेपाल दुई देशका गरी दैनिक सय जना कामदारले काम गरेका थिए । ८५ करोड रुपैयाँको लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ । भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युटले गरेको हो ।

निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सकिएको तर नेपाल सरकारलाई भवन हस्तान्तरण गर्न बाँकी रहेको बताउनुभएको छ । भूकम्पका कारण पूर्णरुपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको विद्यालयको भवन पहिले जस्तो देखिन्थ्यो अहिले पनि उस्तै देखिन्छ । सुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । भूकम्पअघि यो भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थिए ।

लामो समय काठमाण्डौ महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनर्निर्माणको काम सुरु भएको थियो । तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा १९१० सालमा विद्यालय स्थापना गरिएको थियो । १९६४ सालमा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई दरबार हाइस्कुल खुला गरिएको थियो । पछि २०४८ सालदेखि अरु विषय पनि पढ्न पाउने व्यवस्था गरिएको हो । 

काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत 

भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणकै चरणमा छ । आउँदो असारसम्म काष्ठमण्डपको काम सक्ने लक्ष्य छ । ९ महिना बाँकी रहँदा पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार काष्ठमण्डपको अहिले दोस्रो तलाको काम भैरहेको छ । काष्ठमण्डप तीन तलाको हुनेछ ।

झिंगटीको छाना तीन तला त्यसबाहेक अरु साना साना तला हुनेछन् । ‘काष्ठमण्डपको पुनर्निर्माणमा समस्या केही छैन’ उहाँले भन्नुभयो, ‘लकडाउनअघिकै अवस्थामा जस्तै नियमित काम भैरहेको छ ।’ काष्ठमण्डप पुनर्निर्माणमा प्राचीन कालमा प्रयोग गरिएका सामग्री र विधि नै प्रयोग भइरहेको उहाँले बताउनुभयो ।

भग्नावशेषबाट संकलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ । मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ । ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण गर्दा परम्परागत सीप, विधि, निर्माण सामग्रीबाट नै निर्माण भइरहेको शाक्यको भनाइ छ । पुनर्निर्माणको खर्च काठमाण्डौ महानगरपालिकाले बेहोर्नेछ । अहिलेसम्म काठमाण्डौ महानगरपालिकाले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ दिइसकेको छ ।
 

अन्तिम अपडेट: असोज ३०, २०७७

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया