‘छाउओडार’मा एक पुरुषको 'छाउ' अनुभव !

 फागुन २८, २०७७ शुक्रबार १२:२५:१६ | मिलन तिमिल्सिना
unn.prixa.net

बिहानैदेखि तल्लोपेट दुखेर छटपटी भयो । उठ्दा पनि हुँदैन, बस्दा पनि हुँदैन । सुत्दा पनि सकस हुन्छ । सलले कम्मरमा बेस्सरी कसेँ । तै पनि दुखाइ घटेन । पिँढीमा कक्रक्क परेर सुतेँ ।

घाँस काट्न गएकी आमा असिनपसिन हुँदै आउनुभयो । पिँढीको कुनामा नाम्लो फाल्नुभयो र मेरो टाउको सुम्सुम्याएर के भयो भनेर सोध्नुभयो । तल्लोपेट दुखेर मर्न लागेँ आमा भनेँ । खै खै भनेर आमाले तल्लोपेट छाम्नुभयो । तल रगत आएको छ हो भनेर सोध्नुभयो । मैले टाउको हल्लाएँ ।

‘त्यसो भए अब माथि ओडारमा गएर बस्नुपर्छ, लुगाफाटा ठिक पार’ आमाले भन्नुभयो ।

‘ओडारमा किन जाने आमा, यहीँ घरमा बस्छु नि’ आमासँग बिन्ती बिसाएँ ।

‘हुन्न बा घरमा बस्न, बा र हजुरबाले थाहा पाउनुभयो भने मार्नुहुन्छ । हामी पनि त छाउ भएको बेला यस्तै ओडारमा बसेको हो नि । चार/पाँच दिन त हो । लुगा लिएर जाउ, अहिले म खानेकुरा लेराइदिन्छु’ आमाले आफ्नो बाध्यता र विवशता सुनाएपछि नाइँ भन्न सकिनँ ।

पल्लोघरकी मीना पनि अस्ति छाउ भएको बेला त्यही माथिको ओडार गएर बसेकी थिई । निकै गाह्रो हुँदो रहेछ भन्थी । तर जस्तो गाह्रो भए पनि बस्नैपर्ने बाध्यता । आमा, काकी, दिदी र साथीहरु सबैले भोगेको । मैले पनि त भोग्नै पर्यो ।

सकीनसकी उठेँ । तल्लोपेट दुख्न छाडेको छैन । कम्मरमा बेरेको सल फुकालेर अझै बेस्सरी कसेँ । आमाले मेरो पुरानो कुर्तासुरुवाल र उहाँको पुरानो फरिया अनि पछ्यौरा दिनुभयो । ‘ल यो फरिया र पछ्यौरा चाहिँ सुत्ने बेला ओढ्न र ओछ्याउनको लागि’ आमाले भन्नुभयो ।

लुगाको पोको च्यापेर बल्लतल्ल माथि ओडारमा पुगेँ ।

ठूलो ढुङ्गा मुनीको सानो ठाउँ । टाउको निहुराएर घुँडा टेक्दै मुस्किलले भित्र पस्न मिल्ने । ओडारभित्र बस्न त परको कुरा, सुतेर टाउको अलिकति उठाउँदा पनि ढुङ्गामा ठोक्किने । अँध्यारो र अनकन्टार ओडारमा सास फेर्न पनि गाह्रो हुने । गोठालो जाँदा लुकी खेल्ने बेला भित्र पस्दासमेत उकुसमुकुस भएर उतिखेरै बाहिर निस्कनुपर्थ्यो । यस्तो ओडारमा चार रात कटाउनुपर्छ । सम्झँदै सास रोकिएलाजस्तो भयो ।

तल्लोघरकी ठूलीआमा, पल्लोघरकी काकी र परकी सम्झना पनि छाउ भएर अस्तिदेखि ओडारमा बसिरहेका रहेछन् ।

‘ए कान्छी तँ नि आइस् । ल अब मिलेरै बसौँला । तँ छेउमा सुत्छेस् कि बीचमा ?’ काकीले सोध्नुभयो । 

‘यस्तो सानो ओडारभित्र हामी सबै अटाउछौँ र काकी ?’ भित्र खुट्टा पसार्ने ठाउँसमेत नदेखेर मैले सोधेँ ।

‘अटाउनुपर्छ कान्छी, के गर्छेस् ? अघिल्लो महिना हामी ६ जनासम्म सुतेको’ काकीले सुनाउनुभयो । 

एक जना त खुट्टा राम्रोसित पसारेर सुत्न नमिल्ने ठाउँमा यतिका मान्छे कसरी सुत्ने होला ? सम्झेरै उकुसमुकुस भयो ।

‘आइज कान्छी यता, तँ मेरो छेउमा सुत्लेस् नि’ सम्झनाले उ भएतिर बोलाइ।

छेउमा सुतेरहेकी तल्लोघरकी ठूलीआमाले खुट्टा खुम्च्याएर मलाई भित्र जाने ठाउँ दिनुभयो । टाउको निहुराएर घुँडा टेक्दै म भित्र छिरेँ । सम्झनाको छेउमा पुगेर भुइँमा टाउको अड्याउन खोजेँ । बल्लतल्ल उसको काँधमा मात्रै टाउको राख्न मिल्यो । खुट्टा चाहिँ खुम्च्याएर उसको खुट्टामाथि राख्न मिल्यो ।

‘हात अलि उता राख त कान्छी’ भन्दै काकीले मेरो काँधमा आफ्नो टाउको राख्नुभयो । मेरै खुट्टामा खुट्टा खप्ट्याउनुभयो । उहाँको काँधमा ठूलीआमाले टाउको राख्नुभयो । अटेसमटेस र उकुसमुकुस भयो । सास फेर्नै गाह्रो भयो । औडाहा भएर जुरुक्क उठ्दामाथि ढुङ्गामा टाउको टोकियो । 

‘ऐया...कस्तो बेस्सरी ठोक्कियो..’
...................................

‘ए भाइ बिस्तारै निहुरिएर आउनुहोस् है, टाउको ठोकिहाल्छ नि त्यसरी टाउको उठाएर बाहिर आउँदा त’ ओडार बाहिर उभिरहनुभएकी अम्मा बिकले भनेपछि झल्याँस्स भएँ । ‘छाउ हुँदा हामी यहीँ बस्थ्यौँ’ भनेर उहाँले भनेपछि ओडार हेर्न म भित्र पसेको थिएँ ।

निहुरिएर बल्लबल्ल भित्र पसेपछि मलाई एकाएक छाउले छोयो । आफू पनि छाउ भएर यसैगरी यस्तो ओडारमा बस्नुपरेको भए के हालत हुन्थ्यो भनेर कहाली लाग्यो । 

दैलेख आठबीस पुग्दा मैले पहिलोपटक देखेको ‘छाउओडार’ । 

‘म यस्तो ठाउँमा बस्नुपरेको भए मर्थेँ होला दिदी, तपाईँहरु कसरी बस्नुभयो होला ?’ मेरो प्रश्न भुइँमा खस्न नपाउँदै अम्माले बेलिबिस्तार लगाउनुभयो, ‘नसम्झाउनुहोस् भाइ ती कहालीलाग्दा दिन ! छाउ हुँदा ६/७ जनासम्म बस्थ्यौँ यो ओडारमा । काखे बच्चासमेत साथमै लिएरै सुत्यौँ । राति बच्चालाई दूध खुवाउने बेला ओल्टोकोल्टो फर्कनुपर्थ्यो, फर्कन सर्किँदैन थियो । फेर्नका लागि ओभानो लुगा हुन्नथियो । सिकसिक गर्दै चिसो लुगा लगाएरै दिन कटाउनुपर्थ्यो । धारामा नुहाउन पाइँदैन थियो । खोलामा जान डर लाग्थ्यो । राति सर्प, बिच्छी र अरु जङ्गली जनावरको डर हुन्थ्यो । त्यसैले भित्र सुत्ने बेला बाहिर प्वालमा काठ राख्थ्यौँ । यहीँ भित्र भात पकाएर खान्थ्यौँ । सास फेर्नसमेत गाह्रो हुन्थ्यो । हाम्रो पालामा मान्छेको त डर हुँदैन थियो । तर पछि मान्छेको पनि डर हुन थाल्यो । कति छाउगोठ र यस्तो ओडारमा बसेकै बेला बलात्कृत भए । कतिलाई सर्प, बिच्छीले टोक्यो । कतिले छाउगोठमै ज्यान गुमाए । यस्तो दुःखकष्ट र हैरानी श्रीमानले पनि बुझेनन् । अहिले बल्ल बुझ्न थाले । पहिलेजस्तो ओडारमा बस्नु पर्दैन । छाउ भएको बेला घरमै बस्न पाइएको छ । तर यो ओडारको छेउछाउ आउँदा पहिलेका ती दिन सम्झेर कहाली लाग्छ ।’

अन्तिम अपडेट: चैत २९, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया