बूढो भइस् त ! बिहे कहिले ?

 माघ १८, २०७७ आइतबार १३:५०:६ | डीजी शर्मा

बिहे गर्ने सही उमेर कति हो भनेर सोध्ने हो भने मान्छेले आ–आफ्नो अनुभव र सुविधा अनुसार फरक-फरक जवाफ दिन्छन् । छिटो बिहे गरेर पछुताएकाहरुले ढिलो बिहे गर्न सुझाव दिन्छन् भने ढिलो गरेर पछुतो मानेकाहरुले चाँडै बिहे गरेर सन्तान हुर्काइ सक्न अनुरोध गर्छन् तर खासमा बिहे भन्ने कुरा उमेरसँग भन्दा पनि मनसँग सम्बन्धित कुरो रहेछ ।

उमेरसँग मात्र सम्बन्धित हुन्थ्यो भने त सरकारले तोकिदिएको १८ र २० वर्ष पार गरेपछि सबैको बिहे भइसक्थ्यो होला । तर त्यसो हुन सकेको छैन । जिन्दगीमा गर्नु पो खासै के छ र ? स्कुल कलेजको पढाइ सक्यो, जागिर खायो अनि प्रेमिका भए प्रेमिकासँग नत्र कुनै केटी खोजेर बिहे गर्यो । त्यसपछि के त ? त्यसपछि सन्तान जन्मायो । अनि बाँकी जीवन उसैको पालनपोषण र शिक्षादीक्षामै सकिन्छ । हाम्रा बाबुआमाले पनि आफ्नो उमेर यसरी नै सकेका हुन् । हामी पनि त्यही बाटोमा हिँडिरहेका छौँ ।

विवाहको सवालमा सबैको धारणा एउटै हुनुपर्छ भन्ने पनि केही छैन । मैले अहिलेसम्म विवाह गरेको छैन । अझै कति बर्षसम्म गर्दिनँ त्यसको पनि कुनै टुङ्गो छैन । तर यसको मतलब म विवाह परम्पराको विरोधी चाहिँ पक्कै होइन । विवाह गर्नेहरुलाई दिल खोलेर शुभकामना दिइरहेको हुन्छु । बिहे नगरी बस्नेहरुलाई पनि बधाई भनिरहेको हुन्छु । झट्ट हेर्दा विवाह नगरी बस्नु अथवा ढिलो उमेरसम्म विवाह नगरी बस्नु सामाजिक रुपले राम्रो मानिंदैन होला । तर स्वयम् व्यक्तिका लागि भने यो एक सुवर्ण अवसर पनि हो । पारिवारिक बन्धनबाट टाढा बसेर स्वतन्त्र भएर बाँच्नुको मज्जा कस्तो हुन्छ भन्ने कुरा स्वयम्  बन्धनमा बाँधिएकाहरुलाई नै सोधे पुग्छ । फेरि मेरो यो लेखको आशय बिहाको पक्ष अथवा बिपक्षमा बोल्नु पक्कै होइन । बास् यति हो, बिवाहबाट म किन भागिरहेको छु ? सोही कुरा खोतल्ने प्रयास गर्दैछु ।

जीवनभर विवाह गर्नबाट भागेका हिटलरले त मर्नु भन्दा केही घण्टा अघि विवाह गरेर मरे रे । विवाहलाई उनी कमजोरीको रुपमा लिन्थे रे । कसैले आफूमाथि अधिकार नजमाओस् भन्ने उनको धारणा थियो भन्ने बुझाई छ । त्यसैले उनले प्रेम मात्रै गरे र बिहेसँग भने भाग्दै हिँडे । जब आफू मारिने पक्का भयो, तब जिन्दगीमा बिहेको पनि अनुभव लिनुपर्ने रहेछ भनेर हिटलरलाई बोध भयो । अन्ततः मर्नु भन्दा केही घण्टा पहिले मात्रै उनले विवाह गरे । हिटलरको के कुरा यता हाम्रै महानायक राजेश हमाल विवाहबाट भाग्दा भाग्दा अन्त्यमा थाकेर ५० कटेसी घरजम गरेर अहिले रमाउँदै बसिरहरहनुभएको छ भने म त एक आम नागरिक ।

सधैँभरी यो परिबन्धबाट भागेर कहाँ बस्न सक्छु होला र ? यसो हेर्दा म विवाहबाट भागेँ जस्तो देखिए पनि खासमा हामी दुवै एक अर्काबाट भागिरहेका छौँ । हिजो मेरो दयनीय अवस्था देखेर विवाह मदेखि भाग्यो र आज म विवाहपछिको झन्झट सम्झेर ऊदेखि भागिरहेको छु । एक किसिमले यो बदला पनि हो मेरो बिहेसँग ।

घरको अवस्था र आवश्यकता हेर्दा त पहिलै नै मैले बिहा गर्नु पर्थ्याे । तर आफू परदेशमा बसेर श्रीमती स्वदेशमा राख्नु जत्तिको पीडा केही देखिनँ मैले । त्यसैले कम्तिमा परदेश बसिन्जेल यसबाट टाढै रहने योजना छ । तर परदेश कतिन्जेल बस्छु यसको चाहिँ कुनै टुङ्गो छैन । हुन त प्रायःले श्रीमती घरमै छोडेर परदेश आएका छन् । मैले चाहिँ छोड्न नहुने भन्ने पक्कै होइन । यस्तो कुरा सुन्दा कति न्यारो माइण्ड भएको मान्छे होला भन्ने पनि लाग्न सक्छ । त्यसलाई पनि म स्वीकार गर्छु । तर श्रीमती स्वदेशमा राखेर परदेशमा दुःख गर्ने श्रीमानहरुको मनोवैज्ञानिक र भावनात्मक पीडा जो कसैले सजिलै बुझ्न सक्दैन पनि । हुन त ती श्रीमानहरु स्वयम् पनि यो पीडालाई बाहिर ल्याउन सक्दैनन् र चाहँदैनन् पनि । कसैले केही भन्ला कि भन्ने पीर रहि नै रहन्छ । त्यसैले यसो हेर्दा खुशी जस्तो देखिए पनि मनमा श्रीमतीप्रतिको अथाह पीर बोकिरहेका हुन्छन् परदेशमा बसेका श्रीमानहरु । 

परदेशमा कतिपय यस्ता श्रीमान् पनि छन् जो आफू स्वयम् श्रीमतीप्रति इमान्दार बन्न नसकेर बरालिँदै हिँड्छन् अनि श्रीमतीलाई चाहिँ अनुशासनको पाठ सिकाइरहेका हुन्छन् । उनीहरुलाई मजाक गर्दै मैले प्रश्न सोध्ने गरेको छु – ‘जसरी तपाईं यहाँ अरुको फूलबारीमा रजाईँ गर्दै हिँड्नुभएको छ, उता तपाईंको आफ्नो घरको बारीमा अर्कैले फँडानी गर्यो भने तपाईंलाई कस्तो अनुभूति हुन्छ ?’

उनीहरु हाँस्दै जवाफ दिन्छन् – ‘म जस्तो भए पनि मेरी श्रीमती यस्ती छैनन् ।’ धेरैको जवाफ यही हुन्छ र बुझाई पनि ।

वैदेशिक रोजगारीले रेमिट्यान्स र परिवारमा खुशी त भित्र्याएकै छ त्यसमा कुनै शंका छैन । यो सँगसँगै मान्छेहरु सम्बन्धप्रति ईमान्दार हुन पनि छोडिसकेका छन् । यसको पीडा भोग्नेलाई मात्र थाहा छ । बाँकीका लागि त एक रमाईलो कहानी मात्र बन्छ । सुन्दा अनौठो लाग्न सक्छ । तर मेरो वास्तविकता यही हो कि मैले तत्काल विवाह नगर्नुका अन्य कारणसँगै यो पनि एक प्रमुख कारण हो । श्रीमती नेपालमै छोडेर परदेशमा आरामसँग निदाउन सक्दिनँ म । मैले धेरै साथीहरुको निद्रा श्रीमतीकै कारण हराएको प्रत्यक्ष देखेको छु । त्यति मात्र कहाँ हो र ?

कम्पनीले दिएको दुई महिनाको छुट्टीमा नेपाल गएर, विवाह गरेर, दुई दिन पनि श्रीमतीसँग राम्रोसँग नबसी फेरि परदेश आएका साथीहरुको पीडा पनि यिनै आँखाले देखेका छन् । फेरि कम्पनीमा आएको दुई महिना पनि नबसी राजीनामा ठोकेर नेपाल गइ श्रीमतीसँग बस्न पुगेका छन् । यसरी श्रीमती छोडेर परदेश बस्न सकिँदैन भने परदेश बसिन्जेल किन विवाह गर्नु ? मैले आफैँले आफैँलाई बारबार सोध्ने गरेको छु । त्यसैले जबसम्म सँगै बस्ने दिन आउँदैन, तबसम्म एक्लै हिँड्ने मन छ । परदेशको बसाईले समयमा सुत्न सिकायो । समयमा उठ्न सिकायो । समयमा हिँड्न सिकायो । समयमा खाना खान सिकायो । समयमा काम गर्न सिकायो । हरेक कुरा समयमै गर्नुपर्छ भन्ने कुरा सिकायो । तर यहि परदेश बसेकै कारण समयमै विवाह गर्न चाहिँ मन लागिरहेको छैन । 

हाम्रै कम्पनीमा काम गर्ने केही साथीहरुले आत्माहत्या गरे । जसको एउटै कारण थियो श्रीमतीको बेइमानी । परदेशमा हुने कतिपय पुरुषहरुको आत्महत्याको प्रमुख कारण श्रीमतीसँगको सम्बन्धमा आउने खटपट नै हुने गर्दछ । आफ्ना श्रीमती र छोराछोरीका लागि भनेर ऊ परदेशिएको हुन्छ, उनीहरुबाटै खुशी नपाएपछि उसले यहाँ बाँच्नुको अर्थ देख्दैन र आफूलाई रातो बाकसमा फर्काउने निर्णय गर्छ । त्यतिसम्म चुक्न सक्छ पुरुषको मनोविज्ञान । सुन्दा ‘हो र !’ जस्तो पत्यार नलागे पनि परदेशमा बस्दा हामीले धेरै नेपालीका यस्ता घटनाहरुलाई देखेका छौं । यस्तै घटनाले झस्काएका बेला मैले एउटा छोटो कविता पनि लेखेको थिएँ ।

आत्महत्या
सरकार ! ए सरकार !!
कि रोजगारी दे
कि परदेशीका श्रीमती जोगाई दे 
नत्र तेरो एअरपोर्ट
रातो बाकसले भरिनेछ ।

यो कविता त्यतिबेला लेखिएको हो जतिबेला हाम्रै कम्पनीको एकजना साथीले श्रीमतीकै कारण आत्महत्या गरे । नारीलाई अन्याय हुँदा आवाज उठाउनेहरु त थुप्रै भेटिन्छन् समाजमा । तर पुरुष अन्यायमा परेर ज्यान गुमाउँदा समेत खासै आवाजहरु सुनिंदैनन् । उसका आवाजलाई छोटो कवितामा बुलन्द गर्ने मेरो सानो कोशिस मात्रै हो । यस्ता हजारौँ कविता लेख्ने हो भने पनि यी आवाजलाई मूलधारमा ल्याउन सकिन्न होला ।

उमेर पुगेर पनि मैले विवाह नगर्नुका कारण अरु पनि छन् । जोसँग बिहा गर्छु भनेर परदेश हिँडेको थिएँ उसले अर्कैसँग बिहा गरेपछि मलाई विवाहप्रति नै वितृष्णा लाग्न थालेको हो खासमा । यदि त्यसो नहुँदो हो त आज यो लेख लेखिने थिएन होला । बरु एक दुई सन्तानको बाबु बनेर घर व्यवहार र श्रीमतीको सारी सम्हालिरहेको पो हुन्थे कि ! तर त्यसो भएन । मान्छेहरु भन्ने गर्छन्– जति टाढा, माया उति गाढा । पहिले पहिले त मलाई पनि हो कि जस्तो लाग्थ्यो । तर जब म आफैँ सम्बन्धबाट भौतिक रुपमा टाढा भएँ, तब सम्बन्धको कनेक्सन लस्ट भयो । हामी एक अर्काको बफर जोन भन्दा बाहिर भयौँ । जसले गर्दा रेडियोको फ्रिक्वेन्सी बदलिए जस्तो हाम्रो सम्बन्धको फ्रिक्वेन्सी फेरियो ।

फर्किन्छु भनेर आएको मान्छे
न फर्किन सक्यो
पर्खिन्छु भनेर बसेको मान्छेले
न पर्खिन सक्यो
तिम्रो र मेरो प्रेम
बाचाहरुमा सीमित भयो ।

सम्बन्ध भत्किएपछि लेखिएको एउटा कविताको एक अंश हो यो । धेरैले भन्छन् ‘एउटाले छोडेर गए अर्को नपाइने हो र ? त्यही केटी मात्र छे र बिहे गर्नलाई ? गर्छु मात्र भन न, केटी त लाइन लगाइदिन्छु तिम्रो लागि ।’ भन्न त भन्छन् नि अरुले । मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टै ठिक छु भनेर मैले पनि फिल्मी शैलीमा जवाफ दिने गरेको छु । खुट्टा भए जुत्ता कत्ति कत्ति  भनिन्छ । तर जुत्ता मात्रै पाएर भो र ? जुत्ताको रङ मन पर्नुपर्यो । जुत्ताको साइज मिल्नुपर्यो । अझ जुत्ताको ब्राण्ड मन पर्नु पर्यो । जुत्ता न हो जति पनि पाइन्छ भनेर बजारमा भएका सबै जुत्ता आफ्नो लागि कहाँ बनेको हुन्छ र ? यो चलनचल्तीको उखान भएर मात्रै उदाहरणका लागि यहाँ प्रस्तुत गरेको हुँ । खासमा मलाई बिहा गर्ने केटा होस् वा केटी, दुवैले आफ्नो दम्पनी वा जीवनसाथीलाई जुत्तासँग तुलना गरेर यस्ता प्रसंग चलाएको नै मन पर्दैन । 

हुन त बिहा नै गर्ने हो भने केटी त अहिले पनि भेटिन्छ होला । तर म उसलाई भेट्दिनँ जसलाई म प्रेम गर्छु । छुट्टिने बेलामा उनले भनेकी थिइन् – मलाई साँच्चै प्रेम गर्नुहुन्छ भने अर्को केटी खोजेर बिहा गर्नुहोला । मैले जवाफ दिएको थिएँ – अहिले पनि तिम्लाई प्रेम गर्छु र त अरुसँग बिहा गर्न सक्दिनँ ।

धेरैको एउटा प्रश्न हुन्छ — बुढो भइस् त ! कहिले गर्ने बिहे ? पछि त केटी दिँदैनन कसैले पनि । उमेरका हिसाबले कुरा गर्ने हो भने त यतिबेला बिहा गरेको धेरै वर्ष बित्ने समय गुज्रिसक्यो किन भने मेरा बाले २८ वर्षको उमेरमा दुईटी श्रीमती भित्र्याइसक्नुभएको थियो । मेरो उमेर त्यो भन्दा बढी भइसक्यो । धेरैले भन्छन् – हेर्दा पनि राम्रो नै छौ, इमान्दार पनि यत्तिको ठिकै छौ, जसले पनि छोरी दिइहाल्छन् नि ! तर यदि इमान्दार भएकै कारण मात्र विवाह हुने भएको भए आज भन्दा केही वर्ष पहिल्यै आफ्नै प्रेमिकासँग मेरो विवाह भइसक्थ्यो ।  मलाई लाग्छ म अहिले भन्दा बढी इमान्दार पहिले थिएँ ।

धेरै साथीहरुले प्रश्न गर्छन् — यसरी बिहे नगरी बस्ने हो भने पछि बुढेसकालमा कसले पाल्छ, कसले हेर्छ तिमीलाई ?

'कसैले हेर्नु पर्दैन । श्रीमतीको मेकअप र छोराछोरीको स्कुल फीमा हुने खर्च मात्रै जोगाएर राख्न सकियो भने पनि  बुढेसकालमा बसीबसी खान पुग्छ ।', मैले पनि मजाक गर्दै यस्तो जवाफ फर्काउने गरेको छु । अहिले चाहिँ हाम्रा बाउआमाले हाम्रो सहारा पाएका छन् र बुढेसकालमा ? बाआमा गाउँमा, छोराछोरी उता पीआरको चक्करमा । आफूले आफ्ना बाउआमाका लागि कति गरियो ? आफ्ना सन्तानबाट त्यहाँ भन्दा बेसी आश नगरे हुन्छ । बुढेसकालको सहारा हुन्छ भनी आफूले सन्तान जन्माइरहँदा बाबुआमाबाट अंश लिएर आफू छुट्टिएर बसेको कुरा हामी बिर्सन्छौँ । हामी हाम्रा बाबुआमाको सहारा बन्न सक्दैनौँ भने हाम्रा सन्तानले हामीलाई  चाहिँ पछि हेरचाह गर्छन् भनेर  हामी कसरी ढुक्क भएर बस्न सक्छौँ ?

आमाको सपना अब एउटै मात्र बाँकी छ । त्यो हो मेरो विवाह धुमधामका साथ गर्ने । हिजोआजका बुहारी सासुससुरासँग मिलेर बस्न सक्दैनन् भन्ने कुरा आमालाई राम्रोसँग थाहा छ । फेरि पनि आमा मेरो बिहे गर्नमा जोड दिइरहनुहुन्छ । आमासँग हरेक पटक कुरा हुँदा कुराकानीको करीब ९० प्रतिशत यही मेरो विवाहकै बारेमा कुरा गरेर सकिन्छ समय । बेलाबेला छरछिमेकका सासुबुहारीको झगडा परेर बुहारी माइत गएको कुरा पनि सुनाउनु भ्याउनुहुन्छ आमा त्यही छोटो समयमा । 

आमालाई जिस्काउँदै म सोध्ने गर्छु – 'छिमेकीको बुहारी रिसाएर माइत जान्छे भने तपाईंकी बुहारी चाहिँ तपाईंसँगै बस्छे भन्ने के ग्यारेन्टी छ ?'  आमा मुसुक्क हाँस्दै भन्नुहुन्छ – 'छोरो गतिलो भयो भने बुहारी पनि गतिली नै आउँछे ।'

सयौँ घरपरिवारमा सासुबुहारीको झगडा देखिसक्नुभएकी मेरी आमालाई यो विश्वास छ कि मेरी श्रीमती त्यस्ती आउँदिन । किनभने आमालाई मप्रति पूर्ण विश्वास र भर पनि छ । नहोस् पनि किन ? कुन आमाको लागि आफ्नो छोरो नराम्रो होला र ? मेरी आमाले जस्तै सबैकी आमाले आफ्नो छोरालाई गतिलै छ त भन्नुहोला नि । मानिलिऊँ आमाले विश्वास गरे जस्तै म सबैभन्दा गतिलो छोरो हुँ रे । त्यस्तै हो भने पनि म राम्रो छु भन्दैमा मेरी श्रीमती पनि राम्री नै भेटिन्छिन् भन्ने कहाँ छ र ? यो प्रश्न हरेक पटक मैले आमालाई गर्ने गरेको छु र थोरै भए पनि विवाहबाट भाग्ने कोशिस गर्दै आएको छु । आमाको सपना र मेरो रहर यतिबेला ठिक विपरित ध्रुवमा उभिएर युद्ध गरिरहेछन् । थाहा छैन यी दुईको भिडन्तमा कुन ध्रुवको विचारले हार मान्ने हो ।

विदेशमा बसेर मनमा उठेका लहरहरु पोख्दै गरेको आलेखलाई अब बिट मार्ने क्रममा विवाह विषयमा नै फुरेको एउटा मुक्तक यहाँ लेख्छु । तपाईं यो पढ्दै गर्नुस् म चाहिँ साँच्चिकै अब विवाह गर्ने कि नगर्ने फाइनल मुड बनाउने गरी सोच्न बस्छु है त ।

बाहिरबाट यसो हेर्दा वाह वाह हुन्छ
केही दिन त हेर मुस्कान पनि अथाह हुन्छ 
भागेर गर्नु मागेर गर्नु के फरक पर्यो र ?
खुशी छैन कोही तर पनि विवाह हुन्छ ।। 

अन्तिम अपडेट: बैशाख ८, २०७८

6 Comments

  • Bishal Baral

    Feb. 11, 2021, 11:05 p.m.

    बिबाहको सवालमा सबैको धारणा एउटै हुनैपर्छ भन्ने छैन। म अहिले 22 बर्ष को भए। घरमा बिहे को गरिरहुनु हुन्छ यद्यपि म भने चाहिँ बिहे गर्ने पक्षमा छैन। अझै कति बर्षसम्म गर्दिन त्यो म आफै अनुत्तरित छु। तर यसको मतलब म बिबाह बिरोधि भने चाहिँ होइन। म मेरा साथीभाई हरु, बिबाह गर्नेहरु लाई दिल खोलेर शुभकामना दिईरहेको हुन्छु।

  •  0 Reply
  • अमन एकल

    Feb. 2, 2021, 7:49 p.m.

    मेरै कथा लेख्नुभएको रहेछ डिजि सरले कास बेलैमा यति सोच्न सकेको भए बिहा गर्ने थिईन मैले पनि

  •  0 Reply
  • Saphal stha

    Feb. 2, 2021, 8:08 a.m.

    श्रीमतीको मेकअप र छोराछोरीको स्कुल फीमा हुने खर्च मात्रै जोगाएर राख्न सकियो भने पनि बुढेसकालमा बसीबसी खान पुग्छ ।', बिहे गरेर गल्ती गरियो कि झै भको छ मित्र को आर्टिकल पढेर।😊

  •  0 Reply
  • अाकाश कार्की

    Jan. 31, 2021, 10:22 p.m.

    एकदम रियल लाग्याे म संग 99% मिल्याे , मात्र म नेपालमा छु म तर घरमा छैन । बास्तविक्ता नै हाे..

  •  0 Reply
  • गोमा रेग्मी

    Jan. 31, 2021, 7:54 p.m.

    साच्चै मन छोयो डि जी शर्माको लेखले।सामाजिक यथार्थ!

  •  0 Reply
  • manohar kafle

    Jan. 31, 2021, 3:41 p.m.

    मन छुने लेख , बिच बिच मा पद्य ले सुनमा सुगन्ध छरेको छ । जारि राखोउ लेख्न

  •  0 Reply

तपाईको प्रतिक्रिया