भारतमा कोरोना सङ्क्रमण दर बढ्दैछ, नेपालमा पनि आवश्यक तयारी थालौँ

 चैत ८, २०७७ आइतबार १६:३९:४८ | डा. कृष्णप्रसाद पाैडेल
unn.prixa.net

काठमाण्डौ – धेरै नेपाली रोजगारीका लागि पुगेका भारतका विभिन्न ठाउँमा अहिले कोरोना सङ्क्रमण अस्वाभाविक रूपमा बढिरहेको छ । नेपालीहरू धेरै रहेका महाराष्ट्र, गुजरात, मध्य प्रदेशलगायत प्रान्तमा सङ्क्रमण ह्वात्तै बढेको छ ।

यसअघि पनि नेपालमा कोरोना सङ्क्रमण बढ्नुमा भारतबाट आएका व्यक्ति प्रमुख कारण बन्ने गरेको थियो । भारतमा नेपाली धेरै रहेका ठाउँमा नै सङ्क्रमण अस्वाभाविक बढेकाले नेपालमा त्यहाँको प्रभाव नपर्ला भन्न सकिन्न । त्यसलाई मध्यनजर गर्दै हामीले विशेष तयारीसहित प्रणालीलाई चुस्त अवस्थामा राख्नुपर्ने भएको छ ।

अहिले भारतका विभिन्न ठाउँमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढेसँगै लकडाउन घोषणा गरिएको छ । त्यहाँको स्थानीय सरकारले अवस्था हेरेर कर्फ्यु, लकडाउन (बन्दाबन्दी) का कदम अघि बढाएका छन् । अहिले महाराष्ट्रका विभिन्न ठाउँमा निश्चित समयका लागि कर्फ्यु लगाइएको छ । यस्तै मध्य प्रदेशका केही सहरमा पनि पार्सियल (आंशिक) लकडाउन गरिएको छ । नागाल्याण्ड भन्ने ठाउँमा भने पूरै लकडाउन गरिएको छ ।

नाकामा कडाइ, कोरोनालाई बाईबाई

यस परिदृश्यमा जुन ठाउँबाट धेरै मात्रामा नेपाल आउँछन् त्यहाँ विशेष निगरानी बढाउनुपर्ने भएको छ । उदाहरणका लागि सुदूरपश्चिमका धेरै व्यक्ति महाराष्ट्रमा बस्छन् । उनीहरू गड्डाचौकी नाका, गौरीफण्टा अथवा जमुनाहा नाका हुँदै नेपाल प्रवेश गर्ने गर्छन् । यस्तै कपिलवस्तुको कृष्णनगर र भैरहवा नाका बढी प्रभावित हुन सक्छन् ।

यी नाकामा हामीले दैनिक तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छौँ । नाकामा विशेष निगरानी नराख्ने हो भने नेपालमा पनि भारतको जस्तै अवस्था आउँछ भनेर हामी सचेत छौँ र सचेत हुनुपर्छ । 

अहिले हामीले भारतबाट आउनेहरूको फोन नम्बर, ठेगानालगायत परिचय खुल्ने सबै विवरण लिएर राख्ने काम गरेका छौँ । यस्तै कसैलाई लक्षण देखियो भने त्यही ठाउँमा परीक्षणको व्यवस्था मिलाउँदै छौँ । एन्टिजेन टेस्ट गर्न सकियो भने छिटै रिपोर्ट आउने भएकाले त्यसको व्यवस्थापन नाकामै गर्दैछौँ । 

लक्षण भएकालाई कि त क्वरेण्टीनमा राख्नुपर्‍याे, हैन भने परीक्षण चाँहि अनिवार्य गर्नुपर्ने भनेर हामीले नाकामा विशेष तयारी गरिरहेका छौँ । अहिले नै हामीले नेपाल आउनेहरूलाई नियन्त्रण गर्न सकियो भने चाँहि नेपालमा त्यो अवस्था आउन नदिन या भनौँ व्यवस्थापन गर्न सकिन्छ भन्ने लागेको छ ।

एन्टिजेन टेस्टका लागि किट धेरै ठाउँमा पुर्‍याएका छौँ

एन्टिजेन टेस्टमार्फत परीक्षण गर्दा अलि छिटो हुने भएकाले हामीले यो विषय अलि धेरै प्राथमिकतामा राखेका छौँ । विभिन्न सम्भावित ठाउँमा हामीले एन्टिजेन टेस्टका किट पुर्‍याएका पनि छौँ । एन्टिजेन टेस्ट गर्दा अवस्था चाँडै पत्ता लाग्ने भएकाले यसलाई सीमा नाका र सम्भावित क्षेत्रमा तत्काल बढाउनुपर्ने देखिएको छ । 

कतै लक्षण देखियो भने यो विधिमार्फत छिट्टै अवस्था थाहा पाउन सकिन्छ । अहिलेसम्म हाम्रोमा त्यस्तो अवस्था आइसकेको छैन । तर विगतको अनुभवलाई हेर्ने हो भने भारतमा सङ्क्रमण बढेको दुईदेखि तीन हप्ताभित्र नेपालमा अवस्था त्यस्तै हुने देखिन्छ । 

नेपाल फर्कनेको सङ्ख्या बढ्यो भने नेपालमा पनि त्यसको प्रभाव स्वाभाविक रूपमै पर्छ । परीक्षण गरेर अवस्था पत्ता लगाउन ढिलो गर्नुहुन्न । अहिलेदेखि नै निगरानी नगर्ने हो भने भारतका विभिन्न राज्यमा जस्तै नेपालमा पनि सङ्क्रमण नफैलिएला भन्न सकिन्न ।

नेपालमा कोरोनाको आन्तरिक जोखिमसँगै बाह्य जोखिम पनि 

आयातित भएर कोरोनाका केस आउने कुरा त भारतमै निर्भर रहने भयो । तर त्योबाहेक नेपालमा पनि जोखिम पहिलेदेखि नै कायमै छ । अहिले पनि परीक्षण गरेकामध्ये दुईदेखि तीन प्रतिशत व्यक्तिमा पोजेटिभ आउने क्रम छ । 

आन्तरिक जोखिम कायमै रहँदा बाह्य जोखिम पनि थपिएकाले भारतबाट आउने नागरिकलाई विशेष निगरानी गर्नुपर्ने देखिएको छ । विशेष गरेर सीमा नाकामा तत्काल निगरानी नबढाउने हो भने नेपालमा आन्तरिक जोखिमसँगै बाह्य जोखिम अथवा भारतको प्रभाव पर्ने देखिन्छ ।

जनस्वास्थ्यका मापदण्ड पालन गर्न नछाडौँ

हामी धेरैले जनस्वास्थ्यका मापदण्ड पालन गर्न छाडिसकेका छौँ । कोरोनालाई एकदमै सामान्य हिसाबले हेर्न थालेका छौँ । तर छिमेकमा सङ्क्रमण दर बढिरहेकाले नेपालमा पनि फेरि एकपटक जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कुरामा कडाइ गर्नुपर्ने देखिन्छ । 

कोरोना महामारी सकिएको जसरी मानिसहरू हिँड्न थालेका छन् तर मानिसहरूले महामारी अझै सकिएको छैन भनेर बुझ्नुपर्ने हुन्छ । भारतमा सङ्क्रमण बढ्दै गर्दा हाम्रोमा पनि त्यही अवस्था आउने या हुन सक्ने हुन सक्छ । यसबारे सबैलाई सचेत गराउनुपर्ने देखिन्छ । 

उच्च जोखिममा रहेका ठाउँहरू

सीमा जोडिएका ठाउँहरू उच्च जोखिममा छन् तर अहिले नै सङ्क्रमण दर बढेको अवस्था भने होइन । अहिलेको अवस्थामा भारतको महाराष्ट्रमा सङ्क्रमण दर उच्च रहेको छ । त्यो ठाउँमा सुदूरपश्चिम प्रदेशका मानिसहरू धेरै गएका छन् । त्यो हिसाबले सुदूरपश्चिम अलि धेरै जोखिममा रहेको देखिन्छ । 

यस्तै मध्य पश्चिममा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै छन् । मध्य पश्चिममा पनि सङ्क्रमण दर उच्च रहेकाले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा सङ्क्रमणको सम्भावना उच्च रहेको आँकलन छ ।

कोरोना सुरु भएको एक वर्षपछि फेरि अर्को डर सुरु 

भाइरसले रूप फेर्दै जाँदा नयाँ चुनौती थपिँदै छ । भारतमा अहिले सङ्क्रमण दर उच्च भएको ठाउँको कोरोनाको प्रकार नयाँ हो या पुरानै हो भनेर हामीलाई अहिलेसम्म जानकारीमा छैन । यो अनुसन्धानकै क्रममा छ । यदि नयाँ प्रकारको हो भने जनस्वास्थ्यका मापदण्डहरू परिमार्जन गर्नुपर्ने देखिन्छ । अझै धेरै कडाइ गर्नुपर्ने पनि हुन सक्छ । अहिलेको अवस्थामा ठ्याक्कै यसै हो भनेर भन्न सकिने अवस्था छैन ।

अहिलेको अवस्थामा जोखिम कम भएको छैन, यदि भारतमा नयाँ प्रकार हो भने हाम्रोमा पनि कोरोनाको नयाँ प्रकारले गति लिन सक्छ भनेर भन्न सकिन्छ । त्यसैले हामी सबै सचेत हुनुपर्छ र आवश्यक जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गर्नुपर्ने देखिन्छ ।

नेपालको तयारी यस्तो 

नेपाल प्रवेश गर्नेहरूलाई त्यहीँ आवश्यक व्यवस्था गर्ने, अस्पतालहरूमा सम्भाव्य जोखिम मूल्याङ्कन गरेर पूर्वाधार तयारी अवस्थामा राखेका छौँ । परीक्षण र सबै निकायसँगको समन्वय भइरहेको छ ।

क्वरेण्टीनहरूलाई व्यवस्थित गराउने तयारी गरिरहेका छौँ । पहिलेदेखि नै हामीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जे–जे गरेका थियौँ त्यसलाई नियमित गरेका छौँ । केही पनि रोकेका छैनौँ । 

नाकाहरूमा हामीले गतिविधिलाई थप सक्रिय बनाउँदै छौँ । स्वास्थ्य प्रणाली थप सक्रिय बनाउँदै छौँ । सङ्क्रमितका केसहरू कसरी बढ्छ र अस्पतालमा भर्ना हुने दर कस्तो हुन्छ भनेर मूल्याङ्कन गरेर हामी अघि बढ्छौँ । आवश्यक तयारी गरिरहेका छौँ ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलसँग टेकमान शाक्यले गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: जेठ २४, २०७८

डा. कृष्णप्रसाद पाैडेल

डा. पाैडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ

तपाईको प्रतिक्रिया