उत्तराखण्ड र नेपालको जोखिम उस्तै, हिम जोखिम घटाउने तयारी आवश्यक

 माघ २९, २०७७ बिहिबार ७:५०:३८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - आइतबार भारतको उत्तराखण्डमा हिमपहिरोपछि आएको बाढीले ठूलो जनधनको क्षति भयो । हिमालय क्षेत्रमा पर्ने उत्तराखण्डमा यस्ता घटनाहरु भइरहन्छन् । उत्तराखण्डको जस्तै भू-बनोट भएको नेपालमा पनि हिमताल विस्फोट तथा हिमपहिरोका कारण बाढी आएर नदी तटीय क्षेत्रमा क्षति गर्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का हिमताल विज्ञ सुदन विकास महर्जन भन्नुुहुन्छ ‘नेपाल र उत्तराखण्डलाई एउटै किसिमको हिमालय भनेर बुझ्नुपर्छ । एउटै किसिमको चट्टानहरुले बनेको पर्वतहरु रहेका छन् । उत्तराखण्डको जस्तै भू–बनोट रहेको छ । उत्तराखण्डमा पनि हिमताल र हिमनदी प्रशस्त छन् भने नेपालमा पनि उही किसिमका हिमनदी र हिमतालहरु रहेका छन् । त्यसैले उत्तराखण्डमा जस्तो घटना यहाँ पनि हुन सक्ने सम्भावना नकार्न सकिन्न ।’

नेपालमा क्षति पुर्याउन सक्ने नेपालसहित चीन र भारतमा रहेका हिमतालहरु बारेमा अध्ययन गरिएको एउटा पछिल्लो प्रतिवेदन गएको भदौमा सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीसँगको साझेदारीमा तयार पारेको प्रतिवेदनअनुसार नेपाल, तिब्बत र भारतमा ४७ वटा सम्भावित खतरनाक हिमताल भेटिएको छ । प्रतिवेदन तयारीको नेतृत्व गर्नुभएका हिमताल विज्ञ सुदन विकास महर्जन आजै अहिल्यै भन्ने हैन तर ती हिमताल जुनसुकै बेला विस्फोट भएर क्षति गर्न सक्छन् भन्ने कुरा देखिएको बताउनुहुन्छ । 

कोशी बेसिन बढी जोखिममा

सन् २०१५ देखि २०१८ सम्मका स्याटेलाइट तस्बिरहरूको विश्लेषण गरेर तयार गरेको प्रतिवेदन अनुसार कोशी, गण्डकी र कर्णाली बेसिनमा तीन हजार ६ सय २४ वटा हिमताल पाइएको छ । त्यसमध्ये दुई हजार ७० वटा नेपालमा एक हजार पाँच सय नौ वटा तिब्बत र ४५ वटा भारतमा छन् । एक हजार चार सय १० वटा हिमताल ०.०२ वर्ग किलोमिटर वा त्योभन्दा ठूला छन् जुन आकार हिमताल फुटेर आउने बाढीका लागि पर्याप्त आकार रहेको महर्जनले बताउनुभयो । 

अध्ययन गरिएका हिमतालमध्ये ४७ वटा हिमताल खतरापूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । खतरनाक मानिएका हिमतालमध्ये २५ वटा तिब्बतमा २१ वटा नेपालमा र एउटा भारतमा छ । नदी बेसिन (जलाधार) लाई हेर्दा सबैभन्दा बढी कोशी बेसिनमा ४२ वटा, गण्डकी बेसिनमा तीन वटा र कर्णाली बेसिनमा दुईवटा छन् । 

हिमतालहरुको प्राकृतिक बाँध, स्रोत हिमतालको गतिविधि तथा वरिपरिको अवस्था हेरेर अध्ययन प्रतिवेदन तयार पारेको महर्जन बताउनुहुन्छ । भू–उपग्रहको तस्बिरलाई अध्ययनको मुख्य आधार बनाइएकाले स्थलगत अध्ययनमा केही फरक अवस्था पाउने सम्भावना रहेकाले पनि ती तालहरु खतरापूर्ण रहेको उहाँको भनाइ छ ।

हिमतालहरु अत्यन्तै विकट क्षेत्रमा हुने भएकाले स्थलगत अध्ययन जोखिमपूर्ण र खर्चिलो हुन्छ । मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई अध्ययन नगरिएकाले ती अवस्थाको समेत अध्ययन गर्दा तालमा हुने खतराबारेमा थप कुरा थाहा पाउने महर्जन बताउनुहुन्छ । 

पहाड र नदी तटीय क्षेत्र बढी जोखिममा

हिमताल फुट्यो भने त्यसको पानीले बाढी ल्याउँछ । यसको असर सबैभन्दा बढी पहाडको नदी तटीय क्षेत्रमा हुने हिमताल विज्ञ महर्जन बताउनुहुन्छ । पहाडी क्षेत्रमा पानीको गति तीव्र हुन्छ र त्यसले वरपरको भू–भागलाई समेत बगाउँदै थप पहिरोहरु समेत चल्ने सम्भावना रहेकोले खतरा बढी हुने उहाँको भनाइ छ । समथर क्षेत्रमा पुग्दा जोखिम कम भए पनि ठूलो ताल फुटेमा त्यसको असर समुद्र छेउसम्म पुगेको उदाहरण छन् । 

नेपालमा पछिल्लो समय नदी तटीय क्षेत्रमा बसोबास बढ्दै गएको छ । नदी किनारबाट सडक बनाउने क्रमसँगै नदी किनारमा सहर नै बसाल्न थालिएको छ । यसले गर्दा जोखिम बढेको छ । यस्तै नेपालका जलविद्युत आयोजना पनि जोखिममा छन् । बनेका वा बन्दै गरेको धेरैजसो जलविद्युत आयोजना पहाडमा रहेका र जलविद्युत बनेका धेरैजसो नदीको सिरानमा हिमताल तथा हिमनदीहरु रहेका छन् । हिमताल विज्ञ महर्जनकाअनुसार हिमनदी पग्लने क्रम बढिरहेको र नयाँ तालहरू बन्ने क्रम पनि बढिरहेकाले फुट्ने जोखिमसँगै पहाडका नदी तटीय क्षेत्र उच्च जोखिममा छन् । 

जोखिम न्यूनीकरणका लागि के गर्ने ?

जलवायु परिवर्तनसँगै हिमालमा हिउँ पग्लिने क्रम बढेको, हिमनदी तथा हिमतालको आकार र सङ्ख्या बढेको कुरा अध्ययनहरुले देखाएको छ । पछिल्ला केही दशकमै हिमनदी तथा हिमतालको क्षेत्रफल बढ्नु जोखिमको घण्टी हो । तर त्यो जोखिम घटाउन हामी हिमालय क्षेत्रमै गएर काम गर्ने सम्भावना कम रहन्छ । 

हिमतालको पानी घटाउने, बाँध लगाउने जस्ता केही काम गर्न सकिने भए पनि त्यो निकै जोखिमपूर्ण र खर्चिलो हुन्छ । फेरि हिमपहिरो तथा हिमनदीमा बाढीको सम्भावनासँगै हिमतालमा हुने विस्फोटको सम्भावना रहिरहन्छ । 

हिम–जोखिमबाट बच्ने उपाय भनेको नदी तटीय क्षेत्रमा बस्ती विस्तार नगर्नु तथा जोखिम न्यूनीकरणका लागि निरन्तरको अनुगमन तथा पूर्व सूचना प्रणालीको प्रयोग आवश्यक हुन्छ । स्थानीय बासिन्दालाई सचेत बनाउने, दुर्घटना भइहालेमा चाँडो सन्देश पुर्याउने संयन्त्र तयार गर्ने जस्ता काम गर्नुपर्ने महर्जन बताउनुहुन्छ । 

सरकारको चासो कम 

नेपालमा यसअघि पनि हिमताल विस्फोट, हिमपहिरो तथा हिउँआँधीसम्बन्धी दुई दर्जनभन्दा बढी घटनामा ठूलो क्षति भइसकेको छ । अहिले पहाडका नदी किनारमा बसोबास तथा जलविद्युत आयोजना, सडक, पुललगायतका संरचना बनाउने क्रम बढेकाले दुर्घटना भएमा क्षतिको आकार बढ्न सक्छ । 

अध्ययनहरुले नेपालकै र नेपालमा क्षति पुर्याउने चीन र भारतका गरी दर्जनौँ हिमताल विस्फोटको खतरामा रहेको बताए पनि सरकारले भने यसप्रति खासै संवेदनशीलता नदेखाएको हिमालय क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको हिम तथा हिमनदी शाखाका प्रमुख सुवास तुलाधर जोखिमपूर्ण भनिएका हिमतालहरुमा अध्ययन तथा सूचना प्रणाली जडान र सचेतनाका काम भइरहेको बताउनुहुन्छ । तर विज्ञहरु सामान्य काम देखिए पनि जोखिमअनुसार काम नभएको बताउँछन् । 

नेपालको हिमाली क्षेत्रमा हिउँपहिरो, हिमताल विस्फोट, हिउँआँधी जस्ता विपद्का घटना भइरहेका छन् । यस्ता घटनाहरुले जनधनको क्षति भइरहेको छ । तर सम्भावित ठूलो क्षतिको आँकलन भएको पाइँदैन । जोखिम घटाउनका लागि प्रभावकारी काम त परै जाओस् सरकारले अध्ययन र सचेतनाका कामलाई पनि बेवास्ता गरेको छ ।

शिरमाथि जुनसुकै बेला विस्फोट हुन सक्ने बम जस्ता खतरनाक हिमताल रहेको नेपालमा हिमालय क्षेत्रमा हुने विपदबाट हुन सक्ने जनधनको क्षति रोक्न तत्काल काम गर्नु आवश्यक छ । हिमताल अहिल्यै फुट्ने हैन त जुनसुकै बेला फुट्न सक्ने भएकाले यो विपद्को सामना गर्न जुनसुकै बेला तयारीमा रहनुपर्छ । 

अन्तिम अपडेट: बैशाख २९, २०७८

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया