मलेसियाबाट घर फर्कँदा एयरपोर्टमै पासपोर्ट फालेर घर पुगेका मनोज

 बैशाख २४, २०७८ शुक्रबार १७:३२:१२ | उज्यालो सहकर्मी

धनुषा – १६ वर्षको कलिलो उमेरमै जहाज चढेर मलेसिया पुग्नुभएका मनोज कुमार दासले एकै पटक ८ वर्षपछि स्वदेशमा पाइला टेक्नुभयो । वषौंपछि देशमा पाइला टेक्दाको खुसीमा मनमनै प्रण गर्नुभयो – ‘अब विदेश जाँदिन ।’

हातमा भएका अरू कागजात झोलामा राख्नुभयो । अनि पासपोर्ट चाहिँ विमानस्थलकै एउटा फोहोरको भाँडोमा फ्याँक्नुभयो ।

‘फेरि विदेश नै नजाने भएपछि त्यो पासपोर्टको के काम,’ मनोजले विमानस्थलमै पासपोर्ट फाल्दाको त्यो क्षण सम्झँदै भन्नुभयो,‘पासपोर्ट नै फालेपछि अब त विदेश जान पर्दैन भन्ने लाग्यो, मन हल्का भयो ।’

हुन त पासपोर्ट रोजगारीका विदेश जान मात्र काम लाग्ने कुरा होइन । साथमा पासपोर्ट भए जुनसुकै बेलामा पनि काम लाग्छ । तर मनोजलाई आज पनि पासपोर्ट नै नभए पछि विदेश जाने मोह पनि जाग्दैन भन्ने लाग्छ ।

बाँकी जीवन देशमै दुःखसुख गर्ने अठोटले मनोज घरको आँगनमा पुग्नुभयो । तर समयले मानिसलाई कहिलेकाहीँ आफ्नो र आफ्ना पनि बिरानो बनाउदोरहेछ ।

मनोज भन्नुहुन्छ, ‘८ वर्षपछि गाउँ पुग्दा त मलाई गाउँका मानिसले चिनेनन्, घर आँगन, र गाउँ नै अर्को हुँदो रहेछ ।’

गाउँतिर हिँड्दा भेटिने हरेकको प्रश्न हुन्थ्यो, ‘तिमी कसको छोरो ?’

मानिसका प्रश्न सुन्दा मनोज भने आफैँसँग प्रश्न गर्नुहुन्थ्यो – ‘म साँच्चै अर्कै भए कि, गाउँ ठाउँ अर्को भयो ?’ 

‘लुखुरे केटो देखेका मानिसले अहिले जवान देख्दा चिन्न गाह्रो भयो होला जस्तो लाग्यो,‘मुस्कुराउँदै मनोजले भन्नुभयो,‘म मान्छे पनि त ह्याण्डसम भएर आएको थिएँ नि ।’

बाहिरबाट हेर्दा र हेरेको भरमा बनाएको चित्रभन्दा फरक छ एक श्रमिकका लागि परदेश । 

त्यसमाथि बुझ्दै नबुझी, जान्दै नजानी, कलिलै उमेरमा परदेशीनेहरुको भोगाइ त अझ फरक छ । जुन भोगाइ मनोजको पनि छ ।

पढ्ने सपना छाडेर परदेश

किताब बोकेर १० कक्षा पढ्न जान्थेँ मनोज । पढ्ने, ठुलो मान्छे बन्ने सपना कसले देख्दैनन् र । मनोज अपवाद हुन किन सक्थें र । उहाँको पनि सपना त्यही थियो । तर १० कक्षामा पढ्दै गर्दा एउटा युवकले साँचेका सपनामा गाउँकै एजेण्ट र परदेशमा कमाइरहेकाहरूले विदेशमा हुने कमाइको सपना मिसाइदिए ।

त्यसपछि त मनोजको सपनाको बाटो मोडियो । जसोतसो पासपोर्ट बन्यो । पासपोर्ट बनेपछि खिरिलो ज्यान र उमेरले रोक्न किन रोक्थ्यो र । मनोज पढाइ र पढेर ठुलो बन्ने सपनालाई गाउँमै छाडेर २०६९ सालमा मलेसिया पुग्नुभयो । 

विदेश जानुअघि घरकै ओछयानमा बसेर झलझली परदेशको सपना देखे झैँ परदेश पुगेपछि देशमा छँदाका खुसी र हाँसो उसै गरी सम्झनामा आउन थाले । साथीभाइ, आफन्त, गाउँ ठाउँ । यी सबैको यादले औधी गलायो मनोजलाई । तर साहुको ऋण र परिवारको आशा बोकेर विदेश पुगेको मानिसलाई गाउँघरकै सम्झनामा कमजोर हुने छुट् कहाँ हुन्छ र । उ त बलियो हुनुपर्छ । जतिसक्दो छिटो पैसा कमाउन पर्छ । साहुलाई बेलैमा ऋण तिर्नुपर्छ । परिवारका पनि आशा र भरोसालाई पूरा गर्नुपर्छ ।

मलेसियामा कमाएर पूरा गर्ने राखेको उद्देश्यका लागि आठ वर्षसम्म मलेसियामा खट्नुभयो मनोज । मलेसियाकै कमाइले घर बनाउनुभयो । घडेरी पनि जोड्नुभयो । ८ वर्ष पुगेपछि भने मनोजलाई लाग्यो, ‘अब पुग्यो ।’

‘दुई चार महिनासम्म त अति गाह्रो हुने रहेछ, जति बेला पनि घरमै फोन गर्न मन लाग्ने, परिवारभन्दा टाढा हुने बानी पार्न पनि गाह्रो रहेछ,’ मनोज सम्झनुहुन्छ । तर भावनाले परदेशमा केही पनि हुँदैन ।  लेबरको भिसामा गएको एउटा मानिसको भावनाको कदर गर्ने पनि केही हुँदैनन् । काम गरे हातमा दाम र मुखमा माम लाग्छ । नभए रित्तै हात फर्कनुपर्ने परिस्थिति पनि आउन सक्छ । तर मनोज कदापि त्यो क्षण आओस् भन्ने चाहनुहुन्नथ्यो । जति सक्नुभयो डटेर लाग्नुभयो काममा ।

आठ वर्षअघि जम्मा ४४६ मलेसियन रिंगिट थियो तलब पनि । काम भने १२ घण्टा गर्नुपर्थ्यो । त्यति बेलै मनोजलाई यहाँबाट फर्केपछि फेरि कहिले विदेश फर्किन्न भन्ने त लाग्थ्यो ।

१२ देखि १४ घण्टासम्म खट्नुहुन्थ्यो । बिदा बस्नुभन्दा जति भए पनि काममा जाऊ र कमाइ गरौँ भन्ने धारणा राख्नुभयो ।

मलेसियामा कमाएर पूरा गर्ने राखेको उद्देश्यका लागि आठ वर्षसम्म मलेसियामा खट्नुभयो मनोज । मलेसियाकै कमाइले घर बनाउनुभयो । घडेरी पनि जोड्नुभयो । ८ वर्ष पुगेपछि भने मनोजलाई लाग्यो, ‘अब पुग्यो ।’

जहाँ मन बस्दैन त्यहाँ मन लगाउनु व्यर्थ हुन्छ । आफ्नो इच्छा कम्पनीमा राख्नुभयो । ८ वर्षदेखि घर नफर्किएका मनोजलाई सहज रुपमा स्वदेश फर्कने वातावरण बन्यो । दुई वर्षअघि घर फर्कनुभयो । 

किराना पसलमा भुलेको मन

पासपोर्ट विमानस्थलमा फलेर घर पुग्नुभएका मनोजलाई पैसा कमाउनकै लागि फेरि घरबाट टाढा हुन नपरोस् भन्ने थियो । धनुषाको लक्ष्मीनिया रहेको घरैमा परिवारको साथमा बसेर गर्न सकिने काम निकै कम मात्र थियो । त्यही कम मध्येमा पनि उहाँले आफ्नै घरको सटरमा पसल खोल्ने निर्णय लिनुभयो । 

घर परिवारको साथमा रहेर भएको कमाइमा खुसी हुनुहुन्छ मनोज । गरिरहेको कामलाई थप बढाउने उहाँको योजना छ । तर लगानीको अभाव छ । 

आफूसँग भएको रकम लगानी गरेर किराना पसल खोल्नुभयो । आफ्नै घरमा खोलेको पसल भए पनि मज्जाले व्यापार हुन्छ । मनोजलाई अहिले लाग्छ, व्यवसाय गर्न पनि जान्ने हो भने सहर या मुख्य चोक नै नचाहिने रहेछ । 

घरपरिवारभन्दा टाढा रहेर महिनाको ५० हजार कमाउनुभन्दा आजकाल मनोजलाई परिवारको साथैमा बसेर कमाएको २०÷२५ हजार रुपैयाँ धेरै लाग्छ ।

‘विदेशमा त मात्र काम र कमाइ मात्र हुन्छ,’ मनोज भन्नुहुन्छ,‘त्यहाँ न माया हुन्छ न सरसहयोग, त्यही पनि महिनाको कमाइ त्यही ५० हजार त हो, परिवार आफन्त र आफ्नै ठाउँमा बसेर २० हजार कमाइन्छ भने पनि ठुलो कुरा रहेछ ।’

घर परिवारको साथमा रहेर भएको कमाइमा खुसी हुनुहुन्छ मनोज । गरिरहेको कामलाई थप बढाउने उहाँको योजना छ । तर लगानीको अभाव छ । 

‘यही अहिले गरिरहेको किराना पसललाई पनि बढाउन पाए हुन्थ्यो भन्ने छ, तर लगानी कम छ, ऋण लिन पनि सजिलो रहेनछ, पासपोर्ट देखाउ विदेश गएर आएको हो भने भन्छन्, अब पासपोर्ट त मैले फालिसके कहाँबाट देखाउनु,’ मनोज गुनासो गर्नुहुन्छ ।

धनुषामा रहेको आप्रवासी बहुउद्देश्यीय सहकारी र आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले अहिले मनोजको योजना पूरा गर्न सहयोग गरिरहेको छ । सहकारीबाट त केही रकम ऋण लिएर उहाँले पसलमा सामानहरू थप्नुभएको छ भने बैंकमार्फत सहुलियत ब्याजमा ऋण लिन पनि प्रयास गरिरहनुभएको छ । 

भन्नुहुन्छ,‘अलिकति ऋण लिन पाए, किन विदेशबाट फर्कँदा पासपोर्ट फालेछु भनेर पछुताउन पर्ने थिएन ।’

अन्तिम अपडेट: जेठ ९, २०७८

तपाईको प्रतिक्रिया