सुन्दरताले थिचेका निर्दोष मुस्कान र दबिएका सपनाहरु

 माघ २३, २०७७ शुक्रबार १२:५७:४७ | सन्जिता देवकोटा

रुखा र खस्रा मान्छे खोज्दै विकट पहाडतिर - भाग २

कुरा गर्दा गर्दै गाउँकै एक महिला मसित केही नजिक भइन् । उनी मसँग आफ्ना निकै कुरा भन्न चाहन्थिन् तर हामीबीच बाधक बनिदियो भाषा । उनी शुद्ध बैतडीको भाषा बोल्थिन अनि म चाहिँ नेपाली । सायद मेरो भाषा उनी बुझथिन्, तर म उनको कुरा कम मात्रै बुझ्थें ।

उनको सानैमा बिहे भयो । लामो समयसम्म पनि उनीबाट बच्चा भएनन् । आफूबाट बच्चा नभएपछि के गर्ने ? उनलाई श्रीमानको दोस्रो बिहे गराइदिन नै उपयुक्त लागेछ । दोस्रो बिहे पनि गराइदिइन । अहिले कान्छीबाट छोराछोरी छन् । घर भरीभराउ छ तर पनि उनी आफूलाई एक्लो महसुस गर्छिन् । सारमा मैले उनको कथा यत्ति नै बुझें । 

अपरिचित भए पनि उनले मसँग अंगालो हालिन्, फोटो खिचिन । उनको फोटो, मैले पनि फेसबुकको माई डेमा राखें । थोरै भए पनि उनका कुरा बुझ्न कोसिस गरेँ र केही सम्झाएँ पनि । मसँग उनका दुःख कम गर्न योभन्दा बाहेक केही पनि थिएन ।

अब हामीलाई नौगाउँभन्दा माथि दौखोला जानु छ । उनीहरुको अनुसार उकालो बाटो एक, डेढ घण्टा लाग्छ । हेर्दा पहाडको टुप्पो कहाँ हो कहाँ छ । नौगाउँकै महिलाले दौखोलामा फोन गरिदिए । दुईजना किशोरी हामीलाई लिन गाउँबाट आधा बाटोसम्म आए । आधा बाटोसम्म नौगाउँकै महिलाहरुले पुर्‍याइदिए । हामी दौखोलाका दुई किशोरीलाई पछ्याउँदै उकालो लाग्यौं ।

नाक ठोक्किने उकालो । सानो गोरेटो बाटो । हामीलाई लिन आएका दुई बहिनी हाम्रो हिँडाइ देखेर रिसाउँदैनन्, मुसुक्क मस्कुराउँछन् । दश बाह्र पाईला उकालो चढेपछि बेलाबेलामा हामी सोधिरहन्छौं अब कति बाँकी छ । उनीहरु भन्छन्, ‘अब त आइसक्यो !’

उकालो चढ्दै गर्दा साथी इन्द्रसराले भनिन्, – हामीलाई यो बोटो हिँड्न गाह्रो छ, त्यो पारिको सबै भीरमा यहाँका महिलाहरुले गाजो अर्थात खर काट्छन् !

काट्ने मात्र हो र त्यही भीरबाट ठूलोठूलो भारी हालेर घरमा लैजान्छन् पनि । ओहो ! महिलाहरुले कसरी यति ठूलो पहाडमा खरको भारी बोक्दा हुन् । मैले त आँखा बन्द गर्दा पनि कल्पना गर्न सकिनँ । यस्तै भीरमा खर काट्नुपर्ने भएकाले नै धेरै महिलाको त लडेर ज्यान जाँदो रहेछ ।

गाउँलेले भनेको एक घण्टाको उकालो बाटो पार गर्न हामीलाई तीन घण्टा लाग्यो । हामी बल्ल दौखोला पुग्यौं । गाउँमा बिजुली छैन । कमाइ हुनेको घरमा सोलार छ । नहुनेको घर त अझै पनि टुकी कै भरमा छ । 

गाउँबाट तल चमेलिया जलविद्युत आयोजना देखिन्छ । पारि दार्चुलाका पहाडमा पनि रात परेपछि उज्यालो झिलिमिली हुन्छ । तर दौखोलाका मानिसले त्यही उज्यालो हेर्दै चित्त बुझाउनुको अर्को बिकल्प छैन । 

गाउँमा पुरुषहरु छैनन् । कोही भारत त कोही खाडी र मलेसिया गएका छन् । गाउँघर र खेतीपाती महिलाकै भरमा छ । स्कुल छैन । धेरैजना स्कुल जाँदैनन् । जानेहरुले पनि दुई डाँडा पारीको स्कुल जान करिब ३ घण्टा हिँड्नु पर्छ।

हिउँदको चिसो सरसरे हावाले मुटु छेडुला झैं गर्छ, तर धेरै बुढापाका मानिसको ज्यानमा एकसरो मात्र लुगा छ । खुट्टामा जुत्ता छैन । यही गाउँकी लालुमती बोहोराको खुट्टामा त अझैसम्म पनि जुत्ता परेकै छैन । 

‘तमुनले पो निका लुगा जुता ला छौ पुइ ठण्डी नाइ हुन्याभ्यो, हामरा त तसा लुगा नाइभ्या चिसो भौत माणन्छौ’ आँगो ताप्दै गरेकी लालुमतीले आफ्नै भाषामा भनिन् । 

यहाँका मानिस दुब्ला र पातला छन् । तर खसीबाख्रा भने खुब सप्रिएका छन् । 

उनीहरुकै कथाव्यथा सुनेर हामी फर्कने तयारी गर्दागर्दै एकहुल बाख्रा आए । जस्ता हुन् बाख्रा देखेपछि मलाई नसमाती मन मान्दैन । बाख्रा र पाठाको औधी माया लाग्छ । त्यसैले बाख्राका बारेमा अलि चासो पनि लाग्छ ।

बाख्राको हुलमा एउटा अलिक ठूलो थियो । पेट देख्दा पनि बच्चा पाउने बाख्रोे झैं लाग्यो । त्यो बाख्रो देख्दा यताका बाख्राले कति वटासम्म पाठा पाउने रहेछन्, जान्न मन लाग्यो । त्यही मोटो बाख्रालाई समात्दै बाख्रा धपाउँदै आएकी बहिनीलाई सोधे, ‘बहिनी यो बाख्रोले कतिवटा पाठा पाउँछ ?’

बैतडीकै भाषा बोल्ने ती नानीले मलाई नेपालीमै जवाफ दिइन – ‘दिदी यो खसी हो, खसीले बच्चा पाउँदैन नि !’

उनलाई लाग्यो होला सहरबाट आएकी मलाई थाहा छैन । तर सिन्धुलीको गाउँमा बाख्रा चराएरै हुर्केकी मलाई खसीले पाठा पाउँदैन भन्ने त थाहा थियो । जे होस् बहिनीको जवाफले मलाई एकछिन् त हाँस्नु कि के भनौं गरायो । यही हाँसोका साथ हामी दौखोलाबाट बिदा भयौं ।

दुई दिनसम्म नौगाउँ र दौखोलामा महिला र परदेशीका परिवारका कथा समेटेर हामी बास बस्न गोकुलेश्वर फर्कियौं ।

पाँचौं दिन अर्थात पुस २१ गते हामी डिलाशैनीकै गन्नातिर लाग्यौं । दौखोला र नौंगाउँकोभन्दा छेपट्टा, सिमार र गन्नाको परिवेश अलिक फरक लाग्छ । छेपट्टा र सिमारमा पक्की घरहरु छन् । महेन्द्रनगरबाट छुटेका सुविधाजनक बसहरु पनि गन्नासम्म पुग्छन् ।

चमेलिया जलविद्युत आयोजना नजिकै छ । यो ठाउँका मानिसले अँध्यारोमा रात काट्न पर्दैन । जलविद्युत आयोजनाकै कारण बजारमा चहलपहल छ । मानिसको आवतजावत पनि उत्तिकै । सडक छेउछाउ मात्र होइन अलिक मास्तिरकाहरु पनि बजारमा तरकारी बेच्न ल्याउँछन् । होटल र चिया पसलमा जम्मा भएर मानिसहरु चियाको चुस्कीसँगै गफ मार्छन् । एकै ठाउँ, मात्र केही समयको दुरी । सडक र बिजुलीले मानिसको जीवनलाई  कति फरक पार्दो रहेछ भन्ने यहीँ देखिन्छ ।

गोकुलेश्वरबाट फर्किएर अब हामीलाई दोगडाकेदार गाउँपालिका जानु छ । गोकुलेश्वरबाट दोगडाकेदारको रिम जाने ठाउँ सिल्लेगाडा पुग्दा ठूलो पानी पर्‍यो । पानी परेपछि रिममा गाडी नजाने रहेछ । हामी एक दिन बाटोमै रोकियौं ।

हिजोभन्दा केही घाम लाग्यो । रिमबाट सिल्लेगाडा जिप जाने भयो । स्थानीय जीपलाई हामीलाई पनि ल्याइदिन सामाजिक चेतना तथा विकास संघ साडा बैतडीमा सामाजिक परिचालकका रुपमा कार्यरत सुशिला मडैले भनिदिनुभयो र केही सहज भयो ।

हुन त यो ठाउँ डिलाशैनीको तुलनामा दुरीको हिसाबले सदरमुकामबाट नजिक छ । तर पनि  भर्खरै खनेको बाटो । साघुरो बाटो र ससाना मोडहरु, कतै रातो र कतै कमेरो माटो । कति ठाउँमा यात्रु ओरालेर गाडी ठेल्न पर्ने त कतिपय ठाउँमा ढुङ्गा बिछ्याउँदै अघि बढ्नुपर्ने । कतिपय ठाउँमा त मन दह्रो बनाउन आँखा चिम्म गरेर दह्राे गरी गाडीको सिटमा समाएँ ।

हिजोदेखि नै गाडी भनिदिनदेखि हाम्रो यात्रालाई सजिलो बनाइदिन सहयोग गरिरहनुभएकी सुशिला मडैलाई पनि रिम पुग्नै लाग्दा भेट्यौं । हाम्रो दुई दिने रिम बसाइमा उहाँले नै हामीलाई यहाँको गाउँठाउँ डुल्न साथ दिनुहुन्छ ।
रिम सुन्दर छ । बारभरी हरियो गहुँ लहलह, तोरीका फूलले पहेलै फुलेका छन् । बोटभरी सुन्तला र मौसम । अघिल्तिर सेतै सैपाल र अपि हिमाल । अनि अग्ला अग्ला पहाड । 

गाउँको सुन्दरताले मोहनी लगाउँछ । गाउँ सुन्दर भएर के गर्नु, गाउँमा सुविधा केही छैन । बिजुली छैन । घाम पनि मज्जाले लाग्दैन । घाम नलाग्दा मोवाइलमा नेटवर्क पनि आउँदैन । रात परेपछि हुनेले सोलार बाल्छन् । त्यो पनि घाम लागे त बल्ने हो नत्र अँध्यारैमा रात कटाउनुपर्छ । 

हामी पनि गाउँको यही अँध्यारो र उज्यालोलाई अनुभव गर्दै गाउँकै एक स्थानीयको घरमा रात कटायौं ।

अर्को दिन बिहानै उठ्यौं । भैसीको दूधको चिया र उसिनेको आलु खायौं । र, रिमबाट पैदल हिँड्दै तीन घण्टा टाढाको गाउँ दहतिर लाग्यौं ।

सिल्लेगाडाबाट आउने जिप रिमसम्म मात्र पुग्छ । रिमबाट दह जान पैदल हिँड्नुको अर्को बिकल्प छैन । बाहिरबाट आएका मानिसहरु पनि हिँड्दै जानुपर्ने यो गाउँमा पुग्दैनन् ।

हिजो सिल्लेगाडामा चार्ज गरेको मोवाइलमा अफ भइसकेको छ । अन नै भए पनि फोनमा टावर त आउँदैन । तर पनि दह जाने बाटैमा पर्ने बण्डामा सुशीलाजीकै सहकर्मी डम्बरा जोशीको घरमा विशाल र मेरो मोवाइल चार्जमा छाड्यौं । 

अलिअलि चार्ज बाँकी भएको इन्द्रसराको फोनले घरी फोटो खिच्दै, घरी गीत गाउँदै त घरि हिँड्दा हिँड्दै नाच्दै हामी झण्डै तीनघण्टा हिँडेर दह पुग्यौं ।

पहाडको फेदमा झुप्प बस्ती । सबै घरको बनावट उस्तै, एकतले घर ढुङ्गाले छाएको । आँगनभरि गाईबस्तु । भित्र मानिस र बाहिर घर पालुवाको मिलिजुली बस्तीमा रात बिताउनु हाम्रा लागि नयाँ अनुभव भयो ।  

अग्लो पहाडको फेदीको यो बस्तीमा गाउँले बाहेक बाहिरका मानिस नै पुग्दैनन् । हामी जानुभन्दा अगाडि एक वर्ष पहिले सुशिला जी नै पहिलो पटक नयाँ मानिसका रुपमा गाउँमा पुग्नुभएको रहेछ । 
गाउँमा पहिलो पटक कोही केटी मानिसलाई देख्दा गाउँले छक्क परे । कोही त डराए पनि । 

‘बाहिरका मानिस यो गाउँसम्म आउने आँट गर्दैनन्, हिँड्दै आउनुपर्छ, पोहोर म आउँदा मलाई देखेर यहाँका मनिस छक्क परे,’ सुशिलाजी आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘यो गाउँमा आईपुग्ने गाउँ बाहिरको पहिलो नयाँ मानिस म नै हुँ ।’

स्थानीयहरु भन्छन्, ‘चुनावमा त एकपटक भोट माग्न मानिस आउँथे, पोहोर त चुनाव पनि थिएन, नयाँ मानिस आउँदा गाउँमा के भयो, के हुने हो भनेर निकै डरायौं ।’

पोहोर साल आएको नयाँ मानिससँग क्यामेरा बोकेर गएका हामीलाई देख्दा फेरि पनि उनीहरु छक्क परे । गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भए । तर पोहोर उनीहरुले देखेकै मानिस साथमा भएकाले हामीलाई सहज भयो । 
नयाँ मानिस मात्र होइन, यो गाउँमा पस्न घामले पनि अल्छी गर्छ । झुलुक्क लागेको केही समयपछि छिनमै डाँडो काटिहाल्छ । वर्षायाममा मोवाइलमा नेटवर्क आउँदैन । परदेशमा रहेका आफन्तसँग कुराकानी गर्न पनि तीन घण्टा हिँडेर पल्लो डाँडोमा पुग्नुपर्छ । 

‘भारत नगई घर चल्दैन, हिउँदमा त ठिकै हो, वर्षामा जब पानी पर्छ तब मोवाइलको कामै हुँदैन,’ शान्ति विष्ट भन्नुहुन्छ ‘त्यो डाँडोमा टावर छ हामी पनि त्यही डाँडोमा चढ्छौं फोन गर्न ।’

शान्तिका श्रीमान भारतमा छन् । दुई वर्ष भयो नेपाल फर्किएका छैनन् । कोरोना महामारी छ । श्रीमानलाई केही हुने पो हो कि भन्ने पीरले शान्तिलाई असाध्यै सताउँछ । 

भन्नुहुन्छ, ‘फोन गर्न पनि पाइँदैन, नेटवर्क कहिले आउला भनेर कुर्नपर्छ ।’ मनभरी परदेशीको सम्झना र कुशलमंगलको कामना गर्दै यो गाउँका महिलाले महिनौं बिताउनुपर्छ । 

फोरजीको यो जमानामा शहरमा बस्नेले कल्पनासमेत गर्न नसक्ने जीवन भोग्नु यहाँको दैनिकी हो । गाउँमा बिजुली छैन, पानीको सुविधा छैन । लोग्नेहरु कि त भारत छन् कि त नेपालकै विभिन्न ठाउँमा मजदुरी गर्छन् । 

गाउँका प्राय महिलाका काखमा दुईदेखि पाँच, छ जना बालबच्चा छन् । सोध्दा अधिकांश महिलाको उमेर २५ देखि २८ को हाराहारीमा छ । तर गाला र निधारमा बुढ्यौलीले चाउरिन र धर्सा पर्न थालिसकेका छन् । घर, खेतीपाती र बालबच्चको जिम्मेवारी उनीहरुकै काँधमा छ । 

रहर त उनीहरुको पनि रिममा आउनेजस्तै एउटा जीप गाउँमा आओस्, बालबच्चा बिरामी हुँदा दार्चुलाको गोकुलेश्वर पुग्न नपरोस्, स्वास्थ सेवा नपाएर सुत्केरी गाउँमै नमरुन, परदेशमा रहेका आफ्नासँग धित मरुन्जेल मन लागेका बेला बात मार्न पाइयोस् भन्ने छ । तर यथार्थ कति कठोर छ भने आफ्नो समस्या खोचलेकमा रहेको गाउँपालिका कार्यालयमा पुर्‍याउन पनि घण्टौं हिँड्नुपर्छ । त्यसैले, गाउँमा पुगेका हरेक मानिससँग उनीहरु केही न केही आश गर्छन् । ‘अब हाम्रो लागि केही हुन्छ त ?’ गाउँका एक पाका मानिसले सोधे । 

केही हुन्छ कसरी भनौं, हुँदैन पनि कसरी भनौं । मन अमिलो भयो । उनीहरुको यस्तै आशा र दुःखका कुरा सुनेर बिदा हुनु बाहेक हामीले गर्न सक्ने कुरा के पो छ र ! 

दहबाट फर्किएपछि बाटैमा पर्ने बण्डामा लक्ष्मी साउदलाई भेट्यौं । लक्ष्मी १७ वर्ष भारतमा काम गरेर फर्किएको एक वर्ष मात्र भयो । बिहे हुनासाथ श्रीमानको साथमा भारत गएकी लक्ष्मीले एउटा स्कुलमा काम गर्नुभयो । वर्षौंवर्ष परदेशमा त्यसैगरी बित्यो । 

गाउँ फर्किएपछि लक्ष्मीलाई विदेशभन्दा देश नै बेस लाग्न थालेको छ । ‘विदेशमा पैसा त थियो, हाम्रो लागि ठिकै पनि हो, तर बालबच्चाका लागि परदेश नहुने रहेछ’ लक्ष्मी भन्नुहुन्छ ‘अब त मरे पनि गाउँमै मर्ने हो ।’

लक्ष्मीको अनुभव सुन्दासुन्दै घामले डाँडो काट्यो । हामी हिजो बसेकै घरमा बास बस्न रिम फर्कियौं । जसोतसो यहाँको काम सकियो । अब हामीलाई बैतडीकै पुर्चौडी नगरपालिका जानु छ । त्यहाँ जान फेरि रिमबाट सिल्लेगाडा, सतबाँज, पाटन खोड्पे हुँदै जानुपर्छ । 

हामीलाई  रिमको विभिन्न ठाउँमा पुर्‍याउन सहयोग गर्ने सुशिलाजीलाई धन्यवाद दिंदै बिहान ८ बजे सिल्लेगाडा आउने लोकल जीप चढ्यौं । जीपमा साथी इन्द्रसरा र म अघिल्तिर बस्यौं । सिटको अगाडि ड्यासवोर्डमा बेहुलीले ओड्ने नयाँ घुम्टी छ । गेयरमा हरिया, राता र निला चुरा छन् ।

चुरा त अरु गाडीहरुमा नि देखेको हो । तर नयाँ घुम्टो चाहिँ किन राखेको होला ? खुल्दुली भयो । गुरुजीलाई सोधें – यो घुम्टी चाहिँ कसैले बिर्सिएको हो कि तपाईँले नै राख्नुभएको ?’

ठट्यौंली पारामा गुरुजीले भने – ‘मैले नै राखेको, गाडी चलाउँदा चलाउँदै मन पर्ने कोही भेटियो भने त बेहुली बनाइहाल्ने हो ।’

गुरुजी मज्जैले हाँस्दै थपे ‘हेर्नुस् त चुरा पनि छन्, अब सिन्दुर किन्न बाँकी छ ।’

बाटोभरी गुरुजीले यस्तै किस्सा सुनाए । शायद, त्यो अप्ठेरो बाटोमा डराइरहेको हाम्रो मन भुलाइदिने प्रयास गर्दैथिए उनी ।

जीपका गुरुले नै सिल्लेगाडामा मिठो खाना खाने ठाउँ देखाइदिए । त्यसपछि हामी खाना खाएर पुर्चौडीतिर लाग्यौं ।

नयाँ ठाउँ पुर्चौडी जान पाटनबाट चेतना बोहोरा अघि लाग्नु भयो । उहाँ साडा नामक संस्थाको डाटा अफिसर हुनुहुन्छ । 

खोड्पेबाट बझाङ जाने मुख्य सड्क हुँदै केहीअघि बढेपछि ढोल्यामोड आउँछ । यही ठाउँबाट छुटिन्छ पुर्चौडी जाने बाटो । नगरपालिका भए पनि यो ठाउँ जान सजिलो छैन । सडक साँघुरो छ र कच्ची पनि । कतिपय मोडमा अब त गाडीको चक्का सडकमा छैन कि झैं लाग्छ ।

घरीघरी गाडी कोल्टे पथ्र्यो । एउटा मात्र टायर बाटोमा गुडिरहेको छ कि झैं अनुभव भयो ।

तर तर्सेर हुनेवाला केही थिएन । चेतना भन्नुहुन्छ, – ‘यता यस्तै त हो ।’ 

ढोल्यामोडबाट पुर्चौडी पुग्दासम्म एउटा पनि सार्वजनिक गाडी भेटिएन । सामान बोकेका ठूलाठूला ट्रकहरु भने बाक्लै भेटिए । चेतनाको भनाई अनुसार, यहाँका बासिन्दालाई सामान बोक्ने ट्रकमा यात्रा गर्ने बानी परिसकेको छ । 

सुन्दर हाट

झण्डै तीनघण्टा कच्ची सडकको यात्रापछि पुगियो पुर्चौडी नगरपालिकाको हाट बजार । काठमाण्डौलाई झैं वरिपरि डाँडाले घेरेको बजार हो यो । बीचमा सानो उपत्यका । खेतको फाँट । पातलो बस्ती र बजार । छेवैमा बगिरहेको खोला  । ठाउँ त बाटोमा भोगेको दुःख र गरेको कल्पनाभन्दा सुन्दर लाग्यो । 

पुर्चौडीमा भने बिजुली छ । स्थानीय आफैंले बिजुली उत्पादन गरेका छन् । घाम डुबेपछि घरघरमा उज्यालो बत्ति बल्छ । बिहान ७ बजेपछि निभ्छ । तर, रात परेपछि मोवाइलबाट एकाएक नेटवर्क हराउँछ । हराएको लगभग १२ घण्टापछि बिहानी घामको झुल्काले नेटवर्क तानेर ल्याउँछ ।

मोवाइल टावरको बिजुली सोलार प्यानलबाट आउने भएकाले मोवाइलको नेटवर्क र घाम एकाकार भएका छन् भने जुन वा अँध्यारो मोवाइलका दुश्मन । बैतडीको सदरमुकामबाट पुर्चौडी बजार निकै टाढा छ । गाडीमा एक दिन लाग्छ । दूरीले टाढा भए पनि बजारमा हरेक चिज पाइन्छ । स्थानीयलाई लुगाफाटादेखि नुनतेल, मल किन्न बाहिर जान पर्दैन । हाट बजारमा किन्न पाइन्छ ।

नगरपालिकाको कार्यालय पनि यहीँ छ । नगरपालिकाको कार्यालय भएकाले पनि होला चहलपहल बाक्लो छ । तर त्यही बजारको शीरमा बस्ने रइकाल समुदायका महिला र बालिकाको दुःखले भने त्यही नजिकै रहेको नगरपालिकालाई गिज्याइरहेको हुन्छ । 

रइकल बस्ती बाक्लो छ । गाउँमा ससना केटाकेटी र महिला भेटिन्छन् । खुट्टामा चप्पल छैन । उनीहरुले ज्यानको लगाएको लुगा त मिलेको छैन नै, शीरमा कपाल पनि खजमज्ज छ । घर वरिपरि र आँगनमा भनभनी झिङ्गा भन्किरहेका छन् ।

कोरोना महामारी अघिसम्म रइकल समुदायका मानिस भारतमा मजदुरी गर्थे । साहुको घरमा भाँडा माझे पनि, भीरमा खर काटे पनि या भारी नै बोके पनि पेटभरी खान र एकसरो लगाउन पुग्ने रकम कमाउँथे । तर महामारीका कारण संसार ठप्प भएपछि जन्मिएको ठाउँ आए । गर्दागर्दैको काम गुमेपछि पाउनुसम्मको दुःख पाए । हिजोआज उनीहरु ससाना बालबच्चा पिठ्युँमा बोकेर गिट्टी कुट्छन् ।

खोलासम्म ट्रकले बोकेर ल्याएको सामान हाट बजारमा पुर्‍याउँछन् । दिनमा मुस्किलले ५० देखि ६० रुपैयाँ कमाउँछन् । त्यही पैसाले बेलुकाको छाकको जोहो गर्छन् । यो ठाउँका किशोरीहरु पनि स्कुलको सट्टा खोलातिरै गिटी कुट्न जान्छन् । अहिले उनीहरुलाई भविष्यको कुनै चिन्ता छैन, केवल एकमात्र समस्या भोकको चिन्ता छ ।

‘पारिपट्टी आएपछि ट्रकले हर्न बजाउँछ, हर्न सुनेपछि पाक्दै गरेको भात र हातमा लिएको गाँस पनि छाडेर हिँड्छौं हामी त’ गाउँकै सुनिता रइकाल भन्नुहुन्छ ‘खोलाबाट ५० किलोसम्मको बोरा बोकेर हामी बजारमा ल्याउँछौं ।’

उनीहरुको आवाज, इच्छा र चहाना त्यही खोलाको सुसाइमा बिलाउँछन् । नजिकै रहेको नगरपालिकाको कार्यालय र त्यही बाटो भएर हिँड्ने मेयर र उपमेयरका आँखा र कानसम्म उनीहरुको दुःख अझै पुगिसकेको छैन । हामी उनीहरुबाट बिदा भएर कुवाकोट हुँदै फर्कियौं । 

ठाउँ त कुवाकोट पनि सुन्दर छ । पश्चिमका अग्ला पहाडभन्दा विल्कुलै फरक । पहाड भए पनि हरियो । सिँचाईको सुविधा छ । बारीभरी गहुँ लहलह देखिन्छ । बैतडीको पुर्चौडीमा आज बस्ने बासको दिन गन्दा काठमाण्डौ छाडेको ११ दिन पूरा भएको छ । त्यसैले भोलिको तयारी कैलालीको धनगढीका लागि हुनेछ । 

११ दिनअघि सुदूरपश्चिमबारे मेरो दिमागमा दुईखाले चित्र थिए । पहिलो चित्र सुदूरपश्चिम एकदमै विकट छ, जहाँ दुःख बाहेक केही छैन । र, दोस्रो – सुदूरका मानिस रुखा र खस्रा छन् ।

११ दिन घुमेपछि सुदूरपश्चिमबारे मेरो दिमागले फेरि पनि दुइटै चित्र बनाएको छ । पहिलो चित्रमा छन् सुदूरपश्चिमका पहाड, फाँट, पाटन, बस्तीहरु जस्को सौन्दर्य कल्पनातीत छ । दोस्रो यहाँका मानिस, विशेष गरी महिलाहरुको निर्दोष मुस्कान र सपना जुन वर्षौं वर्षदेखि जात, धर्म, लिंग र अनेक संस्कार र संस्कृतिले थिचिएको र दबिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ११, २०७८

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • Bhupendra Acharya

    Feb. 5, 2021, 1:37 p.m.

    अत्यन्त मार्मिक तितो सत्य। जहाँ प्रकृतिले आफ्नो सुनदर तन छोडिदिएको छ तर सरकारका आँखा त्यहाँको जनजीवनमा पर्न सकेको छैन , परेको छ त केवल सत्ता शक्तिमा। जनजीवन उकास्नुको साटो धौधौ गरी जोडिएको जनजीवन तोड्नमा उद्दत देखिन्छन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया