दैनिक हुने खर्चको हिसाब राख्ने हो भने पनि बचत बढ्दो रहेछ

 फागुन ११, २०७७ मंगलबार १४:७:५१

सरितादेवी ठाकुर/सिराहा नगरपालिका । 

श्रीमान् परदेश लागेपछि घरैमा बसेर दिन कटाउने मजस्ता कयौँ हुनुहुन्छ होला । तर आज म भन्छु तपाईँहरू अब आफ्नो ठाउँबाट उठ्नुहोस् । 

आज म पनि धेरै वर्षपछि आफ्नो र परिवारको भविष्यका लागि केही गर्नुपर्छ भनेर लागि परेको छु । तपाईँहरू पनि लाग्नुहोस् । 

म अहिले ४० वर्षको भएँ ।  मेरा २ छोरा छन् । १५ वर्ष भयो मेरो श्रीमानले साउदीमा काम गर्न थालेको पनि । विदेशमा कमाइ राम्रो नै छ । उता श्रीमानले कमाइ गर्ने भएपछि यता मैले किन काम गर्नुप¥यो र जस्तो लाग्थ्यो । सामान्य खेतीपाती गर्थेँ । मेरो घर साउदीको कमाइले चलिरहेको थियो । 

तर जब वित्तीय साक्षरता कक्षामा बस्न पाएँ तब मेरो सोच बिचार र दैनिकी नै फेरियो । नेपाल सरकार र स्विस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा स्थानीय सेवा प्रदायक संस्था मुक्ति नेपालद्वारा सञ्चालित मेरो गाउँमा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको छ । 

गएको मंसिरदेखि हो हाम्रो गाउँमा यो कक्षा सञ्चालन हुन थालेको । यो कक्षा सञ्चालनका लागि सुरुमा एउटा भेला भएको थियो । त्यो भेलामा म पनि सहभागी भएको थिएँ । त्यहाँ विदेशमा श्रीमान् हुनेका लागि यो कक्षा किन आवश्यक छ भनेर भनिएको थियो । मलाई पनि त्यहाँ भनिएका कुराहरू राम्रो लाग्यो । 

मेरा पनि त श्रीमान् त्यत्तिका वर्षदेखि परदेशमै हुनुहुन्छ । यो कक्षामा बस्न पाए त केही हुन्थ्यो कि जस्तो लाग्यो । त्यसैले म पनि कक्षामा सहभागी हुन थालेँ । 

यो कक्षामा बस्न थालेपछि मलाई हरेक कुरा राम्रो लाग्न थाल्यो । कक्षामा छलफल गरिने कुरा हाम्रो दैनिक जीवनमा मिल्ने रहेछ । त्यसैले मैले कक्षामा सिकेको कुरा घरमा पनि छलफल गर्न थालेँ । हरहिसाबको कुरादेखि घर चलाउन यसो गर्नु पर्ने रहेछ भनेर मैले त्यहाँ सिकेको कुरा भन्दा मेरो श्रीमान् पनि खुसी हुनुभयो । छोराहरूसँग पनि आफूले सिकेको कुरा छलफल गर्न थालेँ । सबैसँग यसरी छलफल गर्ने गर्दा परिवारमा छुट्टै हुँदो रहेछ । शङ्काहरू कम भएर जाने रहेछ ।

यो कक्षामा बस्न थालेपछि मैले हरहिसाब राख्ने कुरा सिकेँ । दैनिक हिसाब राख्न पनि थालेको छु । 

दिनहुँ हुने खर्चको हिसाब राख्दा घरमा धेरै खर्च हुने रहेछ भन्ने महसुस भयो । हामीले आम्दानीभन्दा धेरै त खर्च नै पो गर्दो रहेछौँ । यो कुरा सायद कक्षामा नबसेको भए मलाई कहिले पनि महसुस हुने थिएन । खर्च गर्दै जान्थेँ । मेरो श्रीमान् फर्केर आउँदा सायद हामी पहेलेजस्तै रित्तो हुने थियौँ कि ।

त्यसपछि मैले खर्च कम गर्ने उपायहरू सोच्न थाले । आम्दानी कसरी बढाउने भनेर सोच्न थालेको थालेँ । आफ्नो लक्ष्य भेट्टाउनका लागि मेरो घरमा भइरहेको आम्दानी कम रहेछ भन्ने लाग्यो । साँझ श्रीमानसँग फोनमा कुराकानी हुँदा मेरो मनमा लागेका कुरा सुनाएँ । विदेशको कमाइ त हात पाखुरा चलुन्जेल न हो । यो दिगो आम्दानीको स्रोत होइन रहेछ भनेर उहाँसँग पनि कुराकानी गरेँ । त्यसपछि अब म आफैंले केही गर्नुपर्छ भन्ने लाग्यो ।

आम्दानी हुने बाटो खोज्दा मेरो हातमा भएकै सीपलाई सदुपयोग गर्ने सोच बनाएँ । किनकि मैले पहिले नै सिलाई कटाइ सम्बन्धी सीप सिकेको थिएँ । अलिअलि बचत गरेको पैसाले एउटा मेशिन किनेँ ।

लुगा सिलाउन थालेँ । अहिले म आफ्नै घरमा गाउँका महिला, दिदीबहिनी र बालबालिकाको लागि चोलो, कुर्ता, दाैरासुरुवाल लगायतका कपडा सिलाउँछु । 

मैले काम गर्न थालेपछि गाउँका दिदीबहिनीहरू पनि यो सीप सिक्न थाल्नुभएको छ । सीप सिक्छु भन्नेलाई म एकदमै कम शुल्क लिएर सिकाउँछु ।

अहिले म सबै खर्च कटाएर मासिक कम्तीमा पनि ६ हजार रुपैयाँ बचत गर्छु । 

यस बाहेक राम्रो राम्रो हाते झोला पनि बनाउँछु । अब यो झोलाहरूलाई बजारमा लगेर बेच्ने सोच पनि बनाएको छु । तर झोला बिक्ला कि न बिक्ला, मेरो सीपलाई मानिसले मन नपराउने पो हुन कि भन्ने डर लाग्छ । अब बिस्तारै श्रीमान् पनि स्वदेश आउनुभयो भने बजारमा व्यवसायीक रूपमा पसल खोलेर मेरो सीपलाई अझ बढाउने र अरूलाई पनि रोजगारी दिने योजना बनाएको छ । 

अन्तिम अपडेट: चैत १७, २०७७

तपाईको प्रतिक्रिया