‘मानिसलाई मानिसले नै ‘डिप्रेसन’मा पुर्‍याउँदा रहेछन्’

 चैत २०, २०७७ शुक्रबार १२:२२:५८ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

म एकदमै बलियो मानिस हो । मैले सानो उमेरदेखि नै जागिर गरेर आफू पढ्ने, घरव्यवहार सम्हाल्नेदेखि भाइबहिनी पढाउने पनि गरेँ । तर जतिसुकै बलियो मानिसलाई पनि कमजोर हुन समय नलाग्ने रहेछ । 

दुई चार महिनाको तनावले मेरो जीवनको गति कहाँबाट कहाँ पुग्यो । लगभग एक वर्ष जस्तो त समय वर्वाद भयो । त्यो बेलाको जस्तो अवस्था अहिलेसम्म रहेको भए त मेरो जिन्दगी बरबाद नै भएको थियो । तर मानिस सही हुनपर्दो रहेछ । समयले नै सबै कुरा सही बनाउन सहयोग गर्दो रहेछ जुन म आफैंले अनुभव गरेको छु ।

म घरको जेठी छोरी हुँ । आठ कक्षा पढ्दादेखि नै आफ्नो बुवाको दुःख र घरको समस्या देखेर काम गर्थेंं ।  एसएलसी दिएपछि जागिर गरेर नै आफूले आफूलाई पाल्दै अघि बढेँ । मलाई बाल्यकालको सुखसयल भनेको के हो भोग्ने अवसर नै मिलेन ।  बाल्यकालको हाँसखेल, साथीसँगको घुमाघाम मैले केही पनि अनुभव गर्न पाइनँ । मेरो काँधमा मेरो र परिवारको जिम्मेवारी थियो । त्यो मैले आफ्नो क्षमताले भ्याएसम्म पूरा गरेँ । 

मैले १२ कक्षाकाे पढाइ सकेपछि मेरो बिहे भयो । बिहे भएपछि केही समय त घरपरिवार सबैतिर राम्रोसँग नै चल्यो । तर बिहेको केही समयपछि विस्तारै मलाई डिप्रेसनको समस्या हुन थाल्यो । हाम्रो नेपालमा पढेर पनि जागिर नपाउने अवस्था छ । मैले त झन आफैंले कमाएर घर परिवार हेरिरहेको थिएँ । तर बिहेपछि घरव्यवहार र परिवार सँगसँगै बढाउ अप्ठेरो भयो । श्रीमानको साथ त पाएँ तर काम गर्न परिवारको साथ पाइनँ ।

परिवारले जागिर गर्छे, काम गरेर घर परिवार हेरिरहेकी छ भनेर साथ र सहयोग गरेन । परिवारको साथ नहुँदा मलाई काम गर्दै घर चलाउन गाह्रो भयो । श्रीमान् पनि टाढा हुनुहुन्थ्यो । नयाँ ठाउँमा धेरै कुरामा थाहा पनि नहुने । तर स–सना कुरामा परिवारले तनाव दिन थाले । म चाहिँ सामान्य पनि अति सामान्य परिवारको छोरी हुँ । पढाइ पनि थोरै । तर श्रीमानले राम्रो विषय पढ्नुभएको थियो । मलाई त्यही कुरामा पनि घरमा होच्याउने व्यवहार हुन थाल्यो ।

बिहान, दिउँसो र साँझ सधैँ कम पढेकी केटी भनेर सुन्नु पर्ने । तर विस्तारै त्यो पनि सामान्य नै लाग्न थालेको थियो । जसोतसो चित्त बुझाइरहेकी थिएँ । १२ कक्षा मात्र उत्तिर्ण गरेको मानिसले कति कमाउन सक्छु १७/१८ हजार त हो । त्यो पनि मैले त पहिलेदेखि नै मेहनत गर्दै आएकाले मात्र हो ।

घरमा त्यो कुरा पनि नबुझ्ने । फलानोले त यति कमाउँछ भनेर तनाब दिने । कामबाट घरमा जति ढिलो गए पनि खाना बनाएर खुवाउनु पर्ने ।

हाम्रो पश्चिमेली समाजमा त बुहारी भनेपछि उसलाई बुहारीको रुपमा मात्र हेरिन्छ । यो कुरा बुझिदैन कि ऊ कसैको छोरी हो, उसका पनि इच्छा र चाहना छन् भनेर । बुहारीका लागि सबै नाता बिर्सिन्छन् । यो बुहारी हो, यसले हाम्रो लागि सबै कुरा गर्नुपर्छ भनिन्छ तर यसका लागि हामीले पनि केही गर्नुपर्छ भनेर चाहिँ सोचिदैन । पढेलेखेको मानिसमा त यो सोच छ भने झन् पढलेख नगरेका मानिसमा त कस्तो होला भनेर कल्पनासम्म गर्न सकिँदैन ।

बिहे भएको चार महिनासम्म चाहिँ यी सबै कुरा झेल्दै मैले काम गरेँ । त्यसपछि भने सकिनँ । कामबाट आउँदा ढिलो हुने । मेरो कामको प्रकृति नै त्यस्तै खालको थियो । दिउँसो पार्टटाइम जसरी काममा जान्थें काम सकेर फर्कंदा कहिले त रातको ८ पनि बज्थ्यो । तर ९ बजे नै घर पुग्दा पनि चुलो बलेको हुँदैन थियो । मैले नै गएर खाना बनाउनु पर्थ्याे ।

अझ तनाव के भने अरुको घरमा खाना खाएर सुतिसके हाम्रो घरमा चाहिँ केही छैन भनेर वचन सुन्नु पर्ने । मानिसले मानिसलाई किन यस्तो पशुको जस्तो व्यवहार गर्छन् भनेर म सोच्न नै सक्दिन थिएँ । मानसिक रुपमा दिइने तनाव भनेको यस्तो हो कि तपाईंलाई कसैले दुई झापड कानमा हान्यो भने बिर्सिहालिन्छ पीडा पनि धेरै हुँदैन । तर तपाईंले कसैका लागि आफ्नो ख्याल नगरी काम गर्नुभएको छ र गर्दा गर्दै पनि देखिँदैन भने यति पीडा हुन्छ कि, मानसिक सन्तुलन नै बिग्रने रहेछ । मेलाई पनि त्यस्तै भयो । 

काम र घर व्यवहार सँगसँगै लैजान नसक्ने भएपछि म काम छाडेर बसेँ । त्यसबेला फेरि अर्को तनाव सुरु भयो । त्यो बेरोजगार भएर बस्दाको चार महिना त मैले यति तनाव सहेँ कि, जागिर गर्दाको भन्दा बढी भयो । किनभने आउँने बाटो केही भएन । अनि घरमा बसेर मात्र त खान पुग्दैन । घरमा काम नगरी बस्दा मैले खाएको भन्दा पनि बढी वचनहरु सुन्नु पर्ने । मेरो श्रीमान् पनि टाढा हुनुहुन्थ्यो । एक्लै यी सबै कुरा झेल्दा मलाई त कतिबेला डिप्रेसन भयो पत्तै भएन ।

म बेहाल भएको अवस्थामा थिएँ । त्यही बेला एउटा कामको ‘अफर’ आयो । जस्तो होस् काम गर्छु भनेर काम थालेँ । तर मेरो अवस्था यस्तो थियो कि ती दिनहरु अहिले म सोच्न पनि सक्दिनँ ।

त्यो ठाउँका मानिसले कसरी झेले होलान् जस्तो लाग्छ । त्यो बेला म मानिसका कुरा सुनिरहेकी हुन्थ्यें । तर एकछिनमै बिर्सिन्थे । भन्ने मानिसलाई लाग्थ्यो कि त्यो कुरा मैले सुनिरहेछु । तर मलाई याद नै हुँदैन थियो । मानसिक तनाव भएपछि काम गर्न पनि जाँगर नलाग्ने रहेछ । जतिसुकै क्षमतावान भए पनि सबै क्षमताहरु हराएर जाँदा रहेछन् ।

म यो गर्न सक्दिन, त्यो गर्न सक्दिन जस्तो मात्र लाग्ने । बोल्न डर लाग्ने, कसैसँग आँखामा हेरेर कुरा गर्न डराउने । तर त्यो बेलामा मलाई म डिप्रेसनमा छु भन्ने थाहा नै भएन । खासमा मलाई के भइरहेको छ भनेर थाहा पाउने हालमासमेत म थिइनँ सायद । 

मनोपरामर्शकर्तासँगको त्यो भेट

तर भन्छन् नि जीवनमा सही कर्म गर, गलत नगर । मैले गलत गरेको थिइनँ । मेरो भाग्यले मलाई साथ दियो । एक वर्ष अघि मेरो चिनजानका दाइसँग मेरो भेट भयो । उहाँ मेरो समस्या थाहा पाएर नै मैले काम गर्ने ठाउँमा मलाई भेट्न आउनुभएको रहेछ तर मैले त्यो कुरा याद गरिनँ । 

उहाँ मनोपरामर्शकर्ता हो भन्ने थाहा थियो । तर मलाई नै परामर्श दिइरहनुभएको छ भन्ने नै लागेन । उहाँले मेरा समस्याहरु सोध्नुभयो । मैले पनि भने । उहाँले विभिन्न उपायहरु बताउनुभयो । मलाई सम्झाउनुभयो । उहाँले भनेका कुराहरु मलाई पनि होे जस्तो लाग्न थाल्यो । ती कुराहरु व्यवहारमा लागू गर्दैै गएँ । मेरो दैनिकीमा केही सुधार हुँदै आयो । 

त्यो बेला म यस्तो अवस्थामा थिएँ कि मलाई एकदम डर लाग्ने, केही कुरा गर्न सक्छु भन्ने नै लाग्न छाडेको थिएँ । खाना खान मन नलाग्ने, एक्लै बस्न मन लाग्ने, अलि पछि त यतिसम्म डर लाग्ने कि बत्तीको उज्यालोसँग पनि झर्को लाग्ने हुन थालेको थियो । बत्ती पनि निभाएर, भ्याल ढोका पूर्ण रुपमा बन्द गरेर बस्थें ।

‘म्युजिक’ र होहल्ला भएका ठाउँहरु मन पर्दैन थियाे । सकेसम्म एक्लै बस्न मन लाग्थ्यो । तर परामर्शकर्ता दाइले मलाई सम्झाउन थालेपछि म निद्राबाट बिउँझिएझैं हुन थालेँ । मेरो जीवनमा धेरै कुरा छुटिसकेको थियो ।पढाइ यसै छुटेको थियो । म यो समयमा केही गर्थें हुँला तर समय पछाडि नै छुटिसकेको थियो । तर परामर्शकर्ता दाइले नै सम्झाउनुभयो । आँट दिनुभयो । अरुका सफलताका कथा सुनाउनुभयो । त्यसपछि मलाई पनि आँट आयो । उसले त गर्न सक्छ भने म किन सक्दिन भन्नेर आत्मबल बलियो बनाएँ ।

‘मानिसलाई मानिसले नै ‘डिप्रेसन’मा पुर्‍याउँदा रहेछन्’

मलाई अहिले के लाग्छ भने मानिसको म प्रतिको दृष्टिकोण कहिले पनि बदल्न नसक्ने रहेछु । आफूले आफूलाई चिन्नु पर्ने रहेछ । माया आफूले आफूलाई गर्नु पर्ने हरेछ । म को हुँ र कस्तो छु भनेर कसैलाई भन्न र चिनाउन जरुरी हुने रहेछ । बाँच्ने त मैले मेरा लागि रहेछ । श्रीमान्, सासुससुरा या अरु कोहीका लागि पनि हामी बाँच्ने होइन रहेछ भन्नेकुरा मैले परामर्श लिन थालेपछि नै महसुस गरेँ । 

अहिले लगभग तीनचार महिना भयो । पुरानो कुरा बिर्सेर मेले नयाँ जीवन सुरु गरेको छु । यसमा मलाई कसैले गलाउन र दुखाउन सक्दैन । म बलियो भएकी छु । यदि मलाई कसैले गलाउन र दुखाउन आउँछ भने म त्योसँग लड्न सक्छु भन्ने मेरो आत्मविश्वास फेरि फिर्ता आएको छ ।

म जुन समय डिप्रेसनमा थिएँ त्यो बेला मनोपरामर्शकर्ता दाइसँग भेट नभएको भए, काम गर्ने ठाउँमा राम्रो वातावरण नपाएको भए सायद म त आत्महत्या गर्थेंहुँला । किनकी मसँग अर्को विकल्प नै थिएन । तर आज म एकदमै खुसी छु । किनकी म मेरा लागि बाँचिरहेकी छु । मेरो श्रीमान् परदेशमा हुनुहुन्छ । उहाँलाई पनि राम्रो छ । उहाँले त्यहाँ कमाइ रहनुभएको छ मैले यहाँ कमाइरहेकी छु । हामी दुवै मिलेर सुन्दर भविष्य बनाउन लागिपरेका छौँ । 

मलाई जस्तै तपाईंलाई पनि समस्या छ भने सबैभन्दा पहिला त आफ्नो लागि जिउनुहोस् र अरुको कारणले आफू दुःखी नहुनुहोस् भन्न चाहन्छु । अनि खाली नबस्नुहोस् । जे पाइन्छ काम गर्नुहोस् । तपाईंलाई जे कुरासँग डर लाग्छ त्यो कुराबाट नभाग्नुहोस् भन्न चाहन्छु । जस्तो मानिससँग बोल्न मन लाग्दैन डर लाग्छ भने पनि बोल्नुहोस्, कुरा साटासाट गर्नुहोस् । आफ्नो मनका कुरा अरुलाई भन्दा पनि मन निकै हलुका हुन्छ । दिमागमा धेरै कुरा नराख्नुहोस् र धेरै कुरा सोच्ने बानी त्याग्नुहोस् ।

कुनै बेला बेकार लाग्ने जीवन अहिले सुन्दर लाग्छ । जीवन साँच्चै सुन्दर छ तर त्यसका लागि तपाईं पहिला आफ्नो लागि जिउनुपर्छ । 

अन्तिम अपडेट: जेठ १, २०७८

1 Comments

  • Sunita

    April 6, 2021, 8:58 p.m.

    कथा एकदम राम्रो र मार्मिक लाग्यो / कथा पढ्दै गर्दा कुनै कुनै कुरा मेरै जीवनको वारेमा लेख्नु भएजस्तो लाग्यो र जुन जुन लक्षणहरु यो कथामा भन्नु भा छ त्यो सबैमा आफैमा नि पाएं , के यो डिप्रेसन नै हो त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया