ओली बाको बाकसको कथा !

 चैत २६, २०७७ बिहिबार १६:४६:४० | शिखा शर्मा
unn.prixa.net

छ/सात वर्षकै उमेरदेखि हामी (म र मेरा दुई बहिनी) दुइटा बाकससित खेल्दै हुर्कियौँ । ती दुवै बाकस हाम्रो घरमा थिए । हामीलाई लाग्थ्यो एउटा बाकस बाबाको हो र अर्को ममाको, अथवा हाम्री आमाको । ममाको बाकसमा लुगा बस्थे र बाबाकोमा कागज किताब ! तर दुवै बाकस ममाको रेखदेख र नियन्त्रणमा थिए । एउटा बाकस अलि ठूलो साइजको थियो र अर्कोको साइज अलि सानो थियो । दुवै बाकस सफा थिए तर दुवै कहीँ न कहीँ कुच्चिएका थिए । त्यसमध्येको सानो बाकसलाई हामीले १५ वर्षअघि बुद्धनगरको डेराबाट सधैँका लागि बिदा गर्‍याैँ जसमा लुगा लत्ता बस्थे । देब्रेपट्टि कुच्चिएको अलि ठूलो बाकस चाहिँ दुई दशक जति हामीसितै डेरामा बसेर सुनाकोठीको घरमा भित्रियो । 

त्यो बाकस कालीमाटीको हाम्रो पहिलो डेरामा कतैबाट आइपुगेको थियो । कालीमाटीपछि हामीसितै त्यो बाकस ताहाचल, गाईबाच्छापाटी, नरदेवी, बिजुली बजार, बुद्धनगरका डेरामा सरिरह्यो । त्यसपछि ६२ सालमा सुनाकोठीको घरमा पुग्यो । सुनाकोठीको घरमा पसेपछि त्यो बाकस पहिले केही महिना पूजा कोठामा बस्यो, बाबाका किताबहरूसित । किताबले र्‍याक भरिन थालेपछि हामी दिदी बहिनीका स्कुले किताब स्टोरमा थन्क्याइए । किताब थन्क्याउँदा त्यो बाकस पनि स्टोरमा सर्‍याे ।  

स्टोरमा सरेपछि त्यो बाकसलाई हामी सबैले बिर्सिसकेका थियौँ तर पाँच/छ वर्षअघि एक दिन बाबाले हामीसित टिनको बाकस छ र ! भनेर ममासित सोध्नु भएछ । त्यसपछि खोजी सुरु भयो । त्यो बाकस हाम्रो घरको स्टोरमा कपडा र कागजका अनेक पत्रले थिचिएर बसेको रहेछ । ममाले भेटेपछि बाकससितका मेरा पुराना सम्झनाहरू एकाएक ताजा भए ।

हामी सानै थियौँ । ममाले हामी तीनै जनालाई बाकस नखोल्नु है भन्नुभएको थियो । म त्यो बाकसमा के छ भनेर सोध्थेँ तर जवाफ ममालाई पनि आउँदैनथ्यो । ममाले खोल्न हुँदैन भनेपछि मलाई बाकस खोलेर हेर्न लागिरहन्थ्यो तर सितिमिति मौका पर्दैनथ्यो । बाबा कामको लागि बिहानैदेखि घर बाहिर निस्कनुहुन्थ्यो । हामी तीन दिदी बहिनी सधैँ ममाको आँखाका राडारमा हुन्थ्यौँ तर ममाको आँखा छल्ने मौका पाउन मलाई गाह्रो भएन । बहिनीहरू सानै भएकाले उनीहरूलाई बाकसमा के छ भन्ने खुलदुली थिएन होला ! तर मलाई बाकसमा के छ भन्ने अति कौतुक थियो । बाकसमा अनेक खालका खेलौना होलान् भन्ने मलाई लाग्थ्यो । 
एक दिन ममाको अनुपस्थितिमा मैले सुटुक्क बाकस खोलेँ तर मेरो अनुमान विपरीत त्यहाँ पत्रपत्रिका, लेखेका कागजका पन्ना र टाइप गरेका कागजपत्र थिए, त्यो पनि ब्ल्याक एण्ड ह्वाइट । पुरानो गोरखापत्रहरू निकालेर मैले गो–र–र–वा– पत्र भन्दै पढेको सम्झँदा अहिले पनि रमाइलो लाग्छ । मेरो लागि त्यो बाकसमा गो–र–र–वा– पत्र मात्र रोचक थियो अरू सबै कागजहरू विरक्तलाग्दा थिए । गो–र–र–वा– पत्र रमाइलो लाग्ने मुख्य कारण त्यसमा ब्ल्याक एण्ड ह्वाइट फोटा पनि थिए । शनिवारको गोरखापत्रमा बेला–बेला बाबाका लेख छापिन्थे, त्यसैले लेखेका कुरा नहराऊन् भनेर गो–र–र–वा– पत्रका पानाहरू त्यो बाकसमा जतन गरेर राखिएको थियो सायद !   

त्यो बाकस अरू बेला खाटमुनि बस्थ्यो तर डेरा सर्दा बहुत काम लाग्थ्यो । बाकसमा कागजहरू मात्रै भएकोले डेरा सर्दा हाम्रा किताब, कापी पनि त्यसैमा खाँदिन्थे । डेरा सरिसकेपछि बाकसमा हालेर ल्याएका किताब कापी मिलाउने जिम्मा हामी तीन दिदी बहिनीको हुन्थ्यो । हामी आफ्नो किताब कापी निकाल्थ्यौँ र बाँकी कागज त्यै बाकसमा रहन्थे । फेरि त्यो बाकस हामी कसैका खाटमुनि घुस्रिन्थ्याे । किरा, माकुराले गुड लाउँथे । यसरी डेरा सर्दा र कागज थन्क्याउँदा कति कागजपत्र हराए, कति मुसा, माकुरा र किराले खाए । 

पाँच वर्षअघि बाबाले बाकसको सोधीखोजी गरेपछि मलाई लागेको थियो त्यो बाकस जननेता मदन भण्डारीले बाबालाई राख्न दिएको हुनुपर्छ । कारण– बाबा र मदन भण्डारीको मित्रता म जन्मनुअघि नै सुरु भएको थियो । काठमाण्डौ आउँदा सबैभन्दा पहिले मदन भण्डारी हाम्रो डेरामा आउनुहुन्थ्यो । आफ्नो घरका कुरा बाबासित खुलस्त रूपमै गर्नुहुन्थ्यो । बाबा उहाँलाई एकदम सम्मान गर्नुहुन्थ्यो । बाबालाई मैले पहिलो चोटि हडबडाएको, निराश र कमजोर देखेको पनि मदन भण्डारीको मृत्युकै समयमा थियो । मदन भण्डारीको यादसँगै बाबाले उहाँको बाकस जतन गर्नुभएको होला भन्ने मलाई लाग्थ्यो तर मेरो बुझाइ र वास्तविकता फरक पर्‍याे ।  

ठाउँ–ठाउँमा डेरा सर्दा बाकस छाड्ने कुरा हुन्थ्यो तर छोडिँदैनथ्यो । यसरी हामीसित धेरै डेरा चहार्दै पुगेको बाकसको हकवाला प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुँदो रहेछ । बाबाले भन्दा यो कुरो गर्दा ममाले पत्याउनुभएन । प्रधानमन्त्रीले बाकस लिन मान्छे पठाउँछु भनेको कुरा गर्दा हामीलाई पनि अचम्म लाग्थ्यो । 

एक साताअघि बाबालाई रिपोर्टस् क्लबले पुरस्कार लिन बोलायो, बाबाले पुरस्कार लिएको हेर्न म छोरीलाई साथै लिएर गएँ । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । बाबा पुरस्कार लिन स्टेजमा जाँदा प्रधानमन्त्रीले बाबाको कानमा खुसखुस गरेको देखेँ । पछि थाहा भयो, त्यो खासखुसकाे विषय बाकस नै रहेछ । बाबालाई प्रधानमन्त्रीले बाकस लिन मान्छे पठाउँछु है भन्नुभएछ । बाबाले म आफैँ ल्याइ दिउँला, बरु नातिनी तपाईँलाई भेट्न पाइन्छ भनेर यही आएकी छ भन्नुभएछ । प्रधानमन्त्रीले कानमा खुसखुसाउँदै समय पनि दिइ हाल्नुभएछ । भोलिपल्ट बिहान बालुवाटारमा बाकस बुझाइ दिने कुरा गर्दै बाबा र म आ–आफ्ना घर लाग्यौँ । 

पहिले ममालाई बाकस कहाँ राख्ने चिन्ता हुन्थ्यो । बाकस भेटिएपछि चिन्ता बाबामा सर्‍याे । कागजपत्रको अवस्था कस्तो होला भन्ने बाबाको चिन्ता थियो । प्रधानमन्त्रीलाई त्यो 'मुला' टिनको बाकस किन चाहियो ? भनेर ममाले धेरैपल्ट बाबालाई सोधेको सुन्थेँ । ममालाई लागेको थियो प्रधानमन्त्री भइसकेको शक्तिशाली मान्छले जाबो टिनको बाकस किन खोज्छन् ! 

चैत १८ गते बिहान बाबासँग बाकससहित हामी प्रधानमन्त्री निवास पुग्यौँ । चिया पिउँदै सामान्य भलाकुसारी सुरु भयो । चिया पिउँदै गर्दा दिपेन्द्रजीले बाबालाई गरेको पहिलो प्रश्न थियो, ‘प्रधानमन्त्री त बाकस आउँदैछ भन्नुहुन्थ्यो, ल्याउनुभयो ?’ 

बाबाको जवाफ थियो, ‘बाकस गाडीमा छ र गाडी पार्किङगमा छ’ । बाबाले यति भनि नसक्दै उहाँले भन्नुभयो, ‘पहिला बाकस निकालौँ’ ।  

खाँदाखाँदैको चिया छाडेर बाबा पार्किङगमा जानुभयो । गाडी निवास अगाडि ल्याएर एउटा पुरानो र कुच्चिएको बाकस निकाल्नुभयो । एक जना मोटामोटा मानिसले छक्क परेर त्यो थोत्रो बाकस हेरे र अविश्वासपूर्वक माथिल्लो तलामा लगे । 

केही छिनपछि हामीलाई माथि बोलाइयो । प्रधानमन्त्री आउनुभयो । बाबा र उहाँको लामै भलाकुसारी चल्यो । प्रधानमन्त्रीसँग कुरा गर्दै जाँदा थाहा भयो, त्यस बाकसमा उहाँका महत्त्वपूर्ण कागजात रहेछन् । बाकसले हकदार भेटिसक्दा पनि बाकस कहाँबाट आयो, कसले छोड्यो मलाई केही थाहा थिएन । त्यसबारे बाबाले सोधीखोजी गर्नुभयो । मेरो त्यो खुलदुली पनि मेटियो । प्रधानमन्त्री र बाबाका कुरा सुनिरहँदा म बाकसको एक पात्र भइरहेकी थिएँ र कथाका दुई पात्रलाई साक्षात्कार गरिरहेकी थिएँ । पुरानो बाकसको कथा मेरा लागि नयाँ थियो । किनकि त्यो बाकससित मेरा अनेकौँ अटेसमटेस सम्झनाहरू थिए । 

बाकसमा खेलौना छ भन्ने ठानी लुकीलुकी बाकस खोलेको सम्झना पनि आलै छ । ममालाई बाकसमा के छ भनी हैरान पार्दा पटक–पटक राम्रै गाली खाएकी छु । बाकस खोलेर हेरेको पत्तो पाएपछि ममाको कुटाइ खाएको सम्झना पनि मलाई आइरह्यो । बाकसमा भेटेको गोरखापत्रमा छापिएका ब्ल्याक एण्ड ह्वाइट फोटोहरूले लोभ्याएको सम्झना पनि गाढै थियो । त्यस बाकससँग मेरो, बहिनीहरूको, ममाको र बाबाको अनेक सम्झनाहरू जोडिएका थिए । बाकस टिनको थियो तर हाम्रा यादहरू सुनौला थिए । 

हाम्रा सुख–दुःखमा करिब पैँतीस वर्ष त्यो बाकस साथै थियो । बाकस जिम्मा लगाएर २०७७ साल चैत १८ गते बाबा बाकसको ऋणबाट मुक्त हुनुभयो । त्यो दिन बिहानै बाकस प्रधानमन्त्री निवास बालुवाटारमा बसाइँ सर्‍याे तर बाकसका कथा र स्मृति सधैँका लागि हामीसितै रहे ।   

अन्तिम अपडेट: बैशाख १९, २०७८

तपाईको प्रतिक्रिया