सगरमाथा क्षेत्रको सरसफाइका लागि फोहरकै सङ्ग्रहालय

 मंसिर १७, २०७७ बुधबार १७:२:३६ | फिन्जाे शेर्पा
unn.prixa.net

हिमाल जति मनमोहक छ, त्यत्ति नै संवेदनशील पनि छ । हामीले हेर्दा शक्तिशाली खम्बा झैँ ठडिएको हिमालमा थोरै समस्याले पनि विचलन ल्याउन सक्छ । समान्य देखिने समस्याले पनि हिमालमा उथलपुथल ल्याउन सक्छ । पर्वतीय पर्यटन व्यवसाय प्रवर्द्धनसँगै हिमालमा गतिविधिहरू बढेका छन् । व्यवसायका लागि प्रयोग हुँदै आएका हिमालमा हुने स–साना गल्तीले पनि निकै ठूला समस्या आउन सक्छन् । 

हिमालमा आउने समस्या हिमालकाे एक्लाे हाेइन । हिमालमा हुने बदलावले हरेक जीवनलाई जोखिममा पार्न सक्छ । हिमालमा गरिने क्रियाकलापमा ध्यान दिनुपर्ने धेरै कुरामध्ये त्यहाँको सरसफाइ पनि एक हो । धेरै सामान्य सोचिने एउटा प्लास्टिककाे टुक्राले पनि हिमालमा धेरै क्षति गर्न सक्छ भने हिमालमा भएको क्षतिले त्यहाँ आसपास मात्र हैन, हजारौँ किलोमिटर टाढा रहेको समुद्रमा समेत क्षति पुर्‍याउन सक्छ । 

हिमाली क्षेत्रमा सामान्य फोहर पनि हानिकारक

हुन त फोहर कतै पनि ठिक हैन, जहाँ पनि समस्या ल्याउँछ । तर तुलनात्मक रूपमा फोहरले हिमाली क्षेत्रमा बढी असर गर्छ । झट्ट हेर्दा गर्मी हुने ठाउँमा फोहर चाँडो कुहिएर दुर्गन्ध आउँछ । त्यसैले त्यस्ता ठाउँमा बढी असर पर्छ भन्ने सोचिन्छ । तर त्यसो होइन ।

ढिला गल्ने भएकोले हिमाली क्षेत्रमा फोहरले लामो समयसम्म असर गर्छ । यस्तै हिमाली क्षेत्रकाे वातावरण निकै संवेदनशील हुन्छ । एउटा सामान्य बिरुवा हुर्कनकाे लागि वर्षाैँ लाग्ने हिमाली क्षेत्रमा आउने सामान्य समस्याले पनि त्यहाँको जीवनमा ठूला समस्याहरू ल्याइदिन सक्ने भएकोले हिमाली क्षेत्रमा फोहोर हुनु हानिकारक हुन्छ । 

पर्वतीय पर्यटन व्यवसायका कारण हिउँ भएकै ठाउँहरूमा पनि फोहर थुप्रने क्रम बढिरहेको छ, त्यो झनै हानिकारक हुन्छ । हिउँमा रहने एउटा सामान्य प्लास्टिकले पनि हिउँ पगालिदिन सक्छ । प्लास्टिक, सिसा तथा अरू धातुहरू, हिउँमा छाडिएका त्यस्ता वस्तु तात्दा हिउँ पग्लिन्छ भने कुनै ठाउँ यति संवेदनशील हुन्छन् कि सामान्य रूपमा हिउँ पग्लिएमा पनि त्यसले हिउँ पहिरो जाने लगायतका समस्या ल्याउन सक्छ ।

प्राकृतिक रूपमा भन्दा बढी हिउँ पग्लिन थालेपछि हिमनदीसँगै त्यसको असर समुद्रको तटीय क्षेत्रसम्म पुग्न सक्छ । अर्को कुरा हिमालमा हिउँ घट्दा त्यहाँको प्राकृतिक संरचना खलबलिन गइ अरू धेरै समस्या आउन सक्छन् । त्यसैले हिमाल तथा हिमाली क्षेत्रको सरसफाइ ज्यादै महत्त्वपूर्ण हुन्छ । यही कुरालाई ध्यान दिएर हामीले इको हिमालमार्फत हिमालको सरसफाइ तथा स्वच्छताका कामलाई जोड दिइरहेका छौँ । 

हिमाली क्षेत्रको सरसफाइका चुनौती

एक पटक घुमेर हेर्दा सगरमाथालगायतका हिमाल जति सुन्दर लाग्छन्, त्यहाँको जनजीवन त्यत्ति सहज छैन । मुटुको रगत नै जमाउने किसिमको चिसो, थोरै अक्सिजनमा फेर्नुपर्ने श्वास, दैनिक आवश्यकता पूरा गर्नुपर्दाका चुनौती, कठिन भौगोलिक अवस्थालगायतका कारण त्यहाँको जनजीवन समस्यापूर्ण छ । भलै पछिल्लो समयमा पर्यटन व्यवसायका कारण आम्दानी र सुविधाहरू बढेका छन् तर त्यो व्यवस्था मिलाउन पनि उत्तिकै जोखिम पार गर्नुपर्छ । 

जनजीवन जति असहज छ, त्यहाँको सरसफाइ गर्नु पनि उत्तिकै अप्ठ्यारो हुनु स्वभाविक हो । सडकको पहुँच भएका ठाउँमा विभिन्न वस्तुको पुन प्रयोग हुन सक्छ भने हिमाली क्षेत्रमा पुर्‍याइएका कुनै वस्तुलाई पुन प्रयोगका लागि फिर्ता गर्न मुस्किल पर्छ । चर्को ढुवानी भाडा तथा मानिसले बोकेर अन्यत्र लैजानुपर्ने बाध्यतामा त्यो प्रायः असम्भव हुन्छ । त्यसैले हिमाली क्षेत्रमा सरसफाइका काम चुनौतीपूर्ण हुन्छन् । 

अझ हिमाल आरोहणमै प्रयोग गरेका वस्तु फिर्ता ल्याउन त चर्को सास्ती खेप्नुपर्छ । शरीरलाई ज्यादै भार पर्ने आरोहण साहसिक काम त हो तर शरीर लखतरान हुने भएकोले आरोहणबाट फर्कनेहरूले आफ्ना कारण भएको फोहर फिर्ता गर्न कठिन हुन्छ । त्यस्तो फोहर फिर्ता ल्याउनका लागि त्यहाँ काम गर्न सक्ने दक्ष जनशक्ति चाहिन्छ भने उत्तिकै खर्चिलो पनि हुन्छ ।

यसैले हिमाली क्षेत्रको सरसफाइका लागि सरकारले प्राथामिकताका साथ योजनाहरू कार्यान्वयन गर्नुपर्छ भने स्थानीय बासिन्दा तथा पर्वतीय पर्यटन व्यवसायमा लागेकाहरूले पनि यो विषयलाई गम्भीरताका साथ लिनुपर्छ । 

खुम्बुमा बढ्दो सरसफाइ चेतना

खुम्बु भनेर चिनिने सगरमाथा क्षेत्रका बासिन्दामा सरसफाइप्रतिको चेत बढ्दो छ । अरू हिमाली क्षेत्रको तुलनामा खुम्बु क्षेत्र बढी सफा पनि छ । इको हिमाल, सगरमाथा प्रदूषण नियन्त्रण समितिलगायत अरू विभिन्न सङ्घ–संस्थाले पनि खुम्बुमा फोहरको व्यवस्थापन तथा सरसफाइका लागि लामो समयदेखि काम गरिरहेका छन् । 

सरसफाइका लागि टोलटोलमा चेतनामूलक कार्यक्रमदेखि विद्यालय तथा विभिन्न समूहहरूमा पनि चेतनामूलक कार्यक्रम भइरहेका छन् । यसैको नतिजा त्यहाँका धेरैजसो मानिस बस्ती, बाटो तथा हिमालहरू सफा राख्नुपर्छ भन्छन्, व्यवहारमा पनि त्यो देखिन्छ । तर विभिन्न समस्याका कारण सगरमाथालगायतका हिमालमा फोहर बाँकी नै छ । 

वर्षमा ५० हजारभन्दा धेरै विदेशी पर्यटकसँगै उनीहरुका पथप्रदर्शक, भरियालगायत पुग्ने खुम्बुमा फोहर धेरै उत्पादन हुन्छ । आरोहण हुने हिमालको शिखरकै छेउसम्म पनि फोहरहरू रहेका हुन्छन् । ती फोहर व्यवस्थापन गर्न धेरै कठिन र खर्चिलो हुने भएकोले स्थानीय बासिन्दाको पहुँचमा हुँदैन । त्यसैले ती क्षेत्रको सरसफाइका लागि सङ्घ–संस्था तथा पालिका जुट्नुपर्छ भने सङ्घीय सरकारको कार्यक्रममा पनि यो विषय प्राथामिकतामा हुनुपर्छ । 

खुम्बुमा फोहरको सङ्ग्रहालय

फोहरको सङ्ग्रहालय धेरैका लागि अनौठो विषय हुन सक्छ । तर हामीले खुम्बुमा फोहरको सङ्ग्रहालय सञ्चालन गर्दैछौँ । नाम्चेभन्दा केही माथि रहेको स्याङ्बोचेमा निर्माण भइरहेको सङ्ग्रहालयमा सगरमाथा क्षेत्रमा उत्पादन हुने फोहरबाट विभिन्न कलाकृतिहरू बनाएर प्रदर्शनका लागि राखिन्छ । 

पर्यटन व्यवसायका कारण सगरमाथालगायतका हिमाली क्षेत्रमा विभिन्न धातु, प्लास्टिकलगायतका वस्तु पुग्छन् र ती फोहरको रुपमा त्यही रहन्छन् । तिनै वस्तुलाई सङ्कलन गरेर विभिन्न आकृति बनाइ सङ्ग्रहालयमा राख्ने तथा बिक्रीसमेत गर्ने लक्ष्य रहेको छ । यसबाट थोरै मात्रामा भए पनि हिमाली क्षेत्रको फोहर व्यवस्थापन हुन्छ भने यसैको माध्यमबाट हाम्रो पर्यटन व्यवसायको प्रवर्द्धन पनि हुन्छ । यसको तयारी अन्तिम चरणमा पुगेको छ । 

आगामी वसन्त ऋतुसम्ममा सञ्चालनमा ल्याउन लागिएको सङ्ग्रहालयमा राखिने कलाकृति बनाउनका लागि विश्वभरका नामी कलाकारहरू इच्छुक देखिएका छन् । उनीहरु त्यही हिमाल छेउमा पुगेर आफ्नो कला–कर्म गर्नेछन् । यसबाट फोहरको व्यवस्थापनसँगै देशकै प्रचार–प्रसारसमेत हुन्छ भने हिमाली क्षेत्रको सरसफाइका लागि सरोकारवालाई झकझकाउँछ भन्ने लागेको छ । 'सगरमाथा नेक्स्ट' नाम रहेको सङ्ग्रहालय सफल भएमा यसैको सिको अरू हिमालमा पनि गरिने छ । 

हिमाल हाम्रा सम्पत्ति हुन्, यसबाट नेपाल विश्वमा चिनिएको छ । यिनै हिमालका कारण बर्सेनि लाखौँ पर्यटक नेपाल आउँछन् । हाम्रो पर्यटन व्यवसायको ठूलो हिस्सा पर्वतीय पर्यटनमा आधारित छ । यसको कारण हाम्रा हिमाल नै हुन् ।

यी हिमाल नरहेमा हाम्रो पर्यटन व्यवसाय त समस्यामा पर्छ नै सँगै समग्र जीवन नै सङ्कटमा पर्न सक्छ । त्यसै पनि जलवायु परिवर्तनका कारण समस्यामा पर्दै गएको हिमाली क्षेत्र फोहरका कारण अझ धेरै समस्यामा पर्दैछ । त्यसैले हिमाली क्षेत्रका फोहरको सही व्यवस्थापन गरी हिमाली क्षेत्रलाई स्वच्छ राख्नको लागि हामी सबै जुट्नुपर्छ । 

(इको हिमाल नेपालका अध्यक्ष शेर्पासँग भोजेन्द्र बस्नेतले गर्नुभएको कुराकानीमा आधारित ।)  

अन्तिम अपडेट: माघ ८, २०७७

फिन्जाे शेर्पा

शेर्पा इकाे हिमाल नेपालका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया