व्यङ्ग्य : पठाओ, ठटाओ, सताओ !

 चैत १४, २०७७ शनिबार ९:४७:५५ | मिलन तिमिल्सिना
unn.prixa.net

सिंहदरबारको दरबार सहरमै छुटेर गाउँमा सिंह मात्रै पसेपछि चितबहादुरलाई एकपटक दरबार हेर्ने रहर लाग्यो । दरबारमा बस्नेहरुको घरबार देख्ने हुटहुटी जाग्यो । सहरको घरबार र दरबार हेर्ने रहरमा घरबाट झोला र पोका पन्तुरा कसेर बाटो लागे । 

निस्कने बेलामा छोराले मास्क लगाएर जानुपर्छ भनेकाले अब काम लाग्दैन भनेर फालिसकेको मास्क बल्लतल्ल फेला पारेर नाकमुख छोपे । घरभन्दा तल दोबाटोबाट बस चढे । बस चढ्दा थाहा भयो मास्क लगाउने फेसन त हटिसकेछ । सहरमा पुगेपछि काम लाग्ला भनेर चितबहादुरले मास्क फुकालेर गोजीमा हाले र झ्यालपट्टिको सिटमा बसे ।

हेर्दाहेर्दै सिंह र दरबार सराबरी भएको सहरमा पुगियो । अग्ला घर, गाडी र मान्छेको भीड । गाउँमा र बसमा मास्क लगाउने नभए पनि काठमाण्डौका केही मान्छेले चाहिँ मास्क लगाउन छाडेका रहेनछन् ।

चितबहादुरले गोजीमा राखेको मास्क तन्याकतुनुक पारेर मुखमा भिरे र बसबाट ओर्लिए ।

बसबाट झर्न नपाउँदै स्वागत गर्नेको ताँती देखेर एकछिन त उनी अलमलमा परे ।

‘ए दाइ कहाँसम्म जाने हो ? ल आउनुहोस् यता’ एकजना ट्याक्सी चालकले झोला ताने ।

‘मेरोमा आउनुहोस्, म घरमै पुर्याइदिन्छु’ अर्कोले हात समाते ।

‘हैन हैन यसमा आउनुहोस्, घरभित्रै कोठामै लगिदिन्छु’ अर्कोले जुरुक्कै उचाले ।

‘ओहो सहरमा बस्ने मान्छे स्वार्थी हुन्छन्, अरुको वास्ता गर्दैन भन्थे । यिनीहरु त मेरो स्वागतका लागि तँछाडमछाड गर्दैछन् । सबैले मै पुर्याइदिन्छु भनेर जिद्दी गर्दैछन् । कसकोमा जाने, कसकोमा नजाने । यसकोमा जाँदा उ रिसाउला । उसकोमा जाँदा यो रिसाउला’ ट्याक्सीवालाको स्वागत सत्कारले चितबहादुर चित परे ।

कसको ट्याक्सी चढेर जाने भनेर अलमल भैरहेको बेला चितबहादुरलाई छोराको फोन आयो ।

‘हेलो बा कहाँ आइपुग्नुभयो त ?’

‘हेलो...हेलो.....ए छोरा हो ? कलंकी आइपुगेँ बाबु । यहाँ ट्याक्सीवाला भाइहरुले पुर्याइदिन्छु भनेका छन् । एउटाले झोला राख्यो । अर्कोले टोपी राख्यो । अर्कोले मलाई बोकिरहेको छ । कसको साथमा आउँ भनेर अलमलमा पो छु त बाबु ।’

‘हैट बा कहाँ ट्याक्सी चढेको त ? ट्याक्सीले त धेरै पैसा ठटाउँछ । पठाओमा आउनु पठाओमा ।’

‘हैन के भन्छ यो ? कस्तो पठाओ ? आउन पाएको छैन, कता पठाउने कुरा गरेको ? पठाउने हैन, बोलाउने लेराउने कुरा गर न ।’

‘हैट सुड्डो पनि कस्तो कुरा गरेको ? पठाओ भनेको मोटरसाइकलमा क्या ।’

‘अनि तेरो पनि भटभटे छ भन्या हैन । त्यही लेराइज न त ।’

‘म त भ्याउँदिन क्या । अर्को मोटरसाइकल आउँछ त्यहाँ । मैले पठाओ बुक गरिसकेको छु । त्यहीँ बस्नुस् । अहिले आइपुग्छ ।’

‘खै के हो के ? हामीलाई गाउँमा खेत जोत्ने हलो हराएर ट्र्याक्टरमा आएकोसम्म थाहा छ, अब यहाँ सहरमा के जाति पठाओ र सठाओ पनि आइसकेछ । के हो यो पठाओ भनेको फेरि ? अरुले ओलीलाई सरकारबाट पठाउन सकेका छैनन्, ओलीले नेपालहरुलाई पार्टीबाट पठाउन सकेका छैनन् । मलाई पठाउने पठाओ चाहिँ कहाँबाट आउँछ खै ?’ चितबहादुर ट्याक्सी भित्रबाट झोला झिक्न खोजे ।

‘ए बाजे किन झोला झिकेको ? झोला राखेपछि त अब यसमै जानुपर्छ, बस्नुहोस्’ ट्याक्सीवालाले लम्कीझम्की गरे ।

‘हैन बाबु तपाईंलाई के को दुःख, छोराले पठाओ हो कि क्या हो पठाएको छ रे । त्यसमै आउनु भनेको छ’ चितबहादुरले वास्तविकता बताए ।

‘पठाओ त आएको आयै हो बाजे । पठाओ त अघि नै ठटाओ भइसक्यो । अरुलाई पनि ठटाउने हो, खै को आउँदो रहेछ हेरौं ?’ अर्को ट्याक्सीवाला जङ्गिए ।

‘हैन किन ठटाउने र बाबु । यहाँ बाबुहरुको राज चल्छ कि क्या हो ?’ चितबहादुरले सोधे ।

‘हो नि त यहाँ त हाम्रै राज चल्छ । हामीले जे भन्यो त्यही हुन्छ’ अघिदेखि हात समातेर बसेको अर्को ट्यासीवाला कड्किए ।

‘हामी यात्रुले जे मा चढ्न मन लाग्यो त्यसमै चढ्न पाउनुपर्ने होइन र ?’ चितबहादुरले नम्र हुँदै भने ।

‘होइन, हाम्रैमा चढ्नुपर्छ ।’

‘बाबुहरुको ट्याक्सीमै चढ्नुपर्ने चाहिँ किन नि ?’

‘हामीले कमाउन ।’

‘बाबुहरुलाई हामीले नै कमाइदिनेपर्ने ?’

‘हो नि त । नत्र कसले कमाइदिने त ? हामी आफू चढेर कमाइन्न । तपाईंहरु चढ्ने त हो नि ।’

‘ट्याक्सी चढ्दा त महंगो पर्छ, कोही मिटरमा जान मान्दैनन्, लाग्नेभन्दा बढी भाडा माग्छन्, ठग्छन्, अनि हामीले सबै सहनुपर्ने ? पैसा तिर्न नसकेपछि के गर्ने ?’

‘पैसा तिर्न नसके हिँडेर जाने ।’

‘हिँडेर जानुभन्दा त अलि कम पैसा तिरेर त्यो भटभटेमा जान्छु नि ?’

‘हुन्न, त्यसमा त चढ्नै पाईँदैन ।’

‘यो कुरो त अलि हजम भएन नि बाबु ।’

‘हजम नभए कुटाइ खाने । हामी त पठाओलाई नि ठटाओ, उस्तै परे यात्रुलाई पनि ठटाओ हो ।’

‘अनि पैसा नि ?’

‘पैसा पनि ठटाओ । पठाओलाई पनि ठटाओ । यात्रुलाई पनि ठटाओ । आफू मात्रै कमाओ । अरुलाई सताओ ।’

ट्याक्सीवालाहरु हाँस्न थाले । चितबहादुर झोला र पोकापन्तुरा बोकेर चित पर्दै आफ्नो बाटो लागे ।

अन्तिम अपडेट: बैशाख २३, २०७८

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

2 Comments

  • Rajendra Poudel

    March 29, 2021, 9:29 a.m.

    Anarchy of taxis should be punished hard!

  •  0 Reply
  • Ram Chandra Timalsina

    March 27, 2021, 10:15 a.m.

    यात्रुहरुलाइ यातायात का धेरै सुबिधा हुनु भनेको एउटा बिकसित मुलुक हरुको अभ्यास हो।हुन त बाटो घाटो सार्बजनिक स्थल शौचालय हरुले अझै पनि बिश्व कै गरिब देशको ऐना देखाइदिन्छ।फेरि पनि ठुलो जनघनत्व भएको शहरमा यसरी यात्रुहरुको लागि यातायातका धेरै बिकल्प राम्रो कुरा हो।अब सरकार ले पठाओ लाई राजस्व को दायरा भित्र समेटी सुरक्षीत र भरपर्दो एउटा मापदण्ड बनाएर सन्चालन मा ल्याउनु जरुरी छ।यसरी सडक का चालक मनपरी ढङ्गले लडाइ झगडा गर्नु भनेको सरकार सानो भन्दा पनि सानो असफल भएको भनेर बुझ्न सकिन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया