महिला दिवसमा हुने औपचारिक कार्यक्रमको सान्दर्भिकता !

 फागुन २४, २०७७ सोमबार १५:१:६ | राधा ढुङ्गाना
unn.prixa.net

हरेक मार्च ८ तारिखका दिन महिला दिवस मनाइन्छ । दिवसका अवसरमा देशभर र्‍याली, अन्तरक्रियासहित विभिन्न कार्यक्रम आयोजना हुने गर्छन् । विशेषगरी जिल्ला सदरमुकाम, पालिका केन्द्र तथा सहर केन्द्रित कार्यक्रम हुन्छन् जहाँ त्यहाँ रहेका कार्यालय प्रमुख, अगुवा समाजसेवी र महिला अधिकारकर्मीको उपस्थिति देख्न पाइन्छ । 

कार्यक्रममा महिला समानताका आवाज उठाउने सबैको प्रतिनिधित्व रहन्छ र भाषणमा महिला समानता कायम गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ जस्ता नारा लगाइन्छ, जुन दूरदराजका पीडित महिलाको कानसम्म कमैमात्र पुग्ने गरेको छ । जिल्लाको सदरमुकाम र मुख्य सहरमा महिला मुक्तिका नारा लगाउँदै गर्दा दूरदराजका महिलाको अवस्था भने अझै उस्तै छ । उनीहरू घरेलु हिंसा, बालविवाह, बहुविवाह, सामाजिक रूढिवादी, बोक्सीको आरोप, अपहेलना, दाइजो प्रथा, जबरजस्ती करणीजस्ता हिंसाको चपेटामा छन् । सहरका नारी महिला अधिकार र समानताका कुरा गर्दै हिँड्छन् भने दूरदराजमा रहेका नारी हरेक दिन हिंसाको भारी बोकेर हिँड्छन् । महिला अधिकार र समानताका नारा दूरदराजका महिलाको कानमा कहिले गुन्जिएला र अलिकति भए पनि अघि बढ्न सक्लान् ? 

हरेक वर्ष दिवस मनाइरहँदा महिला समानताको अवस्थालाई नजिकबाट नियाल्ने हो भने खै कहाँ छ समानता ? यो अहिलेको आम प्रश्न हो । कि औपचारिक कार्यक्रम मात्रै गरेर समानता आउँछ ? व्यवहारतः जबसम्म समानता र हिंसारहित समाज निर्माणको परिकल्पना आउँदैन तबसम्म महिलाको अवस्था फेरिन मुस्किल हुन्छ नै । वर्तमान अवस्थामा समानताको त कुरै छोडौँ, घरबाहिर निस्कनसमेत नेपाली महिला असुरक्षित महसुस गर्ने गर्छन् । महिलाको पहिलो आधारभूत कुरा नै आफ्नो सुरक्षा हो तर त्यही सुरक्षा महसुस नगरेका महिलाले कहिले पुरुषसरह समान अवसरमा पुग्न सक्लान् ?

संविधानले नै ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गरेको छ । तर हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागिता नै पुग्न हम्मेहम्मे परिरहेको हुन्छ, अब कसरी समान सहभागिता हुन सक्छ ? समान सहभागिता हुन ५० प्रतिशत सहभागिता संविधानमा सुनिश्चित हुनुपर्‍याे अनि कानुनी रूपमा महिला समानताका लागि कानुनले नै सहयोग गर्‍याे भनेर भन्न सकियो । जब संविधानले नै महिला सहभागितालाई ३३ प्रतिशतमा खुम्च्याइदिएको छ अनि महिला समानताका कुरा गरेर मात्रै सहभागिता हुन सक्दैन भन्न सकिन्छ । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत सहभागिता नै हामी पुग्न सकेनौँ भने समानताका नारा महिला दिवसमा मात्रै गुन्जिएर व्यवहारतः होला ? महिला दिवस मनाउँदै गर्दा खड्किने प्रश्न यही हो । 

महिला समानता त धेरैपछिको कुरा हो किनभने महिलाले उनीहरूका लागि आधारभूत कुराहरू नै पाउन सकिरहेका छैनन् । पहिलो त घरबाट नै हिंसा खेपिरहेका छन् । त्यसपछि सामाजिक रूढिवादीको चपेटामा पिल्सिनु परि नै रहेको छ । अझै रूढिवादीको दलदलबाट निस्किन नसकेकाे अवस्थामा महिलालाई पुरुषसरह समान सहभागिताको कुरालाई व्यवहारतः उतार्न निकै मुस्किलको कुरा हो ।

घरबाट निस्किएकी चेली भागरथी भट्टको बलात्कारपछि हत्या भयो अनि निर्मला पन्तजस्ता कैयौँ नेपाली चेलीले न्याय पाएका छैनन्, वर्षौँ बित्दासमेत न्यायकै खोजीमा छन् । घरबाहिर निस्कँदा आफू असुरक्षित हुने नेपाली महिलाले समानता कहिले र कसरी पाउने होलान् ? भन्ने विषय अहिले खड्किएको प्रश्न हो । दिवसमा औपचारिक सभा समारोह, नारा र जुलुसको सान्दर्भिकता खासै देखिँदैन । महिला दिवसले त्यो दिन सार्थकता पाउने छ, जुन दिन महिलाले सक्षम, आत्मनिर्भर, सुरक्षा र समानताको अनुभूति गर्न पाउनेछन् ।  

अन्तिम अपडेट: फागुन २९, २०७७

राधा ढुङ्गाना

ढुङ्गाना उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया