परदेशीका परिवारले भोग्ने लाञ्छना विरुद्ध बोलौँ

 चैत ९, २०७७ सोमबार १४:४१:१५ | संगीता रिजाल
unn.prixa.net

भौगोलिक रूपमा टाढा रहेर सम्बन्ध सुमधुर राखिराख्नु सहज काम होइन । यो कुरा महिला र पुरुष दुवैको हकमा लागू हुन्छ । त्यसमा पनि दुई फरक देश वा फरक महादेशमा बसेर राम्रो सम्बन्ध बनाइ राख्ने चुनौती उठाउने काम साहसिक लाग्छ मलाई । किनकि त्यस्तैै साहसिक मध्येकी म पनि एक हुँ जस्तो लाग्छ । 

छोराले कहिलेकाहीँ मसँग आफ्नो बुवाको बारेमा सोध्छ । ‘बुवा कहिले घर आउनुहुन्छ’ भन्ने उसको प्रश्नले मलाई झल्याँस्स बनाउँछ । 

श्रीमान् परदेशमा हुनुहुन्छ । हामी आमा छोरा नेपालमा । भौगोलिक दुरीले आत्मियता घटाउँदैन, बरु उल्टै बढाउँछ भन्छन् । तर, भेट भइहाल्छ नि भन्दा भन्दै कहिलेकाहीँ महिना होइन, वर्षाै पनि बितेर जाँदो रहेछ ।

तर मेरो हकमा त्यस्तो थिएन । श्रीमान् परदेशमा भए पनि बेलाबखत हाम्रो भेट भइरहन्थ्यो । तर हामी दुई कोरोना महामारी सुरु भएपछि दुईतीरै भइरह्यौँ । उहाँ रहेको देश सङ्क्रमणबाट जोगिन लकडाउनमा थियो । 

कोरोनाको त्राससँगै लम्बिँदै गएको लकडाउनले मन असाध्यै आत्तियो । सबै कुरा भएर पनि श्रीमान् परदेशमा हामी घरमा, अनि अप्ठेरो परिस्थितिको सामना पनि एक्ला एक्लै गर्नुपर्दा जिन्दगी खल्लो लाग्थ्यो । 

मलाईजस्तै मेरो छोरालाई पनि बुवाको न्यास्रो लागिसकेको थियो । उसले मलाई ‘बुवासँग कहिले भेट्ने’ भनेर सोध्दा झन् गाह्रो भयो । मलाई पो थाहा थियो त परिस्थिति सामान्य छैन र परिस्थिति स्विकार्नुको अर्को विकल्प छैन भनेर । तर मेरो सानो छोराको मनले त्यही परिस्थितिमा बुवाको साथ खोजिरह्यो ।

यस्तो बेला एक अर्काको साथको आवश्यकता थप महसुस हुँदो रहेछ । यो कुरा यही समयले सिकाएको हो । परदेशमा रहनुभएका मेरा श्रीमान्लाई पनि हामीहरूको साथको जरुरत थियो । फोनमा उहाँको आवाज हताश सुनिन्थ्यो । तर भेटघाट गर्न असम्भव नै थियो । 

विश्वभर कोरोना नियन्त्रणका लागि लागू गरिएको मापदण्ड घरीघरी त हामी विरुद्धको षडयन्त्र झैँ लाग्थ्यो मलाई । 

सुनसान आकाशमा उडेका चराहरू देख्दा लाग्थ्यो छोरालाई पनि च्यापेर चरीजस्तै उड्दै श्रीमान् भएको देशमा पुगौँ । तर समयसँग कसको के लाग्छ र । झण्डै आठ महिना समयलाई नै दोष दिँदै हामीले आ-आफ्नाे मनलाई सम्हाल्यौँ ।

जब आकाशमा जहाजहरू उड्न थालेँ, परिस्थिति अलिक सामान्य हुन थाल्यो तब हामीले भेट्ने निर्णय गर्‍याैं ।

जीवन निर्वाहकै लागि या भनौँ दैनिक गुजारा कै लागि एक अर्कासँग टाढिएर कसरी विदेशमा रोजगारी गरिरहेका होलान् ? यही कुराले मलाई असाध्यै पिरोल्यो । कतिपय भोगाइ सुन्दाभन्दा भोग्दा कयौँ गुण अप्ठेरा हुन्छन् । यस पटक मलाई त्यस्तै भयो ।

२०२० को नोभेम्बरमा छोरा र म श्रीमान् भएको देश कतार गयौँ । महामारी कम भएको थिएन । जोखिम पनि उस्तै थियो । तर त्यो बेलामा मनको वेगलाई महामारीले रोक्न सकेन । नेपाल सरकार र कतार सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्‍यौं । कतार पुगेपछि पनि हप्ता दिनको होटेल क्वरेण्टीनमा बस्यौँ । लगभग आठ महिनापछि छोराले बुवा र मैले श्रीमानलाई भेट्न पाएँ ।

अप्ठेरो परिस्थितिमा पनि परिवार साथैमा हुँदा आँट र भरोसा बढ्दो रहेछ । त्यो बेला कतारमा पनि कोरोनाको सङ्क्रमण व्याप्त थियो । सुरक्षाका मापदण्डको पालना गर्दै हामी एक महिनासँगै बस्यौँ ।

महामारीको बेला नेपालबाट श्रीमानलाई भेट्न कतार जानु आफैमा चुनौती थियो । लामो समयपछि त्यसरी भेट हुनु एक प्रकारको उत्सव पनि  । जे होस् त्यो भेट निकै अविस्मरणीय रह्यो । फेरि भेट्ने दिन छिट्टै आउला भन्ने आशा बोकी हामी आमा छोरा नेपाल फर्कियाैँ । 

यसपालिको यो मिलन बिछोडको आफ्नै व्यथाले मेरो मन मस्तिष्कमा हुरी चल्यो । लाखौँ आप्रवासी श्रमिक र तीनका परिवारहरू मेरो दिमागमा आउन थाले । जीवन निर्वाहकै लागि या भनौँ दैनिक गुजारा कै लागि एक अर्कासँग टाढिएर कसरी विदेशमा रोजगारी गरिरहेका होलान् ? यही कुराले मलाई असाध्यै पिरोल्यो । कतिपय भोगाइ सुन्दाभन्दा भोग्दा कयौँ गुण अप्ठेरा हुन्छन् । यस पटक मलाई त्यस्तै भयो । 

यस पटक मैले विशेष गरी खाडीका देश र मलेसियामा काम गर्ने नेपाली श्रमिक र तिनका परिवारलाई सम्झिन चाहेँ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२० मा प्रकाशन गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदनका अनुसार सन् २०१८/१९ मा मात्र दुई लाख ३६ हजार २ सय ८ जनाले विदेशमा काम गर्न श्रम स्वीकृति लिएका थिए । 

म आफैँ पनि केही वर्ष खाडीकै देशमा बसेकी छु । मेरो अनुभवले भन्छ, लाखौँको सङ्ख्यामा परदेशमा श्रम गरिरहेका हाम्रा दाजुभाइ तथा दिदी बहिनीले परिवारसँग भेट्न वर्षौं कुर्नुपर्छ । त्यो लामो पर्खाइ कति पट्यार लाग्दो र पीडादायी हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । 

सन् २०१९ को अप्रिल महिनामा स्विस सरकार विकास सहयोग, सामी/हेल्भेटास र सेभ दि चिल्ड्रेन्सले  संयुक्त रूपमा प्रकाशन गरेको अध्ययनले भन्छ, श्रमिकको विदेशमा रहने (बिचमा नफर्केर) अवधि दुईदेखि १० वर्षसम्मको हुन्छ ।

यो अध्ययनले सप्तरी र धनुषाका एक हजार घरधुरी समेटेको थियो भने सर्लाहीको  गुणात्मक विश्लेषण गरेको थियो । नेपालका यी जिल्लाहरु वैदेशिक रोजगारीमा धेरै जानेहरुको सूचीमा निकै माथि छन् । ‘दि सोसियल इम्लिकेशनस् अफ माइग्रेशन अन विमन एण्ड चिल्ड्रेन्स इन सर्लाही, सप्तरी एण्ड धनुषा’ भन्ने त्यस अध्ययनका अनुसार ५२ प्रतिशत श्रमिकको परिवारसँगको भेट दुईदेखि तीन वर्षको अन्तरालमा हुन्छ । आठ प्रतिशतको आपसी भेट त १० वर्षको अन्तरालमा मात्र हुने अध्ययनले देखाएको छ । अध्ययनले समेटेका जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश पुरुष रहेका थिए । 

आपसी भेटघाटको लामो अन्तरालले महिला पुरुष दुवैलाई असर हुन्छ, तर बढी असर महिलालाई पारेको देखिन्छ । 

घरको पुरुष सदस्य घरबाट बाहिर रहेका बेला घरको सम्पूर्ण जिम्मेवारी उठाउने महिलाले नै हो । तर हाम्रोमा उल्टै यस्ता महिलालाई अनेक सामाजिक लाञ्छना लगाएर मानसिक रूपमा कमजोर बनाउने संस्कार बसेको छ । त्यसैले अब महिलाले घर परिवार तथा समाजमा गरेको योगदानको विषयमा बहस गर्न जरुरी छ । 

सुरक्षित आप्रवासन परियोजना (सामी) दोस्रो चरण अन्तर्गत सन् २०१५ र २०१६ मा दुई हजार सात सय ६६ जनामा गरिएको समूह छलफलका अनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका महिला सदस्यले अवहेलना तथा लाञ्छना व्यहोर्नु पर्छ ।

वषाैँ नकुरे पनि कोरोनाका कारण आठ महिना लम्बिएको हाम्रो भेटको दुरीले मलाई भावनात्मक रूपमा ती हजारौँ महिलाहरूसँग जोड्यो जो श्रीमानसँग भेट हुने आशामा अनेकौँ चुनौती खेपेर खेत, खलियान, धारा, पँधेरा गरिरहेका छन् । एउटी श्रीमती, आमा, बुहारी हुनुको कर्तव्यसँगै एक छोराको भूमिकामा घर परिवार सम्हालिरहेका छन् । 

बाबु टाढा भएको बच्चाको आमा हुनु र त्यस घरको बुहारी पनि हुनु चुनौतीपूर्ण छ हाम्रो समाजमा । श्रीमानको अनुपस्थितिमा एक्लै बालबच्चा, सासु—ससुरा तथा घरका अन्य सदस्यको रेखदेख गर्नुपर्छ । आवश्यकता अनुसार स्वास्थ्य उपचार, बच्चाको स्कुल भर्ना, घर निर्माणको लागि विभिन्न मानिसहरूसँगको समन्वय, साँध/कुलो,  खेती आदि जिम्मेवारी निभाउन निकै नै चुनौतीपूर्ण हुन्छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी) दोस्रो चरण अन्तर्गत सन् २०१५ र २०१६ मा दुई हजार सात सय ६६ जनामा गरिएको समूह छलफलका अनुसार वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका महिला सदस्यले अवहेलना तथा लाञ्छना व्यहोर्नु पर्छ ।

अझ ‘दि सोसियल इम्लिकेशनस् अफ माइग्रेशन अन विमन एण्ड चिल्र्डेन इन सर्लाही, सप्तरी एण्ड धनुषा’ भन्ने अध्ययनले ८१ दशमलव ६५ प्रतिशत महिलाले श्रीमान् विदेश गएपछि हिंसा व्यहोर्नु परेको देखाएको छ । त्यस्तै महिलाहरुलाई सामाजिक जमघटमा सहभागी हुन बन्देज गरिने तथा आउजाउमा अङ्कुश लाग्ने कुरा पनि अध्ययनमा देखिएको छ । 

तर समाजमा महिलाले आम रूपमा भोग्नुपरेको समस्यालाई भन्दा, महिलाको नकारात्मक छवि निर्माण प्राथमिकतामा पर्ने भएकाले महिला अनावश्यक रूपमा लाञ्छित गरिएका छन् । त्यस्ता लाञ्छना महिलाको चरित्रलाई लिएर लगाइन्छन् । 

श्रीमानको पैसाको दुरुपयोग गरेको, परपुरुषसँग सम्बन्ध बनाएको, अर्को विवाह गरेको जस्ता आरोप धेरै महिलाले खेपेका छन् । तर बेलाबखत भएका अध्ययनले वैदेशिक रोजगारीमा जाने महिलाका श्रीमान्ले अर्को बिहे गर्ने गरेको देखाएको छ ।

सन् २०१५ मा सामीले नेपालका नौ जिल्ला (खोटाङ, सर्लाही, रामेछाप, कैलाली, नवलपरासी, धादिङ, धनुषा, सप्तरी र सुनसरी) मा ८ हजार ९ सय ३३ घरधुरीमा गरेको एक सर्वेक्षण अनुसार, वैदेशिक रोजगारीमा जाने महिलाका स्वदेश बस्ने श्रीमानमध्ये ३८ प्रतिशतले दोस्रो विवाह गरेको पाइयो । वैदेशिक रोजगारीमा जाने पुरुषका नेपाल बस्ने श्रीमतीले दोस्रो विवाह गरेका घटना नगण्य थिए । 

एक महिलाले अनावश्यक व्यहोर्नु परेको लाञ्छना तथा विभेदले बालबच्चा, सिङ्गो परिवार र समाजलाई नै असर गर्छ । 

यस्ता अध्ययनको उद्देश्य भनेको वैदेशिक रोजगारीले समाजमा जन्माएका अनेक भ्रमको पर्दाफास गर्नु नै हुन्छ । त्यसकै लागि अहिले नेपालमा सामीको तेस्रो चरण चलिरहेको छ ।

स्विस सरकार र नेपाल सरकारको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र ३९ जिल्लाका एक सय ५६ पालिकाको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सामी परियोजना सञ्चालित छ । 

सामीको उद्देश्य भनेको आफ्ना विभिन्न पाँच मुख्य कार्य क्षेत्रमध्ये, वैदेशिक रोजगारीका कारण समाजले चुकाउनु परेको सामाजिक लागतलाई कम गर्नु हो । सामीले यसलाई वैदेशिक रोजगारीसँग जोडिएको अन्तर सम्बन्धित मुद्दाको रूपमा लिएको छ । 

एक महिलाले अनावश्यक व्यहोर्नु परेको लाञ्छना तथा विभेदले बालबच्चा, सिङ्गो परिवार र समाजलाई नै असर गर्छ । 

‘दि सोसियल इम्लिकेसन्स अफ माइग्रेसन अन विमन एण्ड चिल्ड्रेन इन सर्लाही, सप्तरी एण्ड धनुषा’ कै निचोडले भन्छ, ‘श्रीमान् वैदेशिक रोजगारीमा गइसकेपछि महिलाले भोग्नुपर्ने पूर्वाग्रही धारणाले महिलाको मानसिक स्वास्थ्यमा असर गर्छ ।’

भोजपुरकी ३७ वर्षीय आशा (नाम परिवर्तन)ले पनि यस्तै मानसिक समस्या भोग्नुपर्‍यो । श्रीमानले वैदेशिक रोजगारीबाट पठाएको पैसाले उनले श्रीमान् विदेश जाँदा लिएको ऋण चुक्ता गर्दै घर पनि बनाउँदै थिइन् । बच्चाको पढाइ अनि रेखदेख पनि राम्रै चल्दै थियो ।

स्वदेशमा बस्ने परदेशीका परिवारका सदस्यहरूको योगदानको कदर गरौँ । आजैदेखि सामाजिक लाञ्छना विरुद्ध आवाज उठाऔँ ।

फेरिएको जिम्मेवारीसँगै सामाजिक अन्तरक्रिया र सक्रियता बढ्नु स्वाभाविक नै हो । तर घरपरिवार र श्रीमान् समेतले आशालाई विभिन्न आरोप लगाउन थाले ।

यसले बिस्तारै आशालाई मानसिक रूपमा कमजोर बनायो । बिस्तारै उनी मानसिक रोगको सिकार भइन् । श्रीमानले विदेशबाट आएर अर्कैसँग बिहे गरे । सामीको मनोसामाजिक परामर्श पाएर अहिले आशाको स्वास्थ्य ठिक भएको छ । उनले आफ्नो व्यवसाय सुरु गरेर छोराका साथ खुसी जीवन बिताइरहेकी छन् । 

तर आशाले जस्तै अप्ठ्यारोमा सहयोगी सेवा सबैले पाउँछन् भन्ने छैन । सबैले उत्तिकै आँट र हिम्मत गर्न सक्छन् भन्ने पनि छैन । केही नगण्य घटनालाई आधार बनाएर आप्रवासी कामदार र तिनका परिवारलाई लाञ्छित गर्ने घटनाहरूलाई नजरअन्दाज गरिनु हुँदैन ।

नकारात्मक प्रभाव पार्ने यस्ता कुराले सुनौलो भविष्यको कामनामा विदेशिएका लाखौँ युवाहरूको मानसिकतालाई समेत कमजोर बनाउँछ । त्यसैले स्वदेशमा बस्ने परदेशीका परिवारका सदस्यहरूको योगदानको कदर गरौँ । आजैदेखि सामाजिक लाञ्छना विरुद्ध आवाज उठाऔँ ।

अन्तिम अपडेट: जेठ ७, २०७८

संगीता रिजाल

संगीता रिजाल सुरक्षित आप्रवासन परियोजना सामीको सूचना तथा ज्ञान व्यवस्थापन अधिकृत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया