गाउँपालिकाको मोटरसाइकल दुरुपयोगः दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 बैशाख २२, २०७८ बुधबार ९:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको तारकेश्वर नगरपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । नुवाकोटको ककनी गाउँपालिकाको प्रदेश ३ ०२ ००१ब १० ३० नम्बरको सरकारी मोटरसाइकल दुर्घटना हुँदा तारकेश्वर २ का सुरेन्द्र लामाको ज्यान गएको हो ।

गए राति मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको र लामाको ग्रिनसिटी अस्पताल बसुन्धरामा ज्यान गएको ट्राफिक प्रहरी महाशाखा काठमाण्डौले जनाएको छ । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाका अनुसार मोटरसाइकल ककनी गाउँपालिका ६ का वडा अध्यक्ष गोपाल लामाले चलाउँदै आउनुभएको थियो । वडा अध्यक्षले जिम्मा लिएको मोटरसाइकल दुरुपयोग भएको र दुर्घटनामा परेर वडा नम्बर २ का स्थानीयको ज्यान गएकोले यसको जिम्मेवारी वडा अध्यक्ष स्वयंले लिनुपर्ने गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।

यस्तै उज्यालोसँग कुरा गर्दै ककनी गाउँपालिका ६ का वडा अध्यक्ष गोपाल लामाले सुरेन्द्रले मोटरसाइकल निकालेर लगेको आफूहरुलाई थाहै नभएको प्रतिक्रिया दिनुभएको छ । आफू फोनमा कुरा गरिरहेको मौका पारेर कोठाभित्र पसेर साँचो निकालेर सुटुक्क मोटरसाइकल निकालेर लगेको वडा अध्यक्ष लामाको भनाइ छ । आफूले चलाउने मोटरसाइकल दुरुपयोग भएको कुरा दुर्घटना भएपछि मात्रै थाहा पाएको वडा अध्यक्ष लामाले बताउनुभयो ।

‘बेलुका खाना खाने समयमा सुरेन्द्र लामासहितका केही व्यक्तिहरु मेरो घरमा आएका थिए’, उहाँले भन्नुभयो, ‘म फोनमा कुरा गर्दै थिएँ, कतिखेर कोठामा पसेर बाइकको चाबी निकालेर लगेछन् थाहा नै भएन ।’

यस्तै आफ्नो तर्फबाट भएको गल्तीस्वरुप जस्तोसुकै कानुनी कारबाही भोग्न पनि तयार भएको तर गाउँपालिकाको मोटरसाइकल दुरुपयोग गर्ने मनसाय आफ्नो नरहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २०, २०७८

तपाईको प्रतिक्रिया