नेपाली शेयर बजारमा मेरो पहिलो अनुभव

 माघ २८, २०७७ बुधबार १३:२९:४६ | रामप्रसाद ढुंगेल
unn.prixa.net

यूएई – पत्रकारिताको विद्यार्थी भए पनि आर्थिक समाचार अझ शेयर सम्बन्धी समाचारमा मेरो कहिल्यै रुचि भएन । पत्रपत्रिकाको अर्थ बिटमा प्रकाशित सामग्रीको केही शीर्षक बाहेक अन्यमा ध्यान  पनि गएन । कहिलेकाहीँ विदेशी मुद्राको विनिमय दर भने हेरिन्थ्यो । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्ने शेयर कारोबारमा कहिल्यै पनि गहिरिएर हेरिएन । बुझ्ने कोसिस पनि लामो समय गरिएन । 

विद्यालय र कलेजमा पनि यससम्बन्धी पढिएन र पढाइएन पनि । अध्ययनको क्षेत्र पनि परेन । हुन त विद्यालय र कलेजमा अर्थशास्त्र त पढिएकै थियो । तर,  शेयर सम्बन्धी कहिल्यै पनि पढाएको थाहा भएन । नेपालको शिक्षा क्षेत्र कतिसम्म गैर जिम्मेवार र अव्यवहारिक रहेछ भन्ने कुरा अहिले महसुस गरिरहेको छु ।

जीवनमा उपयोगी हुने खालका सीप र ज्ञानहरु विद्यालय र क्याम्पसहरुमा समाविष्ट भए कोही नेपालीहरुले बेरोजगार बन्नु पर्ने थिएन अथवा आर्थिक अभावमा जीवन चलाउन बाध्य हुनुपर्ने थिएन । कलेज स्तरमा अनिवार्य रूपमा सबै संकायमा शेयर सम्बन्धि आधारभूत मात्रै पाठ्यक्रम भएमा सबैलाई यससम्बन्धी सामान्य जानकारी मिल्ने थियो । 

मेरा अग्रजहरुले पनि शेयरबारे कहिल्यै पनि जानकारी दिएनन् । बिमा गर्न भने सुझाएका हुन् । बिमा गर्दा त सुझाउनेले नै मैले बिमा गरेको रकमबाट बर्सेनि निश्चित कमिसन पाउने भएकाले  मात्रै गरेका रहेछन् भन्ने कुरा मैले अलि ढिलो बुझेको थिएँ । 

प्रसङ्ग शेयर बजारको हो । आजभन्दा १५/२० वर्ष अगाडि नै शेयर भन्ने शब्द त सुनेको थिएँ । तर, शेयर बजारमा कसरी प्रवेश गर्ने भन्ने जानकारी थिएन । शेयरमा लगानी गरेर फाइदा कमाउनेको सफलताको कथा भन्दा शेयरमा लागेर धनसम्पत्ती सिध्याएर सडकमा आएका केही प्रतिनिधि वास्तविक कथाहरु सुनिन्थे वा सुनाइन्थे । यी कथाहरुले शेयर सम्बन्धी मेरो नजरमा नकारात्मक धारणाले डेरा जमाएको थियो । त्यसैले शेयर बजारमा कहिल्यै ध्यान गएन । यो निरश क्षेत्रझैं लाग्थ्यो । 

शेयरमा लगानी गर्नु भनेको आफ्नो पैसाको सदुपयोग गर्न नसकेर अरुको व्यापार बढाउन अरुलाई नै जोखिममा चलाउन दिनु हो भन्ने मेरो परम्परागत बुझाइ थियो । यो मेरो बुझाई पूर्ण रूपमा गलत पनि होइन तर पूर्ण रूपमा सत्य पनि होइन ।  

