आत्मविश्वासले जित्यो मानसिक समस्या

 बैशाख १८, २०७८ शनिबार १४:१८:३ | इन्द्रसरा खड्का
unn.prixa.net

वरिपरि इँटाको पर्खाल, जस्ताले छाएको टहरा । न झ्याल, न अग्लो ढोका । भित्र पस्न ढोकाबाटै निहुरिनुपर्छ । हावाहुरीले कतिखेर टहरा भत्काइदिन्छ पत्तो छैन । यो हो, भक्तपुरको सूर्यविनायक नगरपालिका-१ पकानडोलकी ५० वर्षीया विमला कार्कीको घर । 

घरको बाहिर बसिरहनुभएको छ विमला । बेलाबेला खोकी लाग्छ । अलिकति हिँड्दा श्वास फुल्छ । विमला कडा खालको मानसिक समस्याबाट निको भएर अहिले अरुलाई मानसिक समस्याबारे परामर्श दिनुहुन्छ । ‘मर्नु त एक दिन छँदै छ । किन, जबरजस्ती मर्न खोज्नु । अब त म, रोएर , झोक्राएर हैन । बरु म जस्तै जीवनदेखि दिक्क मानेर बसेकाहरुलाई सम्झाइ बुझाइ गर्छु’ भक्तपुरको पकानडोलमा भेटिनुभएकी विमलाले भन्नुभयो । 

दिदीबहिनीहरुका कुरा सुन्ने, मानसिक समस्या भएकालाई सुझाव सल्लाह दिने विमलाको अहिलेको दैनिकी बनेको छ । मानसिक समस्याकै कारण आफ्नो जस्तो पीडा र सोच कसैलाई नआओस् भनेर उहाँ अरुलाई सचेत गराउनुहुन्छ । 

विमला करिब चार पाँच महिना कडा खालको मानसिक समस्यामा पर्नु भएको थियो । लामो समयको उपचार र परामर्शपछि निको हुनुभएकी उहाँ यस्तो अवस्थामा पुग्नुको एउटा कथा छ ।  २०७२ साल वैशाख १२ गते भूकम्प गयो । भूकम्पमा विमलाको घर ढल्यो । भएका बस्तुभाउ मरे । २८ वर्षीय छोराको ज्यान गयो । त्यही दिनबाट सुरु भयो विमलाको मानसिक विचलन ।

विपद्ले दिएको आपत विमलालाई सहन गाह्रो भयो । एउटा छोरा पनि नरहेपछि विमलाका दिन रुँदै बित्न थाले । ‘रुन त कति रोएँ, कति’ विमलाले भन्नुभयो, ‘मैले त सबैसँग बोल्नै छोडेकी थिएँ । कोही आए पनि छोरा हो कि भन्दै आत्तिन्नथेँ । राति ढोका ढकढक गर्दा पनि छोरा नै आयो भनेर दगुर्थेँ । मरिसकेको छोरा त कहाँ फर्किन्थ्यो र ?'

घटनापछि विमलालाई मान्छेले बोलेको मन पर्न छोड्यो । एकान्तमा बस्ने, टोलाइ रहने एक्लै एक्लै कुरा गर्न थाल्नुभयो । ‘म यस्तो अवस्थामा हुँदा गाउँका मान्छेले पागल भने । ‘छोराको पीरमा त म साँच्चिकै बौलाइसकेको थिएँ । दुःख गरी हुर्काइ बढाइ गरेको छोरा बैँसमा यसरी मर्दा कसको आमाबालाई यस्तो हुँदैन र ?’ विमलाले भन्नुभयो ।

२०७२ सालमा ढलेको विमलाको घर अहिलेसम्म उठ्न सकेको छैन । विमलाका श्रीमान २६ वर्षदेखि क्षय रोगको औषधि खाँदै आउनुभएको छ । भएकी एउटी छोरीको अवस्था पनि उस्तै । तर, पनि अहिले विमलामा भने आत्मविश्वास बढेको छ । विमला भन्नुहुन्छ, ‘अवस्था त अहिले पनि उस्तै छ । बस्न घर छैन । श्रीमान र छोरीलाई आफैँले हेर्नुपर्छ । तर, अब पहिलेको जस्तो दिक्क लाग्दैन । बरु केही गर्न सक्छु भन्ने आँट आएको छ ।’

यसरी बढ्यो आत्मबल

भुइँचालोपछि जनधनको ठूलो क्षति  भयो । नागरिकमा मानसिक समस्या देखिन थाल्यो । यही समस्यालाई मध्यनजर गर्दै कोशिस नेपालले मानसिक समस्यामा परेकाहरुलाई घरमै गएर परामर्शका दिने काम सञ्चालन गरिरहेको थियो । त्यही बेला विमलाको भेट कोशिस नेपालका कर्मचारीसँग भयो । 

मनोविद्ले उहाँसँग दैनिक कुरा गर्न थाल्नुभयो । सुरुमा बोल्न नमानेकी विमला बिस्तारै बोल्न थाल्नुभयो । विमला कडा खालको समस्यामा पुगिसकेकाले परामर्श भन्दा अस्पताल पुर्‍याउनुपर्ने थियो । उहाँलाई भक्तपुरका गाम्चामा रहेको अस्पतालमा लगियो । तीन महिना लगातार औषधि र मनोविद्को मनोपरामर्शपछि विमलालाई बिस्तारै निको भयो । 

‘छोरा नै छैन भने, बाँचेर के गर्नु भन्ने विचार आउँथ्यो । कति पटक त मर्ने प्रयास गरेँ । तर, कोशिस नेपालका ममता मिससँग भेट भएपछि उहाँले मलाई मर्नबाट रोक्नुभयाे र म बाँचेँ ’ विमलाले भन्नुभयो ।

‘स्वावलम्बन समूह’

आफू पूर्ण रुपमा निको भइसकेपछि विमलाले कोशिस नेपालकै सहयोगमा मानसिक समस्या भएकाहरुको समूह  गठन गर्नुभयो । जुन समूहको नाम छ ' धैर्यता स्वावलम्बन समूह' । समूहमा विभिन्न कारण मानसिक समस्यामा परेका करिब २७ भन्दा बढी महिला पुरुष आबद्ध छन् । 

समूहमा आबद्ध भएकाहरु महिनाको दुई पटक भेला हुन्छन् । आफूमा भएका समस्या एक अर्कासँग आदानप्रदान गर्ने गर्दछन् । कसैलाई बढी समस्या देखापरेको छ भने उपचारका लागि लैजाने र  कम समस्या भए परामर्श दिइन्छ। स्वावलम्बन समूह सन २०१७ मा गठन गरिएको हो । पहिले यो समूहमा आउनेहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक हुन्थ्यो । अहिले उहाँहरु आफै समूहमा आएर कुराहरु सुन्नहुन्छ । 

‘औषधि खान छाडेँ’

विमला जस्तै पकानडोलकी पुनम श्रेष्ठमा पनि अहिले आत्मबल थपिएको छ । आजभन्दा पाँच वर्ष पहिलेदेखि पारिवारिक समस्याकै कारण मानसिक समस्या पुग्नुभएकी उहाँ अहिले यो समस्याबाट मुक्त हुनुभएको छ । 

‘घरायसी समस्याका कारण सामान्य कुरामा तनाव भइरहन्थ्यो । घरमा कसैसँग बोल्न पनि मन नलाग्ने । पछि पछि त घरै छोडेर जाऔँ जस्तो हुन्थ्यो । यो स्वावलम्बन समूह नभएको भए त म उस्तै अवस्थामा हुन्थेँ होला,’ पुनमले भन्नुभयो । पुनमको पाँच जनाको परिवार छ ।

उहाँ भन्नुहुन्छ, ‘श्रीमान जहिले रक्सी खाने, आफ्नै ढिपी गर्ने, हात नछोडेर मुखैले मलाई तनाव दिन्थे । ‘पहिले उही कुराले चिन्ता लाग्थ्यो । अहिले उही कुरा सामान्य लाग्छ । श्रीमानले भनेका कुरा पनि मनमा खेलाउँदिनँ । किनकी उनको बानी नै यस्तै हो भन्ने लाग्न थाल्यो । कसैले नहेरे पनि आफैँ गरेर खान सक्छु भन्ने आँट आयो ।’ 

विमला र पुनमको घर नजिकै छन् । पुनमको आनीबानीमा आएको समस्याबारे विमलालाई थाहा थियो । विमलाले आफ्नो जस्तै समस्या भएको थाहा पाइहाल्नुभयो । विमलाले पुनमलाई उपचार गराउन सल्लाह दिनुभयो । विमलाको सल्लाहसँगै औषधि खान थालेपछि पुनमलाई पनि निको हुँदै गयो । अहिले पुनमलाई औषधि खान पर्दैन । उहाँलाई निको भइसकेको छ ।

उहाँ भन्नुहुन्छ, ‘सुरुमा समूहमा जाँदा बोल्न आफ्ठ्यारो लाग्थ्यो । त्यहाँ गएर के भन्ने, के गर्ने भन्ने डर लाग्थ्यो ।’ जब पुनम समूहमा जान थाल्नुभयो । उहाँले आफैँ जस्तो समस्या भएका दिदीबहिनीसँग भेट भयो । ‘सबैका कुरा सुन्दा आफ्नै जस्तो लाग्यो । मेरो जस्तै सबैको समस्या रहेछ भन्ने थाहा भयो । त्यसपछि त के औषधि खानु सबैका कुरा सुन्दा त्यत्तिकै निको भयो’ पुनमले भन्नुभयो । 

उहाँ भन्नुहन्छ, ‘समूहमा जान थालेपछि त आफ्नो समस्या सामान्य जस्तै लाग्न थाल्यो । किन त्यत्तिकै चिन्ता लिनु, जिन्दगी नै यस्तै रहेछ,जस्तो लाग्छ । अब त मलाई कसैको वास्ता हुँदैन । एक्लै भए पनि गरेर खान सक्छु भन्ने आँट आएको छ ।’ 

‘यो समस्या लुकाएर नबस्नुहोस्’

मानसिक समस्या भोगेर ठिक भएका विमला र पुनम यो समस्या मनमै गुम्स्याएर नराख्न आग्रह गर्नुहुन्छ । मनमा खेल्ने कुरा मनमै गाँठो पर्दा अप्ठ्यारो हुने भन्दै यस्तो समस्या भए आफ्नो नजिकको मान्छेलाई भन्नुपर्छ ।

‘मैले मेरो कुरा कसैलाई नभनेको भए सायद म अहिले यहाँ हुँदैन थिएँ । मन हो कहिले खुसी, कहिले दुःखी हुन्छ । दुःख र समस्या भयो भन्दैमा मनमै कुरा खेलाएर बस्न हुँदैन यसले ठूलो समस्या निम्त्याउँछ’, विमलाले भन्नुभयो । 

अन्तिम अपडेट: जेठ २४, २०७८

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया