यो दशैँमा घर आउन पाइएन

 कात्तिक ६, २०७७ बिहिबार १४:४९:३४ | मेरो कथा मेरो भोगाई

कमल न्यौपाने,रुपन्देही देबदह/हाल, यूएई अलऐन ।

घरै अगाडिको फाँटमा लहलह झुलेका मनमोहन धानका बाला । हरेकका घर करेसामा ढकमक्क फुल्दै गरेका मखमली र सयपत्री । आहा कति उत्साह बोकेर आउँथे चाडपर्व । यसपालि पनि मौसम उस्तै छ । धान झुलेका छन्, सयपत्री फुलेका छन् । तर चाडपर्व आएको खुशीमा मन भने फुलेको छैन ।

ज्यान परदेशमा छ । मन गाउँमा । त्यसैले पनि होला यो मनमा आफन्तको अभाव महसुस हुँदो रहेछ । एकातिर महिनौंदेखिको कोरोना कहर ।अर्कोतिर दैलो टेकिसकेको महान चाड दशैँ , तिहार र छठ । हरेक वर्ष जस्तै यस वर्ष पनि हामी परदेशीलाई भावुक र नरमाइलो बनाउन चाडपर्व आईसकेछ ।

कहिलेकाहीँ त आफ्नो संस्कृति, रीतिरिवाज भन्दा धेरै पर यो बिरानो शहरमा यस्ता चाडपर्वहरु किन आउँदा होलान् जस्तो लाग्छ । गएको वर्ष त घरैमा थिएँ । सबै जनासँग दशैँ अनि तिहार मनाउन पाउँदाको त्यो क्षण अहिले कल्पना मात्रै गर्दा पनि मन फुरुङ्ग हुन्छ । तर यतिबेला म परदेशमा छु । परदेशमा चाडबाड आउँदा मन गह्रौँ हुन्छ । भित्रभित्रै पोलेको छ ।

बिरानो देश अझै बिरानो भएको छ । तर पनि अर्को वर्ष घरमा चाडबाड मनाउन पाइन्छ भन्ने झिनो आशा लिएर बस्न बाध्य छु । लामो समयपछि पोहोर साल टीका लगाउन पाउँदा म कति खुसी भएको थिएँ । आमाको हातको टीका, बहिनीको माया भरिएको मखमली र सयपत्री फूलको माला । दशैँको रौनक, तिहारको झिलिमिली, देउसी र भैलो, आज उही पल झलझली सम्झेको छु ।

एकातिर महिनौंदेखिको कोरोना कहर ।अर्कोतिर दैलो टेकिसकेको महान चाड दशैँ , तिहार र छठ । हरेक वर्ष जस्तै यस वर्ष पनि हामी परदेशीलाई भावुक र नरमाइलो बनाउन चाडपर्व आईसकेछ ।

दशैँमा कुन कपडा किन्ने र लगाउने भन्दै म र मेरो जीवन संगिनी नजिकैको पसलमा लत्ताकपडा रोज्न हिँडेको । त्यो रातो सर्ट ,खैरो रंगको पाइन्ट र कालो जुत्ताले मलाई अहिले पनि तेही दशैँको झल्को दिइरहेको छ ।

यसपालि भने कस्तो कपडा किन्ने, कसरी घर सजाउने भन्ने कुराको मलाई कुनै झण्झट छैन । परदेशमा छ । कुन दशैँ कुन तिहार, दशैँको दिन पनि काममा जानुपर्ने छ । अर्काको नुन खाएपछि नुनको सोझो गर्नैपर्छ । म यस्तो बाध्यतामा छु - न घरदेश फर्कन सक्छु, न त यतै भएका आफन्तहरुसँग मिलेर दशैँ नै मनाउन सक्छु ।

बाबा र भाइ पनि एउटै देशमा हुँदाहुँदै पनि एक अर्कासँगै भएर दशैँ मनाउन सक्ने अवस्था समेत छैन । यो कोरोनाको महामारीले गर्दा सबै जनालाई समस्यामा पारेको छ । हरेक वर्ष घरैमा बसी बुबाआमा लगायत मान्यजनहरुको हातबाट टीका र जमराको साथमा आशीर्वाद लिने मन त नभएको कहाँ हो र ? बाध्यता र विवशताले गर्दा परदेशीन बाध्य म जस्ता लाखौँ नेपालीको समस्या यस्तै छ । घरपरिवारको खुशी र उज्ज्वल भविष्य निर्माणका खातिर आफूलाई यो अरबमा समर्पण गर्नु सिवाय मसँग अरु केही उपाय नै रहेन ।

कम्पनीसँग हारगुहार गरी एक महिनाको छुट्टी लिएर जाउ भने पनि कोरोनाले गर्दा टिकट पाउन मुस्किल छ । टिकट पाए पनि घरमा जानासाथ परिवारसँग मिलन असम्भव छ । क्वरेण्टीन र आइसोलेसन गर्दागर्दै भएको बिदा पनि सकिने अवस्था हुन्छ ।

फेरि फर्किएर आउन पाइने हो कि होइन ? अवस्था के कस्तो हुने हो कस्लाई के पो थाहा छ र ? हुँदाखाँदाको जागिर छोडेर गयो अनि आउन नपाउँदा जागिर पनि धरापमा अनि उतै बसौं केही गर्न सक्ने अवस्था छैन । समस्या माथि समस्या । यस्तै यस्तै कुरा सोच्छु अनि भो अहिले जाँदिन बरु अर्को वर्ष जान्छु र मज्जाले घरपरिवारसँग बसेर दशैँ, तिहार अनि छठ मनाएर फर्कन्छु भनेर मन बुझाएको छु ।

अवस्था सामान्य हुन्थ्यो त एक दिनको बिदा मागेरै भए पनि यतै साथीभाइ अनि आफन्तजनहरु मिलेर दशैँ मनाइन्थ्यो । तर कोरोनाले गर्दा कसैलाई भेट्न सक्ने अवस्था पनि छैन् । फेरि आफूले कर्म गर्ने देशको नियम नै कडा छ । जसरी पनि पालना गर्नुपर्छ ।

जुन हाम्रो दायित्व पनि हो । देशभित्रै उचित रोजगारीको अवसर अनि व्यवस्थित नीति नियमहरु नहुँदा म जस्ता लाखौँ युवाहरु भावी सन्तती र परिवारको लागि देश छोडेर परदेशको रापमा सेकिन बाध्य छन् । न त बिरामी हुँदा तातोपानी सोध्ने कोही हुन्छ न त कुनै दिन अलिक थाकेको छु र सक्दिनँ जागिरमा जान्नभन्दा सुनिदिने कोही हुन्छ ।

अहिले यस्तै भए पनि अर्को वर्षसँगै बसेर दशैँ मनाउँला नि भन्ने आशा पालेर बस्नु । भाग्यले किनारा लगाएनछ भने पक्कै फर्कनेछु ।

यहाँ त हामी मानिसभन्दा पनि मेसिन बनेका छौं । पैसासँग आफूलाई सम्झौता गरिसकेपछि यस्तै हुँदो रहेछ । कर्मभूमिमा मनाइने विभिन्न पर्वहरुमा बिदा हुने भए पनि हाम्रा पर्वहरुमा भने कहिल्यै बिदा भएन । यसपालिको दशैँ दिनभरी ड्युटी गर्‍यो । राती कोठामा गयो । सामाजिक सञ्जालमा अरुका निधारैभरी टीका लगाएका फोटा हेर्‍यो बस्यो ।

अघिल्लो वर्ष मैले पनि यसैगरी फोटाहरु पोस्ट्याएको थिएँ नि । त अब फेरि अर्को वर्ष पक्कै पालो आउनेछ भन्दै मनलाई सम्झाएको छु । न श्रीमान् न छोराहरू कोही भएनन् यसपाला भनेर पिर नगर्नुहोला प्यारी आमा अनि दुःखी नहुनु मेरी प्यारी श्रीमती । सोचेझैं जिन्दगी रहेनछ ।

अहिले यस्तै भए पनि अर्को वर्षसँगै बसेर दशैँ मनाउँला नि भन्ने आशा पालेर बस्नु । भाग्यले किनारा लगाएनछ भने पक्कै फर्कनेछु । कानमै गुन्जन्छ तिमीले एक वर्ष त भयो गएको दशैँमा बिदा लिएर आउनुहुन्छ होला नि भनेको आवाज ।

माफ गर प्यारी हामीले चाहे जस्तो भएन, यसपालि दशैँमा म घर आउन पाइनँ र निभाउन सकिन तिमीसँग गरेको फर्कने बाचा । पिर नगर्नुस् म छिट्टै आउनेछु । एक अञ्जुली खुसी बोकेर म छिट्टै फर्कनेछु ।

अन्तिम अपडेट: कात्तिक १०, २०७७

1 Comments

  • Birendra shahi

    Oct. 22, 2020, 3:51 p.m.

    धेरै राम्रो लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया