वैदेशिक रोजगारी : ‘मनोसामाजिक परामर्शले भत्केको सम्बन्धलाई पनि सुधार्न सकिन्छ’

 चैत २२, २०७७ आइतबार १४:१६:५८ | डा‍. कपिलदेव उपाध्याय
unn.prixa.net

परिवारमा श्रीमान् श्रीमती छोराछोरी बुवाआमा, सासुससुरा जो जो हुनुहुन्छ, उहाँहरुसँग जति राम्रो सम्बन्ध भयो त्यति नै जीवन सुखी र खुसी हुन्छ । 

घरको मुख्य मान्छे वैदेशिक रोजगारीमा गएपछि परिवारका बाँकी सदस्यहरुबीच जिम्मेवारी बाँडिन्छ । जस्तो, श्रीमती विदेश गइन् भने श्रीमतीले निभाउने परिवारप्रतिको जिम्मेवारी श्रीमानमा आउँछ । श्रीमान विदेश गए श्रीमतीमा । यस्तै बुवाआमा परदेश गएमा छोराछोरीमा जिम्मेवारी बढ्छ । छोराछोरी विदेश गएमा बुवाआमालाई घरपरिवारको जिम्मेवारी थपिन्छ । 

यसरी परिवारमा एक जनाको अनुपस्थितिले परिवारको अर्को सदस्यले ती जिम्मेवारी वहन गर्नुपर्छ । 

परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा गएपछि थपिने जिम्मेवारीसँगै मानसिक बोझ तथा तनाव पनि बढ्छ । पछिल्लो समय वैदेशिक रोजगारीले परिवारको जीवनस्तरमा सुधार ल्याएको छ । राज्यलाई रेमिट्यान्स पनि मिलिरहेको छ । तर बिडम्बना के छ भने वैदेशिक रोजगारीकै कारण कतिका घर भाँडिने, मानिसमा ‘डिप्रेसन’ पैदा हुने र मानसिक चिन्ताको सिकार हुने गरेको पनि पाइन्छ ।

किन हुन्छ यस्तो ?

वैदेशिक रोजगारीमा रहेका सबै व्यक्ति तथा उनीहरुको परिवारलाई मानसिक चिन्ताले पिरोल्छ भन्ने होइन । 

वैदेशिक रोजगारीको अवस्था कस्तो छ भन्ने विषयमा पनि मानसिक रुपमा कति असर पर्छ भन्ने कुरा भर पर्छ । विदेशमा राम्रो काम छ, कमाइ पनि ठिकै छ भने घरको मानिसलाई पनि ढुक्क हुन्छ । विदेशमा काम गर्नेलाई कुनै समस्या छैन भने घरमा चिन्ता कम हुन्छ । तर वैदेशिक रोजगारीमा गएको व्यक्ति विभिन्न समस्यामा छ, भनेको जस्तो काम पाएको छैन, कमाइ पनि धेरै छैन भने व्यक्तिलाई पनि र घर परिवारमा पनि चिन्ता हुन्छ । यस्तै वैदेशिक रोजगारीमा गएको छ, त्यहाँ काम र कमाइ दुवै राम्रो छ तर घरमा समस्या आइलाग्यो, केही घटना भयो भने विदेशमा रहेकोलाई पनि मानसिक रुपमा आघात पुग्न जान्छ । 

सबै कुरा राम्रो छ, बेलाबेला फोन भइराख्छ, घर परिवारको पनि राम्रो 'सपोर्ट' हुन्छ भने केही समस्या पर्दैन । त्यस्तो परिवार राम्रैसँग चल्छ । दुवैतिर राम्रो समझदारी कायम छ भने, परिवारका सदस्यबीचमा जस्तो, सासु–बुहारीबीच, श्रीमान् श्रीमतीबीच आदि शंका छैन, एक अर्काप्रति विश्वास छ भने त्यो परिवारमा पारिवारिक द्वन्द्व हुँदैन ।

अहिले धेरैको समस्या भनेको बिहे गर्ने बित्तिकै वैदेशिक रोजगारीमा जाने र श्रीमान् तथा श्रीमतीबीच असमझदारी निम्तिने गरेका छन् । श्रीमती अरुसँग लागेको भन्ने, श्रीमान्ले विदेशबाट पठाएको पैसा गलत ठाउँमा प्रयोग भएको भन्ने कुरा पनि सुनिन्छ । यस्ता कुराले विभिन्न किसिमका समस्याहरु निम्त्याएको छ । सामान्य रुपमा गाउँमा श्रीमती कसैसँग बोलेको देख्दा पनि आरोप लगाउने गरेको देखिन्छ । यसले गर्दा सामाजिक लाञ्छना जस्ता कुराहरु लाग्ने गरेका हुन्छन् । यस्तै पैसाको कुराले पनि परिवारका सदस्यबीच विभिन्न असन्तुष्टि पैदा गरेको देखिन्छ ।

मनाेविद् डा. कपिलदेव उपाध्याय

यस्तै श्रीमान् विदेश गएका छन् भने श्रीमतीलाई  विभिन्न खाले तनावहरुको सामना गर्नुपर्ने हुन्छ । श्रीमतीलाई एक्लोपना, छोराछोरीको सम्पूर्ण जिम्मेवारी, सासुसँगको झगडा आदि पनि त्यस्ता तनावका कारण हुन सक्छन् । आफ्नो श्रीमानसँगै बस्ने रहर श्रीमतीको पनि हुन्छ तर भर्खरै बिहे गरेर श्रीमानले छोडेर विदेश जाँदा यसको असर श्रीमतीमा पर्छ नै । 

विदेशबाट फोन नआउने, पैसा ससुरालाई पठाउने, श्रीमानले आफ्ना बुवाआमा (सासुससुरा)को कुरा सुनेर श्रीमतीलाई रिसाउने, पैसाको हिसाबकिताब देखा भनेर झर्किने , घर आउँछु भन्ने तर नआउने, काम राम्रो छैन भन्ने गरेकाे पाइन्छ । यस्तै  विदेश जाँदा लागेको ऋण तिर्न नसकेका कुरा, विदेशबाट पठाएको पैसा अरुले सापट लिएर नतिर्ने, छोराछोरीलाई बोर्डिङ पढाउँदा लाग्ने चर्को शुल्क, इन्टरनेटको सुविधा घर वन नजिकै नहुँदा विदेशमा कुरा गर्न कठिन, छोराछोरीले पनि भनेको नमान्ने, घरमा कोही बिरामी पर्दा पैसा धेरै खर्च हुने जस्ता कारणले गर्दा श्रीमतीलाई बढी तनाव हुने गरेको देखिन्छ । यसले गर्दा विभिन्न खालका चिन्ता, रोग, डिप्रेसनको समस्या बढी हुने गरेको पाइन्छ ।

यस्तै विदेशमा काम गर्न गएका पुरुषको हकमा उनीहरुले राम्रोसँग बुझेर नजाँदा राम्रो काम नपर्ने, सीप नसिकेर जाँदा ‘थ्री–डी’ काम (डर्टी, डिफिकल्ट र डेन्जर्स) काम गर्नुपर्ने । त्यसले गर्दा स्वास्थ्यमा नराम्रो असर गर्ने, रोग लाग्ने, अपाङ्ग हुने जस्ता समस्याहरु देखिन्छन् । त्यस्तै विदेशमा उपचार गर्न जाँदा आफ्नो समस्या बताउन नसक्ने हुँदा थप समस्या हुने गरेको देखिन्छ । यी र यस्ता विभिन्न कारण विदेशमा काम गर्न गएका व्यक्तिलाई तनाव हुन्छ । त्यसैले उनीहरुलाई पनि विदेशमै पनि मनोसामाजिक परामर्शको आवश्यकता देखिन्छ ।

मनोसामाजिक परामर्शको आवश्यकता

परिवारमा विचलन नआओस्, पारिवारिक सम्बन्ध बिग्रेर नजाओस् भन्दै तनाव व्यवस्थापन गरेर राख्ने प्रक्रिया नै मनोसामाजिक परामर्श हो ।

पारिवारिक, आर्थिक, सामाजिक, वैदेशिक रोजगारी जस्ता विभिन्न कारणले परिवार तथा समाजमा जुन द्वन्द्व उत्पन्न हुन्छ त्यसलाई निर्मूल पार्नको लागि मनोसामाजिक परामर्शको आवश्यकता पर्छ ।

वैदेशिक रोजगारीको सम्बन्धमा, यसका कारण परिवार तथा व्यक्ति स्वयंलाई हुने तनाव तथा समस्याको समाधानको बाटो पहिल्याउन मनोसामाजिक परामर्शको आवश्यकता पर्छ । मनोसामाजिक परामर्शले भत्केको सम्बन्धलाई पनि सुधार्न सकिन्छ । त्यसको लागि परामर्शकर्ताले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा उनको परिवारलाई तनावबाट मुक्त बनाउन प्रयास गर्छन् ।

मनोसामाजिक परामर्शले परिवारका सदस्यबीचमा भएको असमझदारीलाई पत्ता लगाइ त्यसको समाधानको सुझाव दिन्छन् । यस्तै विभिन्न दुर्घटना तथा अप्रत्यासित घटनाका कारण वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा उनको परिवारमा परेको तनावलाई कसरी कम गर्ने तरिका सिकाउँछन् । साहस थप्ने काम गर्छन् । एक किसिमले भन्ने हो भने मनोसामाजिक परामर्शले विभिन्न कारण मानसिक चिन्ताको सिकार भएका व्यक्तिहरुलाई सामान्य जीवनशैलीमा फर्काउने काम गर्छ ।

यसको लागि विदेशमा गएका व्यक्तिको परिवारसँगै बसेर परिवारको मुख्य समस्याहरु के के हुन्, ध्यान दिएर सुन्नुपर्ने हुन्छ । पूरै ध्यान दिएर पीडितभित्र गुम्सिएको पीडालाई सुन्ने हो ।
राम्रोसँग कुरा नसुने उनीहरुको पीडा बुझ्नै सकिंदैन ।

कतिपयलाई लाग्ला, सबै विदेश जानेहरुको पीडा उस्तै त होला नि । तर प्रत्येक व्यक्तिको परिवारको समस्या फरक हुन्छ । ध्यान दिएर नसुन्ने हो भने परिवारले आफ्ना मुख्य समस्याहरु बताउँदैनन् । त्यस्तै प्रत्येक व्यक्तिका अरुको अगाडि भन्न नमिल्ने समस्याहरु पनि हुन्छन्, त्यो छुट्टाछुट्टै बसेर सुन्नुपर्छ । उनीहरुका समस्याहरु के गर्दा समाधान हुन्छन् भन्ने प्रश्नहरु पनि उनीहरुलाई नै सोध्ने हो । विभिन्न तरिकाहरु उनीहरु नै बताउँछन् । त्यसको लागि के के गर्न सकिन्छ भनेर सम्भावनाबारे छलफल गर्न सकिन्छ । त्यसको लागि समय चाहिन्छ । एक हप्ता चाहिन्छ । एकैदिन सबै छलफल गर्न सकिंदैन । 

मनोसामाजिक परामर्शको महत्व वैदेशिक रोजगारीमा जानुभन्दा पहिले पनि आवश्यक हुन्छ । त्यतिबेला वैदेशिक रोजगारीमा गएपछि यस्तो हुन सक्छ है भनेर राम्रोसँग बुझाउनुपर्छ । त्यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने कुराको पनि शिक्षा दिइनुपर्छ ।

(मनाेविद् डा. कपिलदेव उपाध्यायसँग गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १६, २०७८

डा‍. कपिलदेव उपाध्याय

डा‍. कपिलदेव उपाध्याय मनाेचिकित्सक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया