१७ वर्ष अघिको दशैँ सम्झना : यसपालि पनि परदेशमै बित्ने भयो

 कात्तिक ४, २०७७ मंगलबार १६:१३:५४ | मेरो कथा मेरो भोगाई

भगवान घिमिरे, बुटवल देवीनगर/हाल, दोहा कतार ।

दशैँमा निधारमा अक्षता नपरेको १७ वर्ष लागेछ । १७ वर्षअघि निधारमा परेको टीका र घरमा मनाएको दशैँको याद गर्न पनि गाह्रो हुन थालिसकेछ । क्षितिज पारी पश्चिमी आकाशमा देखिने बादलका धर्साहरु जस्तै ती क्षणका धमिला हुँदै गएको छ तर मेटिएको भने पक्कै छैन ।

यी १७ वर्षको बीचमा परदेश र घरदेश नगरेको हैन । विभिन्न आरोहअवरोह पार गरियो । समय बित्यो । मान्छे फेरिए । बच्चा तन्नेरी भए । तन्नेरी विदेश या शहर बजार लागे । गाउँठाउँ फेरियो । आफू खेल्ने घुम्ने ती खोला, बगर, जंगल खेतबारी अब बिराना भए । बचपनमा सँगै खेलेका, पढेका साथीभाइहरु कति बिराना भए । कतिपय साथीभाइ बिरलै भेटिन्छन् ।

अहिलेको जमानाले ल्याएका गजेटहरुमा जस्तो एक्लै आफू आफैंमा हराउने भर्चुअल दुनिया थिएन उबेला । बरु रेडियोमा बज्ने मंगल धुनले पनि दशैँ पक्कै आएछ भन्ने लाग्थ्यो। दशैँ आउन लागेपछि वर्षायाममा बिग्रेका र झाडीले ढाकेका गोरेटो बाटोहरु चौडा पार्ने मर्मत गर्ने, किनमेल गर्नेको लर्को, अनि गाउँ घरमा स्वदेशी शहर या विदेशमा गएकाहरु फलानो आयो ढिस्कानो आउँदैछ, फलानो त यसपाली आउँदैन रे भन्ने चर्चा परिचर्चा चल्थ्यो ।

घर लिपपोत गर्नको लागि अलि छिट्टै रातोमाटो लिन डोको बोकेर लस्करै लागेर आउँथे, हामी फाँटमै हुनेहरुलाई रातोमाटोको समस्या नभए पनि सेतो माटो चाहिँ राती खोलापारीको पहिरोमा चोर्न जानु पथ्र्यो । दशैँको बेला आमाहरु अलि व्यस्त हुने भएकाले हामी पनि कतिपय आमाहरुले गर्ने काम गर्थेयौं ।

दशैँमा हामी आफैं घरका भित्तामा रातो माटो र कमेरो लगाउँथ्यौं । आमा र भाउजुहरु दशैँको दुना टपरीको लागि डोको बोकेर सालको पात टिप्न जानुहुन्थ्यो । हामी भने दशैँको बिदाभरीलाई दिएको होमवर्क एक दुईदिनमै सक्काएर पढाइको तनाबबाट मुक्त हुन्थ्यौं ।

अनि दिउँसो भने बिदाभरी नै गोठालो जान्थ्यौं । घरको अँध्यारो कुनामा छरेको जमरा केही दिनमा कसको घरमा कति उम्रियो भनेर दाँज्ने गरिन्थ्यो । बिहान उठेदेखि रातिसम्म पिङमै झुण्डिन मन लाग्ने, जति खेले पनि धोको नपुग्ने उमेर थियो त्यो । दशैँ आउनुभन्दा अघिदेखि नै गाउँघरमा रोटे र लिङ्गे पिङ हाल्ने या मर्मत गर्ने चर्चा हुन्थ्यो। लिंगे पिङको लागि लिङ्गो गाड्नु पनि पर्दैनथ्यो । आँप या पिपलका ठूला रुख नै काफी हुन्थे ।

दशैँ बाहेक अरु दिन भने प्रायः बेलुकी घरको सबै काम सकेपछि मात्रै रोटे पिङ खेल्न जान्थ्यौं । दशैँमा कहाँ जाने भन्ने सबैका योजना हुन्थ्यो । तर हाम्रो मामाघर अलि टाढा भएकोले हामि बिरलै जान्थ्यौं । अरु मामाघर गएको देख्दा नरमाइलो चाहिँ लाग्थ्यो ।

हाम्रो बुबाहरु छुट्टिए पनि दशैँको कारोबार सबै सगोलमै हुन्थ्यो र त्यसको खटनपटन हजुरआमाले गर्नुहुन्थ्यो । हाम्रो दुई परिवारलाई एकताको सूत्रमा बाँध्ने धरोहर हुनुहुन्थ्यो हजुरआमा । हाम्रो घरमा प्रायः सबैजसो शाकाहारी भएकोले खसी काट्ने चलन थिएन ।

जेठोबाट टीका लगाइदिने हुनाले सबैभन्दा पहिले बुबाको पालो हुन्थ्यो, हजुरआमाले बुबालाई टीका लगाइदिएपछि बुबा र हजुरआमाले काकालाई अनि त्यसैगरी हरेक चोटी जति कान्छो रोल तिर गयो उति उति एक एक जना टीका लगाइदिने सदस्य थपिंदै जान्थें ।

त्यसैले घरमा चाहिँ दूध घिउको बढी प्रयोग हुन्थ्यो । दशैँको शुभ साइतमा सुरु हुनुभन्दा पहिल्यै सबैजना मन्दिरमा जम्मा हुन्थ्यौं । टीका लगाउन हामी दुई घरका जम्मा हुँदा मन्दिरमा बस्ने गरालीसमेत खाली हुँदैनथ्यो । हाम्रो घरमा जेठोबाट टीका लगाइदिने हुनाले सबैभन्दा पहिले बुबाको पालो हुन्थ्यो, हजुरआमाले बुबालाई टीका लगाइदिएपछि बुबा र हजुरआमाले काकालाई अनि त्यसैगरी हरेक चोटी जति कान्छो रोल तिर गयो उति उति एक एक जना टीका लगाइदिने सदस्य थपिंदै जान्थें ।

हाम्रो घरमा सबै टीकाटालो सकिएपछि हजुरआमा बाहेक हामी अरु सबैजना वरपरका हजुरबा, काका, ठुलाबाकोे घर टीका थाप्न जान्थ्यौं । उबेला अहिलेजस्तो गाडी कहाँ थियो र । टाढा टीका थाप्न जान पर्नेहरु दिन रात हिँडेर पुग्न पर्थ्यो ।

गाउँघरमा सञ्चारको मध्यम रेडियो मात्रै भएको जमानामा मोबाइल हुन्छ भन्नेसमेत कहाँ थाहा थियो र । दशैँको टीका लगाएर कसको कति दक्षिणा जम्मा भयो भनेर पैसा गन्ने र कसको धेरै भयो भनेर तुलना हुन्थ्यो । त्यो पनि हामी केटाहरु त मावली या अन्यत्र गएनौ भने रित्तै ।

हिजोआज त खै गाउँघर कस्तो छ कुन्नी ? पहिले जस्तो रौनक त पक्कै छैन होला । पहिले जस्तो रोटे पिङ, लिङ्गे पिङ मच्चिन्दैनन् । बाटोघाटो खन्ने चटारो छैन । मोटर गुड्ने हुनाले बाटोघाटो त्यसै चौडा छन् । रातोमाटो र कमेरोले लिपेको घरहरु देख्नसमेत गाह्रो छ । युवाहरु गाउँमा छैनन्, भएकाहरु पनि सुबिधा खोज्दै शहर या बजार पसिसके । पहिलेजस्तो डोको बोकेर माटो लिन फाँटतिर झर्न छाडे रे ।

भाउजुबुहारीहरु सालको पात टिप्न भन्दै डोको बोकेर पहिले जस्तो बन जंगल जाँदैनन् रे । कोतघरमा पहिले जस्तो बन्दुक पड्किंदैन रे, बाजा बज्दैनन् रे, जन्ती झैं लर्को लागेर बाजा बजाउँदै नाच्दै र गाउँदै पञ्चवली दिन जानेको हुल देखिंदैन रे । परदेश यात्राको दौरानमा १६ वटा दशैँ यस्तै तिनै पुरानै दिनको याद गर्दै बिते ।

हुन त त्यसबीचमा आफ्नो छुट्टीलाई पछाडि सारेर दशैँमा जाने प्रयास नगरेको पनि हैन । तर त्यसरी आफ्नो जाने समय पछाडि सार्दा आफू जाने प्राथमिकता पाउन गाह्रो हुन्थ्यो र दशैँ छुट्थ्यो । यसपालि भने पक्का बृद्ध बुबाआमाको हातबाट टीका आशीर्वादथाप्ने धोको पूरा होला भन्ने लागेको थियो ।

तर विश्वव्यापी कोरोनाको महामारी बिशाल पहाड बनेर तेर्सियो । तै पनि नेपाली दूतावासले सेप्टेम्बर २६ देखि ३० सम्म हुने अन्तिम पाँच फ्लाइटको लागि मेरो नाम पनि निकालेको थियो । तर कम्पनीले यति चार पाँच दिन भित्रै पठाउन नसक्ने बरु अक्टोवर १५ सम्म नियमित उडानमा पठाउने आश्वासन दियो ।

अब चाहेर पनि योपालि पाल्पा रामपुरमा रहेका बुबाआमाको हातबाट टीका आशीर्वादथाप्न असम्भव छ ।

तर अहिले आएर कम्पनीको त्यो आश्वासन पनि अनिश्चित भएको छ । अब केही दिन भित्रै जान पाइहाले पनि स्वदेशको बढ्दो कोरोना महामारीको कारणले यहाँबाट गएर बुटवलमा रहेको घरमा होम क्वरेण्टीनभित्रै दशैँ मनाउन पर्नेछ ।

अब चाहेर पनि योपालि पाल्पा रामपुरमा रहेका बुबाआमाको हातबाट टीका आशीर्वादथाप्न असम्भव छ । त्यहीमाथि कहिलेसम्म फ्लाइट हुने भन्ने कुनै निश्चित छैन । त्यसैले यसपालिको दशैँ पनि बिगतका दशैँ झैं यहीं मरुभूमिमै पुनरावृत्ति हुन लागेको छ ।

अहिले त झन् कोरोना महामारीले गर्दा स्वदेशमै रहनेहरुको पनि दशैँ खल्लो हुने अवस्था छ । कोरोनाले सबैलाई घर भित्रै थुनेको छ । मान्यजन र आफन्तकहाँ टीका आशीर्वादथाप्न जाने अवस्था छैन । त्यसमाथि सरकारले पनि जहाँ छौं त्यहीं दशैँ मनाउनु अन्यत्र नजानु भनेको छ ।

अर्को सालसम्म त कोरोनालाई पक्कै जित्नेछौं । अनि बिगतमा झैं हर्षोल्लासका साथ फेरि दशैँ मनाउँला । सबैलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।

अन्तिम अपडेट: कात्तिक २७, २०७७

तपाईको प्रतिक्रिया