'एघार वर्षमा तीन दशैँ घरमै मनाइयो, बाँकी सबै परदेशमा'

 कात्तिक ९, २०७७ आइतबार १९:३६:४९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

कपिल ज्ञवाली/गुल्मी, हाल यूएई

म बुझ्ने भएदेखि नै मैले दशैँ–तिहारलाई खुशीयालीको चाडपर्वको रुपमा मानेँ । गाउँ घर छोडेर परदेश गएका र देश भित्रै सहर पसेका बुवा, काका, दाजुहरु दशैँको बेला गाउँ फर्किनुहुन्थ्यो । अनि बल्ल दशैँको मज्जा सुरु हुन्थ्यो ।

गाउँमा आएर बर्खामा भत्केको बाटो खन्ने, भड्खारा पुर्ने, हिँड्नको लागि सजिलो बनाउने, सबै झार गोडेर चिटिक्क बनाउने । सबैका घरमा लिपपोत गरी घर सिँगार्ने । क्या गज्जबको रमाइलो हुन्थ्यो । गाउँलेहरु चौतारीमा जम्मा भएर रमाइला–रमाइला गफ गर्थे । बिहानदेखि साँझसम्म गाउँभरि सबैका घर–घर पुगेर गफ गर्ने, कस्को घरमा के फलफूल छ सबै बाँडिचुडी खाने गरेको याद अझै ताजै छ । 

अहिले म वैदेशिक रोजगारीको क्रममा यूएईमा छु । यहाँ बसेर दूरको मेरो देशको त्यो दशैँतिहार सम्झिदै छु । दशैँको बेला गाउँमा हुने चहलपहल र रमाइलो मेरो दिमागमा घुमिरहन्छ ।

यसो बसेर सोच्ने गर्छु, पहिले कस्ता दिन थिए, अहिले कस्ता भए ? उहिले शहरका मान्छे बुवाआमाको हातको टीका लगाउन गाउँ आउँथे । अहिले बाआमाअलाई उतै बोलाउन थाले । गाउँ सुनसान हुन थाल्यो । 

बाटो डोजरले नै सफा गर्छ । एकअर्काको घर जान बाइक छन् । मनोरञ्जन गर्न घर घरमा टीभी र वाइफाइ छदैछ ।

यस्तै कुराहरु सोच्दै म मेरो विगत सम्झिन्छु । यो कुरा करिव ११ वर्ष पहिलेको हो । देशमा सजिलै सोचेजस्तो जागिर नपाइएपछि वैदेशिक रोजगारीमा जाने कुरा गरियो ।

विदेशमा रहेका भिनाजुलाई चाहिने काजगपत्र पठाएँ । दशैँ आउन १२ दिन बाँकी हुँदै भिसा निस्केको फोन आयो, अनि लाग्नु पर्ने भयो परदेश । 

दशैँको मुखैमा घर छोडेर विदेश जानुपर्दा मुटुमा गाँठो परेको थियो । घरमा सेलरोटी पाक्दै थिए । गाउँमा घरहरु सिँगारिदै थिए । बाहिरबाट गाउँ फर्किनेहरुको चहलपहल बढेको थियो । सबै खुशी देखिन्थे तर मेरी आमाको आँखामा भने टिलपिल आँसु थिए । बा पनि निन्याउरो मुख लगाएर बस्नु भएको थियो । मैले मुटु दह्रो बनाएँ । बाआमाको हातको टीका लगाएर झोला बोकेर आँसु खसाल्दै काठमाण्डौतिर लागेँ ।

काठमाण्डौबाट जहाजमा चडेर परदेश आइपुगियो । यहाँका चिल्ला सफा सडक, गगनचुम्बी भवन, सफा गोरा मान्छे । तर जति यहाँको आकर्षण भए पनि मेरो मन भने गाउँकै झुपडीमा अडेको छ । बाआमाको मुहार झलझली आँखा अगाडि आउँछ । गोठका भैंसी, बाख्रा सम्झिन्छु । साथीहरु के गर्दै होलान भनेर याद आउँछ । यस्तै–यस्तै कुरा मनमा खेलाउँदै बसिन्छ ।

यसै गरी ११ वर्ष बिते । यो अवधिमा जम्मा ३ वटा दशैँ घरमै मनाइएछ, बाँकी सबै परदेशमा । यसपालि पनि आमाले फोन गर्नुभयो । सकेसम्म आउँछु भनेर आशमात्र देखाउने त हो नि हामीले त । यतिका वर्षसम्म विदेशमा पनि दशैँ त मनाइयो तर दशैँ जस्तो नहुने । टीका लगाएर बाहिर हिँड्न पनि कसैले केही भन्ने हो कि भनेर लाज लाग्ने । कोठा भित्रै बसेर मनाएको दशैँ पनि के दशै भन्नु र खै ? 

अन्त्यमा, अहिलेको कोरोना महामारीको अवस्थामा जमघट नगरेरै दशैँ मनाउन म सबैलाई आग्रह गर्दछु । विजया दशमी तथा आउँदै गरेको दिपावलीको देश विदेशमा रहनुहुने सम्पूर्णमा शुभकामना ।
 

अन्तिम अपडेट: मंसिर ६, २०७७

1 Comments

  • Krishna Aryal

    Oct. 26, 2020, 2:36 p.m.

    उच्च कोटीको लेख

  •  0 Reply

तपाईको प्रतिक्रिया