काेभिड–१९ काे दाेस्राे लहर : के रेम्डेसिभिर प्रभावकारी हुन सक्छ ? प्लाज्मा थेरापी र प्रोन पोजिशनबारे पनि जानाैँ

 बैशाख २४, २०७८ शुक्रबार १३:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट सङ्क्रमित र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्दो छ । सामाजिक सञ्जालमा सिकिस्त सङ्क्रमितका आफन्तले यस महामारीविरुद्धका विभिन्न खाले औषधि र उपचार विधिका लागि आग्रह र त्यसबारे जिज्ञासा राख्दै पोस्ट गरेका छन् । यसै सन्दर्भमा हामीले कोभिड-१९ सङ्क्रमितका लागि प्रभावकारी हुने भन्ने दाबी गरिएका दुई उपचार विधि र एक औषधिबारे यो जानकारीमूलक सामग्री तयार पारेका छौँ ।

 

काेभिशिल्ड खोपको दोस्रो डोज लगाउन वैशाख ८ गते काठमाण्डाैकाे सिभिल अस्पतालमा लामबद्ध सर्वसाधारण

के रेम्डेसिभिर प्रभावकारी हुन सक्छ ?  

रेम्डेसिभिर एउटा एन्टी भाइरल प्रयोगात्मक औषधि हो ।  नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का अनुसार यो एक दशक पहिले हेपाटाइटिस सी र अर्को एक खोकीको भाइरसविरुद्ध बनाइएको हो । तर यी दुवै भाइरसविरुद्ध यो प्रभावकारी देखिएन । अन्य भाइरसविरुद्ध भने यो प्रभावकारी हुन सक्ने देखियो ।

गएकाे वर्ष गरिएको एक अध्ययनमा यो औषधि दिइएका सिकिस्त भइ अस्पताल भर्ना भएका कोभिड सङ्क्रमित बिरामी छिटो निको भएको पाइएको थियो । अमेरिकाको नियमनकारी निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनले यसलाई त्यतिखेर प्रयोग गर्ने अनुमति दिएको थियो । तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई मान्यता दिएको छैन । सन् २०२० को नोभेम्बरमा एक वक्तव्यमार्फत उसले रेम्डेसिभिर प्रयोग गर्न एक सर्तात्मक सिफारिस (कन्डिशनल रिकमेन्डेशन) गरेको थियो । यस औषधिले कोभिड-१९ सङ्क्रमितको बाँच्ने सम्भावनामा कुनै सुधार ल्याउँछ भन्ने कुनै प्रमाण नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

एक टेलिभिजन कार्यक्रमसँगको भर्खरैकाे एक अन्तर्वार्तामा सङ्क्रमण रोग विशेषज्ञ प्रभात अधिकारीले यसबारे अझै छिनोफानो भइनसकेको बताउनुभयाे । डब्ल्यूएचओले काम गर्दैन भन्छ । यूएसको स्टडीले यसले अस्पताल बसाइलाई छोट्याउँछ भन्छ, उहाँले भन्नुभयाे, नेपालमा पनि अध्ययन भएको छ । त्यसको डाटा अनुसार यसलाई चाँडै बिरामी सिकिस्त नहुँदै प्रयोग गरियो भने काम गर्छ । उहाँले थप्नुभयाे, यसमा डाक्टरहरूको आ-आफ्नो ओपिनियन छ । यो भाइरल रिप्लिकेशन फेज (अर्थात् सङ्क्रमण हुनेबित्तिकै) मा बढी महत्त्वपूर्ण हुन्छ । प्रयोग गर्नै छ भने चाँडोभन्दा चाँडो गर्दा फाइदा होला । तर प्रमाणित हुन बाँकी छ ।

औषधि व्यवस्था विभागले रेम्डेसिभिरको तीन हजार भायल बङ्गलादेशबाट आयात गरिएको बताएको छ ।

के हो कन्भासालेन्ट प्लाज्मा थेरापी ? कसरी गरिन्छ उपचार ?

ब्लड प्लाज्मा तस्बिर : सटरस्टक

यस उपचार विधिमा कोभिडबाट सङ्क्रमित भइ निको भइसकेका व्यक्तिको रगत सङ्क्रमितलाई दिइन्छ । यसमा निको भएका व्यक्तिको रगत निकालिन्छ र त्यसको तरल भाग छुट्याइन्छ । रगतको प्लाज्मामा भाइरससँग लड्ने एन्टीबडी केही समय रहिरहने भएकाले यसको प्रयोग उपचारका रूपमा गरिएको हो । सङ्क्रमितलाई सलाइनको माध्यमबाट त्याे प्लाज्मा दिइन्छ । खोपबाट शरीरको प्रतिरोध क्षमता बढाउनुलाई ‘एक्टिभ इम्युनिटी’ र प्लाज्माको प्रयोगबाट त्यसो गर्नुलाई ‘प्यासिभ इम्युनिटी’ भनिन्छ ।

तर रेम्डेसिभिरको हकमा जस्तै प्लाज्मा थेरापीको प्रभावकारिता बारेमा पनि चिकित्सकबीच मतैक्य छैन । यसले अरू भाइरल रोगमा केही काम गरेको भएर कोभिडमा पनि काम गरिहाल्छ कि भनेर अध्ययनका लागि र एक्सपेरिमेन्टल हिसाबले प्रयोग गरिएको हो, सङ्क्रामक रोग विशेषज्ञ अनुप सुवेदीले एक अनलाइनलाई भन्नुभएकाे छ, विश्वव्यापी रूपमा धेरै ठूलठूला ट्रायलबाट आँकडा आइसक्यो, प्लाज्माको काम छैन । उहाँका अनुसार अर्जेन्टिनामा गरिएको एक अध्ययनमा ज्येष्ठ नागरिकलाई सङ्क्रमण भएको तीन दिनभित्र प्लाज्मा दिँदा उनीहरू सिकिस्त हुने सम्भावना कम भएको देखिएको थियो । तर त्यो सानो अध्ययन हो ।

त्यसपछिका अन्य अध्ययनमा त्यसको पुनर्पुष्टि भएको छैन, उहाँले भन्नुभयाे । डाक्टर सुवेदीले अहिले कसैलाई पनि प्लाज्मा दिन सिफारिस नगर्ने बताउनुभयाे । डाक्टर अधिकारीले यसलाई आफूले ‘कन्ट्रोभर्सियल ट्रिटमेन्ट’ काे रूपमा लिएको र सुरुको चरणमा प्रयोग गरेमा प्रभावकारी हुन सक्ने बताउनुभयाे ।

अमेरिकाको मेयो क्लिनिकले पनि यसको प्रयोगले रोगलाई केही मत्थर पार्न वा बिरामी हुने अवधि छोट्याउने जनाएको छ । त्यही संस्थामा कार्यरत नेपाली चिकित्सक सुदीप खड्काले थप अध्ययन नगरि प्लाज्मा उपचारले काम गर्छ भन्ने ग्यारेन्टी नभएको बताउनुभएकाे छ । पूर्ण रूपमा किफायतीपन निर्धारण नगरिएको प्लाज्मा प्रयोग गर्दा त्यो प्लाज्माले भाइरस ठ्याक्कै पूर्ण रूपमा निस्तेज पार्ने सम्भावना न्यून हुन्छ । अझ प्लाज्मा त बिरामी गम्भीर हुन लागेको बेलामा (जतिबेला शरीरमा भाइरसको सङ्ख्या अत्यधिक हुन्छ त्यतिबेला) खोज्ने गरिएको छ । यस्तो अवस्थामा प्लाज्माको प्रयोगले भाइरसका ती भेरिएन्टलाई फैलिन मद्दत गर्छ, जसले यो प्लाज्मामा रहेको एन्टिबडीबाट उम्कन सक्छन्,  खड्काले अनलाइनखबरमा प्रकाशित लेखमा भन्नुभएकाे छ ।

प्लाज्मा थेरापीबारे थप जानकारीका लागि  माइसन्सारमा प्रकाशित यो जानकारीमूलक लेख पढ्नुहोस् । 

के हो प्रोन पोजिशनिङ ? यसबाट के फाइदा हुन्छ ? 

