लुम्बिनीमा एमालेकाे सरकार जाेगियाे, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित चार जनाले लिए मन्त्रीकाे शपथ

 बैशाख ६, २०७८ सोमबार १८:८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफैँविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदसहित चार जनालाई मन्त्री बनाउनुभएको छ ।

नयाँ मन्त्री बन्नेमा जसपाका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे रहेका छन् । कल्पना पाण्डेबाहेक तीनैजनाले मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ताभएलगत्तै माओवादीबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री सुदर्शन बराल र कानुनमन्त्री कुलप्रसाद केसीले पदबाट राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरी सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार, विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

भूमि व्यवस्था मन्त्री आरती पौडेललाई उद्योग, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । उद्योग पर्यटन तथा वातावरण मन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साेमवार (आज) बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो । 

तस्बिर : कमला हमालकाे फेसबुकबाट 

अन्तिम अपडेट: बैशाख १३, २०७८

तपाईको प्रतिक्रिया