सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो, यसरी बनाइन्छ हिमालमा बाटो

 बैशाख १७, २०७८ शुक्रबार ८:५७:३७ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै - सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म बाटो तयार भएको छ ।

दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति र त्यसभन्दा माथि आरोही आफैँले बाटो तयार पारेका हुन् । अहिले आरोहीहरु चौथो शिविरसम्म पुग्न थालेका सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । चौथो शिविरबाट मौसम अनुकूल बनाएर बाटो बनाउँदै शिखरसम्मको बाटो बनाइन्छ । बाटो बनाउनका लागि भर्‍याङ, डोरीलगायतका सामग्री प्रयोग गरिन्छ।

यसरी बनाइन्छ सगरमाथामा बाटो  

सगरमाथाको दोश्रो शिविरसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बनाउँछ। पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपीसीसीले सगरमाथामा बाटो बनाउने काम गर्दै आएको छ । दोश्रो शिविरभन्दा माथि आरोहण व्यवसायीहरुकै संयोजनमा बाटो बनाउँछन् ।

हिमाल आरोहणको सिजन सुरु हुनुभन्दा झन्डै एक महिनाअघि एसपीसीसीले आइसफल डाक्टर (हिउँमा बाटो बनाउने दक्ष कामदार) खटाउँछ । बाटो बनाउन सुरु गर्नुअघि टोलीले सगरमाथाको आधार शिविरमा पूजा गरेर बाटो बनाउन सुरु गर्छन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूले सगरमाथा र अरु हिमाललाई देवता मान्छन् । त्यसैले काममा कुनै समस्या नआओस् भनेर उनीहरुले पूजापाठ गर्छन् । बाटो बनाउनुअघि तथा हरेक समूहले आरोहण सुरु गर्नुअघि बौद्ध परम्पराअनुसार पूजापाठ गर्ने चलन छ । पूजापाठ गर्दा हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने आरोही मिङ्मार शेर्पा बताउनुहुन्छ । 

आधार शिविरको उपयुक्त ठाउँमा शिविर स्थापना गरेपछि काम सुरु हुन्छ । हिउँ परिरहने, हिमपहिरो झर्ने लगायतका समस्याहरुको कारण आधार शिविरमा बास बस्ने ठाउँ पहिचान गर्दा निकै ध्यान दिनुपर्ने आरोहीहरु बताउँछन् । बाटो कहाँबाट कसरी तयार गर्ने भन्नेबारे सल्लाह गरेर बाटो बनाउने काम सुरु हुन्छ । आवश्यक ठाउँमा डोरी र भर्‍याङको प्रयोग गरेर बाटो बनाइन्छ ।

बाटो बनाउने टोली तीन महिनासम्म आधार शिविरमै बसेर आवश्यकता अनुसार बाटो मर्मत समेत गर्छन् । दोस्रो शिविरसम्म पुग्ने बाटोमा हिमनदी, खर्पस तथा हिमखाडलहरु धेरै हुने भएकाले हरेक वर्ष बाटो खोज्नुपर्छ भने एउटै सिजनमा पनि मर्मत गरिरहनुपर्ने हुन्छ । एउटा सिजनको आरोहण सकिएपछि आइसफल डाक्टरहरुले डोरी, भर्‍याङ लगायतका सामग्री निकालिन्छ । 

हिमालमा बाटो बनाउँदा प्रयोग हुने सामाग्रीहरु 

हिमालको यात्रा निकै जोखिमपूर्ण हुन्छ । सानो गल्तीले पनि ज्यानै जान सक्छ भने बाटोमा विभिन्न समस्याहरु पनि आइरहन्छन् । कतै सजिलै पार गर्ने बाटो भेटिने र कतै भर्‍याङ, डोरी तथा पुलहरुको प्रयोग गरेर मात्रै अप्ठ्यारा ठाउँ पार गर्नुपर्ने आरोहीहरु बताउँछन् । हिमालमा बाटो बनाउँदा प्रयोग हुने मुख्य सामाग्रीहरु यसप्रकार रहेका छन् :

१. डोरी

आइसफल डाक्टर कामी शेर्पाका अनुसार हिमालमा बाटो बनाउँदा चाहिने सबैभन्दा महत्त्वपूर्ण सामग्री डोरी हो । प्राय विदेशबाटै ल्याइने उच्च गुणस्तरको डोरी प्रयोग गरेर हिमालमा बाटो बनाइने सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।

आवश्यक ठाउँमा डोरी टाँगेपछि आरोहीहरु त्यही डोरी समातेर अघि बढ्छन् । अहिलेसम्मको तथ्याङ्‍कअनुसार आधार शिविरबाट दोस्रो शिविरसम्म बाटो बनाउँदा पाँच हजार पाँच सय मिटर डोरीको प्रयोग भएको छ ।

२. भर्‍याङ

प्राय उकालोमा डोरी टाँगिन्छ भने तेर्सो ठाउँमा भर्‍याङको प्रयोग हुन्छ । कतिपय उकालो ठाउँमा अप्ठ्यारा ठाउँमा पनि भर्‍याङ राखिन्छ । खर्पस तथा हिउँका खाडल तथा टुटेको बाटो पार गर्न भर्‍याङ प्रयोग हुन्छ। पहिलो पटक सगरमाथा आरोहण गर्दा सल्लोका रुखको भर्‍याङ प्रयोग भएको पहिलो आरोही समूहका सदस्य कान्छा शेर्पा बताउनुहुन्छ । अहिले भने धातुबाट बनाइएका हल्का र बलिया भर्‍याङको प्रयोग हुने आइसफल डाक्टरहरु बताउँछन् ।

भर्‍याङसँगै आवश्यकता अनुसार डोरी पनि टाँगिन्छ । हिमालमा हरेक वर्ष पहिरो जाने तथा हिउँ भासिने क्रम चलिरहने हुँदा आवश्यकता अनुसार भर्‍याङको प्रयोग हुन्छ ।

दोस्रो शिविरसम्मको बाटो बनाउँदा सन् २०१८ मा ३२ वटा भर्‍याङ प्रयोग भएकोमा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको एसपीसीसीका महासचिव लामाकाजी शेर्पाले जानकारी दिनुभयो । सन् २०२० मा भने कोरोना महामारीका कारण आरोहण स्थगित भयो । भर्‍याङ राख्दा धेरै जोखिम हुने आइसफल डाक्टरहरु बताउँछन् । 

३. आइस स्क्रु र कीला

हिमालमा बाटो बनाउँदा अति आवश्यक हुने सामाग्री आइस स्क्रु र हिउँ बाँध्ने कीला हुन् । आइस स्क्रु हिउँमा गाड्ने एक प्रकारको सानो आकारको कोदालो हो । यसको सहारामा हिउँमा डोरी टाँगिन्छ । हिउँ बाँध्ने कीला डोरी अड्काउन चाहिन्छ । 

४. कपडा

हिमालको मौसम छिनभरमै परिवर्तन हुन्छ । राम्रो मौसम भएको मिनेटभरमै अनुकूल बन्न सक्ने आरोहीहरु बताउँछन् । हिमपात तथा तीव्र हावा चलिरहन्छ । प्रतिकूल मौसम हुँदाहुँदै पनि काम गर्नुपर्ने भएकाले त्यही अनुसारको कपडा चाहिने आइसफल डाक्टर कामी शेर्पा बताउनुहुन्छ । हिउँमा बाटो बनाउनेहरुको लागि हावा नछिर्ने खालका कपडा, बूट, हेल्मेट, चस्मा, पञ्जा चाहिन्छ ।    

अत्यन्तै जोखिमपूर्ण काम

हिमालमा बाटो बनाउने काम अत्यन्तै जोखिमपूर्ण हुने आइसफल डाक्टर तथा आरोहीहरु बताउँछन् । पहिरो खस्ने र हिउँ भासिने जस्ता समस्याहरू आइरहने भएकाले बाटो बनाउँदा सबैभन्दा जोखिम खुम्बु आइसफलमा हुने आरोहीहरु बताउँछन् । हिमालमा हिउँका खाल्डाहरू हुने भएकाले विशेषगरी भर्‍याङ थाप्ने क्रममा निकै अप्ठ्यारो हुने गरेकाे छ । 

महामारीकाबीच आधार शिविरमा उत्साह

कोरोना महामारीका कारण अघिल्लो वर्षको वसन्त ऋतुका सबै आरोहण स्थगित भए । यो वर्ष पनि आरोहीहरु नआउने हुन् कि भन्ने चिन्ता व्यवसायीहरुले गरिरहेको बेला आरोहीहरुको उत्साहपूर्ण सहभागिता रहेको छ ।

यो वर्ष सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै चार सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । यसअघि सन् २०१९ मा सबैभन्दा धेरै तीन सय ८१ जनाले अनुमति लिएका थिए । चौथो शिविरसम्म बाटो खुलिसकेकाले त्यहाँसम्म शिविर स्थापना गर्ने काम सुरु भइसकेको छ । आरोहीहरु दोश्रो शिविरसम्म पुग्ने र आधार शिविर फर्कने गरिरहेका छन् ।

आफ्नो स्वास्थ्यलाई हिउँ र उचाइसँग अनुकूल बनाउनका लागि शिखरमा पुग्नुअघि आरोहीहरु दोश्रो शिविर पुग्ने र फर्कने गर्छन् । आधार शिविरमा अहिले मेला लागेजस्तै रहेको त्यहाँ रहेका आरोहीहरु बताउँछन् । पूजापाठ गर्दा टाँगिएका रङ्गीचङ्गी ध्वजापताकाहरूले आधार शिविरमा रौनकता थपेको छ भने पर्वतारोहीका टोलीहरूले पूजापाठ पनि गरिरहेका छन् ।  

कोरोना सङ्क्रमणको चिन्ता आधार शिविरमा पनि

गएको हप्ता आधार शिविर पुगिसकेका केही आरोहीहरुमा कोरोना सङ्क्रमण भएर उपचारका लागि काठमाण्डौ ल्याइएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्राथमिकता पायो । यसैले पनि आधार शिविरमा कोरोनाको डर रहेको छ ।

सङ्क्रमणको जोखिम रहेको तर आधार शिविरमा कोरानासँग मिल्ने लक्षण देखिएका बिरामी भने नरहेका सेभेन समिट ट्रेक कम्पनीका अध्यक्ष मिङ्मा शेर्पा बताउनुहुन्छ । सङ्क्रमणको जोखिम रहेकाले आधार शिविरमा पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरिरहेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो ।

यस वर्ष पहिलोपटक पर्यटन विभागले पनि दुई जना डाक्टरलाई आधार शिविरमा पठाएको छ । हिमालय रेस्क्यू सङ्घ र पर्यटन विभागको साझेदारीमा आधार शिविरमै स्वास्थ्य शिविर पनि सञ्चालन भइरहेको छ । शिविरमा रहेका डाक्टरले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर आवश्यक सतर्कता अपनाइरहेको निर्देशक आचार्यले बताउनुभयो । 

(तस्बिरहरु : आरोही फूला शेर्पा र निर्मल पूर्जाको सामाजिक सञ्जालबाट साभार) 

अन्तिम अपडेट: जेठ २१, २०७८

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया