व्यङ्ग्य - फुकालेर फालेको मास्क लगाउन बानी पार्ने काइदा !

 चैत ७, २०७७ शनिबार १०:२७:१४ | मिलन तिमिल्सिना
unn.prixa.net

केही महिना अघिसम्म मास्क नलगाइ हिँड्ने मान्छे भेटिनै मुस्किल थियो । घरबाहिर निस्कँदा मात्रै होइन, घरभित्रै ओछ्यानमा सुत्दा पनि मान्छेले मास्क लगाउँथे । खाना खाने बेलामा समेत फुकाल्न डर मान्थे । एक वर्षअघि कोरोनाको डरले लकडाउन भएपछि मान्छेलाई लाग्यो-मास्क नै सबैथोक हो, मुखमा मास्क लगाएपछि कोरोना तर्सेर भाग्छ । 

तर नेपालीका आफ्नै ज्ञानले ठहर गर्यो-मास्कले कोरोना हैन, सुन्दरता छेक्छ । कसैलाई देखाउनकै लागि श्रृङ्गारपटार गरेको अनुहारलाई मास्कले अवरोध गर्छ । खुलेर बोल्न र विरोधीलाई पेल्न मास्कले डिस्टर्ब गर्छ।

यो ज्ञान हासिल गरेपछि सबैभन्दा पहिले नेताहरुले मास्क फुकालेर फाले । सडकमा निस्केर मच्चीमच्ची अर्कोलाई गाली गरे । दाह्रा किटे, घाँटीको नशा र नाकको डाँडी फुलाए । अनुहार रातोपिरो बनाए । मास्क लगाउँदा यी सबै हाउभाउ र सङ्केत मेटिन्थ्यो । विरोधीले नदेख्न पनि सक्थ्यो । विरोधीलाई तर्साउनकै लागि उनीहरुले मास्क फालेर गाली गरे । नारा, जुलुस र भाषण चर्काए । त्यसपछि नागरिकले पनि त्यही सिको गरे । मास्क फुकालेर सिटी बजाए, हाहाहुहु गरे । मास्कलाई कम्युनिस्टले मान्ने माक्सको सिद्धान्त जति पनि मानेनन् । 

अहिले अस्पताल जाँदा पनि मास्क चाहिँदैन, जहाज चढ्दा पनि मास्क चाहिँदैन । लकडाउनभन्दा पहिले धुलोधुवाँ छेक्नका लागि मात्रै भए पनि मान्छेले मास्क लगाउँथे । अहिले त प्रहरीले समातेको अपराधीले मात्र मास्क लगाउँछ, अरुले बिस्तारै छोड्न थाले । पहिले मास्क नलगाइ हिँड्दा अरुले हेरेर गिज्याउँथे, अहिले मास्क लगाएर हिँड्नेलाई चाहिँ अरुले गिज्याउँछन्।

तर हिजोसम्म अरुले गिज्याउलान् कि भनेर मास्क लगाउन छाडेकाहरु फेरि झसङ्ग भएका छन् । भारतमा फेरि कोराना बढ्न थालेपछि धेरैले पोहोरको लकडाउन र अस्तिताकासम्म लगाएको मास्कलाई सम्झिएका छन् । भारतको हावाले छोयो भने फेरि पनि मास्क लगाउनुपर्ला । सरकारले पनि अनिवार्य गर्ला । मन नभए पनि फेरि अनुहार छोप्नुपर्ला । फेरि मास्क लगाउनुपर्ने बाध्यता आइलाग्यो भने फुकालेर फालेको मास्कलाई फेरि अनुहारमा कसरी फिट गर्ने त ?

हुन त मास्कले नाक, मुख ढाक्नैपर्छ भन्ने छैन । लेनिनको दाह्रीजस्तो चिउँडोमा झुन्ड्याए पनि भयो ।

टाउकोमा चस्मा भिरेजस्तो निधारमाथि बाँधे पनि भयो । फूल सिउरिएझैँ कानमा सिउरिए पनि भयो । हातले चाबी हल्लाउँदै हिँडे जसरी औँलामा झुन्ड्याउँदै हिँडे पनि भयो । जे जसरी लगाए पनि भयो, तर मास्क चाहिँ हुनै पर्यो । 

तर मास्क लगाउने बानी नै छैन । घरबाट बाहिर हिँड्दा गोजीमा मोबाइल छुट्दैन, तर मास्क टेबुल र काँटीमै छुट्छ । प्रहरीलाई देखेपछि झसङ्ग भइन्छ, अनि जरिवाना तिर्नुपर्दा पसिना छुट्छ । मास्कको बानी कसरी पार्ने त ?

नेपालमा सत्तादेखि सडकसम्म जताततै आफूलाई मार्क्सवादी भन्ने कम्युनिस्टहरु भएकाले मास्क लगाउने बानी पार्न अरु देशमा जस्तो असजिलो छैन । यसका लागि मार्क्सवादको आधारभूत ज्ञान लिएर सत्ता र सडकमा बाँडिएजस्तै मार्क्सको दर्शनलाई बुझ्नु जरुरी छ । त्यसो त धेरैले मास्कलाई माक्स नै भन्छन् । पसलमा पनि ‘यहाँ माक्स पाइन्छ’ भनेर लेखिएको हुन्छ । किन्नेले पनि ‘खै माक्स दिनुस् त’ भन्छन् । 

अनि नेपालका कम्युनिस्टमा  मार्क्‍सवादका बहुल रङ्ग र रुप भेटिए जस्तै बजारमा रङ्गविरङ्गका मास्क भेटिन्छन् । अझ भनौं हिजोआज सबै मार्क्सवादीहरु सहजरुपमा मास्कवादी भएका छन् । तर पनि मास्क लगाउने बानी पार्न चाहिँ केटाकेटीलाई कट्टु लगाउने बानी पार्न जस्तै मुस्किल छ ।

मास्क लगाउने बानी पार्न मार्क्सवादी दर्शनले सघाउँछ । व्यवहारमा मार्क्सवाद नभए पनि बोल्नेबित्तिकै मार्क्सवाद छाँट्नेहरुको भनाइअनुसार मार्क्सवाद गतिशील सिद्धान्त हो । मार्क्‍सवादले समयअनुसार चल्नुपर्छ भन्छ । मास्कलाई माक्स भन्नेले समयअनुसार चल्न पनि त जान्नु पर्यो । समयअनुसार चल्नु भनेको मास्क लगाएर हिँड्नु पनि हो ।

सबैभन्दा पहिले मास्क भनेको शरीरमा लगाउने अरु कपडाजस्तै अनिवार्य वस्त्र हो भनेर बुझ्नुपर्छ । अझ नाक र मुखलाई गोप्य अङ्ग भनेर आफैँले परिभाषित गर्न सक्यो भने मास्क लगाउने बानी पार्न सजिलो हुन्छ । यसो गर्न सजिलो पनि छ, किनकि विसर्जन गर्ने अङ्गलाई हाम्रो धर्म, संस्कृति र समाजले गोप्य अङ्ग मान्दछ । 

छोटा, पातला कपडा लगाउने मान्छेले पनि गोप्य अङ्ग त ढाकेरै हिँड्छन्, देखाउँदैनन् । छोप्नुपर्ने लुगा घरमै बिर्सेछु भन्दैनन् । अरुथोक बिर्से पनि मान्छेले छोप्नुपर्ने अङ्ग छोपेर हिँड्न बिर्सँदैन । बिर्सियो भने उसको दिमागको तार खुकुलो भएछ वा फुस्किएछ भनेर बुझ्नुपर्छ ।

नाक र मुखलाई पनि अब छोप्नुपर्ने अङ्ग हो भनेर आफैंले परिभाषित गर्न सकियो भने मास्क लगाउने बानी पार्न सजिलो हुन्छ । मास्कलाई माक्स भन्ने तपाईं हामीलाई समयअनुसार चल्नुपर्छ भनेर मार्क्‍सवादले सिकाएको कुरा हो यो । त्यसमाथि मास्क लगाउने बानी बसाउन सक्दा यसले कोरोनालाई छेक्नेभन्दा बढी अरु फाइदा गर्छ ।

हामीमध्ये धेरैलाई मेल खाने मुख्य दुई वटा फाइदा यस्ता हुन् :

सबैभन्दा ठूलो कुरा मास्क लगाएपछि अनुहार चिल्लो पार्नु पर्दैन । पुरुषले दाह्रीजुँगा काट्ने र महिलाले मेकअप गर्ने झन्झट गर्नु पर्दैन । दाह्रीजुँगा र मेकअपको लागि खर्च हुने समय र पैसा बचत हुन्छ । बाहिर निस्कँदा ओठमा कुन रङ्गको लिपिस्टिक सुहाउँछ भनेर १० पटक ऐना हेर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्छ ।

अर्को महत्त्वपूर्ण फाइदा मास्क लगाएपछि अरुले झट्ट चिन्दैन । अनुहार देखाएर हिँड्नै नमिल्नेहरुलाई त सबैभन्दा धेरै फाइदा हुन्छ । उधारो र सापटी तिर्नुपर्नेहरुलाई मात्र होइन, एकअर्काको उछित्तो काढेर पार्टी कार्यालय र पार्टी प्यालेसमा बाँडिएका कम्युनिस्टका नेताहरुलाई पनि मास्ककै कारण हाइसन्चो हुनेछ ।

घरभित्र जेसुकै गर्नुहोस्, तर बाहिर हिँड्दा मास्क लगाउनुहोस् । मास्क लगाउने बानी छैन भने मास्कलाई माक्स भनेजस्तै मार्क्सवादी सिद्धान्त बुझ्नुहोस् । नाक र मुखलाई देखाउँदा लाज हुने अङ्गको रुपमा व्याख्या गर्नुहोस् । देखाउँदा लाज हुने अङ्ग छोप्ने वस्त्रको रुपमा मास्कलाई बुझ्नुहोस् । यति गर्दा पनि मास्क लगाउने बानी परेन भने थाहा पाउनुहाेस्, तपाईँलाई कोरोनाभन्दा पनि डरलाग्दो समस्याले सताएको हुन सक्छ । त्यसैले भारतबाट कोरोनाको अर्को जात भित्रिन नपाउँदै अस्पताल पस्नुहोस् !

अन्तिम अपडेट: बैशाख ३, २०७८

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया