‘हात खुट्टा तनक्क पारेर निदाउन मन छ’

 माघ १३, २०७७ मंगलबार १५:११:४७ | इन्द्रसरा खड्का
unn.prixa.net

हातखुट्टा तनक्क पारेर सुत्न ठाउँ छैन । यता फर्किँदा अगेनो, उता फर्किंदा बाख्रा । अलिकति ठाउँमा त घरभित्रको सामान भइहाल्यो । हिरालाई हात खुट्टा तनक्क पारेर सुत्न मन छ । बाख्रालाई गोठमा राखेर आमाछोरा अर्को कोठामा बस्न मन छ तर घर छैन । सानो ढुङ्गाको घर, सिलेटले छाएको छाना । बाहिरबाट हेर्दा चिटिक्क तर पुरानो, पानी पर्दा चुहिन्छ । 

एकापट्टि तल्लो र माथिल्लो तलाको कोठामा ताला झुण्ड्याइएको छ । अर्को पट्टिका दुई वटा कोठा खुला छन् । तल्लाे तलाको कोठामा गाई, गोरु बाँधिएका छन् । माथिल्लाे कोठाको एक कुनामा बाख्रासँगै बस्छन्, हिराका आमाछोरा ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम की हिराका आमाछोरा बाख्रासँगै एकै कोठामा बस्न थालेको १४ वर्ष भयो । घरको एकापट्टि ताला लगाएको कोठा सासुससुराको थियो । अर्को छोराले गाउँमै घर बनाएपछि सासुससुरा कोठामा ताला लगाएर उतै गए । हिरालाई पुरानो घरमा बस्न दिइएन ।

बस्न घर नभएपछि हिराका श्रीमान् भारत लागे तर दुःखको कुरा उनी फर्केर आएनन् । श्रीमान् उतै अर्को बिहे गरि बसे । छोरा जन्मेको तीन महिनामा घर छोडेका हिराका श्रीमान् नफर्केको १४ वर्षभन्दा धेरै भयो ।
अहिले हिरालाई न बस्न घर छ, न श्रीमान् र परिवारको साथ । त्यही एक कोठामा आमाछोरा गुजारा चलाउँदै आएका छन् । 

हिरा उमेरले २८ वर्ष लाग्नुभयो तर झट्ट हेर्दा ३५ कटिसकेको जस्तै देखिनुहुन्छ । खुम्चिएको निधार, चाउरिएका गाला टपक्क देखिन्छन् । भन्छन् नि, रोगले भन्दा शोकले मान्छेलाई कमजोर बनाउँछ । हो यस्तै भएको छ, हिरालाई । न बस्न घर, न खाने अन्न ।

श्रीमान् अर्को बिहे गरेर बसेपछि...

झण्डै १५ वर्ष पहिले हिराका श्रीमान् भारत गए । पैसा कमाएर घर बनाउने सपना थियो । हिरा तीन महिनाकी सुत्केरी हुनुहुन्थ्यो । ‘श्रीमान् भारत जाँदा पैसो आउला, केही त सहज होला भन्दै श्रीमानलाई भारत जानु भनेँ । के पैसो कमाउनु ? श्रीमान् त उतै अर्को बिहे गरि बसेछन् । यो कुरा ६ महिनापछि मात्रै थाहा भयो’, हिराले भन्नुभयो ।

हिराका श्रीमान् भारत गएको ६ महिनापछि उनीसँगै गएका अरू गाउँले फर्किए । हिरा श्रीमानको हालखबर सोध्न जानुभयो तर हिराको कानमा सौताको खबर पर्‍याे । पैसा कमाइ ल्याउँछु भनेर गएका श्रीमान् उतै बिहे गरेकी बसेको सुन्दा हिरालाई दुःख मात्रै लागेन, श्रीमानदेखि रिस पनि उठ्यो । 

‘मैले के गर्न सक्थेँ ? घरबाहिरको संसार नदेखेकी म भारत जान सकिनँ । सासुससुरा, जेठाजु, देवरलाई भनेँ, कसैले साथ दिएनन् । अब त १४ वर्ष भइसक्याे,’ हिराले श्रीमानका बारेमा सुनाउनुभयो । ‘कानमा लगाएको सुन बेचेँ । श्रीमानलाई भारत पठाएँ । अलिकति पैसोले घर बनाउँछु, राम्रो लुगा लगाउँछु, मिठो मसिनो पेटभरि खान्छु भन्ने लागेको थियो । श्रीमान् त माया मारेर उतै घरजम गरी बसे’, हिराले भन्नुभयो । 

काम गरि छोरा पाल्दा

छोरा दिनहुँ हुर्किँदै थियो । विद्यालय पठाउनुपर्‍याे । कापी कलमको लागि पैसा चाहियो । पैसो आउने बाटो थिएन । ‘कहिले खर काटेँ, कहिले मल बोकेँ, कसैको गाईवस्तु चराएँ । यस्तै काम गरेबापत ल्याएको पैसाले आमाछोराको गुजारा चल्यो’, श्रीमानले छोडेपछिको आफ्नो दुःख हिराले सुनाउनुभयो ।

