रुखा र खस्रा मान्छे खोज्दै विकट पहाडतिर - भाग १

 माघ २२, २०७७ बिहिबार ११:५७:३० | सन्जिता देवकोटा

सुदूरपश्चिमका बारेमा सुन्दा पहिलेदेखि मनमा लाग्थ्यो, म पनि सुदूरपश्चिम जान पाए ! यसपाला मनले सोचे झै सुदुर जाने अवसर मिल्यो । भारतमा रोजगारी गर्न जाने नेपाली र सुदूरपश्चिमका महिलाको बारेमा रिपोर्टिङ गर्न अफिसका हामी तीनजना १५ दिनका लागि सुदूरपश्चिमको बैतडी जाने भयौं ।

सुदूरपश्चिमबारे मेरो दिमागमा अहिलेसम्म दुईखाले चित्र छन् । एक – सुदूरपश्चिम एकदमै बिकट छ, जहाँ दुःखबाहेक केही छैन । दुई – सुदूरका मानिस रुखा र खस्रा छन् ।

कोरोना महामारी सुरु भएपछि पहिलोपटक मेरा पाइलाले नयाँ ठाउँमा टेक्दै थियो ।

मन त यसै खुसी भयो । ललितपुरको पाटनका साँघुरा गल्लीगल्ली चाहार्ने यो ज्यान बैतडीको सुन्दर पाटन पनि पुग्ने भयो ।

२०२१ को पहिलो दिन । 

एकाबिहानै कोठामा चाबी मारेर निस्किएँ । महामारीको जोखिम कम भएको छैन । थाहा छ, महामारीमा यात्रा गर्नु जोखिमले भरिपूर्ण छ । तर पनि मेरो मनमा कुनै डर बाँकी छैन । मन र मस्तिष्कमा मात्र सुदूरपश्चिमको कल्पना छ।

 
काठमाण्डौबाट केही पूर्वाग्रह र पश्चिम जान पाउँदाको खुसी बोकेर सुदूरको यात्रा शुरु भयो अंग्रेजी नयाँ वर्षको पहिलो दिन । ठ्याक्कै नाम त याद छैन तर कोहलपुर कटेपछि खाजा खाइयो । क्या स्वादको चिया र खाजा, अहिले पनि जिब्रोमै झुण्डिरहेको छ ! 

यसपछि अब चिसापानीमा खाना खाने र कर्णाली पुलमा फोटो खिच्ने योजना बनाउँदै हामी अघि बढ्यौं । 

बर्दिया राष्ट्रिय निकुञ्ज पुग्दा रमाइलो लाग्यो । गुरुजी टाइमकार्ड लिन गाडी रोकेर सेनाको पोष्टमा लाइन लाग्न जानुभयो । हामी यताउता हेर्न थाल्यौं । हामी सबैका आँखा सेनाको पोष्टमा ठोकिए, जहाँ लेखिएको छ, ‘मास्क लगाइ दिनुहोला ।’

साथी विशाल कार्कीले भने, ‘खासमा मास्क लगाएर मात्र आउनुस् भन्न पर्ने हो, मास्क लगाई दिनु भन्दा त मास्क अरुलाई लगाई दिने भन्ने पो हुन्छ । तर भाषामा आजभोलि कस्ले पो विचार गर्छ र !  
टाइमकार्डमा समय भरेर फर्किएका गुरुजीलाई पनि खुबै जिस्काइयो । 

‘मास्क कस्लाई लगाइदिएर आउनुभयो दाइ ?’

गुरुजी पनि एकछिन् त अलमलमा पर्नुभयो । हुन त यो हाँस्ने कुरा होइन । लेखिएको कुरा भाषिक हिसाबले असुध्द थिएन, तर कहिलेकाहीँ लेखेको कुराले भन्न खोजेको कुरा नबोक्दा लेखेको कुराको अर्थ नै अर्कै लाग्दो रहेछ ।
निकुञ्जको जंगल सकिएपछि गाडी कर्णाली पुल कटेर चिसापानीमा रोकियो । हामी तीनै जना पुलमा फोटो खिच्न थाल्यौं । 

हामी मात्र होइन पुलमा फोटो खिच्ने, टिकटक बनाउनेहरु थुप्रै भेटिए । गीतअनुसार टिकटक बनाउन कोही नाच्दै छन्, कोही पोजपोजमा फोटो हान्दैछन् । हामी पनि के कम, कर्णाली पुललाई पछाडि पार्दै थरीथरीका फोटो खिच्यौं र खाना खाने होटलमा सित्तैमा मिलेको वाइफाइको सदुपयोग गर्दै सामाजिक सञ्जालमा फोटाहरु पोस्टायौं ।  

योजना अनुसार त आजै बैतडी पुग्नु थियो । तर यात्रामा सबैकुरा सोचेजस्तो कहाँ हुँन्छ र । जस्तो हुन्छ त्यसअनुसार नै अघि बढ्नुपर्छ । हाम्रो योजना फेरियो । रातको जति बजे पनि डडेलधुरा सदरमुकामसम्म पुग्ने र त्यही बास बस्ने भइयो । किनकी हामी कैलालीको घोडाघोडी पुग्दा घाम अस्ताउनै लागेको थियो । पहाडका डाँडाबाट उदाउँदो सूर्य जति सुन्दर देखिन्छ, तराईमा अस्ताउन लागेको सूर्य त्योभन्दा सुन्दर देखियो । खेतमा लहलह भएका हरियो गहुँलाई छायाँ पार्दै हामी अत्तरिया नपुग्दै घाम अस्तायो ।

कैलालीबाट पहाडतिर लागेपछि मन त बाटो, डाँडाकाडा हेर्दैै जानेथियो । तर, अस्ताएको घामले मेरो सपनालाई अँध्यारो पारेर गयो । सुदूरको अछामकी साथी इन्द्रसराले गर्ने ठाउँको बयान सुन्दै मेरा आँखाले अँध्यारामा पनि सडक छेउछाउका ठाम र नाम देखिरहे ।  

उनले सुनाएको मध्येमा सबैभन्दा डरलाग्दो भासुको भीरको व्यथा थियो । भासुको भीरको कथा सुने पनि त्यही बाटो यात्रा गरे पनि राती भएकाले देख्न परेन । एक हिसाबले त ढुक्कै लाग्यो । रातको साढे ९ बजेतिर डडेलधुरा सदरमुकाम पुगियो । पहिलो दिनको उत्साहलाई डडेलधुराको बागबजारमा बिट मारियो ।

दोस्रो दिन :

जतिसक्दो चाडो बैतडी सदरमुकाम गोठालापानी पुग्नु थियो । बिहानै उठेँ । गाडी चढ्न बाहिर निस्किएँ । मिर्मिरे बिहानीमा डडेलधुरा त धपक्कै बल्दोरहेछ । वरिपरी डाँडैडाँडा । डाँडा पारि क्षितिजमा घाम उदाउने तयारीमा थियो । दृश्य अत्तिनै मनमोहक । वरपर घुमेर हेरिरहें । लाग्यो, सुन्दरता भन्ने शब्द पनि बिहानीले आफूसँगै बोकेर ल्याउँदो रहेछ !

डडेलधुरामा काठमाण्डौसित मिल्ने धेरै नाम छन् । यहाँ बागबजार पनि छ र कीर्तिपुर पनि । काठमाण्डौमा पेरिसडाँडा छ अनि यहाँ तुफानडाँडा । नामका हिसाबले त डडेलधुरामा सिङ्गो काठमाण्डौ रहेछ । काठमाण्डौ मात्र हैन, पर्यटकीय नगरी पोखरा पनि डडेलधुरामा छ । 

कसरी काठमाण्डौका नाम यहाँ भए भन्ने जिज्ञासा राख्दा केहीले जवाफ दिए, ‘के मा कम सोच्नुभएको छ त डडेलधुरालाई, यो त देउवाको गाउँ हो देउवाको !’

जे होस् काठमाण्डौका नाउँ देउवाको गाउँमा पाउँदा रमाइलै लाग्यो । काठमाण्डौका सेवासुविधा नआए पनि नाम चलेका ठाउँहरु डडेलधुरामा सर्लक्क बास बस्न आएका छन् ।

बिहानै बागबजारबाट अघि बढेको गाडी डडेलधुरा र बैतडीको सिमाना अनारखोलीमा पुगेर रोकियो । यात्रामा हिँड्नेहरुका लागि यो ठाउँ पनि विशेष मानिन्छ । ठूल्ठूला मुढा हुरहुरी बलेको, भकभकी उम्लिरहेको दूध । त्यसमाथि एकदमै चिसो छ यो ठाउँमा । आगोमा उम्लेको दूधैदूधको चियाको स्वाद शायद अर्को ठाउँमा मिल्दैन कि झैं लाग्यो ।

यहाँका बासिन्दाले दूध र उखुबाट मिठाइ बनाउँछन् । बझाङ्, बैतडी र दार्चुलाबाट तराई झर्नेहरुले यो ठाउँमा गाडी रोकेर त्यही मिठाइ आफ्नालाई कोशेली बोक्छन् । स्थानीय मिठाइ पाइने भएकाले पनि अनारखोलीमा एकखालको रौनक छ । बाटो हिँड्ने अधिकांश गाडी रोकिन्छन्, यात्रुले मिठाइ किन्छन् । अनि हिँड्छन् । मिठाइले नै अनारखोली बासीलाई थोरै भए पनि सुख चाख्न दिएको छ ।

अनारखोलीबाट अघि बढ्दा मन आतुर छ । हिजो अत्तरियामै साँझ परेकाले डडेलधुराभन्दा तलका ठाउँहरु देख्न पाइनँ । अब भने उज्यालो बिहानीमा बाटोमा पर्नेजति गाउँठाउँ आँखा झिमिक्क पनि नगरी हेर्नु छ । 

जीवनमा आफूले मन लागेको कुरा गर्न पाउँदा जतिको खुसी अरु केमा मिल्छ होला र । बैतडीको सडकमा गुड्दै गर्दा मेरो मनमा बेला बेला त्यही खुसी छचल्किरहन्छ ।

अनारखोलीबाट अघि बढेपछि खोड्पे पुगियो । खोड्पे सुखदभन्दा पनि दुखद अर्थात दुर्घटना धेरै हुने ठाउँ भनेर चिनिन्छ । त्यसैले यो नाउँ पनि पत्रपत्रिका र रेडियोमा बाक्लै आउँछ । 

पहाडको टुप्पोमा छ खोड्पे बजार । सडकबाटै केही होटलका साइनबोर्ड देखिन्छन् । खानानास्ता पाइने होटल पनि टन्नै छन् । मानिसको चहलपहल पनि बाक्लो छ । यहींबाट बझाङ जाने बाटो छुट्टिन्छ । बजारबाट दाहिने जाने बाटोले यात्रुलाई बझाङ र देब्रेतिर लाग्ने बाटोले बैताडी लैजान्छ यहाँबाट । बैतडी जाने बाटो अलिक अघि बढ्दा डरलाग्दो भीर छ, जहाँ धेरै दुर्घटना भएका छन् ।

भीर हेर्दा मात्रै पनि शरीरमा काँडा उम्रन्छन् । बाटो नराम्रो छैन र खाल्डाखुल्डी पनि काठमाण्डौका सडकमा भन्दा कमै छन् । तर पनि किन यही ठाउँमा दुर्घटना धेरै हुँदो हो । हामी चढेको गाडीका गरुजीले फ्याट्ट भन्नुभयो – ‘यतातिर जीप त्यति संयमित भएर चलाउँदैनन्, चालकको लापरवाही पहिलो कारण हो, बाँकी त भगवान भरोसा बहिनी ।’

खोड्पेबाट अघि बढ्दा आकाश धक नमानी खुलेको छ । कतै अग्ला पहाड कतै डरलाग्दा भीर । तर पनि सुन्दर छन् ससाना बारीका पाटा र अग्ला कान्ला । कति मिलेका । आफैंले डिजाइन गरेर बनाएझैं । अझ आनन्द त त्यतीबेला लाग्यो जब हिरापुरबाट पाटनको सुन्दर फाँट देखियो ।

कहाँ घरैघरले भरिएको ललितपुरको पाटन कहाँ धान फल्ने खेतैखेतको बैतडीको पाटन । भर्खर उम्रिएका गहुँका लहलह बोटले पाटनलाई गाढा हरियो रंगमा रंगाएको छ । पहाडको फाँट साँच्चै सुन्दर छ । माथिपट्टी बस्ती, अनि बस्तीभन्दा तल खेत । बीचमा पाटन विमानस्थल ।

मौसमले साथ दिए हप्तामा दुई पटक पाटनमा जहाज पुग्छ । पहिलेपहिले भारतका विभिन्न ठाउँ हुँदै रक्सौल नाकाबाट काठमाण्डौ आइपुग्ने पाटनबासीलाई अहिले जहाजले कति सहज बनाइदिएको छ । पाटनबाट उडेको झण्डै १५ देखि १८ मिनेटमा जहाज धनगढी पुग्छ ।

पाटनबाट उकालो लाग्दा देखिन्छ बाक्लै सल्लाघारी । चिल्लो सडक, वारिपारि देखिने सुन्दर गाउँ अनि, बझाङको सैपाल हिमाल । ध्यान टक्क तान्छ । जुन दुःखी सुदूरको बाटोको चित्र लिएर म सुदूर पुगेकी छु, यहाँ आइपुग्दा त्यो चित्र फिटिक्कै मिलेको छैन । 

हामी झण्डै १ बज्न लाग्दा बैतडीको सदरमुकाम गोठालापानी पुग्यौं । पहाडमा फैलिएको भिरालो बजार । बारीका कान्लामा मिलाएर बनाइएका घर । बजारभन्दा केही माथि डाँडातिर छन् सरकारी कार्यालयहरु । शनिबार भएकाले पनि होला बजारमा उतिसारो चहलपहल छैन । बास बस्न होटल छानीछानी पाइनेरहेछ । सस्तोदेखि महंगोसम्म । हामी पनि होटलमा झोला बिसाएर नेपाल र भारतको सीमानाका झुलाघाटतर्फ लाग्यौं । 

हिँड्दै जाँदा सटकटबाटो पनि छ रे । झण्डै एकघण्टा लाग्छ भन्छन् स्थानीयहरु । तर हामी स्थानीयको गति पक्डन सक्दैनौं । त्यसैले पनि गाडीमै जाने भयौं । गोठालापानीबाट ओरालो र घुमाउरो बाटो घुम्दै गाडीमा पनि झण्डै एक घण्टा नै लाग्यो झुलाघाट पुग्न । वारि सुनसान नेपाली बजार, पारि हराभरा भारतीय बस्ती । बीचमा सुसाइरहेको महाकाली नदी । दुईतिरका अग्ला पहाडको फेदीमा छ झुलाघाट । 

कहिले नेदेखेका अजङ्गका पहाड देख्दा म त कहाँ आए झैं अनुभव भयो । पहाड त सिन्धुलीमा पनि छ । तर त्यति विशाल छैनन् ।  

बीचमा महाकाली नदी नभएको भए पनि ठाउँ, बस्ती र पारीको बाटोले नै नेपाल हैन भनेर छुट्याउन सकिने रहेछ । पहाडकै फेदमा भए पनि भारततिर ठूलाठूला घर, बाक्लो बजार, ट्याँट्याँ टुँटुँ गाडीका आवाज सुनिन्छ । वारिबाट हेर्दा उत्तराञ्चलका पहाडी सडक सुन्दर देखिन्छन् । तर वारि नेपालतिर न गाडीको ओहोरदोहोर, न मान्छेको चहलपहल । बाटो पनि सानो । सिधा तल निलो महाकाली नदी । 

बजारको मुखैमा भेटिए स्थानीय सञ्जय सिंहभाट । झुलाघाटका स्थानीय व्यापारी उनी चैतदेखि नै पसल बन्द गरेर बसेका छन् । नेपाल पट्टीको बजारमा जम्मा उनकै आफन्त पर्ने पाँच परिवार मात्र बस्छन् । 
अवस्था सामान्य हुँदा यो नाकाबाट दिनको दुई सयसम्म मानिस आवातजावत गर्थें । बजारमा खुब चलहपहल हुन्थ्यो । सञ्जय पनि दिनमा २० हजार रुपैयाँसम्मको व्यापार गर्थे । तर कोरोना महामारी आयो । यहाँको पनि नाका बन्द भयो । नाका बन्द भएकै दिनदेखि झुलाघाट बजारमा ताला लाग्यो । त्यसदिनदेखि आजसम्म पनि बजार खुलेको छैन ।

बजारका बाक्लै सटरहरुमा अहिले पनि ताला लागेको छ । कतिपय तालामा त खिया पनि लागेको छ । सञ्जय भन्छन्, ‘लागेको तालाको त हाल यस्तो छ, भित्रको सामान के भयो होला, हामी यहाँका व्यापारी त बौलाउन मात्र बाँकी छ ।’

व्यापारीका आफ्नै दुःख छन् । नाका नखुल्दा मानिस आउँदैनन् । नेपाल सरकारले लकडाउन हटाए पनि मानिस नआउने भएपछि बजार खोलेर पनि काम छैन । 
‘हामीलाई त अहिले खान पनि धौधौ छ, बैंकले ऋण दिँदैन, सीमा नाकाभन्दा आठ किलोमिटरसम्म घरजग्गा भएकालाई ऋण नदिने बैंकको नीति छ रे’ सञ्जय गुनासो गर्दै भन्छन् ‘घरीघरी त हामी कसको नागरिक हौं जस्तो लाग्छ, साँच्चैभन्दा सीमामा बस्ने हामीहरु न नेपालको भयौं न भारतको ।’

यही नाका भएर भारत जानैपर्ने बाध्यतामा परेकालाई भने जिल्ला प्रशासन कार्यालय बैतडीले सिफारिस दिने गरेको छ । त्यही सिफारिस लिएर भारत जान हिँडेका केही व्यक्ति पनि नाकामा भेटिए ।

हातमा त्यही नाका भएर भारत प्रवेश गर्न प्रशासनले दिएको सिफारिस छ । तर उनीहरु ७ घण्टादेखि भारतले गेट खोल्ने प्रतिक्षामा छन् । सिफारिस उनीहरुको हातमा छ, तर गेटको चाबी भारतीय सुरक्षाकर्मीको हातमा । त्यसमाथि गेट खुल्ने समय कुर्र्न पनि सजिलो छैन ।

‘बिहानदेखि पिसाबसमेत फेर्न पाएको छैन, एक कप चिया खाने ठाउँ छैन’ भारत हिँडेका लालमणी भुल आक्रोश व्यक्त गर्दै भन्छन् ‘नेपाल सरकार कस्तो हो, भारतले गेट खोल्दैन भने हामीलाई किन यो नाकामा सिफारिस दिएर पठाएको होला ।’

बजार पहाडको खोचमा छ र एक किससिमको धराप हो कि जस्तो अनुभव हुन्छ । एकदमै भिरालो डिलमा कति पनि खाली ठाउँ छैन । भीरमा फलेको फर्सी झैं लाग्छ झुलाघाट बजार । 

भारत र नेपालको दुरी कति पनि लामो छैन । दुई देश छुट्याउने महाकाली नदीमाथि मात्र ९० मिटरको पुल छ । तर त्यही नदी वारिपारि आँखाले आकास र जमीनको जस्तो फरक देख्छन् । उता बिजुली, बाटो र हरियाली यता बन्द सटरमा लागेका ताला र गेट खुल्ने आशामा थाकेका आँखा । भीसा र कागजपत्र बिना नै यहाँका बाँदरहरु ताला लागेका गेट बुरुक बुरुक नाघ्दै निस्फिक्री नेपाल र भारत गरिरहन्छन् । तर, मानिसका लागि यो सुविधा कहाँ छ र ? 

तेस्रो दिन :

पुस १९ गते बिहानै बैतडीकै डिलाशैनी गाउँपालिका हिँडियो । डिलाशैनी जाँन बैतडीको सतबाँझबाट दार्चुला जाने सडक समात्नुपर्छ । गोठालापानीबाट केही अघिसम्म त बाटो र मौसम दुवै ठिकै थियो । तर जब सतबाँझबाट दार्चुला जाने बाटो लागियो तब पानी पर्न थाल्यो ।

अब भने मनमा डरको ढ्याङ्ग्रो बज्न थाल्यो । बिशाल पहाडको बीचमा एक लेनको सडक । त्यो पनि ओरालो । अनगिन्ती घुम्तिहरु । तल हेर्दा त कहाँ हो कहाँ । हिमालको झैं पहाडको पनि उचाइ नाप्ने हो भने सायद यी पहाडले पनि रेकर्ड राख्दा हुन् ।

गुरुजीलाई राम्रोसँग चलाउनुस् है भन्ने आँट आएन । घुमाउरो पारामा भने – यस्तो बाटोमा पानी पर्दा गाडी चलाउन अप्ठेरो त हुन्न दाइ ?

उनले भने –‘त्यति गाह्रो त हुन्न । तर बिस्तारै चलाउन पर्छ ।’ उनको यो जवाफले मन अलिकति भए पनि ढुक्क भयो । 

सिमसिम पानीमा अघि बढ्दा गाडीमा चक्र बमको देउडा गीत ‘भडसाली तेरी दिदी काँछ’ बजिरहेको छ ।  

यही गीतमा मनको डर भुलाउन खोज्दैछु म पनि । तर मलाई यो बाटोमा गीतभन्दा ठाउँका नाम पढ्न रमाइलो लाग्दैछ । सतबाँझबाट दार्चुला जाने सडक समाएपछि बीचमा १४ वटा गाउँहरु कट्न पर्दोरहेछ । गाउँठाउँको नाम पनि पूर्वतिरकाभन्दा फरक जस्तो धरमघर, सिल्लेगाडा, खोचलेक, ढुङ्गेपानी, श्रीकेदार, गोबडा, डोली, न्वाली, बिटकम, सल्सेना, चमतडी, पन्जुनयाँ, जामडी, बाङ्गाबगर आदि । 

दिउँसो १ बजेतिर दार्चुलाको गोकुलेश्वर पुगियो । काम बैतडीको डिलाशैनीमा भए पनि बास बस्न भने दार्चुला नै पुग्नुपर्छ । चमेलिया नदीको पुल कटेर पहिलोपटक दार्चुलामा पाइला टेक्न पाउदा मन फुरुङ्ग भयो । बाटोभरी डरले काँपेको मन गोकुलेश्वर बजार पुगेपछि आफैं रमायो । त्यसैदिन केही काम भ्याउने भएकाले हामी डिलाशैनीको नौगाउँ लाग्यौं ।

डिलाशैनीकै नौगाउँमा नाथहरुको बसोबास छ । गहुँखेतको बीचमा सम्म बसेको बस्ती । खेतभरी गहुँ । सिँचाइको पनि राम्रो व्यवस्था । पहाड फेदिको यो गाउँ सुन्दर छ । तर सुन्दर गाउँको घरआँगन भने अचम्मैको लाग्यो । सानासना घर । त्यो पनि एक र अर्कोघर जोडिएका ।

कुन कसको घरमा पस्ने ढोका हो कि झ्याल छुट्टाउनै मुस्किल । ढुङ्गा बिछ्याएको आँगन । आँगनभरी गाईबस्तु । बस्तुका गोबर र पिसाबको गन्ध घरभन्दा परसम्मै आउँछ । घरभित्र पस्न मुस्किल । निहुरिएर, अलिक अग्लो मानिसले त टुक्रुक्क बसेरै अघि बढ्नपर्छ । त्यही घरमा सासुससुरा, छोराछोरी, श्रीमान् श्रीमती सबै अटाउँदा रहेछन् ।

नाथहरुको बस्ती नौगाउँको अन्तिममा भैरबको मन्दिर छ । देउता रिसाउने डरले यो गाउँका महिला एकसाल अघिसम्म पनि सुत्केरी हुन अस्पताल नजाने रहेछन् । स्कुल जाने बाटो पनि त्यही मन्दिर नजिकैबाट भएकाले महिनावारी हुँदा किशोरीहरुले चार दिनसम्म विद्यालय छाड्दा रहेछन् । ज्यान र भविष्यभन्दा देउताको डर ठूलो ठानिंदोरहेछ । 

मैले नौगाउँ पुगेपछि दुरानाथको मुखबाट पहिलो पटक अचम्मको कुरा सुने । ‘बच्चा पेटैमा मर्दा पनि देउताको डरले अस्पताल जाँदैन थियौं,’ गाउँकै दुरानाथ भन्नुहुन्छ ‘जतिदिन सुत्केरी व्यथा लागोस्, ज्यानै जाओस् तर अस्पताल जाने चलन थिएन, सुत्केरी घरमै हुने हो ।’ मलाई अचम्म लागेका यी कुरा उनीहरुका लागि  सामान्य थिए ।

(भाग २ मा 'सुन्दरताले थिचेका निर्दोष मुस्कान र दबिएका सपनाहरु' प्रस्तुत गर्नेछौं)

अन्तिम अपडेट: बैशाख २५, २०७८

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया