ट्राफिक जरिवाना अब अनलाइनमार्फत तिर्न सकिने

 कात्तिक २७, २०७७ बिहिबार १३:५१:२९ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ - उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजना बन्छन् र कार्यान्वयन गर्न कार्यक्रमहरु हुन्छन् । तर बढ्दै गएको जनसंख्या, गाडीकाे चाप, प्रविधिको अभाव, सडकको अवस्था, ट्राफिक संकेतसम्बन्धी सचेतनामा कमीलगायतका कारणले ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ ।  

यही अवस्थामा ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले एकीकृत कार्ययोजना २०७७ ल्याइएको छ । यसैसन्दर्भमा कार्ययोजनामा जोड दिएको विषय, काठमाण्डौ उपत्यकामा ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था र ट्राफिक प्रहरीको आउँदाे योजना तथा कार्यक्रमबारे उज्यालो सहकर्मी मल्लिका थापाले ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना  २०७७ का संयोजक  प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसँग कुराकानी गर्नुभएको छ । 

काठमाण्डौ उपत्यकामा ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था कस्तो छ ?

काठमाण्डौ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि हामी योजनाबद्ध रुपमा काम गरिरहेका हुन्छौँ । गाडीको संख्या, बाटोको अवस्था, बाटोको लम्बाइ, उपत्यकाको जनघनत्व यस्ता सबै कुरालाई व्यवस्थापन गरेर अघि बढ्नको लागि योजना आवश्यक हुन्छ । ट्राफिक प्रहरीसँग भएको सीमित साधनस्रोत र सीमित जनशक्तिले गर्दा उपत्यकामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण छ । यद्यपी योजना बनाएर काम गर्दा हामीलाई सहज हुन्छ ।

केही महिना पहिले सडक दुर्घटना भएर उपत्यका र उपत्यका बाहिर पनि धेरै मानिसको ज्यान जान थाल्यो, प्रधानमन्त्रीले नै चासो राखेपछि लगत्तै प्रधानमन्त्री कार्यालयमा ट्राफिक प्रहरीको सहभागितामा एउटा समिति बनाएर ३७ बुँदे कार्ययोजना बनाएका थियौँ ।

यो कार्य योजनाले यहाँको भौतिक पूर्वाधारहरु सुधार गर्न सम्बन्धित निकायहरु जिम्मेवारी छुट्याइयो । त्यसलाई कार्यान्वयन गर्दै आउदा अहिले चाँहि सडकको अवस्था पहिलेभन्दा सुधार भएको छ, तर यतिले पुग्दैन । थुप्रै कुराको व्यवस्थापन आवश्यक छ ।

सडकमा उभिएर काम गर्ने हामी ट्राफिक प्रहरीमा थोरै मात्र अधिकार छ । ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि अरु निकायसँग समन्वय  गरेर समस्या समाधानका लागि पहल गर्छ । सडक विभाग, यातायात व्यवस्था कार्यालय, स्थानीय प्रशासन, पालिका, व्यवसायी, मजदुर तथा विभिन्न संघसस्थासँग मिलेर हामीले  काम गर्नुपर्ने हुने रहेछ । त्यसैले सबैसँग छलफल गरी बेला-बेला योजना बनाउने र कार्यान्वयन गर्दै जाने गरेर काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन भइरहेको छ ।

उपत्यकामा बाह्र लाखभन्दा बढी गाडी छन् । लगभग २१ किलो मिटर सडक छन् । ट्राफिक प्रहरीमा १ हजार पाँच सय जनशक्ति छन् । यो हिसाबमा १ किलोमिटरमा लगभग १२ सय गाडी गुड्नुपर्छ । १ जना ट्राफिक प्रहरीले नौ सयसम्म गाडी हेर्नुपर्ने हुन्छ भने यो चुनौतीपूर्ण अवस्था हो ।

ट्राफिक प्रहरीले सचेतना फैलाउने, चेक प्वाइन्टमा नियमित ड्युटी गरेर जाँच गर्ने, विभिन्न निकायसँग समन्वय गरेर चुनौतीको सामना गर्नेसँगै थुप्रै रचनात्मक कामहरु गरिरहेको छ । यसले गर्दा नागरिकले ट्राफिक व्यवस्थापनमा सुधार भएको अनुभव गर्न पाएका छन् ।    

तपाईँकै संयोजकत्वमा बनेको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना  २०७७ अनुसार अब ट्राफिक व्यवस्थापनको काम कसरी अघि बढ्छ ?

दुई महिनाअघि गृह मन्त्रालयले सडकसँग सम्बन्धित कार्यालय, यातायात कार्यालय, काठमाण्डौ र ललितपुर महानगरपालिका, विभिन्न मन्त्रालय लगायतको सहभागितामा एउटा समूह गठन गरेको थियो ।

यही समूह सदस्यको संलग्नतामा एकीकृत कार्ययोजना बनाएका छौँ । यस कार्ययोजनामा पहिलाको ३७ बुँदे कार्ययोजनामा कार्यान्वयन हुन बाँकी कामहरु समेटेका छौँ । यस्तै फिल्डका खटिएका अधिकृतसँग सुझाव लिएर सुधार आवश्यक क्षेत्रमा काम गर्ने कुरा उल्लेख छ । यसमा विशेष गरेर ट्राफिक व्यवस्थापनलाई कसरी सहज र सुरक्षित बनाउने तथा कसरी प्रविधिमैत्री बनाउने भन्ने विषयलाई केन्द्रीत गरिएको छ ।

एकीकृत कार्ययोजना  २०७७ प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई जोड दिएको छ । जसमा सीसी क्यामराको विस्तार गरी थप व्यवस्थित बनाउने, अहिले २६ वटा मुख्य चोकमा ट्राफिक वत्ति भएकामा अरु ठाँउमा थप्ने, सम्बन्धित निकायसँग समन्वय गरी सडक बत्ती राख्न पहल गर्ने, ट्राफिक कन्ट्रोल रुमलाई प्रविधियुक्त बनाउने, गाडीको गति नियन्त्रणका लागि ठाउँठाउँमा स्पीड डिटेक्टर राख्ने योजनाहरु समावेश छन् ।

यस्तै गाडी अनुमतिपत्रका लागि लिइने परीक्षा पनि डिजिटललाइज गर्ने, सार्वजनिक गाडीमा इ-टिकेटिङको व्यवस्था गर्ने, कुनै पनि किसिमका जरिवाना पनि अनलाइन भुक्तानी गर्न मिल्ने गरी व्यवस्था मिलाउन पहल गर्ने लगायतका प्रविधि विकास गर्ने कुराहरु कार्ययोजनामा उल्लेख छ ।

सडकमा हुने अनाधिकृत हटाएर सशुल्क र निःशुल्क पार्किङको पुनरावलोकन गरी कार्यान्वयन गर्नुपर्ने, काेरिडोर क्षेत्रमा पनि उचित ठाउँमा पार्किङको व्यवस्थापनका साथै सडक छेउका खाली जमिनमा स्मार्ट पार्किङको व्यवस्थापन गर्नुपर्ने समेत तत्कालीन कार्ययोजनाले समेटेको छ ।

केही समयअघि धुलाम्मे र हिलाम्मे हुने काठमाण्डौका सडक केही निश्चित ठाउँमा बाहेक अहिले त्यस्तो छैन । पछिल्लो समय सहरका मुख्य सडक क्षेत्र चिल्ला र सडक सङ्केतयुक्त पाइन्छ । तर सहज तरिकाले सवारी आवागमन गराउन अझै सडक मर्मत गर्नुपर्ने देखिन्छ ।

त्यहीअनुसार काम अघि बढाउने, सडकमा यात्रा गर्दा बाधा पुर्याउने समाग्री हटाउने वा पन्छाउने, उपत्यकामा गुड्ने साना सार्वजनिक गाडीलाई निरुत्साहित गरी ठूला गाडी चलाउन र यात्रुलाई चढ्न प्रोत्साहन गर्ने लगायतका कार्ययोजना अघि सारिएको छ । यसैगरी एकीकृत कार्ययोजनाले विभिन्न क्षेत्रमा आवश्यकतानुसार अण्डरपास र ‘फ्लाइओभर’ सडक निर्माण गर्नुपर्नेमा जोड दिएको छ । 

सहरका मुख्य चोकबाहेकका भित्र सडकमा त अहिले पनि गाडीको अत्याधिक चाप, साँघुरा सडक, चोक गल्लीको उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा अवरोध भइरहेकै छ  नि ?

पक्कै पनि, भित्रि क्षेत्रमा सहरीकरण बढेको छ, बजार विस्तार भएको छ । मानिसहरले ठूलाठूला घर बनाएसँगै बाटोहरु पनि बनिरहेका छन् । त्यसैले यस्ता ठाउँमा पनि काम गर्नुपर्छ भनेर हामीले कार्ययोजनामा राखेका छौँ । हामीले स्थानीय सरकारसँग पनि समन्वय गरिहेका छौँ । त्यो क्षेत्रमा भइरहेका गलत पार्किङलाई पनि हटाउने प्रयास गर्छौँ ।

सरकारले बनाएको सडक मापदण्ड विपरीत कसैलाई काम गर्न दिनेछैनौँ । विभिन्न ठाँउमा काेरिडोर निर्माण भइरहेका छन्, यो काम सकिएपछि भित्रकाे सडकका समस्या पनि छिटै समाधान हुने छ । मुख्य चोकमा ट्राफिक बत्ती जडान भइसकेको अवस्थामा त्यहाँ खटिने जनशक्तिलाई भित्रि सडकमा पठाउन पनि सकिन्छ । यो काम  सुरु पनि भइसकेको छ । प्रविधिको प्रयोग बढाउन सक्यौँ भने जनशक्ति व्यवस्थापन गर्न पनि सजिलो हुन्छ ।

अहिले प्रविधियुक्त ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीहरु कत्तिको प्रविधिमैत्री छन् ? 

सीसी क्यामरा निगरानी, ट्राफिक बत्ती संचालन, कार्यालयमा बसेर काम गर्न आवश्यक सफ्टवयरबारेको तालिम ट्राफिक प्रहरीहरुका लागि बेलाबेलामा दिइएको हुन्छ । कामकै हिसाबले पनि अनुभवी नै छन् । प्रविधिमार्फत ट्राफिक व्यवस्थापनका लागि हाम्रो जनशक्ति सक्षम छ ।

विगत केही महिनादेखि सीसी क्यामराको प्रयोगबाट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरुलाई कारबाही गरिँदै आएको छ । यस्तै गल्ती गर्नेलाई  क्यामरा हेरेर पत्ता लगाई घरमै चिट काटेर पठाइएको पनि छ । यसरी हामीले दश हजारभन्दा बढी चालकलाई कारबाही गरिसक्यौँ । 

यस्तै ट्राफिक प्रहरीको कार्यालयमा आएर गर्नुपर्ने काम घरमै बसेर गर्न सकिने व्यवस्था पनि छ । हामी थप सेवा पनि अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था गर्न लागि परेका छौँ । अहिले गाडी हराएमा वा गाडीसम्बन्धी कुनै कागजपत्र हराएमा नागरिकले घरमै बसेर सिफारिसका लागि काम गर्न सक्छन् ।

यस्तै अब केही दिनभित्रै जरिवाना पनि अनलाइनमार्फत नै तिर्न सकिने व्यवस्था मिलाउँदैछौँ । कोरोना सङ्क्रमणको जोखिम कम गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्छ ।

ट्राफिक व्यवस्थापनकै लागि विभिन्न योजनाहरु बन्छन्, कार्यक्रमहरु हुन्छन् तर अहिले जोरबिजोर प्रणालीका कारण सडकमा गाडी कम हुँदा पनि जामको समस्या त छ नि, ट्राफिक व्यवस्थापनमा कहाँ चुक्यौँ ?

हाम्रो पहिलो प्राथमिकता भनेको नागरिकलाई सेवा दिने हो । महामारीको यो समयमा कोरोना सङ्क्रमण कम गर्ने उद्देश्यले नै गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

जोरबिजोर नमान्नेलाई कारबाही पनि हुन्छ । दैनिक आठ सयको हाराहारीमा अहिले कारबाहीमा परिरहेका छन् । यसमा पनि हामीले अत्यावश्यक गाडीलाई छुट दिन्छौ । नागरिकलाई समस्या नै परेर सोधपुछ गरेर आवश्यकता पहिचान गरी गाडी चल्न सहजीकरण गर्छौँ । पहिले नै १०३ मा फोन गरेर आफूलाई अफ्ठ्यारो परेको जानकारी गराएमा पनि हामी उहाँहरुलाई सहयोग गर्छौँ । तर जोरबिजोर प्रणालीले सवारी आवागमनका कमी नै आएको छ ।

अनावश्यक रुपमा घुमफिर गर्ने, भेटघाट कार्यक्रम गर्न यात्रा गर्ने, भोज भतेर गर्नेलगायतका काम रोक्न भने मद्दत नै गरेको छ । यद्यपी पहिला जस्तो जाम भएको छैन । पिक आवरमा ट्राफिक व्यवस्थापनकै क्रममा केहीबेर रोकिनुपर्ने अवस्था मात्र हो । 

अन्तिम अपडेट: मंसिर १३, २०७७

मल्लिका थापा

उज्यालाेमा कार्यरत मल्लिका थापा सडक र सवारी विधामा कलम चलाउनु हुन्छ ।

तपाईको प्रतिक्रिया