श्रीमानले नै छोडेपछि घर भित्रैबाट हिरामाथि विभेद हुन थाल्यो । सासुससुरा, जेठानीहरूले बोल्ने शैली फेरियो । गर्ने व्यवहार फेरियो । ‘श्रीमान् र परिवारले राम्रो नगरे पनि गाउँलेहरूले भोको बस्न दिएनन्’, हिराले भन्नुभयो, ‘गाउँलेले कामसँगै खाना दिए भनेर परिवारले कुरा पनि काटे तर मैले गाउँलेको घरमा काम गर्न छोडिनँ ।’ 

हिरा अहिले पनि यसैगरी गुजारा गर्नुहुन्छ । ‘घरमा बस्न दिएनन् । अरूको बारीमा काम गर्नेलाई यो घरमा बस्ने अधिकार छैन भन्दै दिनहुँ गालीगलौज सहनुपर्‍याे । श्रीमानले त ममाथि अन्याय नै गरे । अहिले मलाई घरकै मान्छेले बस्न दिँदैनन्, म साह्रै पीडामा छु’, हिराले बिलौना पोख्नुभयो ।

‘माया लाग्छ बुबाको’

हिराका श्रीमान् गजाधर भारत जाँदा तीन महिना लागेका जनक अहिले १४ वर्षमा पुगिसके । उनी कक्षा सातमा पढ्छन् । १४ वर्षसम्म बाबुको माया नपाउँदा उनी दुःखी छन् । सँगैका साथीभाइ बुबासँगै हिँडेको देख्दा उनलाई आफ्नो बुबाको याद आउँछ । बुबाको माया त परको कुरा, अनुहार कस्तो छ भन्ने समेत जनकलाई थाहा छैन ।अरूले बा भनेर बोलाउँदा जनकलाई पनि बाको न्यास्रो लाग्छ । के राम्रो, के नराम्रो जनक छुट्याउन सक्ने भएका छैनन् । तर दशैँ, तिहारमा सबैले राम्रो लाएको, मिठो मसिनो खाएको देख्दा मेरा पनि बा भए हुन्थ्यो भन्ने उनलाई लाग्छ । 

‘अस्ति राति आमाको मोबाइलमा फोन आयो । उठाएर हेलो भन्दा त बाको फोन रहेछ । राति गाली गरेर मेरो विवाह दर्ता नबनाउने भए तिमीहरू आमाछोरा नै मेरो घरबाट निस्कनु भन्दै फोनमा भनेकाे सुनेको हुँ’, जनकले भने ।

विवाहदर्ताका लागि फोन 

गजाधरले हिरासँग बिहे गरेको विवाह दर्ता छ । उनैको नामबाट हिराको नागरिकता छ । तीन महिनाको सुत्केरी हिरालाई छोडेर गएका श्रीमानले कहिल्यै सम्झेनन् । गएको वर्ष हिराको माइतीमा फोन आयो । फोन थियो हिराका श्रीमान् गजाधरको । उनले हिरालाई धोका दिएर अर्को बिहे गर्नु गल्ती भएको भन्दै अब घर आएर दुवै जनासँग मिलेर बस्ने बताए । ‘दुवैलाई पाल्दै बस्छु भन्नेले त स्वार्थको लागि रहेछ । मलाई फकाएर सौतासँग विवाहदर्ता गराउने योजना रहेछ । यो त म कहाँ दिन्छु र !’, हिराले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘छोराछोरी पढाउन जन्मदर्ता चाहिएको रहेछ । त्यसका लागि उसलाई बिहे दर्ता बनाउनु थियो । बिहे दर्ता त उसको मसँग छ । किन उसलाई मैले विवाहदर्ता बनाउन दिनु ? हिंसा भएको बल्ल थाहा पाएँ ।’ श्रीमान् अर्को बिहे गरेर बस्दा, घरपरिवारले दिनहुँ झगडा गर्दा पनि हिरालाई आफूमाथि हिंसा भएको भन्ने थाहा थिएन । 

डेढ वर्ष पहिले छलफल केन्द्रमा जाँदा उहाँले घरमा बस्न नदिने, गालीगलौज गर्ने हिंसा हो भन्ने कुरा थाहा पाउनुभयो । हिरा जस्तै हिंसा के हो भन्ने थाहा नभएका महिला अहिले पनि ग्रामीण भेगमा धेरै छन् । जसले श्रीमानले दिएको धोका र परिवारले गरेको दुर्व्यवहारलाई भाग्यसँगको तुलना गर्दै बस्ने गर्छन् ।

‘हिंसा भएपछि उजुरी गर्नुपर्छ भन्ने पनि थाहा थिएन । यस्तो गालीगलौज त घरबाटै कति सुन्नुपर्‍याे कति’, हिराले भन्नुभयो । हिरालाई श्रीमानले अर्को विवाह गर्दा उजुरी गर्नुपर्छ भन्ने पनि थाहा थिएन । ‘पहिले थाहा पाइनँ, अब कसरी मुद्दा लड्नु ? मुद्दा लडे छोरालाई हेर्छ भने त अब पनि म श्रीमानका विरुद्ध उजुरी गर्छु’, हिराले भन्नुभयो । 

अन्तिम अपडेट: माघ २४, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया