'वायु प्रदूषण कम हुन आकाशबाट हेर्दा कङ्क्रिट होइन रुखबिरुवा देखिनुपर्छ'

 चैत १५, २०७७ आइतबार १३:३९:५६ | डा. ऋषिराम शर्मा
unn.prixa.net

प्रि-मनसुनको समयमा पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ भएका धुलो, धुवाँ र फोहरका कणहरू हावाको माध्यमबाट नेपाल भित्रिन्छ ।

बाह्य कारणले मात्र होइन, आन्तरिक कारणले पनि यो समयमा प्रदूषणको मात्रा धेरै हुने गरेको छ । नेपालका धेरै ठाउँका जङ्गलमा अहिले डढेलो लागेको छ । लामो समयदेखि पानी परेको छैन, हावा राम्ररी चलेको छैन । 

गएको शुक्रवार काठमाण्डौ उपत्यकाभित्र र बाहिर दुवैतर्फको फोहर काठमाण्डौ भित्रिएकाले प्रदूषण बढेको हो । अहिलेको समयमा बिहान सूर्यको प्रकाश सतहमा पर्छ । जसका कारण जमिन तात्छ अनि तातो हावा माथि जान्छ । वरिपरि तातो हावा बहन्छ अनि यहाँको प्रदूषण बाहिरिन्छ ।

गएको शुक्रवार जमिनमा तातेको हावा माथि जान नपाएकाले वायुमण्डलको तल्लो तहमै सीमित रह्यो । काठमाण्डौ वरिपरिका जिल्लामा डढेलो पनि लागेकाले हावाले धुवाँ पनि भित्र ल्याइदियो । कचौरा आकारको उपत्यकाको प्रदूषण बाहिर जान नपाएकाले मौसम धुम्मिँदा प्रदूषण बढेको हो । 

परिवर्तन गर्न नसकिने भूगोल

हामीले सबैकुरा परिवर्तन गर्न सक्छौँ तर हाम्रो भूगोल परिवर्तन गर्न सक्दैनौँ । डाँडाकाँडा र उपत्यका परिवर्तन गर्न सम्भव हुँदैन । अहिलेमात्र होइन फेरि पनि प्रदूषण बढ्न सक्छ । जनसङ्ख्या र उद्योग कलकारखाना बढेको बढ्यै छन् । अहिले नै सचेत भएर यी कुरालाई नियन्त्रण गरेनौँ भनेपछि पनि यस्ता घटना बारम्बार दोहोरिरहन सक्छन् ।

प्रदूषण भित्रिनुमा हावा कताबाट आयो भन्ने कुरा महत्त्वपूर्ण रहेको हुन्छ । अग्ला हिमालहरू भएकाले उत्तरतर्फबाट पर्ने वायुको प्रभाव कम नै हुन्छ । समथर भ–ूभाग भएकाले दक्षिण, धेरै अग्ला भू-भाग नभएकाले पूर्व र पश्चिमबाट भने हावाको गतिसँगै प्रदूषण आउने सम्भावना धेरै हुन्छ । 

भारतको थार तथा मध्यपूर्वका मरुभूमिमा भएका धुलाका कणहरूलाई पनि हावाले नेपाल भित्र्याउने भएकाले नेपालमा कहिलेकाहीँ वर्षासमेत हुने गरेको पाइन्छ । भारतलगायतका पाकिस्तान र मध्यपूर्वबाट पनि नेपालतर्फ हावा बहने गरेको छ ।  हावा नेपाल आउँदा छानिएर सफा मात्रै आउँदैन प्रदूषणलाई पनि आफूसँगै लिएर आउँछ । यसले गर्दा स्वाभाविक रूपमा यहाँको हावा प्रदूषित हुन्छ । 

काठमाण्डौमा वायु प्रदूषण उच्च 

काठमाण्डौमा वायु प्रदूषण उच्च हुनुको मुख्य कारण राजधानी सहर भएर हो । राजधानी भएपछि स्वाभाविक रूपमा जनसङ्ख्याको चाप धेरै हुन्छ । उद्योग कलकारखानाहरू पनि धेरै नै हुने भए । त्यसले गर्दा पनि काठमाण्डौमा वायु प्रदूषण उच्च हुने गरेको छ ।

काठमाण्डौमा, वायु प्रदूषण घटाउनका लागि साना–साना प्रयासको थालनी गर्नुपर्छ । घरमा उत्पादन हुने फोहरलाई कुहिने र नकुहिने गरी दुई तरिकाले बाँडेर व्यवस्थापन गर्नुपर्छ तर जलाउनु हुँदैन ।

चैतको महिनामा गहुँलगायतका अन्नबाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जलाउने चलन छ । वायु प्रदूषणको हिसाबले यो नराम्रो परिपाटी हो । कतिपय कुरा हामीले जानेर वा नजानेर पनि वायु प्रदूषण गराइरहेका हुन्छौँ । 

भएका कलकारखानालाई वर्गीकरण गर्ने, प्रदूषण गर्ने कलकारखानालाई काठमाण्डौबाट बाहिर सार्नुपर्छ । केही वर्ष अगाडि हिमाल सिमेन्ट कारखानाले धेरै प्रदूषण गरायो भनेर काठमाण्डौबाट बाहिर सारिएको थियो । व्यक्तिगतसँगै राष्ट्रियस्तरमा नीति निर्माण गर्नुपर्छ । वर्षमा एक/दुई पटकमात्र होइन, यस्ता खालका घटना पटक–पटक दोहोरिरहन सक्छन् । 

दशौँ लाख गाडी अहिले पनि काठमाण्डौमा चल्छन् तर त्यसले फाल्ने धुवाँलाई मापन गरेका छैनौँ । मापदण्डभन्दा बाहिर भएका गाडी पनि चलेका पाइन्छन् । अहिले पनि कुनै उद्योग, कलकारखाना खोल्न चाहेमा अवरोध हुँदैन । राजस्व आउला, रोजगारी सिर्जना होला भनेर पनि त्यसलाई हामी बढावा दिन्छौँ ।  माथिबाट हेर्दा काठमाण्डौमा कङ्क्रिट होइन, रुखबिरुवा देखिनुपर्छ । 

योभन्दा अगाडि जे भयो त्यसलाई व्यवस्थापन गरेर अगाडि बढ्नुको विकल्प छैन तर अब भने प्रदूषण बढाउने कुनै पनि कुरालाई स्वीकृत गराउनु हुँदैन । जग्गा प्लटिङ गर्ने बढ्दो क्रमलाई निरुत्साहित गर्नुपर्छ।

घर बनाउनका लागि प्लटिङ गर्नु स्वाभाविक हो तर किनबेचका लागि प्लटिङ गर्नु राम्रो होइन । हाम्रो नीति निर्माणले अबको २०/२५ वर्षपछिको वातावरण स्वच्छ र सफा बन्न सहयोग पुगोस् । यहाँको वायु बिस्तारै सुधार हुन सकोस् भन्ने हो । तर अहिलेको अवस्थालाई हेर्दा यस्तो हुने छाँट देखिँदैन, भएका रुखबिरुवा मासिएका छन्, बिरुवा रोप्ने योजना छैन ।
 
कार्यक्रम र रणनीति उत्कृष्ट हुन आवश्यक 

हाम्रो  प्रदूषण कम गराउने कार्यक्रम र रणनीति उत्कृष्ट हुन आवश्यक छ तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन । उद्योग मन्त्रालयको काम बढीभन्दा बढी उद्योगलाई लाइसेन्स दिने हुन्छ । यातायात मन्त्रालयले नयाँ गाडी आयो भने ट्याक्स बढ्छ भन्ने सोच्छ । अर्को निकायमा गयो उसले त्यही मात्र हेर्छ तर दीर्घकालीन सोच बनाएर कुनै पनि निकाय अगाडि बढ्न सकेको छैन ।

यस्तो विकराल अवस्था आइसक्दा पनि काठमाण्डौ वरिपरिका ठाउँलाई पनि हामीले सहरकै रूपमा विकास गर्न खोजिरहेका छौँ । आज जे घटना घट्यो, त्यसलाई मात्र समाधान गर्ने हिसाबले हामी तदर्थवादमा हिँडिरहेका छौँ । आजको समस्या समाधान गर्न लागिपरेका छौँ तर भोलि समस्या नआओस् भनेर कुनै पहल गर्न सकेका छैनौँ ।

वायु प्रदूषण बढेको छ, घरबाट बाहिर ननिस्कौँ भनिएको हुन्छ, सधैँ बाहिर ननिस्किएर सम्भव हुँदैन । कोरोनाका कारण लामो समय लकडाउन भएर जीवन केही हदसम्म चलायमान भएको अहिलेको अवस्थामा घरमै बस्न सम्भव पनि हुँदैन, व्यावहारिक पनि हुँदैन । 

धेरै काम घरबाहिर नै हुन्छ । काम नै छैन भने यत्तिकै बाहिर नजानु राम्रै कुरा हो तर काम छ भने बाहिर नजानुको विकल्प केही पनि हुँदैन । समस्या सबैले देख्नुपर्छ । यो देशको समस्यालाई हामी कसरी पछिसम्म समाधान गर्ने भनेर अगाडि बढ्नुपर्छ तर यो सोचलाई दीर्घकालसम्म अगाडि बढाउने संयन्त्र अहिलेसम्म पनि नेपालमा बनिसकेको छैन । अनेक विभाग छन्, मन्त्रालय पनि छन् तर एउटा विभाग र अर्को विभाग तथा एउटा मन्त्रालय र अर्को मन्त्रालयबीच समन्वय हुँदैन । 

वातावरण तथा जलवायु सुधार्ने कुरा हाम्रो सोचभन्दा टाढाको कुरा हो । विभिन्न खालका सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ, सहमति भएका छन्, त्यसलाई लागू गर्ने काम हाम्रो नै हो । अतिकम विकसित देश भएकाले विश्वले पनि नेपाललाई केही छुट दिएको छ । छुट दिनुको अर्थ हामीले वातावरणको मुद्दामा केही नगरि चुपचाप बस्ने, प्रदूषणमा नै बस्ने भन्ने होइन । 

नीति र कार्यक्रमलाई दिगो विकासको हिसाबले हेरिनुपर्छ । तत्कालका लागि फाइदाभन्दा पनि दीर्घकालीन फाइदालाई हेरेर अगाडि बढ्नुपर्ने हुन्छ, जसले गर्दा हाम्रो देश बसोबासयोग्य होस् । सकिन्छ भने जमिनमुनि चल्ने मेट्रो रेललगायततर्फ सोच्ने हो कि ?

विद्युतीय र सौर्य शक्तिको प्रयोगमा जोड 

साना टुक्राटुक्री योजनालाई हेरेर हामी कार्यक्रम बनाउँछौँ । समग्र अवस्थालाई हेरेर कार्यक्रम बनाउन सकेका छैनौँ । बाध्यता पनि त्यस्तै खालका छन् । तर त्यसलाई व्यवस्थित तरिकाले काठमाण्डौ भ्यालीभित्र मात्र होइन, भ्याली बाहिर लगेर खोल्न सकिन्छ । 

कुन महिनामा हावाको प्रवाह कतातर्फ हुन्छ भन्ने कुरालाई ध्यान दिएर हामी ठाउँको छनोट गर्न सक्छौँ । टाढा भए पनि मानिसलाई आउजाउका लागि सहज भयो भने विकासका काम गर्न सक्छौँ । यो हामी आफैँले हेर्नुपर्ने कुरा हो, हामीले विकास पनि गर्नुपर्ने छ । 

हामीले वातावरण बिगारेर विकास गर्नुहुँदैन, कार्यक्रमहरू विचार गरेर ल्याउनुपर्ने हुन्छ । यस्ता कुरामा सावधानी अपनाएमा क्रमशः वायु प्रदूषण घट्न सक्छ । तर यस्ता कुरालाई ध्यान दिएनौँ भने काठमाण्डौ उपत्यका बस्नलायक हुँदैन । 

विकास दीर्घकालीन हुनुपर्छ । रुख काट्दै नकाट्ने भनेको होइन, काट्नुपर्छ तर रुख काट्दा पनि मापदण्डको पालना गर्नुपर्छ । विकास आयोजनाका लागि एउटा रुख काटिएको छ भने त्यसमा २५ वटा रुख रोप्नुपर्ने हुन्छ । औपचारिकताका लागि रोप्ने होइन, फोटो खिच्नका लागि पनि होइन, रुख रोपेपछि त्यसको स्याहार सुसार गर्नुपर्छ, हुर्काउनुपर्छ । यी खालका कुरालाई कडाइका साथ लागू गर्नुपर्छ । 

यसो गर्न सकेमा विकास पनि हुन्छ भने त्यसले विनाशलाई पनि रोक्न सहयोग पुर्‍याउँछ । डिजल, पेट्रोललगायतका इन्धनलाई कमभन्दा कम प्रयोग गर्नुपर्छ । बिजुली र सौर्य शक्तिलाई बढीभन्दा बढी प्रयोगमा जोड दिनु महत्त्वपूर्ण हुन्छ ।

हामी अधिकार मात्र माग्छौँ । अधिकारका लागि लड्छौँ, भिड्छौँ तर मैले के गर्नुपर्छ भन्ने कुरा भने हामी बिर्सिन्छौँ । कर्तव्य चाहिँ मैले होइन राज्यले गर्ने हो भन्ने मात्र सोच्छौँ । उदाहरणका लागि एउटा राजनीतिक मान्छे– उसले पनि बिजुलीको बिल तिर्नुपर्ला, टेलिफोनको पैसा तिर्नुपर्ला । उनीहरू कहिल्यै पनि गएर लाइन बसेको देखिँदैन, हामी आफैँ पनि कर्तव्यबाट विमुख भएका छौँ । अधिकार भनेको अहिले लिने हो भन्ने हाम्रो सोच रहेको छ । 

नियम मिचेमा आफू बहादुर हुने, ठूलो हुने, मैले लाइन नबसी काम पूरा गरे, त्यहाँ मेरा मान्छे भएकाले काम फत्ते गरेँ भन्ने हाम्रो संस्कार छ । कर्तव्य पालना गर्नबाट हामी चुकेका छौँ तर वातावरण संरक्षण गर्न हाम्रो ठूलो दायित्व हुन्छ । 

घरबाट निस्कने फोहरलाई घरमै विसर्जन गर्नुपर्छ । प्रदूषणजन्य फोहरलाई सही ठाउँमा लगेर विसर्जन गर्ने गर्नुपर्छ । घरमा सम्भव भएसम्म ब्याट्रिबाट चल्ने गाडीको प्रयोग गर्नुपर्छ । आमनागरिकले आफ्नो घरको फोहर विसर्जन आफैँ गर्नुपर्छ । फोहर जलाउने काम पूर्णरूपमा बन्द गर्ने, स्वच्छ हावासँग सम्बन्धी इनर्जीको प्रयोग गर्ने, इन्डक्शन चुलोको प्रयोगमा जोड दिनुपर्छ ।  

हाम्रै देशमा प्रयोग हुने ऊर्जाको प्रयोग गर्ने, यसो गर्न सके बाहिर जान सक्ने ठूलो रकम यही खपत हुन्छ । आफ्नो घर वरपरको सरसफाइ गर्ने, बाटोघाटो सफा गर्ने काम पनि हामी आफैँले गर्नुपर्छ । 

एक पटक, दुई पटक वा तीन पटक होइन, सयौँ पटक सोच र हाम्रा गतिविधि अगाडि बढाउनुपर्ने हुन्छ । विज्ञलगायत सबै पक्षको स्वीकृति लिएर मात्र काम गर्नका लागि अनुमति दिनुपर्छ । खुला ठाउँको व्यवस्थापनतर्फ लाग्नुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हरियाली बढाउने हो । 

(जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वातावरणविद् डा. ऋषिराम शर्मासँग राधा ढुङ्गानाले गर्नुभएको कुराकानीमा आधारित ।)  

अन्तिम अपडेट: जेठ १२, २०७८

डा. ऋषिराम शर्मा

डा. ऋषिराम शर्मा जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वातावरणविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया