आफूलाई मानसिक समस्या भएको यसरी थाहा पाउन सकिन्छ

 बैशाख २४, २०७८ शुक्रबार १९:३७:१ | संगीता खड्का
unn.prixa.net

काठमाण्डाै – मानसिक स्वास्थ्य भन्नाले हामी व्यक्तिको अवस्था भनेर बुझ्न सक्छौँ, जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावकाे सामना गर्न सक्छ । आफ्नो जीवनमा परिणाममुखी काम गर्न सक्छ र सँगसँगै समाजमा पनि कुनै न कुनै योगदान गर्न सक्छ । यो सबै काम उसले गर्न सक्छ भने उसको मानसिक अवस्था राम्रो छ अथवा मानसिक रूपमा स्वास्थ्य छ भनेर हामीले बुझ्न सक्छौँ ।

यदि यी काम गर्न उसलाई अलिकति कठिनाइ भइरहेको छ, उसको दैनिकीमा अप्ठ्यारो छ भने मानसिक समस्या भएको छ कि भनेर शङ्का गर्न सक्छौँ । अप्ठ्यारो त शारीरिक रूपले पनि आउन सक्छ । तर मन, मस्तिष्कको कारणले अलिकति अप्ठ्यारो हुन्छ भनेदेखि यसलाई हामी मानसिक समस्या भन्न सक्छौँ ।  

यसरी थाहा हुन्छ 

कुनै पनि व्यक्तिको मस्तिष्क कस्तो छ भनेर उसको शरीरले भनिदिन्छ किनकि मस्तिष्क, शरीर र मनको गहिरो सम्बन्ध हुन्छ । शरीरलाई केही भएको मनले भनिदिन्छ, मनलाई केही भएको शरीरले भनिदिन्छ । म मानसिक रूपम स्वस्थ छु कि छैन भन्नका लागि मेरो शरीर कस्तो छ र मेरो दैनिकी कसरी बितिरहेको छ भन्ने कुरा सबैभन्दा पहिले हामीले याद गर्न सक्छौँ । यो सँगसँगै मेरो मन सुखी छ कि, दुःखी छ कि याद गर्न सक्छाैँ । हिजोसम्म मलाई कुनै जमघटमा, पार्टीमा, साथीभाइसँग रमाइलो गर्न साह्रै इच्छा लाग्थ्यो भने आजदेखि नलाग्न सक्छ ।

मेरो व्यवहारमा केही न केही परिर्वतन आउँछ, जुन परिवर्तनले मलाई सकारात्मक परिणाम दिँदैन । दुःखी नै महसुस गराइरहेको हुन्छ । म धेरै एक्लोपनमा रमाउन थाल्छु । मेरो निद्रा, मेरो खानपिन, परिवारसँगको व्यवहार यस्ता धेरै कुरामा परिवर्तन आउँछ । यी परिवर्तन लामो समयसम्म रहिरह्यो भने मलाई मानसिक समस्या पो हुन थाल्यो कि भन्ने सोच्नुपर्छ ।

तनाव हरेक व्यक्तिलाई हुन्छ । कसैलाई अहिले तनाव हुने र केहीबेरमा हराएर जाने हुन्छ । अर्को कुरा सधैँभरि तनाव नराम्रो हुन्छ भन्ने पनि हैन । कहिलेकाहीँ तनावले हामीलाई सकारात्मक परिणाम पनि दिन्छ । जस्तो कुनै कुरामा हामीले तनाव लिएर काम गर्‍याैँ भने यसको परिणाम राम्रो पनि आउँछ ।

तर सबै तनावले राम्रो परिणाम दिँदैन । यसले हाम्रो शरीरलाई नकारात्मक असर पार्छ । अघि मैले भने जस्तो कुनै पनि कुराले हप्ता दिन वा १५ दिनभन्दा बढी नचाहिँदो कुरामा कुनै कुरालाई याद गरिराख्यौँ भने हामी अलिकति डराउनुपर्ने हुन सक्छ ।

कारण 

मानसिक समस्याको कुनै एक या दुईमात्र कारण छैनन्, यसका अनेकौँ कारण छन् । यो बाल्यावस्थाबाटै सुरु हुन्छ । अध्ययनले १४ वर्षभन्दा अगाडि नै ५० प्रतिशतभन्दा बेसी खालको मानसिक समस्याको भइसकेको हुन्छ भनेको छ भने एउटा बाल्यकालको अनुभव हुन सक्छ ।

शारीरिक, मौखिक यौन दुर्व्यवहारका कारणले पनि मानसिक समस्या हुन सक्छ । स्कुलमा साथीभाइले होच्याउने, शिक्षकको कारण हुने तनाव पनि अर्को कारण भयो । लागुपदार्थको कारण पनि हुन सक्छ । निद्रामा गडबडी, खानामा गडबडी, अरू कुनै दीर्घरोगको कारण, अपाङ्गता भएको कारण यो विभिन्न कारणले गर्दा हुन सक्छ । 

आनीबानीमा परिवर्तन 

मानसिक समस्या भएकाहरूको आनीबानीमा समेत परिवर्तन आउने गर्छ । यस्तो अवस्थामा हामीले सामान्य कुरालाई याद गर्न सक्छौँ । उसको नियमित र दैनिक क्रियाकलाप कस्तो भइरहेको छ, त्यो क्रियाकलापमा उसको ध्यान छ कि छैन ? भनेर ध्यान दिन सकिन्छ । बिहान ५ बजे उठ्ने मान्छे ७ बजेसम्म सुत्ने भइरहेको छ कि, उठ्न आलस्य गरिरहेको छ कि, फुर्तिलो कत्तिको छ, खानपान कस्तो छ, दैनिकी सबै हेर्नुपर्छ । काम गर्न जानेको थियो भने काम गर्न जाने जाँगर कस्तो छ ? अथवा घरमा बस्न नरुचाउने, बाहिरमात्र बस्न रूचाउने पनि हुन सक्छ ।

व्यक्तिको दैनिकीमा र नियमित क्रियाकलापमा परिवर्तन देखिन थाल्छ । पढाइ, निद्रा, खानालगायत विभिन्न कुरामा जसको पहिले रूचि हुन्थ्यो, त्यो रूचि घट्दै जान्छ, त्यसै चिटचिट पसिना आएजस्तै हुने, छिनमै तातो, छिनमै चिसो हुने, शारीरिक रूपमा पनि आफ्नो तापक्रम घटबढ भएको जस्तो हुने, किन भएको हो थाहा नहुने शारीरिक रूपमा पनि यस्तो लक्षण देखा पर्दछ । 

यस्तो अवस्थामा के गर्ने ?

यस्ताे भएमा सुरुमा मलाई यस्तो समस्या किन भइरहेको छ त भनेर याद गर्न सक्छौँ । जस्तै:- कोरोना महामारीले गर्दा गएको वर्षमा लामो समयसम्म लकडाउन भयो । धेरैजनाले खाना पाउनुभएन । खाना नपाएर पनि चिन्ता भयो । त्यही खाना नपाएकै कारणले हुने चिन्ताले लामो समयसम्म त्यो चिन्ताले सताइरह्यो भने यसले समस्यातिर गइन्छ ।

अहिले पनि लकडाउन छ । सबैजना घरभित्रै बस्नुपरेको छ । विद्यालय बन्द छन् । भएको काम घरभित्रबाटै गरिरहनुपरेको छ, यसले गर्दा पनि मान्छेलाई तनाव हुन्छ । यस्तो बेला व्यक्तिमा भएको मानसिक समस्या हटाउन, उसको परिवार, समुदायको पनि ठूलो भूमिका हुन्छ । जुन महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सूचनाकर्ता, अरू स्वास्थ्यकर्मी उहाँहरूबाट पनि मनोवैज्ञानिक सेवा लिन सकिन्छ । जे–जे कारणले व्यक्ति समस्यामा गएको छ, त्यो कारणलाई बिस्तारै–बिस्तारै हटाउँदै जानुपर्छ ।

निद्रामा गडबडी छ भने निदाउने, खानपिनमा रूचि छैन भने खाने, सँगसँगै व्यायाम गर्ने, ध्यान गर्ने, बिहानको घाम एकदमै राम्रो हो भनिन्छ । एकछिन घाममा बस्ने । श्वासप्रश्वासको कार्य गर्ने, सामाजिक कार्य, पारिवारिक कार्यक्रममा घुलमिल हुने र आफ्नो मनको कुरा सक्दो पोख्ने, मलाई यो–यो कारणले गर्दा समस्या भइरहेको छ भनेर आफन्त, साथीभाइसँग भन्ने गर्‍याैँ भने यो समस्याबाट बच्न सकिन्छ । 

अन्तिम अपडेट: असार ५, २०७८

संगीता खड्का

मनोविद् खड्का कोसिस नेपालमा आबद्ध हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया