तातोपानी नाका फेरि सञ्चालन

 कात्तिक १२, २०७७ बुधबार २०:३५:२८ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक – नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि फेरि सञ्चालनमा आएको छ । बाढी, पहिराेले तीन महिनादेखि बन्द भइ गएकाे असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखा परेको जनाइ चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो । 

दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएपछि नेपाली कामदार सीमापारि जानु नपर्ने जनाइएको छ । 

यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक १३, २०७७

तपाईको प्रतिक्रिया