तस्बिर साभार :स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत

‘प्रोन’ को शाब्दिक अर्थ घोप्टो परेर सुत्नु हो । शरीरमा अक्सिजनको मात्रा बढाउन बिरामीलाई सिरानीको सहयोगले घोप्टो पारेर सुताउने विधिलाई ‘प्रोन पोजिशनिङ’ भनिन्छ । श्वासप्रश्वासका बिरामीलाई सास फेर्न कठिन भएको अवस्थामा फोक्सोको क्षमता बढाउन प्रोन पोजिशनिङको प्रयोग गरिन्छ ।

प्रोन पोजिशनिङमा चार वा पाँच वटा सिरानीको प्रयोग गरिन्छ । तीमध्ये दुई वटा सिरानी कम्मरमा, एउटा सिरानी गर्धनमा र एउटा सिरानी खुट्टाको गोलीगाँठानेर राखेर पेटको बलमा बिरामीलाई सुताइन्छ । मानिसको मोटाइको आधारमा केही सिरानी थप-घट गरिन्छ । चिकित्सकहरूले मेकानिकल भेन्टिलेटरमा राखेका बिरामीका लागि पनि प्रोन पोजिशनको प्रयोग गर्दछन् । यसलाई श्वासप्रश्वासमा सामान्य समस्या आउँदा प्राकृतिक भेन्टिलेटरको रूपमा प्रयोग गर्न सकिन्छ । नेशनल मेडिकल कलेजका डा. असरफ हुसेनले एक पत्रिकामा प्रकाशित लेखमा लेख्नुभएकाे छ, अक्सिजनको लेभलमा सामान्य कमी आएमा वा अन्य समस्या नभएमा केहीबेरका लागि घोप्टो परेर बस्न सकिन्छ ।  

प्रोन पोजिशनिङले फोक्सोको कोषिका खाेल्न मद्दत गर्दछ र अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ । यसले बिरामीको वायु प्रवाह सहज पार्न मद्दत गर्दछ । प्रोन पोजिशनिङ एक्युट रेस्परेटरी डिस्ट्रेस सिन्ड्रोम (फोक्सोमा तरल पदार्थ जमेर सास फेर्न सकस हुने) भएका बिरामीहरूलाई प्रयोग गरिन्छ । यूएस नेशनल लाइब्रेरी अफ मेडिसिन नेशनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एक अनुसन्धान अनुसार मेकानिकल भेन्टिलेटरमा राखिएका श्वासप्रश्वास समस्या भएका त्यस्ता बिरामीलाई प्रोन पोजिशनिङले अक्सिजनको मात्रा बढाउन सहयोग गरी मृत्युदरमा सुधार ल्याएको थियो । कोभिड-१९ का कारण श्वासप्रश्वासमा समस्या हुनाले यसका बिरामीलाई पनि यो उपयोगी हुने अमेरिकन जर्नल अफ रेस्पिरेटरी एण्ड क्रिटिकल केयर मेडिसिनमा प्रकाशित एक अध्ययनमा जनाइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आफ्नो वेबसाइटमा होम आइसोलेशनमा बसेका कोभिड-१९ का बिरामीलाई प्रोन पोजिशनिङले मद्दत गर्ने भन्दै यो विधि प्रकाशित गरेको छ ।

केही अनुसन्धानहरूले प्रोन पोजिशनिङ उपयोगी हुने उल्लेख गरेका छन् । कतिपय चिकित्सकहरूले यसको प्रयोग पनि गरेका छन् भने अन्य चिकित्सकहरूले यसले श्वासप्रश्वासमा कुनै सहयोग नगर्ने जनाएका छन् । यूएस नेशनल लाइब्रेरी अफ मेडिसिन नेशनल इन्स्टिच्युट अफ हेल्थले प्रकाशित गरेकाे एक लेखमा स्वास्थ्यकर्मीहरू नै यसको उपयोगिताबारेमा एकमत नभएको उल्लेख छ । 

'साउथ एसिया चेक' बाट   

अन्तिम अपडेट: जेठ ५, २०७८

तपाईको प्रतिक्रिया