मैले चिनेका केही मित्रहरूले व्यक्तिगत ९प्राइभेट० कम्पनीमा शेयर लगानी गरेर मुनाफाको भागीदार भएका पनि छन् । केहीले सामुहिक लगानीमा पैसा डुबाएका पनि छन् । केही मित्रहरूले केही जलविद्युत् कम्पनीमा शेयर हालेका पनि छन् तर त्यो कम्पनीको वैधानिकताबारे र आर्थिक अवस्थाबारे अनभिज्ञ रहेको पनि पाएको छु ।

केही मित्रहरूले त आफूले कुन कम्पनीमा शेयर हालेको भनेर नाम समेत बिर्सिएर बसेका छन् । आफूले लगानी गरेको कम्पनीको टर्नओभर केकस्तो छ ? लेखापरीक्षण भएरनभएको कुनै जानकारी नहुनु पनि शेयरको लगानी जोखिममा पर्नु हो भन्ने मेरो बुझाइ छ । 

दुईचार जना मित्रहरू मिलेर आपसी सहमतीमा समान/असमान लगानी गरेका प्राइभेट कम्पनी खोल्नु ठूलो कुरा रहेछ । आफै लगानी गर्ने र आफै कर्म गर्ने   नीतिले खोलिएका धेरै कम्पनी फाइदामा छन् भने त्यो भन्दा धेरै घाटामा पनि छन् । आपसी विश्वास दरिलो भएका, पारदर्शी, इमानदार व्यवस्थापन, धैर्यता र मिहिनेतले चलेका कम्पनी निश्चित रूपमा कालान्तरमा मुनाफा वितरण गर्न सफल हुन्छन् । तर, दीर्घकालीन सोचको अभाव भएका, अपारदर्शी र चुहावट धेरै भएका सामुहिक शेयर हाली सञ्चालित प्राइभेट कम्पनी डुबेका पनि हामीले देखेका छौँ ।

नेपाली समाजमा देखिएका यस्तैयस्तै घटनाहरुले नेपाली शेयर बजारप्रति म जहिल्यै सशंकित नै रहेँ । मेरो जस्तो मानसिकताले अझैसम्म पनि धेरैलाई प्रभाव पारेको हुनुपर्छ । तर, आज मैले उठाउन खोजेको प्रसङ्ग भने प्राइभेट कम्पनीमा लगाइने शेयर भन्दा पनि पब्लिक कम्पनीमा लगाइने शेयरको हो । नेपाल सरकारको आधिकारिक निकाय नेपाल धितोपत्र बोर्डले नियमन गर्ने शेयर कारोबारको हो । यो जुनसुकै समयमा किन्न र बेच्न पनि सकिन्छ । 

यो तथ्य मैले निकै ढिलो बुझेकोमा म ग्लानी महसुस गर्छु ।  आजभन्दा १५/२० वर्षअगाडि मैले यो कुरा बुझेको भए मेरो आर्थिक अवस्था निकै माथि पुग्ने थियो । एउटा सानो उदाहरण पेस गर्न चाहन्छु । मेरा एक जना मित्र छन् (रविन खनाल) । स्नातक तह अध्ययन गर्ने सिलसिलामा काठमाण्डौमा २०५७ देखि करिब एक दशक हामी सम्पर्कमा थियौं । केही वर्ष एउटै कोठामै पनि बस्यौँ । 

उनले एक जना आफन्ती बहिनी जो एमबीएस अध्ययन गरिरहेकी थिइन्, उनको सुझावमा तत्कालीन ग्लोबल बैंकको ३० कित्ता आईपीओ भरेका रहेछन् । त्यो बेला ३ हजार रुपैयाँमा भरेको   आईपीओमा बोनस शेयर गरेर अहिले ३ सय कित्तासम्म पुगेको रहेछ । अहिले उक्त शेयरको बजार मुल्य करिब १ लाख २० हजार भएको रहेछ । मैले पनि बिमामा हालेको ८ हजार रुपैयाँ राम्रो कम्पनीमा शेयरमा  आईपीओ भरेको भए अहिलेसम्म  लाखौं रकम हुनेरहेछ । 

सेकेण्डरी मार्केटमा बुझेर लगानी गर्ने हो तर आईपीओमा खासै धेरै लगानी पनि गर्नु नपर्ने भएकाले र अहिले त विदेशबाट आफ्नै मोबाइलबाट आईपीओ भर्न सजिलो भएकोले यसप्रति धेरैको ध्यानाकर्षण भएको छ । 
मलाई शेयरतर्फ प्रारम्भिक ज्ञान दिने मित्रहरू प्रेम सेढाई, सन्तोष प्रसाईंलाई धेरैधेरै धन्यवाद । प्राविधिक रूपमा सहयोग गर्नुहुने प्रभु बैंक लिमिटेडका यूएई प्रतिनिधि कृष्ण पारस दुलाललाई पनि आभार प्रकट गर्न चाहन्छु । 

बजारको गहिरो अध्ययन गरेर नेपालको शेयर क्षेत्रमा लगानी गर्ने हो भने छोटो समयमा पैसा कमाउन सकिन्छ तर हचुवाको भरमा लगानी गर्दा जोखिम पनि उत्तिकै छ । निरन्तर फाइदामा गएका कम्पनीहरुको आईपीओ मात्रै भरिरहने हो भने अबको १५/२० वर्ष पछि पुँजी वृद्धि हुन्छ नै ।

वैदेशिक रोजगारीको क्रममा जुनसुकै देशमा रहे पनि मेरो शेयर एप मार्फत शेयरमा लगानी गर्न सकिने भएका कारण प्रवासी नेपालीहरुले यसबाट लाभ लिन सक्नेछन् । नेपालका क वर्गका बैंकमा खाता खोन्ने र सोही खातालाई डिम्याट खातामा परिणत गरी सीआरएन नम्बर, सम्बन्धित बैंकले इमेलमा उपलब्ध गराएको युजर नेम, पासवर्ड प्राप्त गरेपछि सहज तरिकाले आफ्नो मोबाइलबाटै शेयरमा लगानी गर्न सकिने भएका कारण प्रवासी नेपालीहरुले यो मौकालाई सदुपयोग गर्न म सुझाव दिन्छु । 

बैङ्किङ च्यानलबाट नेपालमा पैसा  पठाउने र आधिकारिक तरिकाले शेयरमा लगानी गर्नाले नेपाल सरकारको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने हुँदा यो कामलाई नेपाल सरकार, अर्थ मन्त्रालय वा रास्ट्रबैंकले पनि अग्रसरता लिएर काम गर्न म सुझाव दिन्छु । 

म यूएईमा रहेका कारण यहाँबाट शेयरसम्बन्धी खाता खोल्न सिद्धार्थ बैंकका यूएई प्रतिनिधि नवीन पौडेल लगायत अन्य बैंकका करिब २० भन्दा बढी नेपाली प्रतिनिधिलाई सम्पर्क गर्न सुझाव दिन्छु । अन्य बैंक प्रतिनिधिभन्दा नवीन पौडेलले शेयरसम्बन्धि जानकारीमुलक सूचनाहरु अलि महत्वका साथमा   सार्वजनिक गरिरहेको मैले महसुस गरेको छु ।

मैले चाहिँ प्रभु बैंकका कृष्ण पारस दुलालमार्फत शेयर कारोबार गर्न शुरु गरेको हु । आफ्नो बैंक खाता जुन बैंकमा छ, सोही बैंकको प्रतिनिधिमार्फत विदेशबाट शेयर भर्न सकिने भएका कारण भविष्यको दरिलो आम्दानी हुने क्षेत्रमा अहिलेदेखि नै लगानी गर्न सबै प्रवासी नेपालीहरुलाई आग्रह गर्दछु ।

देशलाई समृद्ध बनाउने र नेपालीहरुलाई सुखी बनाउने वर्तमान सरकारले आम जनताको आर्थिक स्तर उकास्न यस सम्बन्धी जनचेतनामुलक काम गर्न ढिलो भैसकेको मैले महसुस गरेको छु ।
 

अन्तिम अपडेट: बैशाख ३, २०७८

तपाईको प्रतिक्रिया