रत्नपार्कको नयाँ नाम !

 मंसिर १३, २०७७ शनिबार १७:५३:२ | गाैरी प्रधान
unn.prixa.net

काठमाण्डाै – स्वर्गीय राजा महेन्द्रले नारायणहिती (टी) दरबारको नाम परिवर्तन गरेर नारायणधारा दरबार राखेनन् । त्यो उनले प्रशंसनीय काम गरे । तर जनताको तिंख्यःलाई भने उनले आफ्नै रानीको नामले नामाकरण गरी रत्नपार्क बनाए।

जुन राजा प्रताप मल्लले नेपाल तत्कालीन काठमाण्डौकै सबैभन्दा सुन्दर र भव्य पोखरी बनाउँदा पनि पुत्रवियोगमा रहेकी आफ्नो रानीको नाममा पोखरीको नाम नराखी न्हू पुखु (नयाँ पोखरी) भनी नामाकरण गरे। नाम परिवर्तनको क्रममा, करिब ४ वर्ष अगाडि गणतन्त्रको स्थापनाको सन्दर्भमा रत्नपार्कको ठाउँमा राष्ट्रिय विभूति शंखधर साख्वाको नाम औपचारिक निर्णयले फेरबदल गरेको थियो।

हालसालै, त्यस ठाउँमा उहाँको शालिक अनावरण भएपछि रत्नपार्कलाई शंखधर उद्द्यान बनाएकोमा त्यसको पक्ष र विपक्षमा विभिन्न मतहरु जाहेर भएको देखिन्छ । मूलतः पुरानो स्थापित नामलाई त्यत्तिकै परिवर्तन गर्नु हुँदैन भन्ने मेरो पनि राय हो । तर रत्नपार्कको साँच्चिकै पुरानो नाम रत्नपार्क नभएर तिंख्यः (त्यो पछि अपभ्रंस भएर टुँडिखेल हुनपुग्यो) हो ।

अब साँच्चिकै पुरानो नाम नै स्थापना गर्ने हो भने शंखधर उद्द्यानको नाम रत्नपार्क नभएर, तिंख्य: हुनु पर्ने देखिन्छ। त्यसैगरी, सुनधाराको नाम "लुँहिती", रानीपोखरीको नाम "न्हू:पुखु", जाउलाखेलको नाम "जा होला ख्य:", ठमेलको नाम "थबहि" नै हुनु पर्ने हो । यस्तो कुराको सयौं सय उदाहरणहरु दिन सकिन्छ ।

बि.स. २०२१ तिर बनेको एउटा रत्नपार्कको नाम गरिव जनताको ऋण मोचन गरि आफ्नै देश नेपालको नाममा राष्ट्रिय सम्वत स्थापना गर्ने राष्ट्रिय विभूतिको नाम परिवर्तन गर्दा कैयनको चित्त दुखेको, त्यसलाई अस्विकार गरेको र बौद्धिक भन्नेहरुले पनि बिभिन्न तर्क अगाडि सारेर समाजलाई सहि सूचना दिएको देखिएन। त्यो, वास्तवमा विवेककपूर्ण र तार्किक पनि छैन ।

रत्नपार्कको नामलाई शंखधर उद्द्यान बनाउँदा ज-जसको चित्त दुखेको छ, उहाँहरुप्रति हार्दिक सहानुभूति प्रकट गर्न सकिन्छ । तर काठमाण्डौका यतिबिघ्न परम्परागत नामलाई त्यतिक्कै बिना आधार परिवर्तन गर्दा स्थानिय जनताको के कति चित्त दुखेको होला, उनीहरुको सामाजिक मनोविज्ञानमा के कस्तो असर परेको होला ? तर्क गर्ने विद्द्वानहरुले के अलिकति पनि हेक्का राख्नु भएको छ ?

वास्तवमा हाम्रो देश बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । हाम्रो समाज इन्द्रेणी समाज हो। हामी एकअर्काको साथ सहयोग र अन्तरनिर्भर्ताको सिद्धान्तको आधारमा अगाडि बढेका छौं, र बढ्नु पर्छ। यही सहअस्तित्व, सहजीवन र सहयोगमा नै हाम्रो देशको अस्तित्व बाँचेको छ । हाम्रो देशको सन्दर्भमा यही सत्य हो र यही मूल मर्ममा नै नेपाल भन्ने हाम्रो देशको अस्तित्व अडेको छ भन्ने मेरो ठहर छ ।

मैले राखेको यी विचारमा कैयन साथीहरुको चित्त नबुझ्न पनि सक्छ । उहाँहरुको फरक मतलाई म सम्मान गर्न चाहन्छु । त्यसैगरी, म चाहन्छु मेरो मतको पनि यही आधारमा सम्मान होस् । तर, यसमा तर्क बितर्क गर्न चाहने इच्छुक साथीहरुलाई सभ्य भाषामा आफ्नो मत राख्न हुन हार्दिक आग्रह गर्न चाहन्छु। ता की हाम्रा देशवाशीहरुले सत्य र सही कुरा थाहा पाउन सकून् । हाम्रो काम विवाद बढाउने होइन, बरु सही समाधान निकाल्ने हो । धन्यवाद !

(गौरी प्रधानको फेसबुकबाट)

अन्तिम अपडेट: पुस २१, २०७७

गाैरी प्रधान

प्रधान राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य हुनुहुन्छ । 

1 Comments

  • Shaurabh Raj Sangum

    Nov. 29, 2020, 4:57 p.m.

    गौरी प्रधान लेख प्रति टिप्पणी 🍦 🌹 जुन नाम राम्रो उचित न्यायिचित सामयिक एवं विवेकसम्मत हुन्छ त्यही नै राखिने र रहने हो । यो देशको नाम पहिले गोर्खाराज्य रहेको थ्यो; पछि राजधानीको रूपमा जुन केन्द्रबाट शासन चलाईंदै आयो त्यसैको नामबाट सिंगो देशको नाम आफसेआफ नेपाल रहन गयो । नारायणधारा भन्दा नारायणहिटी नाम स्थानीय रूपमा ऐतिहासिक र राम्रो थ्यो, उचितरूपमा त्यही भनियो; जुन नारायणहिटी मिचेर टुक्र्याएर नै राजा महेन्द्रले राजदरवार बनाएका थे । कुनै न्हुपुखु भन्दा रानीपोखरी नाम नै राम्रो छ; त्यसर्थ प्रतापमल्लकी रानी कै नाममा हुनु परेन । सुनधारा, जावलाखेल, ठमेल जस्ता नाउँ उचित एवं उपयुक्त छन्; जसलाई पुरानै स्थानीय नाममा बदल्नु समझदारिपूर्ण होला र !.. नेवानाम त छँदैछन् ती नेवानामबाट नेपालीकरण मात्र भएका हुन् । त्यस्तै परिवर्तित समय-सन्दर्भमा शंखधर जस्ता व्यक्तिको नाम प्रति कुनै राजावादीको पूर्वाग्रही नाजायज चित्त-दुखाईले पनि कुनै अर्थ राख्दैन । ✊

  •  0 Reply

तपाईको प्रतिक्रिया