व्यङ्ग्य : ओली-प्रचण्डको टुटेको लभ र ठिटाठिटीका भ्यालेन्टाइन !

 फागुन १, २०७७ शनिबार ९:३५:५ | मिलन तिमिल्सिना
unn.prixa.net

फेसबुके, टिकटके र देखावटी माया गर्न खप्पिस ठिटाठिटी अहिले भ्यालेन्टाइन सप्ताह भन्दै बुरुकबुरुक गर्दैछन् । जोडी भएका र नभएकाहरु समेत हिजो यो डे, आज यो डे, भोलि त्यो डे भन्दै फुरफुर हुँदैछन् । 

कतिले गुलाबको हाँगा भाँचे । कतिले फूल निमोठेर सिध्याए । यहाँको फूलले नपुगेर भारतबाट समेत ल्याउनु परेको छ । सँगै गुलाबमा फूल हुन्छ कि काँडा भनेर बहस पनि भइरहेको छ । फूलको मात्र क्षणिक अनुभव भएकाले गुलाबमा काँडा नै छैन भन्छन् । फूल झरेर काँडैकाँडाको घोचाइ सहनेहरु गुलाबमा त फूल नै हुँदो रहेनछ भन्दैछन् । गुलाबमा फूलको आनन्द हुन्छ कि काँडाको पीडा भनेर प्रष्ट हुन ओली र प्रचण्डको एउटा फोटो नै काफी छ ।

फोटोमा ओली र प्रचण्डले गुलाबको रातो फूल साटासाट गरेका छन् । हात मिलाएर मख्ख परेका छन् । गुलाबको फूल साटेर रोज डे मनाएपछि उनीहरुबीच प्रपोज डे, प्रमिस डे, हग डे, किस डे सबैथोक भयो । फूलको बास्ना र यी जोडीको प्रेमिल चालले अरुलाई पनि आनन्दित बनायो । तर फूलको बास्ना र आकर्षण त एकछिनलाई न हो । फूल र बास्नामा मात्रै टिकेको माया भ्यालेन्टाइन सप्ताहमा बुरुकबुरुक गर्नेहरुले बाँधेको जोडीजस्तै कच्चा हुन्छ । त्यसैले ओली र प्रचण्डको जोडी फक्रन नपाउँदै टुट्यो । अहिले उनीहरु उतिबेला साटेको फूलमा काँडा मात्रै देख्छन् । काँडाले घोचेको मात्रै ठान्छन् । त्यतिबेला दुवैजना प्रेममा अन्धो थिए । काँडालाई पनि फूल ठाने । अहिले भुलबस फूललाई काँडा ठान्न बाध्य छन् ।

पहिले ओली र प्रचण्डजस्तै यतिबेला कुरकुरे बैंसका ठिटाठिटी मात्र होइन, बैंस सकिएका पाकाहरु पनि देखावटी लभमा रमाइरहेका छन् । मोबाइलमा मेसेज तथा फेसबुकमा फेस हेरेर र देखाएर लभ सप्ताह मनाउँदैछन् । रोज डेदेखि किस डेसम्मै बुरुकबुरुक गर्दैछन् । कसैकसैले साँच्चै मनाए, धेरैले चाहिँ फेसबुकमा लेखेर र अरुले लेखेको हेरेरै चित्त बुझाउँदैछन् ।

फेसबुक र मोबाइल छ्यासछ्यास्ती भएपछि लभ पनि खहरे खोलाजस्तै केही दिनको खैलाबैलामै सीमित भएको छ । फेसबुक र मोबाइल नहुँदा पहिलेको लभ खहरे खोला जस्तो होइन, शान्त समुद्रजस्तो हुन्थ्यो । त्योबेला फेसबुकमा लेखेर र मोबाइलमा भनेर होइन, आफैं लभ पर्थ्यो । जुन टिकाउ र भरपर्दो हुन्थ्यो । 

पहिले गाउँमा मेलापात, जात्रामात्रा, गोठालो जाँदा लभ पर्थ्यो। छिमेकका सँगसँगै गोठालो जाँदा कहिले यसको बाख्रा हराउँथ्यो, कहिले उसको गाई हराउँथ्यो । हराएका गाईबाख्रा खोज्न हारगुहार गर्नुपर्दथ्यो । 

तल्लो घरकी च्यान्टी वनमा घाँस काट्न जाँदा रुख चढ्न सक्दिन थिई । माथ्लाघरे प्याण्टेले घाँस झारिदिन्थ्यो । घाँसदाउरा, गाईगोठालो र वनपाखा जाँदाजाँदै प्याण्टे र च्याण्टीको माया पिरिम झाँगिन्थ्यो ।

स्कुलमा राम र सीता एउटै कक्षामा पढ्थे । रामलाई सीता मन पर्ने, सीता वास्ता नगर्ने । एकदिन परीक्षामा लेख्दालेख्दै सीताको डटपेनमा मसी सकियो । रामले मौकामा काम लाग्छ भनेर अर्को डटपेन पनि बोकिरहन्थ्यो । सँगै परीक्षा दिइरहेकी सीताको डटपेनको मसी सकिएपछि उसले हत्तपत्त आफ्नो डटपेन दियो । त्यो दिनको जाँच सकिँदा सीतालाई  राम मन पर्न थाल्यो । दुवैको लभ पर्यो ।

लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्यो । दुवैले दुवैलाई मन पराउनुपर्यो । तर दुवैलाई दुवैले मन पराउने दोहोरोभन्दा एकोहोरो लभ धेरै हुन्छ । आफूलाई उ मन परेको हुन्छ । तर उसले बाल होइन । उसलाई पट्याउन, उनलाई फकाउन मरिहत्ते गरेर लाग्यो । कहिले बाटोमा कुरेर बस्यो । कहिले पँधेरामा सँगै गयो । कहिले किताब माग्यो, कहिले नोट माग्यो । कहिले कलम दियो, कहिले कलम माग्यो । कहिले खाजा दियो, तै पनि बाल दिने होइन । तर कसरी कसरी कोहीसँग लभ चाहिँ परिहाल्छ ।

लभ पर्दैन भन्दा पनि कहिलेकाहीँ लभ पर्छ । कहिले चाहिँ लभ परोस् भनेर अनेक जुक्ति लगायो, तै पनि पर्दैन ।

अहिले त ठिटाठिटी मोबाइलमै लभ गर्छन् । मोबाइलबाट फोन र एसएमएस गर्छन् । कसैले त अनुहार नै नदेखी एसएमएस र फोन गरेर लभ गर्छन् । मोबाइलबाट गफ गर्दासम्म निकै राम्रो । उजस्तो सन्सारमा अरु कोही छैन जस्तो लाग्ने । जब भेट्न गयो, त्यसपछि छाँगाबाट खसेजस्तो । के सोचेँ मैले, के भयो अहिले भन्ने गीत जस्तो ! के सोचेथें पहिले, के देखियो अहिले ! देख्दै नदेखि मोबाइल लभ गरेपछि परिँदैन त फन्दामा !

पहिले पहिलेको लभ पो लभ ! मान्छे प्रत्यक्ष देखेपछि मन पर्न थाल्थ्यो । अनि फ्याट्टै कुरा गर्न नसक्दा लभ लेटर लेखिन्थ्यो । चिल्लो कागजको पानामा फूलबुट्टा भरेर, साहित्य सृजना गरेर तौली तौली अक्षर कोर्दै लभ लेटर लेख्नु र पठाउनुको मज्जा बेग्लै हुन्थ्यो ।

पहिले आई लभ यू माइ डिएर, आकाशको तारा झारिदिन्छु, आकाश र धरती जोडिदिन्छु भनेर कति भाँती पुर्याएर लम्बेतान लेख्थे । अहिले त आई एल यू । मिस यू । डार्लिङ भनेर छोटोछोटो लेख्छन् । केटीहरुका लुगा छोटिएझैँ लभ गर्ने वाक्य र शब्द छोटिँदै गएका छन् ।

लभलेटर पाउनेलाई पनि उत्तिकै मज्जा ! आहा क्या सुन्दर अक्षर ! क्या मीठो भाषा र शैली ! यस्तो अक्षर लेख्ने हात कस्तो होला ? यस्तो भाषा र शैली लेख्ने भावना कस्तो होला ? अन्त कतै नगई त्यही अक्षर हेरिरहुँ, पढिरहुँ जस्तो । सिरानमुनी, कुन्तुरमुनी, खाटमुनी लुकाइलुकाइ बेलाबेला पल्टाएर हेरिरहुँ जस्तो लाग्ने लभलेटर । १० वर्ष, २० वर्ष, ४० वर्षअघिसम्ममा लभलेटर सुरक्षित गरेर राखेका हुन्छन् बुढाबुढीले समेत । त्यति धेरै महत्वको छ लभलेटर!

यति धेरै महत्व बोक्ने लभलेटरलाई मोबाइलले खाइदियो । हिजोआज लभलेटर लेख्ने चलन नै हरायो । मोबाइलमा दुई अक्षरको हाइ, तीन शब्दको आइ लभ यू र सेम टु यु, बाबा, माया भन्ने बाहेक लेख्ने काम कता पुग्यो कता । मोबाइलबाट फेद न टुप्पोको संवाद भन्दा लभलेटरमा भाँती पुर्याइ पुर्याइ लेखिने अक्षर, शब्द र सायरी नै लोभलाग्दा हुन्थे ।

वर्षौं वर्षसम्म मान्छेले जतन गरेर राख्थे । अर्कैसँग विवाह भएर छोराछोरी भइसक्दा पनि लभलेटर पठाउने अर्कैको सम्झनामा घरीघरी हेरेर टोलाउँथे । 

तर मोबाइल र फेसबुक आएपछि लभलेटर हरायो । लभलेटर लेख्ने जाँगर हरायो । मायाका घतलाग्दा र खँदिला शब्द हराए । केटीहरुका लुगा छोटिएझैँ माया पिरेमका दर्शाउने वाक्य र शब्द छोटिए ।

मोबाइल र फेसबुकको चलन बढ्दा लभलेटरको अस्तित्व घट्यो । मान्छेको जाँगर घट्यो । शब्द र अक्षर घट्यो । लभको स्वाद घट्यो । पहिले मान्छे चिनजान र देखादेख भएपछि लभलेटर बन्थ्यो । अहिले त मान्छे नै चिनजान नहुँदै र नदेख्दै मोबाइलमा लभ पर्छ । अपुरो लभ, उतिखेरै भत्किन्छ । जसरी गुलाबको फूल साट्ने ओली र प्रचण्डको माया भत्कियो !

अन्तिम अपडेट: चैत १४, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया