आबुधाबी विमानस्थलमा बितेका तीन दिन र दलालको अनौठो दलाली

 बैशाख १७, २०७८ शुक्रबार १२:२९:५३ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

नारायण कोइराला /पाल्पा हाल, यूएई।

सन् २००६ को फेब्रुअरीको कुरा हो । घरबाट विदेश जान भनेर मुम्बई आएको ६ महिना भइसकेको थियो । लामो समयसम्म बिना काम बस्नुपर्दा महंगो शहरमा खर्च चलाउन समस्या थियो ।

यसरी बस्न सम्भव नभएपछि हामीहरुले सानो तिनो काम गर्ने सोच्यौं । मुम्बई जस्तो व्यस्त शहरमा म लगायत अन्य साथीभाइ काम गरी केही दिन गुजारा चलाएर यूएई जानको लागि भिसाको पर्खाइमा थियौँ ।

त्यतिबेला आज जस्तो सबैसँग मोबाइल पनि थिएन । भिसा कहिले आउला भन्ने बेचैनी थियाे । यतिकैमा  मेरो भिसा निस्केको छ भन्ने थाहा पाएँ । मसँगै अरु दुई जनाको पनि भिसा निस्केको रहेछ । भिसा निस्केकोमा खुसी त भइयो तर दलाललाई पैसा कसरी बुझाउने अनि टिकट लिने भन्ने समस्या थियो । यो समस्याको समाधान गर्न साथीभाइहरुलाई सम्पर्क गरेँ ।

जब यूएईको भिसा कपी हातमा आयो अनि विश्वास नगर्नेहरु पनि मलाई विश्वास गर्न थाले । साथीभाइहरुमा मलाई हेर्ने तरिकामा पनि फरक आइसकेको थियो । पहिला नजिक हुन नखोज्नेहरु पनि सहयोग गर्न तयार भए । घरतिर पनि खुसीयाली छायो । सबै कुराको व्यवस्थापन पछि आफूलाई चाहिने आवश्यक सामान सानो ट्रली ब्यागमा राखेँ । त्यो कालो ब्याग मसँग यूएई जाने भयो । जे जस्तो समय गुजार्न परे पनि हातमा टिकट, पासपोर्ट, भिसा कपी तयार थियो । समय परिस्थिति अनुसार सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै म मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसेँ ।

सानो ब्याग भएकोले हाण्ड क्यारीमा लिन विमानस्थलका कर्मचारीले अनुरोध गरे । मेरो झोलामा दाह्री खौरिने ब्लेड थियो । विमानस्थलका कर्मचारीले त्यसलाई भित्र लिन दिएनन् । धारिलो सामान लान नपाइँदो रहेछ । पहिलो पटक भएकाले मलाई थाहा थिएन । त्यसपछि त्यो ब्लेडको पत्ता त्यहीँ राख्यो अनि मलाई जाँच गरेर भित्र जान दियो ।

जहाजभित्र गएर आफ्नो सिटमा बसेँ । एकछिनपछि जहाज बिस्तारै जमिन छोडेर आकाशतिर उचालियो । हावाको बेग चिर्दै बादलमाथि पुग्यो । त्यो यात्रा साँच्चै अति सुन्दर र आरामदायी थियो । आबुधाबी विमास्थलमा जहाज ल्याण्ड भएपछि आफ्नो गन्तव्य स्थानमा सकुशल आइपुगेको अनुभव भयो ।

मनभरि उमङ्ग बोकेर आफ्नो ट्रली ब्याग गुडाउँदै ‘एक्जिट’ तिर जाँदै थिएँ । तर अचानक मेरो खुशी समस्यामा बदलियो । वास्तवमा मेरो भिसा कपीको रेकर्ड आबुधाबी विमानस्थल भएको रहेछनछ । मसँगै भिसा आएको अर्को साथीको पनि एउटै समस्या देखियो । एकजना साथीले भिसाको तल कम्पनीको नम्बर हुन्छ फोन गर्नु न भन्नु भयो । हामी दुवै जना खुसी हुँदै फोन नम्बर खोज्याैँ । तर नम्बरको ठाउँमा फोन नम्बर राखेकै रहेनछ ।

भिसा कपी पठाउँदा दलालले हामीलाई फसाउने हिसाबले नम्बर मेटाएर फ्याक्स गरेको कुरो बुझियो । अब के गर्ने ? हामी अलमलमा थियौँ । भिसा प्रक्रिया पूरा नगरी हामी बाहिर निस्कन सम्भव पनि थिएन । यताउती बुझ्दै जाँदा कम्पनीले भिसा जम्मा गरेपछि मात्र बाहिर निस्कन पाइन्छ भन्ने थाहा भयो ।

विमानस्थलमै एक दिन बितिसकेको थियो । झिलिमिली विमानस्थलमा जहाज आउने जाने क्रम चलिरहेको थियो । जहाजसँगै हाम्रो आशा पनि उडेको अनुभव हुथ्यो । जाडोको महिना । विमानस्थल भित्रको चिसोले ज्यान काँपिरहेको थियो । भोक लागिरहेको थियो । जाडो र भोक दुवै चिजको सामना गर्दै त्यहीँको कुर्सीमा साथी र म सुत्ने प्रयास गरिरहेका थियौं । दुबईमा यो भिसा निकाल्न सहयोग गर्ने साथीसँग फोनमा कुरा भएको थियो । उनले बुझेर फोन गर्छु भनेका थिए । हामी उनको जवाफको पर्खाइमा थियौँ ।

विमानस्थलमा त दिनरात उस्तै लाग्दो रहेछ । बिहान भइसकेको पत्तै भएन । म र साथी आफ्नो ब्याग लिएर कफी सपको नजिक बसिरहेका थियौँ । नेपाल जान लाग्नुभएका साथीभाइ कफी पिउँदै हुनुहुन्थ्यो । उहाँहरु नेपाली हो भन्ने पक्का भएपछि हामी अलि नजिक गयाैँ । यहाँ अर्को कुरो पनि थियो । फिलिपिनी र नेपालीको अनुहार मिल्ने रहेछ । पहिला नेपाली हो होइन भन्ने कुरा बुझ्नु जरुरी हुँदोरहेछ ।

हामी एकपल्ट झुक्किएका थियौँ । आपसमा कुरा गरेको सुनेपछि हामीलाई बुझ्न सजिलो भयो । उहाँहरुसँग कुरा अगाडि बढायौँ । आफ्ना समस्या सुनायौँ । उहाँहरुले हाम्रो भिसा कपी हेरेर हामीहरु दलालको फन्दामा परेको बताउनुभयो । उहाँहरुले हाम्रो लागि ठूलो कपमा कफी र नास्ता मगाउनुभयो । हाम्रो लागि त्यो सानो सहयोग पनि अमूल्य र तिर्न नसकिने जस्तो अनुभव भयो । उहाँहरू कफी र नास्ताको पैसा बुझाइ जहाजतिर लाग्नु भयो ।

दोस्रो दिन पनि त्यसै गरि बित्यो । कुनै उपलब्धि देखिएको थिएन । अरुसँग मागेर गरेको फोनबाट कुरा हुँदा दुबईको साथी भोलि जसरी पनि आउने कुरो गरे । हामी अलमलमा थियौँ । डर पनि लागिरहेको थियो । दलाललाई बुझाउन खोजेको त्यो ऋण अनि टिकट खर्च सबै गर्दा त्यो समयमा लागेको करिब दुई लाख ऋण यहीँबाट फर्किन पर्यो भने के हाल होला भनेर । त्यो दिन पनि यस्तै सोचाइमा सकियो । उही विमानस्लको चिसो कुर्सी अनि हातको झोला सिरानी ।

तेस्रो दिन भने हामी विमानस्थलमा फसेको खबर कम्पनीमा पुगी सकेको रहेछ । हामीलाई दुबईको साथीले जानकारी गराइ सक्नुभएको थियो । हामीमा अब केही खुशी सञ्चार भयो । त्यसपछि हाम्रा नजर कम्पनीको मानिस र दुबईको साथीको प्रतिक्षामा थिए ।

हामी अब विमानस्थलको चिसो अनि दलालको जालझेलबाट मुक्त हुने आशामा थियौँ । त्यो सत्यता पनि भयो । कम्पनीको मानिस अनि दुबईको साथी आएर विमानस्थलमा चाहिने कागजात बुझाइ होटलमा लगे । कम्पनीले सानदार होटलमा हामीलाई बस्न व्यवस्था गर्यो ।

अर्को दिन हाम्रो भिसामा गडबड गर्ने दलालको मान्छेलाई कम्पनीले बोलायो । हामी कुरा बुझ्दै गयौँ । कुरो अनौठो रहेछ । दलालभित्र नै दलाली चलेको रहेछ । आपसमा कुरो नमिल्दा हामी फसिरहेका रहेछौँ । त्यसपछि होटलको बिलसम्म कम्पनीले दलाललाई तिर्न लगायो । हामी अब दलालको अनौठो दलाली बुझ्नतिर भन्दा पनि आफ्नो गन्तव्यतिर लाग्यौँ । तर जे भए पनि विमानस्थलमा कटाएका ती  तीन दिन र दलालको अनौठो दलाली म र मेरो साथीको लागि जीवनभर भुल्न नसक्ने पल बनेर बसे ।

अहिले त धेरै परिवर्तन भएको छ । तर पनि दलालको दलालीलाई नबुझेरै परदेश उड्नु अझै पनि दुःखदायी हुन सक्छ ।

अन्तिम अपडेट: जेठ १४, २०७८

तपाईको प्रतिक्रिया