भारतमा हराएका आफन्त खोज्दिने कोही छैन

 फागुन ५, २०७७ बुधबार १५:१२:४० | सन्जिता देवकोटा
unn.prixa.net

बैतडी – कोरोना माहामारी सुरु भएपछि संसारलाई पिराेल्यो । संसारका विभिन्न कुनामा पुगेका परदेशीहरू वर्षौँपछि आफ्नो देश, घर परिवार खोज्दै आए । परदेशीहरू यसरी घर फर्कन थालेपछि माहामारीको डरैडरमा पनि बैतडीको डिलासैनी सिमारकी सरस्वती पालको मनमा आशाको मुना पलायो ।

‘यो कोरोना माहामारीले १० वर्षदेखि भारतमा हराएका मेरा श्रीमानलाई पनि घर ल्याउँछ कि ?’ सरस्वतीले मनमनै आशाको घर बनाउनुभयो । 

उहाँको मनको घरमा छोरी र गाउँले ले पनि इँटा थपे । कतिले सुनाए – भारतमा हराएकाहरू बझाङको बाटो भएर आउँदैछन् रे । कतिले भने बैतडीकै कति जना दार्चुलाको क्वरेण्टीनमा छन् रे । 

यस्ता खबर सुन्दा सरस्वतीको मुटुको धड्कन झन् बढ्यो । वर्षौँदेखि भारतमा हराएका अरूका आफन्त आउँदा आफ्ना पनि टुप्लुक्क आँगनमा आइपुग्छन् कि ! सरस्वतीका आँखा बाटोतिरै तन्किरहे । 

गाउँका धेरैजना आए । तर उहाँका श्रीमान् न बझाङको बाटो हुँदै आए, न त दार्चुलाको बाटो हुँदै । कुर्दाकुर्दै आँखा थाके । तर कतैबाट पनि आएनन् । 

‘कति आस मानी बसेका थियौं कतैबाट पनि आएनन्,’ यसोभन्दा सरस्वतीका गला अवरुद्ध हुन्छन् । 

आफ्नो कुनै सामान हराउँदा त कति दिनसम्म त्यसकै झल्को हुन्छ । भएभरका उपाय लगाएर खोजी गरिन्छ । झन् सँगै जिउने सँगै मर्ने कसम खाएका जीवनसाथी नै हराउँदा जीवन कस्तो हुन्छ ?’ सरस्वती भन्नुहुन्छ, ‘सास भएको लाश जस्तै हुन्छ ।’

खाडी, मलेसिया लगायतका देशमा गएर सम्पर्क विहीन हुनेको त खोजी गर्ने निकाय छन् । खोज्न पनि सहज छ । तर कमाउन भारत गएका श्रीमान् खोज्न सरस्वती कहाँ जानु ? न सरकारले खोज्दिन्छ, न प्रहरीले न त कुनै निकायले । सरस्वतीजस्ता कयौँ परदेशीका परिवारले रुँदै दैवको भरमा सिङ्गो जीवन बिताउनुपर्छ ।

ठ्याक्कै १० वर्ष भयो सरस्वतीका श्रीमान् कमाउन भारत हिँडेको । त्यसभन्दा अघि मलेसिया पनि गएका थिए । तीन वर्ष बसे मलेसियामा । कमाएर ल्याएनन् । रित्तो हात फर्किए । 

जहाज चढेर गएको देशमा पनि कमाइ नभएपछि सरस्वतीका श्रीमान् राेशन पाल भारत रोजगारीका लागि हिँडे । गाउँबाट भारत हिँड्दा साथमा अर्का साथी पनि थिए । भारतको बैङ्लोरमा रोजगारीका लागि जाने योजना घरमा सुनाएका थिए ।

‘बैङ्लोर जान साथी र उहाँसँगै रेल चढेका थिएँ रे, तर डिब्बा चाहिँ फरक रहेछ, साथी बैङ्लोर पुगे तर मेरा श्रीमान् रेलबाट कहाँ उत्रिए थाहा नै भएन,’ सँगै गएका साथीले सुनाएको कुरा सम्झँदै सरस्वती भन्नुहुन्छ, ‘बैङ्लोर हिँडेको मानिस कहाँ गए, कहाँ पुगे केही थाहा छैन, उहाँको लुगा र झोला साथीसँगै बैङ्लोर पुग्यो तर उहाँ कहाँ छुट्नुभयो ।’

श्रीमान् बैङ्लोर पुगेनन् भन्ने खबर पनि सरस्वतीको कानमा निकैपछि मात्र पर्‍याे । बैङ्लोर नै नपुगे पनि भारतको कुनै ठाउँमा काम गर्दै होलान् भन्ने लाग्यो सरस्वतीलाई ।

१० वर्ष बितिसक्यो । न श्रीमान् फर्किएर आए न त कुनै खबर नै आयो । 

कमाउन गएका श्रीमान् नै हराएपछि सरस्वतीको जीवन कल्पनै नगरेको परिस्थितिबाट गुज्रियो ।

कहिले कसैको घरमा दिनभरी काम गरेर आफूसहित बालबच्चाको पेट भर्नुभयो त कयाैँ दिन भोक भोकै निदाउन पर्‍यो सरस्वतीले । 

६ जना छोराछोरी । न हातमा कुनै इलम न त कुनै आम्दानीको बाटो । सरस्वतीलाई बालबच्चाको भोको पेट भर्नै धौंधौं पथ्र्यों । नगरी पनि त सुखै छैन । 

‘भारी बोकेँ, मेलापात गरेँ, गाईँभैसी पालेँ,’ सरस्वती भन्नुहुन्छ, ‘सबै स्कुल जाने उमेरका थिए के गर्नु कलम कापी किनिदिने पैसा पनि थिएन, मेलैजस्तो त शत्रुले पनि भोग्न नपरोस् ।

कहिले कसैको घरमा दिनभरी काम गरेर आफूसहित बालबच्चाको पेट भर्नुभयो त कयाैँ दिन भोक भोकै निदाउन पर्‍यो सरस्वतीले । 

एउटालाई लुगा किनिदिए अर्कोको फाट्थ्यो । एक जनाको पौरखले ६ जना बालबच्चाको शरीर ढाक्न र पेट पाल्न सरस्वतीलाई हजार दुःख काट्न पर्‍यो । 

बिस्तारै बालबच्चा बढ्दै गए । बढेका छोरीहरू पनि मेलापात गर्न थाले । आफ्नो लुगाफाटो र कापी कलम किन्ने खर्च आफैंले पुर्‍याउन थाले । त्यसपछि भने सरस्वतीलाई घर चलाउन केही सहज हुन थाल्यो । 

काँधमा घर व्यवहारकाे जिम्मेवारी, मनमा हराएको श्रीमानको चिन्ता । सरस्वतीलाई थाप्लोमा बोकेको भारीकोभन्दा श्रीमानको पीरले मन गह्रौं हुन्छ ।

पढाउन नसकेपछि दुई छोरीको बालविवाह गरिदिनुभयो । एक छोरीले नेपाली सेनामा जागिर खाइन् । 

त्यसपछि भने उहाँको काँधको बोझ केही हलुङ्गो हुँदै गयो । तर मनको पिर वर्षसँगै बढ्दै गयो । 

‘कहाँ गए होलान्, के भयो होला, आउलान् कि, मेरो यो जुनी कुरेरै बित्ने हो कि झैँ लाग्छ,’ सरस्वती मलिन स्वरमा भन्नुहुन्छ, ‘धामीले १० वर्षमा तिम्रो श्रीमान् आउँछन् भनेका थिए, खै यो वर्ष नि आएनन् भने त आस पनि कसरी गर्नु ?’

बेलाबेलामा सपनामा पनि देख्नुहुन्छ सरस्वती । सपनामा पनि दुःखी देखिन्छन् । कहिले खान पाइँन भन्छन् त कहिले मैला लुगामा काँप्दै हिँड्छन् ।

सपना देखेको दिन उज्यालो हुनासाथ धामीकोमा पुग्नुहुन्छ सरस्वती । सपनामा देखेको कुरा बेलिबिस्तार लगाउनुहुन्छ । धामीले आफ्नो अनुसार उहाँले देखेको सपनाको व्याख्या गर्छन् । 

‘मेरो त कपाल फुल्यो, गाला चाउरिए, उनी पनि त फेरिए होलान्, त्यो पुरानो फोटोले उनलाई कसरी चिन्नु,’ सरस्वती निराश हुँदै भन्नुहुन्छ ।

‘तिम्रो मानिस जिउँदो छ, १० वर्षमा घर फर्किएर आउँछन् भन्छन्, जिउँदो भए त एकदिन आउलान् नि भन्ने आसमा बाँचेको छु म पनि,’ सरस्वती भन्नुहुन्छ ।

कतिले जिल्ला प्रशासन कार्यालयमा श्रीमानको फोटोसहित खोजिदिन आग्रह गर्दै निवेदन दिन भने । कतिले प्रहरीमा जाऊ पनि भने । तर कसैले पनि उजुरी लिन मान्दैनन् । सरस्वतीसँग भारत गएको हो भन्ने बाहेक कुनै पनि जानकारी छैन । फोटो पनि आजभन्दा १२, १५ वर्षअघिको छ । राख्दा राख्दा रङ उड्न थालेको छ । 

‘मेरो त कपाल फुल्यो, गाला चाउरिए, उनी पनि त फेरिए होलान्, त्यो पुरानो फोटोले उनलाई कसरी चिन्नु,’ सरस्वती निराश हुँदै भन्नुहुन्छ ।

कहाँ छन् भन्ने ठेगाना मात्र पाए पनि घरबार बेचेरै भए पनि आफैं लिन जान्थेँ भन्ने लाग्छ सरस्वतीलाई । छोराछोरी ठूला भए । एक छोरा र दुई छोरीको पढाइमा जागिरे छोरीले नै भरथेग गर्छिन् । 

फोन नम्बर पाउन पाए पनि फकाएर घर आउने बनाउँथे भन्नुहुन्छ सरस्वती ।

‘तिमीले दुःख गर्न पर्दैन, घर आउ बसीबसी पाल्छु भन्ने थिएँ, छोराछोरी ठूला भए, पहिलेजस्तो दुःख छैन भनेर सुनाउने थिएँ, के गर्नु मरे बाँचेको खबर छैन, कसलाई भनूँ यस्ता कुरा,’ सरस्वती श्रीमानको यादले सताएका बेला मनको बह गीत बनाएर गाउनुहुन्छ । गीतमार्फत नै आफ्ना कुरा आफैंसित भन्नुहुन्छ ।

बिहे गरेर गएका दुई छोरीले पनि आमालाई सुखैले पाल्छु भनेर भरोसा दिएका छन् सरस्वतीलाई । एक छोरीले कमाएर घर व्यवहार चलाएकी छन् । अहिले त खान लाउन केहीको दुःख छैन । बस उनै हराएका श्रीमानको याद र पर्खाई छ सरस्वतीलाई ।

भन्नुहुन्छ, ‘खोजिदिने कोही छैनन्, म बुढीले ठूलो सहर भारतमा कहाँ खोजौँ ?’

 साथ दिन्छु भनेर कसम खाने नै हराए

बैतडीकै दोगडाकेदार गाउँपालिकाको रिम डरमकी शान्ति साउदका श्रीमान् पनि भारतमा हराएको चार वर्ष भयो । शान्ति १२ वर्षकी हुँदासम्म दुवै आँखा राम्रोसँग देख्नुहुन्थ्यो । गाउँको विद्यालयमा कक्षा सातसम्म पढ्नुभयो । एकदिन कक्षामा बसिरहेकै बेला बेस्सरी टाउको दुख्यो । आँखा तिरमिराए । के भयो भनेर आँखा मिच्न खोज्दा हेरिरहेको किताब धमिलो देखियो ।

त्यसपछि आँखाको उज्यालो हराउँदै गयो र अँध्यारो देखिने क्रम बढ्दै गयो । फेरि उहाँले कहिले यो सुन्दर संसार देख्न पाउनुभएन । हराएको दृष्टिमा अभ्यस्त भएको १२ वर्षपछि शान्तिको जीवनमा एउटा नयाँ मोड आयो । आजभन्दा सात वर्षअघि शान्तिको हात थाम्छु भनेर पुगे दोगडाकेदारकै भीम साउद । बिहेको कुरा चल्यो, बिहे भयो र शान्तिका पाइला बेहुलीका रूपमा भीम साउदका घरमा भित्रिए । 

आँखा नदेख्ने छोरी बिहे गरी पठाउँदा छोरीको जीवनमा दुःख थपिने भन्दै शान्तिका बाले बिहेको कुरा अस्वीकार गर्दा भीमले भनेका थिए, ‘तमरी चेलीलाई ब्या गरी, दुःख नाइदिन्याहू भणी देवता माण्णोमा झाइ कबुल गर्‍यो’ अर्थात् तपाईँको छोरीलाई बिहे गरेर दुःख दिने छैन भन्दै देवताको मन्दिरमा गएर कबुल गरेका थिए भीमले ।

भारतमा रोजगारी गरेर फर्किएकाहरू प्रत्येक मानिससँग आफ्नो श्रीमानको बारेमा सोध्नुहुन्छ शान्ति । तर कसैले पनि देखेको र भेटेको कुरा गर्दैनन् । 

देवताको मन्दिरमा गएर वाचा गरेपछि शान्तिका आमाबुवाले २०७२ सालको फागुनमा शान्तिको बिहे भीमसँग गराइदिए । एक वर्षसम्म त शान्तिको जीवन खुसी खुसी बित्यो । छोरी जन्मिइन । त्यसपछि श्रीमान् कमाउन भन्दै भारत लागे । कमाउन भन्दै घरबाट विदा भएको पनि चार वर्ष भइसक्यो । छोरी पाँच वर्षकी लागिसकिन । तर आजका दिनसम्म खबरसमेत आएको छैन । 

भारतमा रोजगारी गरेर फर्किएकाहरू प्रत्येक मानिससँग आफ्नो श्रीमानको बारेमा सोध्नुहुन्छ शान्ति । तर कसैले पनि देखेको र भेटेको कुरा गर्दैनन् । 

‘म आँखा देख्दिनँ, मेरो लागि घर आँगन त बिरानो छ, कहाँ गएर खोजौँ,’ शान्ति भन्नुहुन्छ, ‘सय वर्ष लागि सक्नुभयो ससुरा, सासुको पनि अवस्था नाजुक छ, हाम्रो लागि आशा भरोसा उहाँ नै हुन् ।’

भारतमा हराएका परदेशी खोजिदिने कोही छैन

शान्ति र सरस्वतीको जस्तै कतिका श्रीमान् भारतमा हराएका छन् । तर खोजी गरिदिने निकाय नहुँदा दैवको आस र भरोसामा उनीहरूको जीवन बित्छ । श्रीमान् कमाउन भनेर भारत गए । न घर फर्केर आए, न कुनै खबर पठाए । उनीहरूलाई श्रीमान् भारत गएको भन्ने बाहेक केही थाहा हुँदैन । भारत जाने नेपालीको पनि खाडी र मलेसिया जानेको जस्तै सरकारसँग विवरण हुन्थ्यो । भारतको कुन ठाउँमा कुन कम्पनीमा काममा गएको भन्ने जानकारी हुन्थ्यो । 

सरकारी निकायबाट पनि अहिलेसम्म भारतमा हराएका व्यक्तिको खोजीमा पहल भएको छैन ।

मेरा मानिस हराए भनेर दूतावास वा परराष्ट्र मन्त्रालयमा परिवारले निवेदन दिन पाउँथे । तर खुल्ला सिमाना भएको छिमेकी देश भारतमा को के प्रयोजनका लागि गए, कति आए भनेर कसले तथ्याङ्क राख्ने । कमाएर राम्रै गरी फर्किए त ठिकै हो ।

तर भारतमा रोजगारीकै क्रममा भइपरी आएमा के होला ? शान्ति र सरस्वतीका जस्तै कमाउन गएकाहरू परिवारको सम्पर्कमा नरहेमा के गर्ने ? अन्य देशमा गएका परदेशीलाई जस्तै भारतमा हराएका परदेशीको पनि परिवारले निवेदन दिएमा खोजी गर्ने बताउनुहुन्छ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल । 

‘भारतमा हराएका श्रमिकको खोजी भारतमा रहेको नेपाली दूतावासको समन्वयमा हुन्छ, परराष्ट्रमा वा कन्सुलर सेवा विभागमा परिवारले आफूसँग भएको प्रमाणहरूको साथमा निवेदन दिनुपर्छ,’  प्रवक्ता लम्सालले भन्नुभयो । काठमाण्डौमै आउन अप्ठेरो भएमा जिल्ला प्रशासन कार्यालय या पालिकाको समेत सहयोग लिन सकिने उहाँको भनाइ छ ।

तर खाडी र मलेसियामा आफन्त हराएका परिवारले जस्तो भारतमा आफन्त हराएका परिवारले खोजीका लागि निवेदन दिने गरेका छैनन् । कतिलाई कहाँ निवेदन दिने भन्ने थाहा छैन । सरकारी निकायबाट पनि अहिलेसम्म भारतमा हराएका व्यक्तिको खोजीमा पहल भएको छैन । रेमिट्यान्स पठाएर देशकाे आधा अर्थतन्त्र धान्ने आफ्ना नागरिक हराउँदा राज्यले खोज्न पर्दैन र  ?

अन्तिम अपडेट: बैशाख ६, २०७८

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया